जीतलाल श्रेष्ठ, निजगढ, ४ साउन/
‘चुरे रहे पानी, पानी रहे हामी, चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’ भनिरहँदा ‘चुरेको माटो चुरेलाई, घना हरियाली वन र सफा पानी सबैलाई’ भन्ने हरफ जोड्दा सुनमा सुगन्ध हुन्छ।
चुरे पर्वत शृङ्खलाको विषय उठान गर्दा माटो र वनलाई टाढा राख्नुहँुदैन। यी सबै एकअर्कासँग जोडिएका महत्वपूर्ण पाटो हुन्। यस्तै, चुरे जोगाउने अनि हामी पनि जोगिने र भावी सन्ततिलाई पनि सुन्दर प्राकृतिक स्रोत, साधन, सम्पदा, वातावरण सुम्पिनुपर्ने हामी सबैको साझा दायित्व, कर्तव्य र जिम्मेवारी रहन्छ।
माथिल्ला यस्ता हरफहरू केही वर्ष वा दशकमा नै चुरे जोगाउने दिव्य उपदेशको रूपमा सत्य साबित हुन सक्ने देखिएको छ। संरक्षणभन्दा कटान, उत्खनन, विकासभन्दा बढी विनाश अनि जथाभावी चुरे, खोला, खोल्सी, बगर उत्खननले सीमा नाघ्दै गइरहे विकास होइन विनाश निश्चित छ।
चुरेलाई जिस्काउनु अर्थात् चलाउनु मानवजातिका लागि मात्रै नभई चुरे पर्वत शृङ्खला आसपास, वन क्षेत्रमा रहने वन्यजन्तु, प्राणीहरूका लागि पनि हितकर नहुने चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम एकाइ भरतपुर चितवनका प्राविधिक अनिल सिन्हा बताउँछन्।
“चुरेका लागि हामी हैनौं, हाम्रालागि चुरे पर्वत प्रकृतिले उपहार दिएको हामीले बुझ्नुपर्दछ। यसको दिगो संरक्षणविना तराई–मधेसको भविष्य सुन्दर छैन,” उनले भने। चुरेको दिगो संरक्षणका लागि वनजङ्गल, माटोको संरक्षण अनिवार्य शर्त हो। रूखबिरुवाविनाको चुरेको कल्पना पनि गर्न नसकिने डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमद बताउँछन्। “जबसम्म चुरेलाई रूखबिरुवाले हराभरा बनाउन सकिंदैन, तबसम्म चुरेबाट पाउनुपर्ने लाभ तराई–मधेसको भूभागले पाउन सक्दैन,” उनले थपे।
हाम्रो मुलुकमा चुरे अथवा शिवालिक भनेर चिनिने भौगोलिक क्षेत्र हिमालय पर्वत शृङ्खलाको महाभारत श्रेणीदेखि दक्षिणी भागमा पूर्व–पश्चिम भई फैलिएको छ। नेपालको कुल भूभागको १२.७८ प्रतिशत क्षेत्र यसले ओगटेको छ। चुरे क्षेत्रमा मूलतः पाँच भूप्रदेश छन्। जुन चुरे पर्वत, भित्री मधेस, साँगुरा खोंच, भावर र तराई हुन्। चुरे पर्वतले १३,४८,९५५ हेक्टर, भावरले ५,८४,५८१ हेक्टर, भित्री मधेस वा दुनले ३,३०,८६८ हेक्टर, साँघुरा खोंचले ८८,०७७ हेक्टर, तराईले १५,७१,०७५ हेक्टर क्षेत्रफल ओगटेका छन्।
नेपालमा चुरे क्षेत्र तराईका कैलाली, नवलपरासी, चितवन, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, धनुषा, सिराहा, सप्तरीलगायत ३६ जिल्लामा फैलिएको छ। चुरे क्षेत्रमा मनसुनी मौसम जेठदेखि असोज महीनासम्म रहन्छ। यहाँ ८० देखि ९० प्रतिशत वर्षा हुने गरेको पाइएको छ। २४ घण्टामा ४५० मिलिमिटरसम्म वर्षा भएको तथ्याङ्क छ।
चुरे पर्वत तराईको भूभागका लागि र त्यहाँ रहेका मानव, जीवजन्तुलगायत हरेक प्राणीका लागि पानीको मुख्य स्रोत हो। यसको संरक्षणविना तराईको कल्पना पनि गर्न नसकिने जानकारहरू बताउँछन्।
यस क्षेत्रको जनसङ्ख्या १ करोड ४५ लाख ४३ हजार ५०९ रहेको छ। झन्डै कुल जनसङ्ख्याको आधा भाग चुरे क्षेत्रमा नै रहेको छ। जसले गर्दा पनि चुरे मानवरहित कि मानवसहित भन्ने लामो तर्क, बहस चलिरहेको छ। यस तथ्याङ्कलाई हेर्दा पनि चुरे मानवरहित भन्न सकिंदैन। चुरे पर्वतलाई नै असर पर्ने गरी रहेका बस्तीहरूलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ। तर पूरै मानवरहित चुरे बनाउनु तत्काल चुरेका लागि पनि सुहाउँदो नहुन सक्छ।
चुरे पर्वत र यहाँ बसोबास गर्दै आइरहेका जसले पुस्तौं पुस्ता बिताइसकेका छन्। एकअर्कामा प्रगाढ सम्बन्ध रहेको छ। चुरेमा वसोवास गर्नेहरूले चुरेको भूभागमा घर, टहरा बनाउन वा खेतीपाती लगाउन सामान्य ढङ्गबाट भूबनोटको परिवर्तन गर्न सकिने भएपनि बसोवास, खेतीपाती, विकासको नाउँमा भूबनोट परिर्वतन गर्नु, गराउनु बिल्कुलै चुरेको प्रकृतिविपरीत हुने चुरे—तराई मधेस संरक्षण विकास समिति कार्यक्रम एकाइ भरतपुर चितवनका प्रमुख रामहरि पन्तले बताए।
चुरे र चुरे भएर बग्ने खोलानाला, नदीहरूमा जीवन गुजारा चलाउनेदेखि हुनेखाने, स्थानीय तह, जनप्रतिनिधिदेखि ठेकेदारसम्मको आँखा चुरे, वन र नदीजन्य वस्तु ग्रेभल, ढुङ्गा, बालुवातर्फ निरन्तर एकोहोरिएको पाइन्छ। हातमुख जोर्नेलाई भन्दा पनि हुनेखाने, ठूलाठालुलाई चुरे दोहन गरी कसरी तत्कालै धनाढ्य हुने भन्ने चिन्ता छ।
प्राकृतिक स्रोत साधनको जथाभावी उत्खनन, दोहन, सङ्कलन यस्ता विकृत सोच, मनोविज्ञानले प्रायः जहिल्यै पनि प्राकृतिक स्रोत साधनमाथि नै आक्रमण गरिरहेको हुन्छ। चाहे वनजङ्गल मास्न होस्, चाहे नदीजन्य वस्तुको उत्खनन, सङ्कलन, बिक्री र ओसारपोसार गर्न होस्।
स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको प्रमुख आम्दानीको स्रोत नदीजन्य पदार्थ नै भएको छ। खोला त खोला चुरे फेद, आसपासका खोला, खोल्सीहरूको समेत उत्खनन गर्न पालिकाहरू उद्धत छन्।
त्यसैगरी, अप्राकृतिक खोला, बगर उत्खननले खोलानाला आसपासका खेतीयोग्य जमीन कटान हुने, चुरे पहाड स्खलन हुने क्रम बढेको छ। जथाभावी चुरे उत्खनन गर्दा खोलामा पागो माटो थुप्रिने गर्छ। पागो माटोले खोला बिगार्छ। खोला, बगरमा भेलबाढी वा सामान्य पानी बग्दा पनि ढुङ्गा भइदियो भने ढुङ्गाले बालुवा, माटोलाई बगाउने र खियाउने प्रक्रिया चल्छ। तर खोला, बगरबाट जथाभावी ढुङ्गा उत्खनन गर्दा यस्तो प्राकृतिक प्रक्रिया अवरुद्ध हुन पुग्छ। जसका कारण चुरे पहाड, खोला, बगर किनारका जमीन कटान हुँदा पागो माटो, बालुवा थुप्रिएर बस्दै जान थाल्छ। कतै खोलाको सतह उठ्ने र कतै गहिरिने पनि ढुङ्गा नभएको कारणले नै हो।
चुरे भएर तीव्र गतिमा आउने भेलबाढीले राजमार्ग उत्तरतर्फको जमीन ठूलो मात्रामा कटान हुने, भेलबाढीको गति कम हँुदै गएमा पागो माटो, बालुवा थुप्रिने प्रक्रिया शुरू हुन्छ। जसका कारण केही वर्षयताबाट चुरे फेद आसपासका जमीन, बस्ती कटानको चपेटामा छन्। दक्षिणतर्फका जमीन, बस्तीमा बाढी पस्ने त्रास बढी देखिएको छ।
निजगढस्थित बकैया बगरमा ट्याक्टरले जोतेर ढुङ्गा निकाल्ने कार्य अझै रोकिएको छैन। राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम अन्तर्गत करोडौं रकम लगानी गरी निर्माण गरिएका ड्यामहरू अहिले सङ्कटमा छन्। ड्याम फेद आसपासको खोला, बगर किनारमा ट्याक्टरले जोत्ने, तटबन्धका लागि तारजालीमा भरेको ढुङ्गा तार काट्दै झिक्ने गलत कार्यलाई रोक्न स्थानीय तह सक्रिय देखिंदैन।
चुरेमा रहेका ५/७ घरका लागि डोजरले खनेर विकास भन्दै सडक पु–याउने होडबाजी स्थानीय तहमा बढेको छ। जसले गर्दा चुरेको क्षयीकरण त्यहींबाट हुन सक्ने प्रवल सम्भावना रहन्छ। चुरे पर्वत शृङ्खला विश्वकै कान्छो पहाड हो। यसको उत्पत्ति ४ करोड वर्ष पहिले मात्रै भएको मानिन्छ। त्यसैले पनि चुरे पर्वत र तराईका भूभाग र मानवजीवनको चक्र एकअर्कामा परिपूरक देखिन्छ।