जुनियर युवा रेडक्रस सर्कल पर्साको दुई दिने गोष्ठी आजदेखि शुरू भएको छ । वीरगंजस्थित त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम उच्च माविमा शुरू भएको सर्कलको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गर्दै युवा शक्तिहरूलाई सही मार्गमा डोर्याउन सर्कलले उल्लेख्य भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । उनले जुनियर रेडक्रस सर्कलले युवाहरूलाई सक्रिय गराइ समाजमा रहेका विकृतिहरूबाट बाँच्न तथा समाजमा आइपर्ने विपत्तिहरूसँग लड्ने क्षमतावान् नागरिक तयार गर्न सक्रिय भएर लाग्नुपर्ने बताए ।
सो अवसरमा पर्साका जिल्ला शिक्षा अधिकारी बरखु रजकले युवाशक्तिमा अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गराउन जुनियर रेडक्रस सर्कल सफल भएको चर्चा गर्दै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले समाजमा आइपर्ने विभिन्नखाले विपत्ति न्यूनीकरण गर्न क्षमतावान् नागरिक आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले विद्यार्थी जीवनदेखिनै गरीब, दु:खी तथा असहायहरूको सेवामा युवा विद्यार्थीलाई समर्पित गराउन सके असल समाज निर्माण गर्न सकिने बताए । जुनियर रेडक्रस सर्कल विपत्तिमा परेका युवाहरूको साथी बनेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति फूलमहम्मद मियाँले जुरेसमा ”म सेवा गर्छु” भन्ने भावनाले भरिएका युवा शक्तिहरूको जमात रहेकाले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । विद्यार्थीकालदेखि नै जिम्मेवार व्यक्ति बनाउन जुरेसको महत्त्वपूर्ण भूमिका हुने मियाँले बताए ।
उद्घाटन कार्यक्रममा जुरेस पर्साका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कोषाध्यक्ष महन्थप्रसाद यादवले जुरेसले वर्षभरि गरेको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पण्डितले विद्यार्थी जीवनमा सिकेका कुराहरूले जीवनको अन्तिम क्षणसम्म राम्रो प्रभाव पार्न सक्ने भन्दै जुरेसलाई सबै विद्यालयमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
त्रिजुद्ध उच्चमाविका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालजी प्रसादको सभापतित्वमा सम्पन्न कार्यक्रममा गत वर्ष २०७० सालमा आयोजना गरिएका विभिन्न कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यालयका छात्रछात्राहरूलाई पुरस्कृतसमेत गरिएको थियो । बन्दसत्रमा रेडक्रसका शैलेन्द्र चौरसिया, धर्मेन्द्र भट्टराई र डा. विश्वम्भर शर्माले प्रशिक्षण दिएका थिए । पर्सा जिल्लाका ४९ सामुदायिक तथा निजी विद्यालयका शिक्षक नायक तथा विद्यार्थीहरूको गोष्ठीमा सहभागिता थियो ।