एक दिन इन्द्रले साँझपख वृत्रासुरलाई समुद्रको किनारामा डुलिरहेको देखे । त्यति बेला उनले वृत्रासुरलाई दिएको वरदानबारे विचार गर्न थाले– यस बेला दिन पनि छैन र राति पनि होइन, यो गोधुली बेला हो । यति बेला मैले आफ्नो शत्रुको वध अवश्य गर्नुपर्दछ । यदि आज मैले धोकाले भएपनि आफ्नो शत्रुलाई मार्न सकिनँ भने मेरो भलो हुनेछैन । यस्तो विचार गरेर विष्णु भगवान्को स्मरण गर्ने बित्तिकै उनले समुद्रमाथि पर्वतको समान फिंज उठिरहेको देखा पर्यो । उनी सोच्न थाले– यो फिंज भिजेको पनि छैन र सुकेको पनि छैन र कुनै अस्त्र वा शस्त्र पनि होइन । अत: यदि मैले यो पिंmजलाई उचालेर उसमाथि हाने भने ऊ एकै छिनमा नष्ट भइहाल्नेछ । यो सोचेर उनले तुरुन्तै पिंmज उठाएर आफ्नो बज्रमाथि राखी वृत्रासुरमाथि फाले । उत्ति नै खेर आफ्नो पूर्ववचन अनुसार विष्णु भगवान् त्यस पिंmजभित्र छिरेर वृत्रासुरलाई मारिदिए । वृत्रासुर मर्ने बित्तिकै सम्पूर्ण प्रजा खुशी भए तथा देउता, गन्धर्व, यक्ष, राक्षस, नाग र ऋषिहरू जम्मैजना इन्द्रको स्तुति गर्न थाले ।
हुनत इन्द्रले देउताहरूको भयको कारण बनेको वृत्रासुरलाई मारिदिए तर पहिला त्रिशिरालाई मारेकोले लागेको ब्रह्महत्याको कारण तथा अब असत्य व्यवहारको कारणले तिरस्कृत भएकोले मनमनै बडो दु:खी हुन पुगे । यी पापहरूको कारणले उनी संज्ञाशून्य र अचेतभैंm भएर सम्पूर्ण लोकको सिमानामा गएर पानीभित्र लुकी बस्न थाले । देवराज इन्द्र ब्रह्महत्याबाट पीडित भएर स्वर्ग छाडी गएपछि सम्पूर्ण पृथ्वीका रूखहरू मारिए तथा वन सुकेर गयो । सम्पूर्ण पृथ्वी उजाडभैंm भयो । नदीहरूको धारा सुक्यो । तालहरू जलहीन हुन पुगे । अनावृष्टिको कारण सम्पूर्ण जीवजन्तुमाझ खैलाबैला मच्चियो । देउता तथा ऋषिहरूमा पनि डरत्रास उत्पन्न भयो । राजा नरहेकोले सम्पूर्ण जगत् उपद्रवले पीडित रहन थाल्यो । अनि देउताहरूलाई पनि ठूलो सुर्ता भयो– अब हाम्रो राजा को होओस् ? किनकि देउताहरूमध्ये कसैको पनि रुचि राज्यको भार सम्हाल्नमा थिएन ।
त्यति बेला राजा नहुष बडो प्रतापी थिए । उनी बडो तेजस्वी, यशस्वी र धार्मिक थिए । देउताहरूले आपसमा सल्लाह गरेर उनलाई नै स्वर्गको राजा बनाउने निधो गरे । जम्मैजना गएर राजा नहुषलाई भने– तपाईं नै हाम्रो राजा बनिदिनुहोस् । राजा नहुषले भने– म अत्यन्त निर्धो छु, राजा बनेर तपाईंहरूको रक्षा गर्न योग्य शक्ति ममा छैन । ऋषि र देउताहरूले भने–राजन्, देउता, दानव, यक्ष, गन्धर्व, ऋषि, राक्षस, पितृगण, भूत जम्मै तपाईंको दृष्टिको सामुन्ने उभिनेछन् । तपाईंले यिनीहरूलाई हेरेर नै यिनीहरूको तेज लिई बलवान् भइहाल्नुहुनेछ । तपाईं धर्मलाई अगाडि सारेर सम्पूर्ण लोकको स्वामी बनिहाल्नुहोस् तथा स्वर्गलोकमा रहेर ब्रह्मर्षि र देउताहरूको रक्षा गर्नुहोस् । यति भनेर उनीहरूले स्वर्गलोकमा नहुषको राज्याभिषेक गरिदिए । यस प्रकार नहुष सम्पूर्ण लोकका स्वामी बन्न पुगे ।
यस्तो दुर्लभ वर र स्वर्गको राज्य पाएर पहिले निकै धर्मपरायण रहने नहुष अत्यन्त भोगी हुन पुगे । उनी समस्त देवोद्यानहरूमा, नन्दन वनमा तथा कैलाश र हिमालय आदि पर्वतका शिखरहरूमाथि नानाथरीका भोग र क्रिडाहरू गर्दै रमाउन थाले । यसबाट उनको मन दूषित हुन पुग्यो । एक दिन उनी क्रिडा गरिरहेको बखत उनको दृष्टि देवराजकी भार्या साध्वी इन्द्राणी शचीमाथि पर्यो । यो देखेर ती दुष्ट नहुषले आफ्ना भारदारहरूसित भन्न थाले– म सम्पूर्ण देउताहरूको राजा र सम्पूर्ण लोकको स्वामी हुँ, अनि इन्द्रकी रानी शची मेरो सेवामा किन आउँदिनन् ? आज जसरी भएपनि छिट्टै मेरो कोठामा आउनुपर्छ ।
नहुषको डरलाग्दो कुरा सुनेर सती शचीको मुटु काम्यो र उनी देवगुरु बृहस्पतिकहाँ गएर भनिन्– गुरुदेव, म तपाईंको शरणमा आइपरेकी छु ।
तपाईंले नहुषबाट मेरो रक्षा गर्नुहोस् । तपाईंले अनेकौंपटक मलाई अखण्ड शौभाग्यवती, एककी पत्नी र पतिव्रता रहिरहने वचन दिनुभएको थियो ।
अत: आज आफ्नो वचन सत्य गर्नुहोस् । अनि बृहस्पतिले भयले व्याकुल भएकी शचीसित भने– देवी, मैले जुन जुन कुरा भनेको छु ती जम्मै अवश्य नै सत्य हुनेछन् । तिमी नहुषसित नतर्स । इन्द्रसित शीघ्र नै म तिमीलाई भेटाइदिनेछु, यो मेरो सत्यवचन हो । यता आफ्नो रक्षाको लागि शची बृहस्पतिको शरणमा पर्न गएको कुरा नहुषले सुनी रिसले मुर्मुरिए । उनी रिसले मुर्मुरिएको देखेर ऋषि तथा देउताहरूले भने– देवराज, क्रोधलाई त्यागिदिनुहोस् । तपाईं जस्ता सत्पुरुषहरूले क्रोध गर्नु असल कुरा होइन । इन्द्राणी शची परस्त्री हुन् । अत: तपाईंले उनलाई क्षमा गर्नुहोस् । तपाईं आफ्नो चित्तलाई परस्त्रीगमन जस्तो पापबाट टाढा राख्नुहोस्,
किनकि तपाईं देवराज हुनुहुन्छ, अत: आफ्ना प्रजाहरूको धर्मपूर्वक पालन गर्नुहोस् । भगवान्ले तपाईंको म·ल गरून् । क्रमश:...