प्रस, वीरगंज, १२ फागुन/
प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन ५ गते संसद् विघटन गरेपछि प्रतिगमनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी, नेकपा प्रचण्ड–नेपाल समूहले आज छुट्टाछुट्टै विजय जुलूस निकालेका छन्।
घण्टाघरबाट निकालेको विजय जुलूस नगर परिक्रमापछि पुनः घण्टाघरमा आमसभामा परिणत भएको थियो।
विजय जुलूसमा बोल्दै जसपाका कार्यकारी सदस्य लक्ष्मणलाल कर्णले अदालतको फैसलाले नेपालको संविधान जोगाएको बताए। उनले ओलीले चालेको कदमविरुद्ध अदालतको फैसला आउनेबित्तिकै नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने बताए। उनले प्रधानमन्त्री ओलीको संसद्मा अविश्वास प्रस्तावको सामना गर्ने भनाइ निन्दनीय तथा नैतिकताहीन रहेको बताए।
नेपालमा ओलीले तानाशाही लाद्न खोजेको उनको आरोप थियो। सर्वोच्चले गरेको फैसलाले देशको समस्या समाधान नहुने तर सही बाटोमा मुलुक हिंडेको बताए। देशको अवस्था अहिले पनि गम्भीर रहेको र एक्लो सरकार बनाउने हैसियत कसैको नरहेको उनले बताए। प्रम ओलीलगायत उनका सहयोगीहरूको कारण देश सङ्कटतर्फ उन्मुख भएको उनको तर्क थियो। संविधानको रक्षा, लोकतन्त्र बचाउने जिम्मा राष्ट्रपतिको रहेको र राष्ट्रपति पनि प्रम ओलीको मतियार बनेको बताए।
जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, केन्द्रीय सदस्य शिव पटेल, जगदीश पटेल, वीरगंज महानगरका प्रमुख विजय सरावगी, पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन, सखुवापरसौनी गापाका अध्यक्ष प्रदीप जैसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको विजय जुलुसमा बोल्दै संविधानसभा सदस्य विचारी यादवले ओलीलाई संसद्बाट घोक्राएर निकाल्ने बताए। वीरगंजमा रहेका उनका सहयोगीहरू कुन दुलोमा लुकेका छन् बाहिर आएर जनतालाई आफ्नो अनुहार देखाऊन् भने। कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र साहले ओलीको १५ दिन मात्र बालुवाटारमा बस्ने र त्यसपछि बालकोट फर्कने निश्चित भएको बताए। आफ्नै कर्तुतले मर्यादा खस्केको उनको भनाइ थियो। विगत सात वर्ष अघि उचाइमा पुगेका ओली एकाएक आफ्नो हठको कारण शून्यमा झरेको र पतनोन्मुख भएको उनको आरोप थियो।
जिल्ला सचिव विजय महतोको सभापतित्वमा किशोरी कुशवाहा, जालीम मियाँ, मनोज चौधरी, रामबाबू बैठा, बाबूराम कौशिकलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नेकपा र जसपाका नेता कार्यकर्ताहरूले परस्पर मीठाइ वितारण गरेका थिए।