सञ्जय साह मित्र
देश सङ्घीय संरचनामा गएपछि अहिलेको प्रदेशको सीमाङ्कन भएको हो। यो प्रदेशको नामकरण अझै हुन सकेको छैन। नामकरण हुन नसके पनि यस प्रदेशको आफ्नो खाका रहेको छ। प्रदेशको नामकरण पछि हुँदै गर्ला। यो राजनीतिक विषय पनि हो। शुरूमैं प्रदेशको सीमाङ्कन भएको समयमा पूर्वबाट प्रदेशलाई सङ्केत गर्न एक र सबैभन्दा पश्चिमको प्रदेशलाई सात नाम दिइएको थियो। यसै क्रममा यस प्रदेशको सङ्केत प्रदेश नम्बर दुई भनेर गरिएको थियो र अहिलेसम्म यस प्रदेशलाई यही प्रदेश दुई भनेर चिनिंदै आएको छ र यसै नामबाट यस प्रदेशको काम पनि भइरहेको छ। प्रदेशको नाम राख्ने क्रममा अन्य प्रदेशहरूले सफलता पाइसकेका छन् र केही प्रदेशको नामकरण हुन बाँकी छ, जसमा यो प्रदेश पनि रहेको छ।
प्रदेशमा आठवटा जिल्ला रहेका छन्। पूर्वबाट सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा। यस प्रदेशका जिल्लाहरूको नाम सजिला छन् र सजिलै सम्झना हुने योग्य भएकोले यति त धेरैलाई थाहा नै रहेको छ। यस प्रदेशको पर्साको सदरमुकाम वीरगंज, बाराको सदरमुकाम कलैया, रौतहटको सदरमुकाम गौर, सर्लाहीको सदरमुकाम मलङ्गवा, महोत्तरीको सदरमुकाम जलेश्वर, धनुषाको जनकपुर, सिराहाको सिराहा र सप्तरीको राजविराज रहेको छ। जिल्ला सदरमुकामबाहेक यस प्रदेशका अन्य प्रमुख बजारहरूमा जीतपुरसिमरा, लहान, चन्द्रपुर, गरुडा, बरहथवा, गौशाला, बर्दिबास, ईश्वरपुर, लालबन्दी, गोलबजार, मिर्चैया, निजगढ, महेन्द्रनगर आदि रहेका छन्। यस प्रदेशको पूर्वमा प्रदेश एक, उत्तरमा प्रदेश एक र तीन
(वाग्मती प्रदेश) पश्चिममा वाग्मती प्रदेश र दक्षिणमा भारतको बिहार राज्य पर्दछन्। यस प्रदेशको चार किला यति नै हो। यस प्रदेशका मुख्य नदीहरूमा पूर्वमा कोशी पर्दछ। यदि कोशीलाई साझा नदी मान्ने हो भने यस प्रदेशको मुख्य नदी वाग्मती हो। वाग्मतीपछि दोस्रो ठूलो नदी कमला हो। यीबाहेक हरेक जिल्लामा सानातिना अन्य नदीहरू रहेका छन्।
यस प्रदेशमा तीनवटा विमानस्थल रहेका छन्। काठमाडौंदेखि सबैभन्दा नजीकको विमानस्थल सिमरा रहेको छ। प्रदेशको अस्थायी राजधानी जनकपुरका साथै राजविराजमा पनि विमानस्थल रहेको छ। प्रदेशमा रेलसेवा सञ्चालनको तयारी रहेको छ। रेलसेवा विस्तार भइरहेको पनि छ। यसैगरी, यस प्रदेशमा यातायातको सुविधा सबैभन्दा राम्रो रहेको देखिएको छ। हरेक जिल्ला सदरमुकाम र हरेक जिल्लाका मुख्य बजारहरूसम्म पक्की सडक पुगिसकेको छ।
यस प्रदेशको क्षेत्रफल ९,६६१ वर्ग किलोमिटर (३,७३० वर्गमाइल) रहेको छ। यहाँको जनघनत्व ६४० व्यक्ति प्रतिवर्ग किलोमिटर (१,७०० व्यक्ति प्रतिवर्ग माइल) रहेको छ, जुन देशकै सबैभन्दा बाक्लो जनघनत्व भएको प्रदेशको रूपमा रहेको छ। मानव विकास सूचकाङ्कलाई विचार गर्ने हो भने ०.५१२ रहेको छ, जुन अत्यन्तै कम छन्। प्रदेशको साक्षरता ५६.५४ प्रतिशत रहेको छ। प्रदेशको क्षेत्रफलको तुलनामा अत्यधिक जनसङ्ख्या हुनु तथा अत्यधिक जनघनत्व भएपनि मानव विकास सूचकाङ्कमा पछाडि पर्नु सोचनीय पक्ष रहेको छ। जनसङ्ख्या नियन्त्रणको लागि प्रयास गर्नुपर्ने अवस्था रहेको छ।
यस प्रदेशको भूमि झन्डै समतल रहेको छ। उत्तरमा चुरे पहाड र जङ्गल छन्। चुरे पहाडको बारेमा धेरै तथ्य आउन बाँकी छ। वास्तवमा यस प्रदेशको धेरै कुरा जानकारीमा आउन सकेको छैन। धेरै कुरामाथि प्रकाश पार्न र प्रचार हुन बाँकी छन्। यस प्रदेशको इतिहासले निकै सम्मानित तीन राजाको अस्तित्व रहेको बताउँदछ। पूर्वमा सहलेसको इतिहास निकै गर्विलो छ। मिथिला राज्यको बारेमा धेरैलाई थाहा छ। यसैगरी, सिम्रौनगढमा पनि तिरहुत राज्यको राजधानी थियो। कुनै न कुनै रूपमा यी राज्यहरूको अवस्था र इतिहास कस्तो थियो भन्ने विषयमा जानकारी आउनुपर्छ। इतिहासका अन्य धेरै पाटा पनि छन्। नेपालको इतिहासमा यस प्रदेशले खेलेको भूमिका आउनुपरेको छ भने यस प्रदेशमा रहेका प्रमुख धार्मिकस्थलहरूको पनि परिचय निरन्तर आउनुपरेको छ। यस प्रदेशबाट धार्मिक पर्यटनका लागि बर्सेनि लाखौं मानिस अन्य प्रदेशमा जाने गरेका छन् र विदेशमा पनि पुग्ने गरेका छन्। यस प्रदेशमा अन्य प्रदेशका साथै विदेशका धार्मिक पर्यटक कसरी आउलान् भन्ने विषयमा पनि सोचविचार गर्नुपरेको र आउने वातावरण मिलाउनुपरेको छ।
जनकपुरको प्रचारप्रसार भइसकेको छ तर अझै निरन्तरता दिनु आवश्यक छ। सहलेस फूलबारीको महत्वबारे देश तथा प्रदेश अझै अनभिज्ञ नै छन्। प्रदेशको पूर्वी भागका मानिस जति परिचित छन्, त्यति जानकारी मध्य तथा पश्चिमी क्षेत्रमा रहेका प्रदेशवासीलाई सहलेसबारे जानकारी रहेको छैन। अन्यत्र पनि जानकारीको विस्तार गर्नुपरेको छ। यसैगरी, गढीमाईको प्रचारप्रसार पनि व्यापक भइसकेको छ र अझ व्यापक बनाउनुपर्ने देखिन्छ। सखडा भगवती र अन्य धार्मिकस्थलहरूबारे प्रचारप्रसार हुनुपरेको छ। सामान्यतया हरेक धार्मिकस्थलमा ती स्थानको धार्मिक तथा ऐतिहासिक परिचय खुल्ने पुस्तिका पनि राख्नुपरेको छ र हरेक धार्मिकस्थलमा कम्तीमा त्यस जिल्लाका प्रमुख धार्मिक गन्तव्यहरूको परिचय खुल्ने पुस्तिका राख्ने हो भने सर्वसाधारणमा ती ठाउँमा जानको लागि पर्याप्त जिज्ञासा हुन्छ।
रौतहटको नूनथर प्रदेशको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य बनेको छ। अन्य गन्तव्यहरूको पनि प्रचारप्रसार हुनुपर्छ। यस प्रदेशको सबैभन्दा ठूलो प्राकृतिक पोखरी कुन हो र कहाँ छ ? कति क्षेत्रफलमा फैलिएको छ ? यसैगरी, यस प्रदेशको सबैभन्दा अग्लो पहाड कुन हो ? कति अग्लो छ ? त्यहाँ कसरी पुग्न सकिन्छ ? प्रदेशमा कतिवटा झरना रहेका छन् ? सबैभन्दा अग्लो झरना कुन हो ? त्यहाँ पुग्ने बाटो कस्तो छ ? प्रदेशको सबैभन्दा होचो वा गहिरो ठाउँ कुन हो ? त्यहाँ कसरी पुग्न सकिन्छ ? प्रदेशमा हेर्नलायक अन्य ठाउँहरू कुन कुन हुन् ? ती सबैलाई कसरी रोजगारसित जोड्न सकिन्छ ? प्रदेशको बारेमा जान्नुपर्ने अरू कुराहरू के के हुन सक्छन् ? शिक्षा, स्वास्थ्य, विज्ञान, साहित्य, सङ्गीत आदि क्षेत्रका विशिष्ट व्यक्तित्वहरू को को हुन् तथा तिनका विशिष्ट कार्यहरू के के हुन् ? प्रदेशभित्र, देशभित्र तथा देशबाहिर पुगेर तिनले कसरी आफूलाई स्थापित गरेका छन् र तिनले कसरी यस प्रदेशको सम्मान अझ राम्ररी बढाउन सक्छन् ? यस प्रदेशका विशिष्ट समाजसेवीहरू को को हुन् ? कलाकारहरूले कसरी सङ्घर्ष गरेर यस प्रदेशको प्रतिष्ठा बढाइरहेका छन् ? अझ कसरी यस प्रदेशको मर्यादा बढाउन सकिन्छ ? यी र यस्ता प्रश्न तथा पक्षहरूको बारेमा यस प्रदेशमा रहेका सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल र अन्य प्रकाशन तथा प्रसारणहरूमार्फत जानकारीको विस्तार गर्नुपरेको छ।
प्रदेश दुई धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको छ। यस प्रदेशका अन्य महत्वपूर्ण कुराहरू के के हुन्। कुन दृष्टिकोणले महत्व रहेको छ ? वास्तवमा प्रदेशको बारेमा मन्थन हुनु जरुरी छ। यस प्रदेशलाई चिनाउनुपरेको छ। यस प्रदेशको बारेमा यस प्रदेशका बासिन्दालाई नै बताउनुपरेको छ र प्रदेशबाहिरकालाई पनि यस प्रदेशको बारेमा धेरै जानकारी दिन अझै बाँकी रहेको छ। यस प्रदेशलाई सकारात्मक सोचाइ राख्ने र सिर्जनात्मक सोचाइ राख्ने किसिमको प्रदेशको रूपमा पनि परिचित गराउनुपरेको छ। यस प्रदेशको बारेमा सकेसम्म धेरै जानकारी विभिन्न माध्यमले बाहिर ल्याइ राख्नुपरेको छ।