प्रस, वीरगंज, ११ भदौ/
पर्सा जिल्लामा कार्यरत मधेसवादी दलका नेताहरू पुन: दुई चिरामा विभाजित भएका छन् ।
समग्र जिल्लाको विकासमा एकताबद्ध रूपले अगाडि बढ्नेगरी भदौ ९ गते जिल्लाका केन्द्रीय तहका नेताहरूले सहमति गरेको विपरीत आज जिल्ला तहका मधेसवादी दलका नेताहरूले एकता देखाउँदै केन्द्रीय नेताहरूको विरोध गरेका छन् ।
फोरम नेपाल पर्साको कार्यालयमा भएको ६ दलीय भेलाले केन्द्रीय स्तरका नेताहरूले जिल्ला कमिटीलाई बाइपास गरेर जिल्लामा आफ्नो वर्चस्व देखाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय नेताहरूले केन्द्रीय तहको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र जिल्लाको हकमा जिल्ला कमिटीलाई सो कार्य गर्न प्रेरित गर्नुपर्नेमा हस्तक्षेपकारी भूमिका अपनाएको र जिल्ला कमिटीलाई बाइपास गर्न खोजेको भन्दै भेलामा सहभागी ६ दलका नेताहरूले जिल्लाका मुद्दाहरूमा जिल्ला कमिटी अग्रसर हुने निर्णय गरेका छन् ।
फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले केन्द्रीय नेताहरूको हस्तक्षेपकारी भूमिकाको विरोधमा जिल्ला कमिटी एकताबद्ध भएको बताए । उनले जिल्लामा हुने सबै खाले विकास निर्माणका कार्यहरूमा जिल्ला कमिटीले निगरानी राख्ने, सरकारी गैरसरकारी कार्यालयको कामकारबाई पारदर्शी बनाउन खोज्ने, भ्रष्टाचारविरुद्ध अभियान चलाउने, आम जनताको सरोकारको विषय जोडदार रूपले उठाउने सहमति भएको बताए ।
बैठकमा मजफो पर्सा, सद्भावना पार्टी, तमलोपा, तराई–मधेस सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी र फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष, सचिवहरूको सहभागिता थियो ।