गताङ्कको बाँकी
सनेस : सनेस शब्दको अर्थ कोसेली अथवा उपहारको रूपमा लगाउन सकिन्छ । मिथिला क्षेत्रमा कौटुम्बिक परिवारबीच परस्पर सनेस, विशेषगरी खाद्यवस्तु आदिका साथै वस्त्र पनि पठाइने गरिन्छ । यसलाई सम्मान, स्नेह, आदर, आत्मीयता र सत्कारको प्रतीक भनिन्छ । सनेस पठाइने अवसर अन्तर्गत खासगरी छोरी, बुहारीको आवागमनको अवसर हुने गर्दछ । यसका साथै शुभ सांस्कारिक अवसरहरू एवं व्रत, पर्वका अवसरहरू हुने गर्दछन् । सनेसका वस्तुहरूमा चिउरा, दही, फलफूल आदिका साथै अनेक प्रकारका पकवान तथा मिष्टान्न रहने गर्दछ । मिथिला क्षेत्रमा सनेस भनेर पठाइने पकवानमा ठकुआ, भूसबा
(चामलबाट बनाइने लड्डू विशेष), पलकिया (पिरुकिया), पू (पूआ), खजूर (खजुरिया) आदि तथा मिष्टान्नमा लड्डू, बताशा, खाजा, गाजा आदि हुने गर्दछ । लड्डूमा बेसनबाट बनाइने लड्डू, जसलाई मूङबाको लड्डू भनिन्छ, यस क्षेत्रमा विशेष लोकप्रिय देखिन्छ । सनेस पठाउँदा सिन्दूर पनि पठाइने प्रचलन रहेको छ, जसलाई सौभाग्यको प्रतीक ठानिन्छ । सनेसका वस्तुलाई ढक्की आदि भाँडामा राखेर एवं भारको रूपमा समेत पठाइन्छ । यसका साथै सनेसका खाद्यवस्तुलाई छरछिमेकमा ‘बएन’ भनेर बाँड्ने गरिन्छ ।
बएन : मिथिला क्षेत्रमा बएन दिने प्रचलन रहेको छ । यस अन्तर्गत खानेकुरासम्बन्धी वस्तुलाई आफैंले मात्र उपभोग नगरी छरछिमेकमा बाँड्ने गरिन्छ, यसलाई ‘बएन देब’ भनिन्छ । यसमा सामान्यत: कौटुम्बिक परिवारबाट ‘भार’ तथा ‘सनेस’ भनेर पठाइएका खाद्यवस्तु आदि हुने गर्दछ । यसका साथै कतिपय विशेष व्रत, पर्व आदिका अवसरमा तयार गरिने पकवान इत्यादि पनि छरछिमेकमा बएनको रूपमा दिने प्रचलन रहेको छ । यस्ता विशेष पर्वहरूमा मकर सङ्क्रान्तिको अवसरमा बनाइने लाइ, चुरलाइ, तिलबा एवं फागुको अवसरमा पकाइने पूआ आदि हुने गर्दछ । यसका साथै अन्य बखत पनि घरमा यदि कुनै खास प्रकारको खानेकुरा पकाइन्छ भने छरछिमेकका घरमा बएन भनेर दिने गरिन्छ । बएनको आदानप्रदानद्वारा समाजमा परस्पर सामाजिक सौहार्द तथा आत्मीय भावनामा अभिवृद्धि हुने विश्वास गरिन्छ । यस सन्दर्भमा मिथिला क्षेत्रमा एउटा भनाइ पाइन्छ– ‘बाभन घर बएन दी’, अर्थात् ब्राह्मणको घरमा बएन अवश्य दिनुपर्दछ । ब्राह्मणलाई समाजमा अति आदरको दृष्टिले हेरिन्छ । समाजमा खेतबारीमा अन्न तथा तरकारी बाली फल्दा सर्वप्रथम ब्राह्मणका लागि भनेर भाग निकालेर दान गर्ने गरिन्छ, जसलाई अगों अथवा ‘अगओं’ भनिन्छ ।
व्यवहार : मिथिला क्षेत्रमा कुटुम्बवर्गका व्यक्ति एक अर्काको घरमा जाने,आउने बखत परिवारका व्यक्तिका लागि वस्त्र लिएर जाने, आउने गर्दछन् । यसरी वस्त्रको आदानप्रदानलाई ‘व्यवहार करब’ भनिन्छ । मिथिलाको समाजमा कुटुम्बवर्ग भनेर ज्वाइँ, भानिज, साला, भिनाजु, साढु, सम्धी गरी ६ प्रकारका नाता तथा यिनका समकक्ष स्तरका नाता पर्ने व्यक्तिलाई बुझ्ने गरिन्छ । यस्तो ‘व्यवहार’ गर्ने अवसर प्राय: यज्ञ, अनुष्ठान, उत्सव, सांस्कारिक अवसरहरू हुने गर्दछन् । यसका साथै अन्य समयमा पनि कुटुम्बवर्गका व्यक्तिलाई खासगरी प्रथम पटकको आवागमनको अवसरमा ‘व्यवहार’ गर्ने प्रथा रहेको पाइन्छ । यस प्रकार व्यवहार गरेर आउने व्यक्तिलाई पनि व्यवहार गरी वस्त्रसहित बिदाइ गरिन्छ । यसमा पुरुषवर्गलाई धोती तथा महिलावर्गलाई साडी दिने गरिन्छ । पुरुषवर्गलाई डाराडोरि (कन्धनी) दिनु अनिवार्य मानिन्छ । यसरी नै महिलावर्गमा खोइँछ दिइने प्रचलन रहेको छ । खोइँछ भनेको साडीको आँचल भागमा दूबोको मुन्टा, बेसार, रुपियाँ तथा छोरीवर्गलाई धान तथा बुहारीवर्गलाई चामल राखेर दिइने आशीर्वादको एउटा स्वरूप हो । यसरी व्यवहार गर्ने सन्दर्भमा कहिलेकाहीं परस्पर असामञ्जस्यपूर्ण परिस्थिति उत्पन्न हुँदा असहज वातावरण सृजना पनि हुने गरेको देखिन्छ ।
उकठ : मैथिली भाषाको ‘उकठ’ शब्दको अर्थ दिक्क पार्ने कार्य हो । यस कार्यको व्यावहारिक प्रक्रियालाई अर्को प्रकारले शब्दमा अभिव्यक्त गर्दा ख्यालठट्टा गर्नु भन्न सकिन्छ । वास्तवमा यो उकठ गर्ने कार्यलाई ख्यालठट्टाको स्वरूपमा नै हेर्ने र बुझ्ने गरिएको देखिन्छ । यस्तो व्यवहारको केन्द्रबिन्दुको रूपमा प्राय: साला तथा भिनाजु स्तरको सम्बन्ध अथवा नाता पर्ने व्यक्तिलाई मानिएको पाइन्छ । यिनीहरूसितको व्यवहारमा ख्यालठट्टाको सन्दर्भमा परस्पर वार्तालाप गर्दा कतिपय अवस्थामा अश्लील शब्दहरूको प्रयोगसमेत हुने गर्दछ । यसका साथै यस्ता व्यक्तिलाई दिक्क पार्ने कार्य गरेर रमाइलो गर्ने प्रचलन मिथिला क्षेत्रमा पाइन्छ, जसलाई ‘उकठ करब’ भनिन्छ । यसमा उकठ गरिने पात्रलाई बस्नका लागि पिर्का दिंदा पिर्काको तल ‘खपटा’ (माटोको गाग्रीको फुटेका टुक्राहरू) राखिदिने गरिन्छ । जब उनी पिर्कामाथि बस्न खोज्दछन्, त्यस बेला तल राखिएका खपटाका टुक्राहरू पट्पट् गरेर फुट्ने गर्दछ । यसरी आवाज हुँदा त्यसलाई अपान वायु परित्याग गरेको भन्दै अन्य व्यक्तिहरू हाँस्ने र रमाइलो गर्ने गर्दछन् । यस्तै भोजन गर्ने बेलामा ‘तरुआ’ (तारेर खाइने तरकारीको परिकार विशेष) पकाउँदा साना खपटा, सिक्का आदिलाई बेसनमा बेरेर तेलमा पकाएर पस्किने गरिन्छ । जब यस्ता व्यक्ति भोजन गर्ने सिलसिलामा त्यसलाई तरुआ भनेर टोक्न खोज्दछन्, त्यस बेला अन्य व्यक्ति उनको मूर्खताप्रति व्यङ्ग्य गर्दै जिस्काउँदै, रमाउँदै हाँस्ने गर्दछन् । यसरी नै यस्ता व्यक्ति सुतिरहेको अवस्थामा उनका अनुहारमा अनेक प्रकारका टीका, गाजल इत्यादिले चित्रित गरी कुरूप बनाइदिने गरिन्छ । जब उनी सुतेर उठ्छन्, त्यस बेला उनको अनुहार हेरेर अन्य व्यक्ति हाँस्ने र रमाउने गर्दछन् । मिथिला क्षेत्रमा पुरुषहरू धोती वस्त्र लगाउँदा कमरमा पछाडिपट्टिबाट धोतीको एक भागलाई विशेष प्रकारले पट्याएर घुसार्ने गर्दछन् । यसरी पट्याउने कार्यलाई ‘कोचिआएब’, धोतीको घुसारिने भागलाई ‘ढेका’ तथा घुसारिने कार्यलाई ‘खोंसब’ भनिन्छ । यसरी धोतीको यो ढेका भागको स्थान चाकको मध्य भाग अर्थात् मलद्वारको उपरी भाग हुने गर्दछ । ुउकठ गर्ने कार्य अन्तर्गत भात पकाउँदाको बखत झिकिएको माँड (तरल पदार्थ) त्यस्ता व्यक्तिको ढेकाभित्र पर्ने गरी अलिकति खन्याइदिने गरिन्छ । यस्तो कार्य प्राय: उनी सुतिरहेका बखतमा गरिन्छ । जब उनी उठ्दछन्, अनि अन्य व्यक्तिद्वारा भन्ने गरिन्छ कि अहो, खाने बेलामा होस गर्नुभएन, कति खानुभएको ? हेर्नुहोस् त, पेट लागेको जस्तो छ नि.....। यस्तो कुरा सुनेर जब उनी आफ्नो पछाडितिर छाम्ने गर्दछन्, अनि धोतीको ढेका भाग गिलो भएर च्यापच्याप भएको थाहा पाउँछन् । यसमा उनी लज्जित हुँदै दिक्क मान्दछन् भने अन्य व्यक्ति हाँसेर रमाइलो गर्ने गर्दछन् । मिथिला क्षेत्रमा सुत्ने प्रयोजनका लागि बाँस र डोरीबाट विशेष प्रकारले खाट बनाइने गरिन्छ । यसरी त्यस्ता व्यक्ति सुतिरहेको अवस्थामा प्राय: सेतो र·को कुनै कपडाले उनलाई माथिबाट छोपेर डोरीले बाँधेर चारजना मिलेर खाट उठाएर ‘राम नाम सत्य है’ भनेर फलाक्दै पोखरीको
डिलमा लगेर राखिदिने गरिन्छ ।
मिथिला क्षेत्रमा पोखरीको डिलको उपयोग कतिपय स्थानमा दिसा गर्ने क्षेत्रको रूपमा गरिएको हुन्छ । मिथिलामा दिसा गर्न जानुलाई ‘पोखरि दिशि जाएब’ पनि भन्ने गरिन्छ । यसरी खाटलाई दुर्गन्धित डिलमा राखेर केही क्षणपछि डोरी खोलिदिने गरिन्छ । त्यसपछि उनी जब त्यहाँबाट नाक थुनेर आउँछन्, अनि अन्य व्यक्तिहरू रमाउँदै हाँस्ने गर्दछन् । यसरी यस्ता अनेकानेक प्रकारका कार्यहरू गरेर ‘उकठ’ गर्ने गरिन्छ । यस्ता गतिविधिमा संलग्न रहने व्यक्ति तथा व्यक्तिहरूलाई ‘उकी’ भन्ने गरिन्छ । यसरी उकठ गर्ने कार्य पुरुषवर्गमा बढी देखिए तापनि महिलावर्गमा समेत हुने गरिएको पाइन्छ । उकठ गर्नुलाई मनोरञ्जनको एउटा रूप मान्ने गरिन्छ । यस्तो व्यवहार सामान्यत: मनोरञ्जनको स्वरूपमा गरिए तापनि कतिपय अवस्थामा भने यसले अप्रिय परिस्थितिको सृजनासमेत गरिदिएको हुन्छ । समाजमा यस्तो व्यवहार पहिले बढी देखिने गरिएको भएपनि समयको परिवर्तन एवं मनोरञ्जनका साधनहरूका विविधताले गर्दा यस्ता परम्पराहरू अहिले लुप्त हुँदै गइरहेका देखिन्छन् ।
यस प्रकार मिथिला क्षेत्रमा प्रचलनमा रहेका उपर्युक्त सामाजिक प्रचलनहरूको आफ्नै सांस्कृतिक महत्त्व रहेको देखिन्छ । अहिलेको वैज्ञानिक विकास र प्रगतिले गर्दा यस्ता प्रचलनहरूको क्षेत्रमा पनि व्यावहारिक दृष्टिकोणले अनेक किसिमका परिवर्तनका साथै विविध प्रकारका समस्याहरू देखा पर्न थालेका छन् । यस्ता विषयहरूबारे विस्तृतरूपले अनुसन्धान गरी यसका विभिन्न पक्षहरूको विवेचन गरिएमा यस क्षेत्रमा अझ बढी जानकारी प्राप्त गर्न सकिने देखिन्छ ।
बासुदेवलाल दास