बासुदेवलाल दास
सहप्राध्यापक, इतिहास विभाग
ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज
मिथिला क्षेत्र पूर्वकालदेखि नै दार्शनिक, चिन्तक र विचारकहरूको भूमि रहेको मानिन्छ । यहाँको समाजमा विविध प्रकारका प्रचलन तथा परम्पराहरू रहेका पाइन्छन् । यस्ता परम्पराप्रति लोकमा विश्वास रहेको देखिन्छ । सामान्यत: यसबारे वैज्ञानिकरूपले विचार गर्दा अनावश्यक पनि लाग्न सक्दछ, तथापि यस्ता प्रचलनहरूमा अन्तर्निहित व्यक्तिगत तथा सामाजिक भावबोध विषयक कुरा महत्त्वपूर्ण ठानिन्छ । यस्तै कतिपय प्रचलन अथवा परम्परामा लोककल्याणको भावना पनि रहेको हुन्छ । यस्तै प्रथा र परम्पराहरू मिलेर मिथिलाको संस्कृतिलाई सम्पन्नता प्रदान गरेको देखिन्छ । यस सन्दर्भमा मिथिला क्षेत्रमा हाँस्ने, रुने, रगत खुवाउने तथा गाली सुनाउनेजस्ता केही परम्पराहरू रहेका पाइन्छन्, जसलाई यसो हेर्दा केही अनौठो लाग्न सक्दछ ।
हाँस्नु भनेको मानव शरीर र स्वास्थ्यका लागि समेत आवश्यक मानिन्छ । यसबाट प्रसन्न तथा प्रफुल्ल हुनुका साथै स्फूर्ति पनि आउँछ । यसो त मानिस प्राय: हाँस्ने नै गर्छन्, परन्तु मिथिला क्षेत्रमा एउटा विशेष अवसरमा हाँस्ने परम्परा रहेको पाइन्छ । यस क्षेत्रको ग्रामीण भागमा सबैका घरमा माटोको चुलो हुन्छ, जसलाई मुहूत्र्त जुराएर बनाउने गरिन्छ । चुलोलाई मैथिली भाषामा चुलहा अथवा चुलही भनिन्छ, तथा यसलाई बनाउने कार्यलाई ‘चुलही पारब’ एवं यसको मुहूत्र्तलाई ‘दिन देखाएब’ भनिन्छ । नयाँ चुलो स्थापन गर्दा मुहूत्र्त जुराउने गरिन्छ, एवं चुलोलाई सामान्यत: पूर्वाभिमुख अथवा पश्चिमाभिमुख पारेर मात्र स्थापना गरिन्छ । चुलोमा अग्नि स्थापन हुन्छ, तथा यसबाट भोजन पाक्ने गर्दछ । भोजनले शरीर कायम रहन्छ । यस प्रकार शरीरलाई अति आवश्यक पर्ने भोजनका वस्तु पकाउने कार्यमा उपयोग गरिने भएकोले अग्निलाई देवताको रूपमा मानेर पूजा गर्ने गरिन्छ । त्यस्तै अग्निको स्थान भएकोले चुलोलाई समेत देवताको रूपमा मानेर सदैव लिपपोत गरिन्छ । चुलो पुरानो भएपछि त्यसलाई फुटाएर अर्को नयाँ चुलो स्थापना गरिन्छ । यस बखत भने पुरानो चुलोलाई घरका पुरुषपात्रले आफ्नो दाहिने खुट्टाको पैतालाद्वारा हानेर फुटाउने प्रचलन रहेको देखिन्छ ।
नयाँ चुलो स्थापना गर्ने अवसरमा हाँस्ने परम्परा रहेको पाइन्छ । यस अवसरमा नयाँ चुलोमा प्रथमत: आगो सल्काउँदा हाँस्ने गरिन्छ । चुलोमा आगो सल्काउनुलाई मैथिली भाषामा ‘चुलहा पजारब’ भनिन्छ । यसका लागि घरका बालबालिकाहरूलाई हातमा गुड (मीठा) दिएर राखिन्छ तथा आगो सल्कने बित्तिकै सबैजनालाई हाँस्न भनिन्छ तथा यसरी सबैले हाँस्ने र मीठा खाने गर्दछन् । वस्तुत: नयाँ चुलोमा अग्नि स्थापित गर्नुलाई अग्नि देवताको आगमन मानेर उनको हाँसेर अथवा प्रसन्नतापूर्वक, सहर्ष स्वागत गरिएको मानिन्छ । यसबाट अग्निदेवता प्रसन्न रहने एवं घरमा कहिले पनि चुलो बन्द हुने अवस्था नआउने अर्थात् कहिले पनि भोकै बस्ने अवस्था नआउने विश्वास गरिन्छ । अर्को शब्दमा अग्निदेवताको प्रसन्नताले घरमा भोजन विषयक सम्पन्नता अर्थात् समृद्धि भइरहने मानिन्छ ।
यस्तै प्रकारले सामान्यत: रुँदा बखत आँखामा आँसु आउने गर्दछ । रोदनका पनि अनेक आयाम देखिन्छन् । साना बालबालिका रुनु भनेको अत्यन्त स्वाभाविक मानिन्छ । यस्तै कुनै व्यथा, वेदना, दु:ख, वियोग, आघात आदि पर्दा आँखाबाट आँसु आउँदछ । अर्कोतिर हर्षको अतिरेक भएको अवस्थामा पनि आँखामा आँसु आउने गर्दछ, जसलाई ‘हर्षको आँसु भनिन्छ । परन्तु मिथिला क्षेत्रमा अवसर विशेषमा रुने परम्परा रहेको देखिन्छ । यस सन्दर्भमा कन्यादान गरी बिदा गर्ने बेलामा छोरी तथा घरका मानिसहरू रुने गर्दछन् । यो वास्तवमा सन्तानको बिछोडको असर हुन्छ । यस बखत घरका व्यक्तिहरूका साथै समाजका व्यक्तिहरूको आँखा पनि अश्रुपूरित भइहाल्छ । त्यस्तै छोरी ससुरालीबाट माइत आउँदा मिलनको अवसर हुन्छ । यस बखत हर्षको आँसु आउने गर्दछ । अर्कोतर्फ छोरी आफ्नो ससुरालीमा रहेको बखत माइत तिरबाट पिता, दाजुभाइ सदृश कुनै व्यक्ति त्यहाँ पुगेमा उनीहरूलाई सुनाएर छोरीद्वारा रुने परम्परा देखिन्छ । यसरी रुने बेलामा माइतमा रहेका सबैको, यथा पिता, माता, काका, काकी, दाजु, भाउजू इत्यादि यथासम्भव सबैको, नाम उच्चारण गरी रुने गरिन्छ । यसलाई माइतपट्टिका व्यक्तिहरूप्रतिको अनुरागको प्रतीक मानिन्छ । यस्तो बेला जब छोरीको ससुराली पुगेका ती व्यक्ति आफ्नो घरमा फर्केर आउँछन्, तब उनीलाई सोध्ने गरिन्छ कि के मेरो नाम लिएर पनि छोरी रोएकी थिइन् ? यसको सकारात्मक जवाफ पाएर यता भावाभिभूत भएर उनको पनि आँखा रसाएर आउने गर्दछ ।
यसरी नै जब कसैको देहान्त हुन्छ, त्यस बखत प्राय: शोकाकुल भएर आँखामा आँसु आउने गर्दछ, जसलाई स्वाभाविक भनिन्छ । परन्तु मिथिला क्षेत्रमा एउटा यस्तो परम्परा रहेको पाइन्छ, जसमा भनिन्छ कि घरका व्यक्तिहरूको रोदनको आवाजले मृत पितृले स्वर्गमा वास पाउँछन् । यस सन्दर्भमा पितृको श्राद्धकर्मको समापन भएको अवसरमा अर्थात् द्वादशा कर्मको समापन पश्चात् (क्रियापुत्र (कर्ता) आँगनमा आउँछन् तथा उनको चुमाओन विधि गरिन्छ । यस बेला उनको आँगनमा प्रवेश गर्ने समयमा रुने गरिन्छ । यसरी यस बखतको रोदन कार्यमा प्राय: घरका महिलावर्गको सहभागिता रहने गर्दछ । यस रोदन कार्यको लागि पहिलेदेखि नै तयारी गरिराखिएको हुन्छ । यसमा जति धेरैजनाको रोदन कार्यमा सहभागिता हुन्छ, पितृलाई त्यति भाग्यमानी मानिन्छ । यस परिप्रेक्ष्यमा मिथिला क्षेत्रमा कसैलाई अति कुपित भएर कुवाक् भन्नुपर्दा ‘तोरा कुलमें कोई कननाहरि नहिं रहतौ’ भनेर भनिन्छ, अर्थात् ‘तेरो कुलमा रुने कोइ नरहोस्’ । अर्को शब्दमा यस गालीलाई कुलको विनाश होओस् भन्ने मनसायको बोधक मानिन्छ ।
त्यस्तै मिथिला क्षेत्रमा रगत
(शोणित) खुवाउने परम्परा रहेको छ, जसलाई ‘सिनेह’ भनिन्छ । यसमा शुभ विवाहको अवसरमा ‘नहछ’ु भन्ने एउटा विधि गरिन्छ । मिथिलाको लोकबोलीमा यसलाई ‘लहछु’ पनि भनिन्छ । यो विधि विवाह हुनुभन्दा पहिले वर र कन्या दुवै पक्षमा गरिन्छ । यस विधिमा हजामद्वारा वरको दाहिने हातको तथा कन्याको देब्रे हातको कान्छी (कनिष्ठा वा कनगुरिया) औंलामा अलिकति काटेर रगत निकालिन्छ । त्यस रगतलाई रातो रंगमा रंगिएको कपासको सानो टुक्रामा लगाएर राखिन्छ । विवाहका लागि वर र जन्ती प्रस्थान गर्दा त्यो रगत लगाइएको कपासलाई सुरक्षितपूर्वक पठाइन्छ । अर्कोतर्फ कन्यातर्फको रगतको कपास पनि सुरक्षित राखिएको हुन्छ । वर र कन्याको विवाह सम्पन्न भएपछि वरको रगतको कपास विधिकरीलाई दिइन्छ । विधिकरी भनेको वैवाहिक विधिहरू सम्पन्न गराउने महिला हुन्छिन् । ती विधिकरीले, वरको रगतको कपास कन्यालाई तथा कन्याको रगतको कपास वरलाई खुवाइदिने गर्दछिन् । यसलाई ‘सिनेह खुआएब’ अर्थात् स्नेह खुवाएको भनिन्छ । यसरी खुवाउँदा वर वा कन्यालाई थाहा गराउनुहुँदैन । यसका लागि मिठाई सदृश कुनै वस्तुभित्र हालेर गोप्य तरिकाले खुवाइने गरिन्छ । यसरी परस्पर एक अर्काको रगत खानाले दुवैको रगत एकाकार हुने तथा परस्पर दाम्पत्य जीवनमा प्रेम, स्नेह र मधुरताको वृद्धि हुने विश्वास रहेको पाइन्छ ।
यसरी नै मिथिला क्षेत्रमा गाली सुनाउने प्रथा रहेको छ । यसरी सुनाइने गालीलाई मनोरञ्जनको रूपमा लिइने गरिन्छ । समाजमा साला–सालीवर्ग एवं भिनाजुवर्गबीच ख्याल–ठट्टा गर्दा केही अश्लील शब्दहरूको प्रयोग गरिने सामान्य प्रचलन छ । अर्कोतिर शुभ सांस्कारिक अवसरहरूमा गीत गाइने गर्दा ‘डहकन’ भन्ने गीत गाइने गरिन्छ । यो गीतलाई अर्को शब्दमा गाली–गीत भन्न सकिन्छ । यस प्रकारको गीतमा विभिन्न प्रकारका अश्लील शब्दहरू तथा भावहरूको अभिव्यक्ति गरिएको हुन्छ । यस्ता गीत खास गरेर मुण्डन तथा चूडाकरण संस्कार एवं शुभविवाह संस्कारका अवसरहरूमा गाइने गरिन्छन् । वैवाहिक संस्कार अन्तर्गतका कुमरम, लाबा भूजब, बिलौकी, चतुर्थी आदि विधिहरू सम्पन्न गरिंदाको बखत डहकन गीत गाइन्छ । त्यस्तै जन्तीको भोजनकालमा विशेषगरी यो गीत गाइन्छ । मिथिलाको परम्परामा विवाह सम्पन्न भएको भोलिपल्ट जन्तीलाई विशेष व्यवहार गरेर निमन्त्रण दिइने र भोजन गराइने प्रथा रहेको छ । यसरी विशेषरूपमा निमन्त्रण गर्न जाँदा एउटा थालमा सुपारी राखेर सादर निमन्त्रण गरिन्छ । यस अवसरमा वर र कन्या गरी दुवै पक्षका मान्यजन उपस्थित रहने गर्दछन् एवं यस बखत परस्पर पदीय र स्तरीय मर्यादा विषयक विशेष विवेचन हुने गर्दछ । यसपछि जन्तीलाई भोजन गराइन्छ, जसलाई ‘मर्याद–भोजन’ भनिन्छ । जन्तीमा समधिवर्गका व्यक्तिहरू हुने गर्दछन् । मिथिलाको सामाजिक परम्परामा समधिवर्गलाई ‘परमाराध्य बहुविनयसाध्य’ जस्ता प्रशस्तिद्वारा अभिहित गर्ने परम्परा रहेको छ । यसरी समधिवर्गलाई अत्यधिक मान्यजनको रूपमा स्वीकार गरिएको पाइन्छ । यस्ता मान्यजनहरूलाई मर्यादापूर्वक भोजन गराइने अवसरमा डहकन गीत गाएर सुनाइने परम्परा रहेको छ । यस अवसरमा सुनाइने यस्ता गाली–गीतलाई प्रसन्नतापूर्वक मनोरञ्जनको रूपमा स्वीकार गरिन्छ ।
यस प्रकार मिथिला क्षेत्रमा हाँस्ने, रुने, रगत खुवाउने तथा गाली सुनाउने जस्ता परम्पराहरू रहेका देखिन्छन् । विद्वान्हरूको विचारमा वस्तुत: यी परम्पराहरू आकाङ्क्षा, कामना, श्रद्धा, अभिलाषा, प्रफुल्लता, सहृदयता सदृश मानवीय भावनाका हार्दिक अभिव्यक्ति हुन् । यस्ता परम्पराहरूबारे विस्तृत शोध, खोज र अनुसन्धान हुनुपर्ने आवश्यकता देखिन्छ, जसबाट मिथिलाको सांस्कृतिक चेतना विषयक अझ बढी जानकारी प्राप्त हुनेछ ।