राजेश मिश्र |
राज्यले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । दुई महीना बित्न लाग्यो । २०२० को पूर्वसन्ध्या अर्थात् सन् २०१९ को उत्तराद्र्धमा भ्रमण वर्षको गतिलो तयारी भइरहेका खबरहरू दिनहुँ पढ्न र सुन्न पाइन्थ्यो । तर दुई महीना बित्न लाग्दा प्रचारप्रसार र सक्रियता झन् तीव्र हुनुपर्नेमा ओझेल पर्न लागेको हो कि भन्ने प्रश्न उठ्न थालेका छन् । हुनत पर्यटन वर्षलाई प्रभावकारी बनाउनका निम्ति कुनै एक पक्षको सक्रियताले सम्भव हुँदैन । सबैको साथ र सहयोग अपरिहार्य छ । तर केन्द्रीय सरकारको दायित्व र सक्रियता अत्यधिक देखिनुपर्दछ । सक्रियता कागजमा मात्र होइन, सतहमा देखिनुपर्दछ । कतै भ्रमण वर्ष
सिंहदरबार र सम्बन्धित मन्त्रालयसम्म मात्रै सीमित रहने हो कि ? भन्ने भान पर्न थालेको छ । पहिलेदेखि देखिंदै आएको स्थापित चलन अनुसार कुनै पनि कार्यक्रमको सुरुआत र अन्त्यलाई बढी प्राथमिकतामा राखेर खूब जोडतोड देखाइन्छ । बजेट रित्याइन्छ । कुरा सक्किगो !
प्रसङ्गवश भ्रमण वर्ष शुरू हुनुअगावै सरकारद्वारा जारी वक्तव्यहरूमध्येका केही अंशहरू यहाँ उल्लेख गर्न जरुरी देखिन्छ । विभिन्न मुलुकमा पुगेर मन्त्रालयका साथीहरूले भ्रमण वर्षको प्रवर्धन गरिरहेको, विभिन्न मुलुकका शहरहरूमा पुगेर भ्रमण वर्षको तयारीस्वरूप कार्यक्रम गर्ने, रोड शो गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने तथा त्यहाँका मानिसहरूलाई नेपालको बारेमा जानकारी गराइ नेपाल आउने पर्यटकको सङ्ख्या बढाउँदै लैजाने जस्ता वक्तव्यहरूले सञ्चारमाध्यमहरूमा प्रमुखता पाएका थिए । त्यस्तै, नेपालको भौगोलिक बनोट, संस्कृति, जैविक विविधता, सांस्कृतिक सम्पदा, भाषा, जीवनशैली, सर्वाेच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, धनुषास्थित जानकी मन्दिरलगायतका बारेमा जानकारी बाँड्ने, विदेशमा प्रचारप्रसारका साथै आन्तरिक तयारीमा समेत जुटिरहेका कुराहरूले आमनागरिकले विगतभन्दा २०२० को नेपाल भ्रमण वर्षमा नयाँपन हुने सम्भावनासहितको कल्पना गर्नु स्वाभाविक हो ।
संसारमा प्रसिद्ध माउन्ट एभरेस्टले नेपालको परिचय संसारभरि पैmलिएको कुरा बताइरहनुपर्दैन । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो नेपालमा हरेक प्रकारका पर्यटकलाई आत्मसन्तुष्टि प्राप्त गर्ने वातावरण छ । त्यस्तै, धार्मिक पर्यटनको सवालमा बागमती प्रदेशमा अवस्थित पशुपतिनाथ मन्दिर, प्रदेश नं २ मा अवस्थित जानकी मन्दिर तथा लुम्बिनीमा अवस्थित गौतम बुद्ध जन्मस्थलीलगायतका स्थापित पर्यटकीयस्थलका साथै थुप्रै आकर्षक स्थानहरू छन् यहाँ । तर प्रश्न के उठ्छ भने, के यी स्थापित, प्रसिद्ध र चर्चित स्थानहरूको अवलोकन भ्रमण गर्नको लागि पर्यटकलाई आकर्षित गर्न भ्रमण वर्ष योजना ल्याउनु आवश्यक छ ? जहाँसम्म लाग्छ, यी स्थानहरूमा वर्षको ३६५ दिन धेरथोर अन्तरिक तथा बाह्य पर्यटकहरूको उपस्थिति देख्न सकिन्छ । यस्तो अवसरमा लुप्त र गुप्त स्थानहरूलाई प्राथमिकतामा राखेर बढी प्रचारप्रसार गरिनुपर्नेमा राज्यपक्षबाट वैमनस्यता हुनुभएन ।
आन्तरिक तयारीको कुरा गर्दा मुलुकमा सङ्घीयता आएपछि तीनै तहका सरकारसँग मिलेर अघि बढ्ने भनिएको कुराले सार्थकता पाउनुपर्दछ । त्यस्तै, केन्द्रको समन्वयमा पर्यटन बोर्डले प्रत्येक प्रदेशसँग मिलेर भ्रमण वर्षलाई सफल बनाउन प्रत्येक प्रदेशका मुख्यमन्त्री संयोजक रहने गरी कार्यसमिति निर्माण भएको थियो । सो समितिले प्रदेशमा भएका पर्यटकीयस्थलको जानकारी गराउने, प्रचारप्रसार गर्नुको साथै पर्यटकीय गन्तव्यहरूको विकास गर्ने, सो स्थलहरूमा भ्रमण वर्षमा आएका पर्यटकहरू त्यहाँ पुगून् भन्ने उद्देश्यका साथ तयारी थालिएको कुरा प्रकाशमा आएको थियो । धरातलीय यथार्थता भने भनाइभन्दा फरक छ ।
प्रदेशमा रहेका संस्कृति, जातजाति, धर्म, भाषाभाषीका बारेमा जानकारी दिई उनीहरूको कला र संस्कृति प्रदर्शन गरी पर्यटकलाई मनोरञ्जन दिने उद्देश्य र चाडबाडका बारेमा प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिने योजनाहरू सुन्दा कर्णप्रिय लागे पनि प्रयोगमा नल्याएसम्म उद्देश्यप्राप्ति हुँदैन । पर्यटन वर्षका अवधारणाहरू जारी मार्गदर्शन अनुसार लागू गर्ने हो भने हिजो आइरहेका पर्यटकका साथै भ्रमण वर्षमा आउने पर्यटकलाई नेपाल आइरहन उत्प्रेरित गरिरहनेछ ।
पर्यटन वर्षको अवसरमा लुप्त र गुप्त स्थानहरूलाई लक्षित गरी सौन्दर्यीकरण र प्रवर्धन गर्नुपर्ने हो । यसको लागि राज्यले आव २०७५/०७६ मा मुलुकका १०० स्थानलाई छनोट पनि गरेको देखिन्छ । छनोटमा परेको प्रदेश नं २ अन्तर्गतका स्थानहरूको नामावलीसहित फोटो राखिएको छ ।
भ्रमण वर्षमा प्रदेश–२ को अवस्था
पर्यटकीय गन्तव्यको रूपमा प्रदेश नं २ अन्तर्गत मूर्त र अमूर्तरूपमा धेरै स्थान छन् । सोहीमध्येका केही मूर्त र केही अमूर्त स्थानहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छनोटमा परेको छ । स्थापित तथा प्रवर्धन गरिनुपर्ने गन्तव्यहरूको रूपमा जानकी मन्दिर, धनुषाधाम, बाराको गढीमाई, पर्सा रानीपोखरी र पर्सा राष्ट्रिय निकुञ्ज रहेका छन् । त्यस्तै, नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरूको रूपमा सिरहाको सहलेस दरबार पर्यटन क्षेत्र (लहान नगरपालिका), सर्लाहीको नाडी ताल (चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७), धनुषाको धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (मिथिला नगरपालिका–१०), महोत्तरीको जलेश्वर मन्दिर (जलेश्वर नगरपालिका), रौतहटको मरघर सिमसार क्षेत्र र पतौरा पुराताŒिवक महादेव मन्दिर पर्यटकीय क्षेत्र, बाराको सिम्रौनगढ (सिम्रौनगढ नगरपालिका), पर्साको घडीअर्वा पोखरी (वीरगंज महानगरपालिका) तथा सप्तरीको छिन्नमस्ता (छिन्नमस्ता गाउँपालिका) रहेका छन्।
प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने भाठाबाबा महादेव मन्दिर र ठोरी गाउँपालिकामा पर्ने ठोरी पर्यटकीय गन्तव्यको सूचीमा परेका छैनन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने बारा जिल्लाको जर्घा र नुनथर भन्ने स्थान पनि सरकारी सूचीमा परेका छैनन् । जबकि यी स्थानहरू आन्तरिक पर्यटकहरूको लागि आकर्षक र रमणीय स्थलको रूपमा स्थापित स्थानहरू हुन् । त्यस्तै, सीमावर्ती भारतका पर्यटकहरूको समेत मुख्य गन्तव्यको रूपमा रहेका यी स्थानहरू सरकारी नजरमा पर्नुपर्दछ, अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार हुनुपर्दछ ।
प्रदेश २ मा सबैभन्दा बढी भारतीय पर्यटकको आगमन हुने गर्दछ । सोमा पनि धार्मिक आस्थाका पर्यटकहरूको सङ्ख्या बढी छ । एउटा प्रश्न उठ्छ, के अमेरिका र युरोपबाट आएकाहरू मात्र पर्यटक हुन् ?
वीरगंज महानगरको झारा टार्ने काम
छिमेकी मुलुक भारतबाट भ्रमणमा आएका मानिसहरू पर्यटक होइनन् ? यो प्रश्न किन आयो भने, नेपालको आर्थिक केन्द्रको रूपमा रहेको वीरगंजमा कुनै तयारी देखिंदैन । विभिन्न उद्योगहरूका होर्डिङ बोर्डबाहेक पर्यटन वर्षको झल्को दिने प्रकारका बोर्ड र ब्यानर मुख्य सडकलगायत शहरका प्रमुख स्थानहरूमा देखिंदैन । वीरगंज शहरको मुख्य नाकामा रहेको शङ्कराचार्यद्वारमा पनि पर्यटन वर्षको झल्को दिने प्रकारका प्रचार सामग्री देखिंदैन । भोजपुरीमा एउटा कहावत छ– बिना मन के बियाह कनपट्टी सेनुर अर्थात् झारा टार्ने काम । र यसको ज्वलन्त उदाहरण हो, शङ्कराचार्यद्वारमा झुन्डिरहेको स्वागत ब्यानर । के यो ब्यानर हेरेर पर्यटक आकर्षित हुन सक्छन् ? आर्थिक नगरी भनिने वीरगंजको सीमा नाकामा यस प्रकारको स्वागत देखेर सर्वसाधारणलाई लज्जाबोध भइरहेको छ । नियामक निकायलाई यो कुरा महसूस हुनुपर्ने हो । जहाँ पर्यटन वर्षको तयारी नै छैन, उत्सव नै छैन, त्यहाँ हेल्प डेस्क राख्ने कुरै आउँदैन । नेपाल भ्रमण वर्ष २०२० ले लक्ष्य अनुसारको सफलता प्राप्त गरोस् । शुभकामना ।