(कथा)
– विश्वराज अधिकारी
त्यो रेस्टुरा मेरो छनोटमा यस हुनाले पनि परेको थियो किनभने त्यो बाहिरबाट हेर्दा उच्च दर्जाको देखिन्थ्यो तर पैसाको हिसाबले अरू रेस्टुराभन्दा निकै सस्तो थियो । त्यसैले म त्यो रेस्टुरामा जाने गर्थें। साधारण रक्सी, कुखुराको मासु र थौरै चिउराका लागि कम पैसा तिरे पुग्ने। प्रत्येक दिन साँझ वा एक दिन बिराएर, त्यो रेस्टरामा म नियमित जाने गरेको एक वर्षभन्दा बढी भइसकेको थियो।
त्यो रेस्टुरामा अरू दुई विशेषता थिए–पैसा नभएको दिन उधारो पनि चल्ने। त्यहाँ ग्राहकहरूको भीडमा उनीहरूसँग कुरा वा देखादेख गरेर मन बहलिने। रेस्टुराका यी विशेषताहरू मेरो आवश्यकता पनि थिए। केवल थोरै पेन्सन र प्राप्त अनियमित घरभाडाले घर खर्च धान्नुपर्ने हुन्थ्यो। घर भाडा दिनेले कहिले पनि नियमित भाडा दिन्थेनन् । म अलि कमजोर छु भन्ने मेरो यथार्थ उनीहरूले पनि बुझेका थिए, सम्भवत: ।
म त्यस रेस्टुरामा नियमित जानुको मुख्य कारण भने दिनभरि भोगेको एकाङगीपनलाई साँझमा रमाइलोमा परिवर्तित गर्नु थियो। हुन पनि बिहान उठेदेखि साँझसम्मको मेरो समय पूर्ण रूपमा एक्लो बित्थ्यो। सन्तानहरूलाई दु:ख दिन चाहिनँ र उनीहरूलाई काठमाडौमैं छोडेर एक्लै बस्न रोजेको थिएँ, आफ्नो प्रिय शहर, वीरगंजमा । पत्नीले पनि लामो समय साथ दिन सकिनन्। तीस वर्षको वैवाहिक जीवनलाई चटक्क छाडेर स्वर्गमा वास गर्न पुगिन्, साठी–बासठ्ठीको यता न उताको उमेरमा। मेरो दुर्भाग्यको लामो कथामा एउटा अध्याय मेरी प्यारी पत्नीसँगको मेरो छोटो साथ र अति दर्दनाक बिछोड पनि थियो। मेरी पत्नीको मृत्युको आंशिक जिम्मेवारी मैले पनि बोक्नुपर्छ। मैले घूसघास गरेर, प्रशस्त कमाएको भए, ऋतुको राम्रो इलाज गराउन सकेको भए, ऋतुसँग मेरो बिछोड यति छिटो हुने थिएन। यो असफलताले पनि मलाई त्यो रेस्टुरामा पुर्याउने गरेको थियो।
माईस्थान चोकको त्यो रेस्टुरामा पुगेर आधा गिलास रङगीन पानी घाँटी भित्र खन्याएपछि भने दु:खित पार्ने विगतका घटनाहरू केही हराउँथे भने केही सुखका अनुभूतिमा परिवर्तित हुन्थे । मेरा असफलताहरू हराउँथे। चोटहरू मायालु स्पर्शमा रूपान्तरित हुन्थे। आफूलाई बहादुर पनि देख्न थाल्थें। त्यहाँ भएका अपरिचितहरू शीघ्र आफन्तमा रूपान्तरित हुने सिलसिला तीव्र गतिमा चल्न थाल्थ्यो, एक दुईजनासँग दोहोरो कुराकानीको सिलसिला पनि। ‘बिजुली– पानी’ले अन्य औषधिभन्दा छिटो कार्य गर्न शुरु गथ्र्यो। त्यस कारण रक्सीलाई ‘बिजुली–पानी’ भनिएको होला।
मैले आफूलाई कहिले पनि सफल व्यक्ति ठानिनँ। जुन परिस्थिति, जुन घटना र जुन विषयमा पनि आफूलाई असफल नै पाएँ। भएको पनि त्यस्तै थियो। पढाइ, परिवार, साथी, जागिर, सामाजिक हैसियत सबैमा आफूलाई असफल नै देखें मैले। मसँगै बिए गर्ने साथीहरू नेपाल सरकारका सचिव भए । धेरै सिडिओ भए। केही प्रोफेसर भए । केही गतिलो जागिरको कृपाले करोडपति भए। तर म भने केवल मेरा साथीहरूको सफलताको साक्षी मात्र भएँ, त्योभन्दा बढी केही हुन सकिनँ। लोकसेवा दिएको कहिले पनि पास गर्न सकिनँ। यस हुनाले पनि अति सफल, अति प्रगति गर्ने व्यक्तिहरू केवल मेरा आदर्श मात्र भए, म उनीहरूको नजिक पुग्न भने सकिनँ । असफलताको पहाडले थिचेको मेरो मनोविज्ञानले मलाई मुखिया पदबाट नेपाल सरकारको मुख्य सचिव हुने सपनासम्म पुग्नै दिएन। बिएको पढाइ भन्दा माथि जाने ढोका खोलिदिएन ।
साँच्चै भनौं, प्रेमको क्षेत्रमा त म झन् असफल व्यक्ति हुँ। उमेरमा म युवक हुँदा, अविवाहित अवस्थमा, कति युवतीहरू मेरो नजिक हुन खोजे। तीमध्ये कसैलाई पनि ‘आइ लभ यु’ भन्न सकिनँ । हिम्मतका साथ कसैको हातसम्म पनि समात्न सकिनँ। अति मन पराउनेलाई पनि भन्ने आँट गर्न सकिनँ। यहाँसम्म कि मेलै मन पराउनेमध्ये केहीले मलाई, आमनेसामने भएर नै ‘आइ लभ यु’ भन्दा पनि। अझ, एक युवती जो मेरो एकोहोरो प्रेममा डुबेर मलाई आफ्नो कोठामा लामो समयसम्म बन्द गर्दा पनि मैले उनलाई प्रतिक्रियास्वरूप न केही गर्न सकें न भन्न नै। मेरो भद्रता वा कायरता मेरो सामने जहिले पनि पर्खाल बनेर उभियो। यी सबै घटनाले दिन प्रतिदिन मलाई एक असफल व्यक्तिमा रूपान्तरित गर्दै लगे।
भीडमा उभिरए बोल्ने, दसजनालाई पछि लगाएर हिंड्ने, सभा समारोहहरूमा भाषण गर्ने, यस्तो गर्न सक्ने सपना पनि देख्न सकिनँ विपनाको कुरा त टाढा भयो।
साथीहरूको समूहमा पनि घुलमिल हुन सकिनँ। कारण थियो, मेरो स्कूल कलेजका साथीहरू माथिल्लो आर्थिक हैसियत र दर्जामा पुगेका हुनाले मसँग भेट्न आफ्नो स्तर झरेको सम्झन्थे भने जो मसँग घुलमिल हुन खोज्थे उनीहरूको चिन्तन र बौद्धिक दुवैस्तर मलाई खस्केको अनुभव हुन्थ्यो। म एक्लो पर्नुका कारणमा यो एउटा अनौठो कारण थियो ।
मेरा असफलताका कथाहरूले यति थिच्दै गए कि मेरो मानसिक उचाइ झरेर पाइतालासम्म आइपुग्यो। झन् झन् तल पुगेको मेरो मानसिक उचाइको कथा बिस्र्याइदिने कुनै त्यस्तो खास ठाउँको खोजीमा लागें। त्यो खोजले नै त्यो रेस्टुरासम्म मलाई पुर्यायो। त्यो रेस्टुरामा पुगेर मेरो मानसिक उचाइ बढ्न थालेको अनुभूत गर्ने स्थितिमा पुगें । खासगरी एक गिलास घाँटी तल झरेपछि मानसिक सबलता जुर्मुराएर उठ्न थाल्थ्यो ।
तर एक दिन त्यस रेस्टरामा मैले अचम्मको मानिस भेटें।
त्यो अचम्मको व्यक्ति अर्थात् आनन्द शर्मालाई भेटेको एक हप्ता जति भएको थियो। सामान्य परिचय बढेर आनन्द शर्मा परिचित व्यक्तिमा रूपान्तरित भइसकेका थिए। एक दिन साँझ नियमितभन्दा चार घुड्को खाएको बलमा मैले सोधें–“आनन्दजी, म यो भट्टीमा आउनुको एउटा खास कारण छ, बुझ्नुभयो। तर त्यो कारण सुनेर तपाईंलाई मात्र होइन जसलाई पनि हाँसो लाग्न सक्छ।
“के त्यस्तो कारण छ, सुनाउनुहोस्, केशव जी”–आनन्दजीले हाँस्दै सोधे। मलै पनि हाँस्दै भनें–“के सुन्नुहुन्छ, खासै महत्त्वको छैन त्यो कारण।”
भोलि पल्ट फेरि हाम्रो भेट भयो । हामी नियोजित किसिमले नै एउटै टेबलमा बसेका थियौं। “केशवजी, तपाईं यो भट्टीमा नियमित आउनुको कारण के हो ? हिजोको प्रश्न आनन्दजीले दोहोर्याए ।
मैले हाँस्दै भनें–“मेरो कुरा के सुन्नुहुन्छ। बरु आफ्नो सुनाउनुहोस्।”
आनन्द शर्माले भने–“ल त, मैं आफ्नो कुरा सुनाउँछु। यो भट्टीमा म नियमित आउनुको कारण भन्छु। तर त्यो भन्नुभन्दा पहिले म मेरो कथा छोटकरीमा सुनाउँछु। ल सुन्नुस्–
म पहाडबाट आएको पाँच वर्ष भित्र काठमाडौंको प्रख्यात डन भइसकेको थिएँ । तीस वर्षको उमेरमा नै मेरो राजनीतिक प्रभाव यति बलियो हुन पुगेको थियो कि म एउटा प्रख्यात राजनैतिक दलको सक्रिय सदस्य मात्र थिइनँ, मेरो उठबस सांसद, मन्त्री, प्रधानमन्त्रीसँग हुन्थ्यो.।
जुन काममा हात हाल्थें त्यो काममा सफल हुन्थें। एक किसिमले भन्ने हो भने म सफलताको पर्यावाची बनेको थिएँ । पढाइ मैले नसकेर छाडेको होइन, पढनमा रुचि नभएर र त्यसमा पैसा नदेखेर छाडेको हुँ। खासमा म एमबिए गरेर प्रोफेसर बन्न काठमाडौ पसेको थिएँ। एसएलसीदेखि बिकमसम्म, जहिले पनि सेकेन्ड भएँ, फस्ट न भए तापनि। तर काठमाडौ आएपछि भने प्रस्टगरी थाहा भयो, पैसा, पद र शक्ति आँटमा हुन्छ, बहादुरीमा हुन्छ, पढाइमा हुँदैन।
म अति साहसी मान्छे हुँ। मलाई डर पटक्कै लाग्दैन। डर कुन पक्षीको नाम हो, मलाई थाहा छैन। पहाडमा हुँदा मैले कतिपटक राति चोरलाई धेरै परसम्म लखेटेको पनि छु, त्यो पनि खाली हात। एक दुईपटक त आफू खाली हात भएर पनि, परसम्म लखेटेर चोरलाई समातेको छु। मृत आत्मासँग कुरा गर्न कतिपटक रातिराति मसानघाट घुमेको छु।
निडर र साहसी स्वभावले नै मलाई डन बन्न सजिलो पनि भयो।
लभ त मैले कतिजनासँग गरे, गन्न पनि सक्तिनँ। मलाई मन पर्ने केटीलाई बिना कुनै डर र सङगोच म ‘आइ लभ यु’ भनी दिन्थें। धेरैले मेरो प्रस्ताव स्वीकार गर्थे। केही समय उनीहरूसँग समय बितायो त्यसपछि छाड्यो, मेरो एक किसिमको यस्तै रुटिन थियो। साधारणदेखि घरानिया, विवाहितदेखि अविवाहित, राजनीतिदेखि सिनेकर्मी सबै किसिमका महिलाहरूसँग मेरो प्रेमको चक्कर चल्यो ।
ँपैसा पनि अति नै कमाएँ। नयाँ बानेश्वरको राम्रो ठाउँमा घर पनि किनें । नेता, अभिनेता, काठमाडौंका प्रभावशाली व्यक्तिहरू मलाई भेट्न मेरो घरसम्म आउँथे।”
साँच्चै भन्ने हो भने मलाई आफ्नो निर्भयता र सफलतामा गर्व हुन्थ्यो।
तर एउटा नेताले मलाई ठूलो धोका दियो। उसको राजनैतिक प्रतिद्वन्द्वीलाई उसले आफैं हत्या गर्यो। तर हत्याको आरोपमा मलाई समात्न लगायो। म जेल पुगें, जेलमा के के भयो, कसरी छुटें, त्यो पछि भनौंला। यो कथा लामो छ, अर्कोपटक सुनाउँला।
म दस वर्ष जेल बसें।
जेलबाट छुटेपछि काठमाडौ बस्न मन लागेन। एक्लो मान्छे चटक्क हिंडेर अन्त जान पनि सजिलो भयो। काठमाडौको हावापानी र माहौल परिवर्नत गर्ने विचार गरें। वीरगंज बस्ने निधो गरें। नयाँ ठाउँमा नयाँ परिवेशमा नयाँ मान्छेहरूको बीच बस्दा पुराना कुराहरू बिर्सन सजिलो हुन्छ भन्ने विश्वासका साथ पसें। यो साठी बासठ्ठीको उमेरमा एक असल महिला साथीको खोजीमा छु।
यस शहरमा आएर, यहाँ बसेर, एकदम फरक किसिमले बाँचिरहेको छु । दुईवटा जीप राखेको छु, भाडामा लगाएको छु। ती जिप वीरगंज– काठमाडौका पेसेन्जर उठाउँछन्। शान्तिसँग खानबस्न पुगेको छ यो व्यवसायबाट। तर विगतका कर्महरू भुल्न सकेको छैन। पश्चात्ताप घरिघरि पिरोल्न आइपुग्छ।
केशव जी, साँच्ची भनूँ ? काठमाडौ बसाइँमा मेरा सबै इच्छा पूरा भए, सबै सपना पूरा भए। कुनै कामना, कुनै लालसा अतृप्त रहेन। केवल एउटा कुरा पूरा हुन सकेन। त्यो हो सुख र शान्तिसँग बस्ने धोको पूरा भएन। न मलाई कहिले सुख प्राप्त भयो न मैले कहिले शान्ति पाएँ।
केशव जी, ल अब सुन्नुस्, म किन यो रेस्टुरामा आउँछु। मेरो निडर, निर्भीक र अति आत्मविश्वासले मसँग कस्ता–कस्ता कर्म गरायो भन्ने बिर्सन आउने गर्छु। के थिएँ के भएँ, कहाँ जान खोजेको थिएँ कहाँ पुगें, के सोचेको थिएँ, के भयो, यी सबै सोच्दा अहिले उदेक लागेर आउँछ। यो रेस्टुरामा आएर बिजुली–पानीको करेन्ट दिमागमा सञ्चार हुन थालेपछि आफ्ना विगतका कुकर्म बिर्सन पुग्छु।
यति भनेर आनन्दजी शान्त भए, केही छिनका लागि। केही बेर सोचे अनि अगाडि रहेको आधा गिलास
रातो झोल एकै पटकमा समाप्त पारे। अनि केही स्मरण गर्दै भने–“केशव जी, ल अब तपाईं भन्नुस्, यो भठ्ठीमा आउनुको कारण।”
मैले हीनताबोध मिश्रित हाँसो मुहारमा ल्याउँदै भनें–“आनन्दजी, तपाईं आफ्नो बहादुरीका कथाहरू बिर्सन यो भट्टीमा आउनुहुन्छ भने म आफ्ना काँतरताका कुराहरू बिर्सन।”
यति भनेपछि मात्र मैले रातो झोल खान शुरु गरें। आनन्दजीको कथा पूर्ण होशहवासमा मैले सुन्न चाहेको थिएँ। उनको कथाको विशेषता र रोचकताले मलाई उनको कथा एकाग्र भएर सुन्न बाध्य पारेको थियो। त्यसकारण त्यो दिन केवल एक पेग मात्र खाएँ। केवल उनलाई साथ दिनका लागि।
केही बेर भने हामीं दुवै केवल हाँसिरहयौ, मुखामुख गरेर। त्यसपछि घरतिर फक्र्यौं।
एउटा कुरा चाहिं साँचो–साँचो भन्छु । मैले स्वयं आफूले जुन विचारको पर्खाल निर्माण गरेको थिएँ, त्यो पर्खाललाई आनन्दजीको कथाले नराम्ररी हल्लाइदियो । कुनै पनि बेला दुई वा तीन रेक्टर स्केलको भुइँचालोले समेत मेरो विचारको पर्खाल ढल्ने स्थितिमा पुर्याइदियो।