उमाशङ्कर द्विवेदी
राजा मरुतले तरुणावस्थामा रहेर प्रजा, मन्त्री, धर्मपत्नी, पुत्र र भाइहरूका साथ एक हजार वर्षसम्म राज्यको शासन गरे। सृञ्जय, यस्तो प्रतापी राजा पनि, जो तिमी तथा तिम्रा पुत्रहरूबाट धेरै बढी थिए, यदि उनी पनि मृत्युबाट बच्न सकेनन् भने तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन।
नारदजीले पुनः भने– “राजा सुहोत्रको पनि मृत्युको बारेमा सुनिन्छ। उनी आफ्नो समयका अद्वितीय वीर थिए, देउताहरूसम्मले उनीतिर आँखा जुधाएर हेर्न सक्दैनथे। उनी प्रजाको पालन, धर्म, दान, यज्ञ र शत्रुहरूमाथि विजय पाउने–यी सबैलाई कल्याणकारी ठान्दथे। धर्मबाट देउताहरूको आराधना गर्दथे, बाणबाट शत्रुहरूमाथि विजय पाउँदथे र आफ्नो सद्गुणले समस्त प्रजालाई प्रसन्न राख्दथे। उनले म्लेच्छ र डाँकाहरूको नाश गरेर यस सम्पूर्ण पृथ्वीमाथि राज्य गरेका थिए। उनको प्रसन्नताको लागि बादलले अनेकौं वर्षसम्म उनको राज्यमा सुवर्णको वर्षा गरेका थिए। त्यहाँ सुवर्णको खोलो बग्दथ्यो। त्यसमा सुनका गोही र माछा रहन्थे। मेघबाट अभीष्ट वस्तुहरूको वर्षात् हुन्थ्यो। राज्यमा निकै ठूल्ठूला तलाउहरू थिए, जसमा पनि सुनका गोही, मकर, कछुवा र माछाहरू रहन्थे। ती जम्मैलाई हेरेर राजालाई अत्यन्त आश्चर्य हुन्थ्यो। उनले कुरुजाङ्गल देशमा ठूलो यज्ञ गरे र त्यो अपार सुवर्णराशि ब्राह्मणहरूमा बाँडिदिए। राजा सुहोत्रले एक हजार अश्वमेघ, एक सयवटा राजसूय तथा धेरै दान दक्षिणावाला अनेकौं यज्ञ गरे र नित्य–नैमित्तिक यज्ञहरूको अनुष्ठान गरे। हे सृञ्जय, ती सुहोत्र पनि तिमी र तिम्रो पुत्रभन्दा सर्वथा श्रेष्ठ थिए तर मृत्युले उनलाई पनि छाडेन। यस्तो विचार गरेर तिमीले पुत्रको निम्ति शोक गर्नुहुँदैन।”
नारदजीले फेरि भन्न थाले– “राजन्, जसले सम्पूर्ण पृथ्वीलाई छालाझैं आफ्नो जीउमा बेरेका थिए। ती उशिनरपुत्र राजा शिवि पनि मरेका थिए। उनले सम्पूर्ण पृथ्वीलाई जितेर अनेकौं राजसूय यज्ञ गरेका थिए। उनले दश अरब सुवर्णमुद्रा दान गरेका थिए। साथै हात्ती, घोडा, पशु, धान्य, मृग, गौ, बाख्रा, भेंडा आदिका साथै अनेकौं भूखण्ड ब्राह्मणहरूलाई दानमा दिएका थिए। वर्षंदै गरेको मेघमा जति पनि धाराहरू खस्दछन्, आकाशमा जति पनि ताराहरू देखिन्छन्, गङ्गाको बगरमा जति पनि बालुवाका कणहरू छन्, मेरुपर्वतमाथि जति पनि शिलाका टुक्राहरू छन् र समुद्रमा जति पनि रत्न र जलचरहरू छ, त्यत्ति नै गाई शिविले ब्राह्मणहरूलाई दानमा दिएका थिए। प्रजापतिले पनि शिविको समान महान् कार्यभारलाई वहन गर्ने कुनै अर्को महान् पुरुष भूत, भविष्य तथा वर्तमानमा हेरेका थिएनन्। उनले कैंयन यज्ञ गरे, जसमा प्रार्थीहरूको सम्पूर्ण कामना पूर्ण हुन्छ। ती यज्ञहरूमा यज्ञस्तम्भ, आसन, गृह, पर्खाल र बाहिरी ढोका जम्मै वस्तु सुनले बनेको थियो। यज्ञको भण्डारमा दूध–दहीको बडेमानका कुण्डहरू बनेका थिए तथा दूध–दहीको खोलो बगिरहेको थियो। शुद्ध अन्नको पर्वतको समान राश लागेको थियो। त्यहाँ सबै मानिसको लागि घोषणा गरिएको थियो– सज्जनहरू, नुहाइधुवाइ गरेर जसको जस्तो रुचि छ, त्यसको अनुसार खानुहोस्, पिउनुहोस्। भगवान् शिवले राजा शिविको पुण्यकर्मबाट प्रसन्न भएर यो वर दिएका थिए– राजन्, सधैं दान गरिरहँदा पनि तिम्रो धन क्षीण हुनेछैन। यसै प्रकार तिम्रो श्रद्धा, सुयश र पुण्यकर्म अक्षय रहनेछ। तिमीले भनेबमोजिम सबै प्राणी तिमीसित प्रेम गर्नेछन् र अन्तमा तिमीलाई उत्तम लोकको प्राप्ति हुनेछ। यस्ता उत्तम वर पाएर राजा शिवि पनि समय आएपछि दिव्यलोकमा गइसके। उनी तिमी र तिम्रो पुत्रभन्दा पनि बढी पुण्यात्मा थिए। जब उनी पनि मृत्युबाट बच्न सकेनन्, त्यसैले तिमीले पनि आफ्नो पुत्रको शोक गर्नुहुँदैन।
सृञ्जय, जसले प्रजामाथि पुत्रको समान प्रेमभाव राख्दथे, ती दशरथनन्दन राम पनि परमधाम गइसके। उनी अत्यन्त तेजस्वी थिए। आफ्नो पिताको आज्ञाबाट उनी धर्मपत्नी सीता र भाइ लक्ष्मणका साथ चौध वर्षसम्म वनवास गरेका थिए। जनस्थानमा रहेर तपस्वी, मुनिहरूको रक्षार्थ उनले चौध हजार राक्षसहरूको वध गरेका थिए। त्यहाँ बस्दा लक्ष्मणसहित रामलाई मोहमा पारेर रावण नामक राक्षसले उनकी पत्नीलाई हरण गरेर लग्यो। यद्यपि रावण र दैत्यहरूसित पनि अवध्य थियो, साथै ब्राह्मण र देउताहरूको लागि कण्टकरूपी थियो। रामले उसलाई उसका आफन्तहरूसहित मारेर सीतालाई फर्काए। देउताहरूले उनको स्तुति गरे, सम्पूर्ण संसारमा उनको कीर्ति फिजियो। देउता र ऋषिहरू उनको सेवामा रहन थाले। उनले विशाल साम्राज्य पाएर सम्पूर्ण प्राणीमाथि दया गरे। धर्मपूर्वक प्रजाको पालन गर्दै अश्वमेध नामक महायज्ञको अनुष्ठान गरे। क्रमशः...।