आपसी सहमतिमा न्यायोचित मुआवजा दिए –नगरप्रमुख साह

प्रस, रौतहट, २२ फागुन/
गत वर्षकै निरन्तरता स्वरूप मौलापुर नगरपालिकाले यस वर्ष पनि स्थानीयको उत्साहवद्र्धक सहयोग, सद्भाव एवं सक्रिया सहभागितामा मधानी महायज्ञ विशेष समारोह–२०७७ को आयोजना गर्न लागेको नगरप्रमुख रिना साहले बताएकी छन्।
मौलापुरको महादेवस्थानमा आयोजित पत्रकार सम्मेलनमा शनिवार उनले महायज्ञ तयारीको क्रममा आवश्यक पर्ने जग्गा नगरपालिकाले स्थानीयसँग सहमति गरेर न्यायोचित मुआवजा दिएको बताइन्। किसानहरूलाई मुआवजा दिए तापनि आफूले मिहिनेत गरी लगाएको हरियो बाली आफ्नै आँखाअगाडि काटिदा उनीहरूको मनोभावलाई छुनु स्वाभाविक भएको उनले बताइन्।
विगत लामो समयदेखि ओझेलमा परेको महत्वपूर्ण सम्पदालाई सङ्घ तथा प्रदेश सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा नबढाइरहेको भन्दै उनले गुनासो व्यक्त गरिन्। नगरपालिकाको अगुवाइ तथा स्थानीय जनसमुदायको उत्साहवद्र्धक एकता र सक्रिय सहभागितामा अगाडि बढेको नगरप्रमुख साहको दाबी थियो। मौलिक धार्मिक अनुष्ठान मधानी (कवरथुवा) निरन्तर एक हप्तासम्म सञ्चालन हुने र त्यसमा भारत वृन्दावनको रासलीला, शिवलीला, नेपाल तथा भारतका चर्चित कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति, विभिन्न खेलतमासा, नेपाल र भारतका प्रतिष्ठित पहलवानहरूको कुश्ती खेल, देशका विशिष्ठ राजनीतिक नेतृत्व एवं व्यक्तित्वहरूको सहभागितासहितको समारोह आयोजना गर्न लागिएको नगरप्रमुख साहले जानकारी गराइन्।
आर्थिक समुन्नति एवं विकासमा विशेष टेवा पुग्ने गरी मौलापुरको गरिमा, गौरव, मानसम्मान एवं प्रतिष्ठामा निरन्तर बढोत्तरी गर्ने उद्देश्यले उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्य तथा प्रदेश प्रमुख डा राजेश झासहितका अतिथिहरूको सहभागितामा मधानी महायज्ञ समारोह–२०७७ आयोजनाको तयारी अन्तिम चरणमा रहेको नगरप्रमुख साहले बताइन।
तराई–मधेस ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको उद्गमस्थल भएको बताउँदै उनले मौलापुर नगरपालिकाको पतौरा टोलमा महादेव मन्दिर महत्वपूर्ण सम्पदा भएको र सरकारको पर्यटकीय गन्तव्यमध्येको एक महत्वपूर्ण गन्तव्य रहेको बताइन्। उनले विगतका कमीकमजोरीलाई आत्मसात् गरी सुधार गर्दै जाने आश्वासन दिइन्। सो अवसरमा उपप्रमुख गौरीशङ्कर जयसवाल, प्रमुख प्रशासकीय अधिकृत रामबाबूप्रसाद साहलगायतको सहभागिता थियो।

Comments

Popular posts from this blog

अनुशासन भनेको के हो ?

प्रतीक दैनिकको सूचना