कुमार रुपाखेती
बहुदल आएलगत्तै टुँडिखेलको एक सभामा मदन भण्डारीले अनाहकमा राष्ट्राध्यक्ष वीरेन्द्रलाई फोस्रो ध्वाँस दिंदै– “महाराज नारायणहिटीमा बसेर धेरै नाकमुख नखुम्च्याइबक्स्योस्, राजनीति गर्ने भए श्रीपेंच फुकालेर आइस्योस्,” भनेका थिए। त्यखिेर राजा र दरबारलाई चुनौती दिंदै भाषण गर्दा चर्चा पाइन्छ, ठूलै नेतामा दरिन्छ भन्ने कुरा चतुरे नेताहरूलाई थाहा थियो। मदन भण्डारी यस्तै चुरीफुरीदार, मसालेदार भाषण गर्न माहिर थिए।
अहिले समयले कोल्टो फेरेको छ। राजालाई श्रीपेंच खोलेर आऊ भन्ने मदन भण्डारीकी पत्नी राष्ट्राध्यक्ष छिन्। ‘जैसन् गुरु वैसने चेला’ भनेझैं गोर्खाको एक आमसभामा नेकपाकी रामकुमारी झाँक्रीले राष्ट्राध्यक्ष भण्डारीविरुद्ध तल्लोस्तरमा तथानाम मुख छाड्नि। राजालाई श्रीपेंच फुकालेर आऊ भन्दा गलल हाँस्ने कम्युनिस्टहरू झाँक्रीले विद्या भण्डारीको झाँक्रो झार्दा केही प्रफुल्लित देखिए भने केही नून खाएको कुखुराझैं झोक्रिए। आफूलाई मदन भण्डारीले गालीगलौज गरेको त्यो क्यासेट राजा वीरेन्द्रले समेत मगाएर मुस्कुराउँदै सुने र डस्टबिनमा फालिदिएछन्। तर बिचरा झाँक्रीको भाषणको क्यासेट सुनेर आगबबुला भएको ओली खेमाले केही घण्टा भएपनि हिरासतमा राखेर कागज गराएर मात्र झाँक्रीलाई मुक्ति दिए। सफेद झूट र गलत आरोप–प्रत्यारोप अनि मनगढन्ते भाषण गर्ने कला कम्युनिस्टहरूको नानीदेखि लागेको बानी हो। अरू किन ओलीलाई नै हेर्नुस् न।
एकताका गद्दार पुष्पलालको नारा घकाउनेहरूले गले मिलेपछि पुष्पालालकी पत्नी सहाना प्रधानलाई बाइज्जत मन्त्री बनाए, नेता माने। अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने हेक्का कम्युनिस्टहरूलाई हुँदैन रहेछ। हिजो मदन भण्डारी र आज झाँक्री यसका नमूना हुन्। नेकपाको आन्तरिक घरझगडामा लगातार असफल हुँदै गएपछि माघ २८ गतेको आमसभामा प्रचण्डले लाजै नमानी ठूला प्रजातान्त्रिक देशहरूसँग सहयोगको याचना गरेका थिए। ठूला प्रजातान्त्रिक देश भन्दै नाम नलिएर प्रचण्डले भारतसँग हारगुहार गरेको प्रस्टै छ। भारतकै सहयोगले उनको कथित जनयुद्ध नेपालमा सजिलै फस्टाएकै हो। विदेशी ज्वाइँझैं बसेर स्वदेशमा उत्पात मचाउने सौभाग्य प्रचण्डजस्ताले मात्रै पाउँछन्। प्रचण्ड, माधव, झलनाथ तीनवटै प्रधानमन्त्रीले जोड लगाके हैसा गर्दासमेत ओली जसका तस छन्, टसमस भएका छैनन्। भनिन्छ, भारतले अहिले ओली गुट र प्रचण्ड–माधव खेमा दुवैलाई माया गरेको छ रे। कसैलाई काखा–पाखा गरेको छैन, दुवैलाई बिरालोले मुसा खेलाएझैं खेलाइरहेको छ। भारतीय शहरमा हीरोगिरी, हीरोपन्थी गर्ने बानी छ हाम्रा नेताहरूमा। नेपाली काङ्ग्रेसमा एकजना अमरेश सिंह भन्ने यस्तै आनीबानी भएका मानिन्छन्, जो अचेल सरिता गिरीझैं ठन्डाराम छन्।
ओली, प्रचण्ड–माधवहरूले कालीदास पारामा नेकपालाई क्षतविक्षत र धराशयी बनाएको सबैलाई थाहै छ। नेकपाबारे बोल्दा त फोहोरलाई चलायो गन्धको अवस्था छ। हामीले ‘जस्तालाई त्यस्तै, ढिडोलाई निस्तै’ गर्ने समय आइसकेको छ। नेपालमा प्रायःजसो राजनीतिक दलमा जो अगुवा उही बाटो हगुवा छ। यिनीहरूको त्रियाचरित्रले गर्दा गणतन्त्र, समावेशी, समानुपातिक सबै मागीखाने भाँडोमा परिणत भएको छ। प्रधानमन्त्रीले जतिसुकै भ्रष्टाचार घट्दै गएको हावादारी कुरा गरे पनि दलालहरूको सहयोगविना सरकारी, गैरसरकारी कार्यालयहरूमा सेवाग्राहीहरूको कुनै काम हुँदैन, दलाल अर्थात् घूस दिएर काम गराउने पहिलो सिढी। नगरपालिका, गाउँपालिका अर्थात् पालिका भनेको पालनहार। पालनहार भनिने यी कार्यालयहरूमा सेवाग्राहीहरूको दुर्दशा र मर्का त सय जिब्रो भएको शेषनागले पनि वर्णन गर्न सक्दैनन्। यहाँ त झन् लूट कान्छा लूट छ। नेकपाको घरझगडाले गर्दा आम नागरिकको जीवन झन् कष्टकर भएको छ। चामल, पीठो, खानेतेल, चिनी, चियापत्तीलगायतका दैनिक उपभोग्य वस्तुहरू प्रतिकिलो १५ देखि २० रुपैयाँ बढेका छन्। निर्माण सामग्री बालुवा, गिट्टी, सिमेन्ट, फलामे छड उत्पात महँगिएका छन्। मुलुकमा छोरीबेटीहरूको सुरक्षा एउटा चुनौती बनेको छ। हत्या र लुटपाटका घटना बढिरहेका छन्। मुलुकमा विदेशी चलखेल नबुझिंदो पारामा ह्वात्तै बढेको छ। सुरक्षा निकाय र राष्ट्रसेवकहरू लाचार बनेका छन्।