- सञ्जय मित्र
हाम्रो समाजमा भुइँया बाबाको पूजा गर्ने चलन छ। केही जातिविशेष वा समुदायले व्यक्तिगत वा सामूहिक पूजा गर्ने चलन छ। कतै भुइँया बाबा त कतै भुइँया माता भनेर पूजा गरिन्छ।
वास्तवमा धरतीलाई पूजा गर्ने चलन पुरानै हो। धरतीलाई माता पनि भन्ने गरिएको पाइन्छ। धरतीलाई पूजा गर्नु वा धरतीप्रति श्रद्धा प्रकट गरिनुमा केवल धार्मिक कारण हो भन्ने सोचाइ राख्नु सीमित हुन जान्छ। आफूलाई नास्तिकको श्रेणीमा राख्नेहरूले पनि आफ्नो धरतीसित प्रेम गर्ने गरेको र आफ्नो धरतीप्रति गर्व गर्ने गरेको पाइन्छ। भौतिकवादीहरूले पनि धरतीको सवालमा आफूलाई अलिक फरक किसिमले भएपनि आस्तिकहरूकै नजीक राख्न चाहन्छन्। यसर्थ धरतीप्रतिको श्रद्धा र सम्मान अनेक रूपमा गरिन्छ।
हाम्रो संस्कृतिमा कुनै महत्वपूर्ण काज गरिंदा भूमिपूजा गर्ने चलन रहेको छ। र यस प्रकारको संस्कृति कुनै सानोतिनो भूखण्डमा होइन, विशाल क्षेत्रमा रहेको छ।
वास्तवमा धरतीलाई पूजा गर्ने चलन पुरानै हो। धरतीलाई माता पनि भन्ने गरिएको पाइन्छ। धरतीलाई पूजा गर्नु वा धरतीप्रति श्रद्धा प्रकट गरिनुमा केवल धार्मिक कारण हो भन्ने सोचाइ राख्नु सीमित हुन जान्छ। आफूलाई नास्तिकको श्रेणीमा राख्नेहरूले पनि आफ्नो धरतीसित प्रेम गर्ने गरेको र आफ्नो धरतीप्रति गर्व गर्ने गरेको पाइन्छ। भौतिकवादीहरूले पनि धरतीको सवालमा आफूलाई अलिक फरक किसिमले भएपनि आस्तिकहरूकै नजीक राख्न चाहन्छन्। यसर्थ धरतीप्रतिको श्रद्धा र सम्मान अनेक रूपमा गरिन्छ।
हाम्रो संस्कृतिमा कुनै महत्वपूर्ण काज गरिंदा भूमिपूजा गर्ने चलन रहेको छ। र यस प्रकारको संस्कृति कुनै सानोतिनो भूखण्डमा होइन, विशाल क्षेत्रमा रहेको छ।
गत हप्ताको विश्वचर्चित भूमिपूजन एउटा उदाहरण हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश प्रान्तको अयोध्यामा भूमिपूजन तथा राममन्दिर निर्माणको कार्यारम्भ गरे। त्यो भूमिपूजन निकै चर्चित रह्यो।
सन् १९९० को दशकदेखि अयोध्या निरन्तर चर्चामा रहेको छ। अहिले आएर चितवन जिल्लाको माडी उपत्यकाको माडी नगरपालिकाभित्रको अयोध्यापुरी पनि चर्चामा छ। तर उत्तर प्रदेशको अयोध्या नै करीब तीन दशकदेखि विशेष चर्चामा रहेको छ। विशेष चर्चामा रहने कारण भने राममन्दिर नै हो।
शास्त्रहरूले रामको जन्मभूमि अयोध्यालाई मानेको छ र हिन्दू समाजमा पनि अयोध्यालाई रामजन्मभूमि मानिएको देखिन्छ। तर त्यहीं अयोध्यामा भने राममन्दिर थिएन। रामजन्मभूमि बताउने स्पष्ट कुनै मन्दिर वा प्राचीर पनि थिएन। धेरैले के विश्वास गरेका थिए कि जहाँ बाबरी मस्जिद छ, त्यहाँ नै राममन्दिर थियो। राममन्दिरलाई कुनै जमानामा कसैले भत्काएर मस्जिदको निर्माण गराएका थिए भन्ने भनाइहरू प्रचलनमा थिए। एक दिन हजारौं मानिस मिलेर मस्जिद भत्काए। त्यसपछिको स्थिति भने फरक हुन पुग्यो। भारतीय राजनीतिमा राममन्दिरको मुद्दा स्थापित हुन पुग्यो र त्यो विवादित भूमिसम्बन्धी मुद्दा अदालतसम्म पुग्यो। लामो समयको प्रतीक्षापछि अदालतले राममन्दिरको पक्षमा फैसला सुनायो। फैसलाले एउटा तरङ्ग ल्यायो, हिन्दू समुदायमा उत्साह ल्यायो। सानातिना अपवादबाहेक फैसलालाई सबैले स्वीकार गरे। फैसलापछि राममन्दिर बन्ने निश्चित भयो।
राममन्दिर कहिले बन्ने भन्ने अन्योल थियो तर अब त्यो अन्योल पनि समाप्त भएको छ। त्यहाँका प्रधानमन्त्रीले भूमिपूजन र मन्दिर निर्माणको कार्यारम्भ शुरू गरेपछि अब मन्दिर निर्माणको काम कहिले सम्पन्न होला भन्ने नयाँ जिज्ञासाको पालुवा मनमनै पलाइरहेको छ।
अयोध्यामा अहिले निर्माण भइरहेको राममन्दिरको जमीनको विवाद सर्वोच्च अदालतमा रहेकै बखत दुई वर्ष पहिले अयोध्या पुगेको थिएँ। विवादित भनिएको जमीनमाथि पाइला टेक्ने अवसर प्राप्त भएको थियो र रामको जन्म भएको मानिएको ठाउँको दर्शन गर्न पाएको थिएँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा रहँदा जुन जुन ठाउँ पुगेका थिए, भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारणमार्फत् देखाए, म ती ठाउँहरूमा पुगिसकेको छु, त्यसै बेला। ती ठाउँहरू क्रमशः टेलिभिजनको पर्दामा देख्न पाउँदा एकातिर त्यस ठाउँलाई आफैंले देखेको आत्मानुभूति र अर्कोतर्फ त्यहाँ रहँदाको समयमा त्यहाँको वस्तुस्थिति तथा मनोविज्ञान बुझेको हुनाले फरक किसिमको उत्साह ममा हुनु स्वाभाविक हो।
जहाँ मन्दिरको गर्भगृह छ, त्यहाँ शिलान्यास गरिएको छ, त्यो ठाउँमा पहिलेदेखि नै रामको प्राचीन मूर्ति राखिएको थियो। रामको जन्म त्यही ठाउँमा हो भनेर रामको प्राचीन मूर्ति राखिएको थियो। बाहिरबाट कोही दर्शन गर्न जान्थे भने त्यही मूर्तिको दर्शन गर्न पाउँथे। अहिले अब व्यवस्था परिवर्तन भएको हुनुपर्छ।
अयोध्यामा दर्शन गर्न जाने भनेको मुख्य कुरा यही नै हो। रामसँग सम्बन्धित अन्य धेरै कुराको त्यहाँ दर्शन गर्न पाइन्छ।
अयोध्यामा जतिजनासित कुराकानी भएको थियो, हरेकमा विश्वास थियो कि राममन्दिर कुनै पनि हालतमा बन्नेछ। अदालतमा मुद्दा विचाराधीन रहेको भएपनि स्थानीयको भनाइ कस्तो थियो भने यहाँ रामले जन्म लिएकै हो र यो मुद्दामा रामले आफ्नो फैसला आफैंले गर्छन्, यस कारण राममन्दिर त्यहीं बन्नेछ, जहाँ सबैले उनको जन्म भएको भनिरहेका छन्।
जुन ठाउँमा रामको जन्म भएको भनिएको छ, त्यस ठाउँमा जान रोक लगाइएको त थिएन तर त्यहाँसम्म पुगेर दर्शन गर्न सकिने ठाउँमा पुग्न भने सुरक्षासम्बन्धी अनेक चेकजाँचबाट गुज्रनुपर्दथ्यो।
रामजन्मभूमि मानिएको ठाउँलाई चारैतिरबाट ठूलो पर्खालले घेरिएको छ। सामान्यतया पर्खाल नाघ्न सम्भव छैन। दर्शन गर्न जाने मानिसहरूमा भने सबैभन्दा पहिले अत्यन्त व्यवस्थित सुरक्षा सतर्कता रहेको मनोविज्ञान बन्न पुग्दछ। मुख्य प्रवेशद्वारमा नै दर्शनार्थीसित केही पनि नरहेको स्पष्ट पारिन्छ अर्थात् प्रवेशद्वारमा नै दर्शनार्थीसित मोबाइल, कलमजस्ता सानावस्तुहरू पनि झिक्न लगाइन्छ। बेल्ट पनि लगाउन पाइन्न। जुत्ता, चप्पल पनि खोल्न लगाइन्छ। प्रवेश गर्नुअघि सुरक्षाकर्मीले पूरै शरीर चेक गर्दछ। त्यसपछि मेशिनको प्रयोग गरेर भित्र लैजान नहुने कुनै कुरा नभएको जाँचिन्छ। यदि केही भेटियो भने तत्काल फिर्ता पठाइन्छ र बाहिर सामान राखेर आउन भनिन्छ। त्यहाँ बाहिर निश्शुल्क सामानहरू राख्ने ठाउँको व्यवस्था छ।
भित्र प्रवेश गरेपछि फलामे डन्डीले चारैतिरबाट घेरिएर बनाएको सुरुङजस्तो लामो र घुमाउरो मार्ग छ। वर्षा र घामबाट पनि जोगाउने किसिमको छ तर कतै कोही फुत्केर जान भने सकिन्न। मार्गभरि सुरक्षाकर्मीहरू हुन्छन्। भित्र पनि ठाउँ–ठाउँमा शरीर चेकजाँच हुन्छ। रामजन्मभूमिमा पुग्नुअघि करीब एक किलोमिटर जति घुम्नुपर्दछ। रामको जन्म भएको ठाउँ आइपुग्नासाथ त्यहाँ भित्रै मार्गमा नै झन्डै तीनजनाको बीचमा एकजना सुरक्षाकर्मी आउँछन् र अत्यन्तै मीठो शब्द र शैलीमा रामको जन्म भएको ठाउँ त्यही हो। त्यो रामको प्राचीन मूर्ति हो। अदालतबाट फैसला भएर राममन्दिर बन्यो भने अहिले विराजमान भएको यही ठाउँमा भगवान् रामलाई विराजमान गराएर मन्दिर बनाइन्छ भनेर बताउँछन्। अन्य सानातिना जिज्ञासा भए समाधान गर्दछन्। हामीलाई यी कुरा बताउनेमा महिला प्रहरी थिइन्।
दर्शन गर्दै हिंड्दै गर्नुपर्ने हुन्छ र व्याख्यान पनि सुन्दै गर्नुपर्छ। त्यहाँ धेरै कुरा सोध्न र भन्न पनि समय हुँदैन।
करीब पच्चीस मिटर टाढाबाट रामको दर्शन गर्न पाउँदा मनमा एक किसिमले टीठ लागेर आउने र अर्को किसिमले सन्तोष लागेर आउने हुन्छ।
अहिले जब राममन्दिर निर्माण हुने विषयसम्बन्धी आशङ्काको आकाशमा रहेका सम्पूर्ण बादल हटेर छ्याङ्ङ भएको छ, तब प्लास्टिकले छोपेर बनाइएको अस्थायी साधारण टेन्टजस्तो लाग्ने ठाउँमा राखिएको रामको त्यो प्राचीन मूर्तिले सबैको चाहना अनुसारको ठाउँ पाउने निश्चित हुँदा सन्तोषको मात्रा बढेर जानु स्वाभाविक हुन्छ।
टेलिभिजनको पर्दामा भूमिपूजनको दृश्य हेरिरहँदा त्यस ठाउँमा पहिले नै पुगिसकेको भएर त्यहाँ आफू पनि उपस्थित भएको महसूस भइरहेको थियो। अयोध्यामा रहँदा कतिपयको मुखबाट सुनिएको– दुनियाँको उद्धार गर्ने रामले आफ्नै उद्धार कहिले गर्ने होला ? भन्ने प्रश्नको उत्तर पनि प्राप्त भएको जस्तो लागिरहेको थियो।
विभिन्न समाचार च्यानलहरूले पनि रामको वनबास अब समाप्त भएको टिप्पणी गरेका थिए।
नेपालमा अयोध्या भएको सन्दर्भलाई पनि म सम्मान गर्दछु। अयोध्या अन्यत्र पनि भएको बताइन्छन्, ती ठाउँहरूप्रति म सम्मान प्रकट गर्दछु। सबै अयोध्याले यथोचित विकास र सम्मान पाउनुपर्दछ भन्ने मलाई लागेको छ।