पाकिस्तानको हैदरबादस्थित सिन्ध परिवारमा सन् १८७६ मा बल्वाभारी भक्त कुलमा लेखराज दादाको जन्म भएको थियो । बाल्यकालदेखि नै श्री नारायणको अनन्य भक्त र पूजापाठमा तीक्ष्ण हुनुहुन्थ्यो । उहाँ बाल्यकालदेखि नै व्यवहार कुशल, अथक परिश्रमी, आफ्ना नाता–कुटुम्ब, छिमेकी, मित्रगण र व्यापारी क्षेत्रमा सम्बन्ध सम्पर्कमा सबैलाई सन्तुष्टि प्रदान गर्नुभएको थियो । मृदुभाषी सात्विक संस्कार र मुग्ध मुस्कानयुक्त जीवनका धनी लेखराज आफ्ना कलाकौशल, लगन, परिश्रम, इमानदारिता र वफादारिताको प्रतिफल एक सामान्य पारिवारिक व्यक्तिबाट प्रसिद्ध हीरा जवाहरातका धनाढ्य व्यापारी बन्न पुगे । आफ्नो गुण र विशेषताका कारण सबैको मन जित्न सफल हुनुभयो । विशाल हृदयका कारण दान वा तर्पण गर्नुहुँदा उहाँ सर्वात्माको भलाइको लागि निरन्तर चिन्तनशील हुनुहुन्थ्यो । धर्मकर्म र भक्तिभावमा उहाँलाई अगाध आस्था र अटल श्रद्धा थियो । उत्तिकै अरूप्रति स्नेह, विश्वास, आज्ञाकारिता पनि थियो । दादा लेखराजको जीवनकालको ६०औं वर्षमा नवसृष्टिका रचयिता परमधाम निवासी ज्योतिबिन्दु परमपिता परमात्मा, ज्ञानका सागर, शान्तिका सागर, दु:खहर्ता, सुखकर्ता, सर्वात्माका पिता, पतितपावन निराकार शिव भगवान्ले उहाँलाई विष्णु चतुर्भुजको साक्षात्कार तथा यस नश्वर संसारको परिवर्तन गर्न उहाँलाई विविध दिव्यदृष्टि अलौकिक दिव्यचक्षु प्रदान गर्न उहाँको साकार मानवी तनमा दिव्य प्रविष्ट भई दादा लेखराजको कायिक नाम परिवर्तन गरेर प्रजापिता नामाकरण गर्नुभयो र प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महायज्ञको सन् १९३७ मा शुभारम्भ गर्नुभयो । यस महायज्ञको आदिकालमा ब्रह्माबाबाको अगाडि कोही साकार आदर्शपुरुष थिएन, तापनि निराकार शिव भगवान्प्रति अटल आस्था, विश्वास र निष्ठाको प्रतिफल शिवका हर आदेश, उपदेश र निर्देशलाई जीवनमा अवलम्बन गरी कुशल, दक्ष, आदर्श उदाहरण प्रस्तुत गर्ने जुन जिम्मेवारी निर्वाह गर्नुभयो, त्यसबाट उहाँ भावी साधक र महात्माको लागि प्रेरणाको स्रोत बन्नुभयो ।
निराकार परमपिता परमात्मा जीवन मुक्तिदाता शिवको आज्ञालाई नै भगवान्को श्रीमत् भनिन्छ । श्रीमत् अर्थात् शिवको ज्ञान केही व्यावहारिक स्वरूप बनेर त्यसको जीवनमा जस्ताको त्यस्तै उतारेर कसरी पालना गर्नुपर्छ, त्यसको नमुना र स्पष्टीकरण ब्रह्माबाबाको जीवनबाट मिल्छ, जस्तो मिश्रीमा गुलियोपनको स्वरूप हुन्छ । त्यस्तै उहाँ ईश्वरीय ज्ञान र गुणका स्वरूप हुनुहुन्छ ।
लेखराज बाबा (पिताश्री ब्रह्माबाबा)ले जीवनभर कमाइ गरेर आर्जेको सम्पूर्ण तन, मन, धन सर्वस्व भगवान्को आदेश अनुसार मानव कल्याणको ईश्वरीय कार्यमा स्वाहा गरी सफल गर्नुभयो । यस्तो उदाहरण आजसम्मको इतिहासमा कुनै छैन । केवल तन, मन, धन मात्र होइन, लौकिक र सांसारिक जीवनमा सबै क्षेत्रबाट अति धेरै मानसम्मान, स्नेह र इज्जत प्राप्त गर्नुभएको थियो । तर ब्रह्माबाबाले अलौकिक जीवन प्राप्त गरेदेखि सात्त्विक र पवित्रताको धारणामा चारैतिरबाट जुन आलोचना, वैर–विरोध, अपशब्द, ग्लानीको सामना गर्नुभयो, त्यो निकै हृदयविदारक र मार्मिक छ । तापनि शिव भगवान्को एक बल एक भरोसा राखी सबैमाथि दया, करुणा र क्षमाको भाव राख्दै सबैलाई सम्मान गर्दै अघि बढ्नुभयो । गाली गर्नेलाई अँगालो मार्दै, अपशब्दलाई पृष्पवृष्टि भन्दै यज्ञमा आइपर्ने ठूला–साना सम्पूर्ण समस्याहरूको सामना अदम्य उत्साह र सहनशीलताको अवतार मानी अगाडि बढ्दै बढाउँदै रहनुभयो । पिताश्री ब्रह्माबाबाको यही मानवता थियो ।
महान् व्यक्तिको महानता नै हुन्छ, दीनहीनमाथि दया गर्नु । ऊ त्यस्तालाई अपनाउँछ, जसलाई सारा जगत्ले तिरस्कार गर्दछ । जो बेसहारा छ, उसलाई सहारा दिन्छ । जो निर्धन छ, उसलाई धन दिन्छ । जसलाई कसैले वास्ता गर्दैन, उसलाई आत्मीयता दिन्छ । जो अशान्त, दु:खी र थाकेको छ, त्यसलाई सदाकाल शान्ति र सुख कसले दिन सकेको छ ? अशान्तिले त आज दुनियाँ भरिएको छ । यस परिप्रेक्ष्यमा ब्रह्माबाबाले कमाल गर्नुभएको छ । जसलाई संसारले अशिक्षित, असभ्य, बुद्धिहीन, अल्प मानेका थिए, उसलाई ईश्वरीय ज्ञान र दिव्य पुरुषार्थको सूक्ष्मता दर्शाउनुभयो । जोसँग न धन थियो, न मान, न विद्या, न व्यवसाय, न कला त्यस्तालाई बाबाले सर्वगुण कला सम्पन्न विश्वराज्य अधिकारी बन्ने पुरुषार्थतर्फ डोर्याउनुभयो । जसलाई धर्माचार्यहरू मन्दबुद्धि, निकृष्ट र पतित मानी सुधार्न सकिंदैन भन्थे त्यसमाथि बाबाले दयादृष्टि राख्नुभयो । जसलाई अन्य व्यक्ति डरपोक, कुसंस्कारी भन्थे उनीहरूलाई बाबाले आफ्नो बनाएर ईश्वरीय विधा, कला, कौशल भरेर अदम्य उत्साह भर्नुभयो । उनीहरूको जीवन महान् दिव्य, पवित्र बनाउन संस्कार परिवर्तन गर्नमा भागीरथ प्रयत्न गर्नुभयो, हरेस खानुभएन । कसैले आफ्नो संस्कार बदल्नमा असमर्थता देखाए पनि उसलाई नछोडी ईश्वरीय ज्ञान र योगमा परिपक्व र अनुभूतिशील बनाइ दिनुभयो । उनीहरूको ज्ञानमय जीवन, योगयुक्त दृष्टि, वृत्ति, स्थिति तथा जागृत विवेकबाट लाभ लिन आज ठूल्ठूला बुद्धिजीवी, विद्वान लालायित छन् ।
ब्रह्माबाबाको ईश्वरीय सेवाको स्थल कार्य गर्दा देहबाट अलग विदेहपनको पालना, परमार्थको पालनामा जति व्यवस्थित रहनुहुन्थ्यो, त्यत्तिकै ईश्वरीय नशा, खुशी, उम·, उत्साहमा मस्त रहनुभयो । व्यक्तिहरू उहाँको सामुन्ने आँशु लिएर आउँथे, अविनाशी मुस्कान लिएर जान्थे ।
ब्रह्माबाबाको जीवन भन्नु नै एक शिव भगवान्को पाठ र सेवा थियो । शिव पिताले पिताश्री ब्रह्माबाबाबाट स्वर्णीम सत्युगी दुनियाँ स्थापनाको लागि सन् १९३७ देखि रोप्नुभएको ईश्वरीय ज्ञानको बिरुवा आज प्रजापिता ईश्वरीय विश्वविद्यालयको नामले विश्वव्यापी फैलिएको छ । ब्रह्माबाबा गहन तपस्याद्वारा शिव पिता (भगवान्समान) सम्पन्न सम्पूर्ण कर्मातित बनेर १८ जनवरी १९६९ मा आफ्नो साकार देह छोडेर हंस, अव्यक्त सूक्ष्म लोकमा सूक्ष्म कायामा स्थानान्तरण गर्नुभयो ।
त्यस बेलादेखि उहाँ शिव पितासँग सूक्ष्म प्रकाशमय फरिस्ता ब्रह्माबाबाको रूपमा अहिलेसम्म विश्व परिवर्तनको लागि विह·मार्गको ईश्वरीय सेवामा व्यस्त रहनुभएको छ । हामी सबै मानव आत्माका अव्यक्तरूपबाट पालना गर्दै आउनुभएको छ । उहाँलाई सत्य प्रेरणादायी पालनाबाट आजको दिन (पुण्यस्मृति दिवस)ले हाम्रो जीवन उहाँसमान दिव्य बन्न समर्थ होस् र हामी सबै उहाँप्रति स्नेह, श्रद्धासुमन अर्पित गरौं ।