–सुरेश बिडारी
घटना १ :
१६ दिने महिला हिंसाविरुद्धको अभियान चलिरहेकै समयमा २०७० मङ्सिर १५ गते बाराकी सरस्वती भारतीलाई आफ्नै पतिले जीउमा तातो खोले खन्याइदिएपछि उनी घाइते बनेकी थिइन्। बारा, डुमरवाना–४ भारतीचोककी ३५ वर्षीया सरस्वतीलाई ४५ वर्षीय पति थलबहादुरले शनिवार राति घरमा जुठो लोटाउँदै गर्दा भैंसीको लागि पकाएको खोले खन्याइ दिएका हुन्। तेर्ह वर्षको उमेरमा विवाह गरेर २३ वर्षसँगै बिताएको पतिबाट आफूले तीन वर्षयता हिंसा भोग्दै आएको उनी बताउँछिन्। सरस्वतीले मदिराले मातिएका पतिले तातो खोले खन्याइ दिएपछि न्यायका लागि भोलिपल्ट प्रहरी कार्यालयमा उजुरी दिइन्। छिमेकी महिलासँगै इलाका प्रहरी कार्यालय सिमरा आएकी सरस्वतीले पतिबाट लगातार हिंसा भोग्दै आएको गुनासो पोखिन्। तीन सन्तानकी आमा सरस्वतीले दुई छोरी र एक छोरामाथि समेत पतिले अत्याचार गर्ने गरेकोले सो अत्याचार सहन नसकेर १७ वर्षकै उमेरमा एक वर्षअघि जेठी छोरीको विवाह गरिदिएकी थिइन्। आर्थिक अवस्था दयनीय भएकोले घर चलाउन मजदुरी गर्दै आएकी सरस्वतीले शनिवार साँझ पनि घर बनाउने ठाउँमा इँटा बोकेर फर्केकी थिइन् ।
घटना २ :
पर्सा बैरियाबिर्ता गाविस–६ की २१ वर्षीया रबिता देवीको २०७० जेठ ११ गते दाइजो नल्याएको निहुँमा हत्या भयो । स्थानीय जयराम मुखिया बिनकी पत्नी रबिता देवीको शव घरबाटै बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो । रबिता देवीलाई परिवारका सदस्यले झुन्ड्याएर मारेको हुनसक्ने प्रहरीको आशङका छ। रबिता देवीको घरमैं हत्या भएको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गरेपछि जयराम मुखियासँगै घरपरिवारका सबै सदस्य फरार भएका प्रहरीले जनायो। पर्साको बसन्तपुर माइती घर भएकी रबिता देवीको चार महिना पहिले जयरामसँग विवाह भएको थियो। दाइजोको निहुँमा आफ्नो छोरीको हत्या भएको रबिता देवीका बुबा बुनिलाल मुखिया बिनको आरोप छ। विवाह भएको चार महिनाको अवधिमा दाइजो नल्याएको भन्दै रबिता देवीलाई पति जयरामसँगै परिवारका अन्य सदस्यले पटक–पटक यातना दिने गरेका थिए।
घटना ३ :
वीरगंज उपमहानगरपालिका छपकैया टोलकी २१ वर्षीया एक गर्भवती महिलालाई कुटपिट गर्ने सासू ६० वर्षीया श्रीपतीदेवी कोइरीलाई स्थानीयले २०७० असार २० गते नियन्त्रणमा लिई प्रहरीलाई बुझाए। यसअघि असार १९ गते प्रहरीले पीडितका पति २३ वर्षीय सुनील महतोलाई पक्राउ गरेको थियो। पति र सासूले शारीरिक यातना दिएको भन्दै पीडितले असार १९ गते वडा प्रहरी कार्यालय बिर्तामा निवेदन दिएकी थिइन् । सासू श्रीपतीदेवीले दुवै खुट्टामा नीलडाम हुने गरी कुटपिट गरेकी थिइन् । पीडित महिला र सुनील महतोबीच दुई वर्षअघि अन्तरजातीय विवाह भएको थियो। अन्तरजातीय विवाह भएकै कारण पनि परिवारले उनलाई नरुचाएकोले यातना दिइनु एउटा कारण रहेको प्रहरीले जनायो।
यी घटनाहरू मध्य तराईका प्रतिनिधि घटनाहरू हुन्। यसरी समाजमा महिलाहरू आफ्नै घरमैं दाइजो नल्याएको, अन्तरजातीय विवाह गरेको, भनेको नमानेकोलगायत विभिन्न बहानामा आफ्नै परिवारका सदस्यबाट प्रताडित मात्र भएका छैनन्, परिवारका सदस्यबाटै हत्या पनि भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य हुनुपरेको छ। महिला तथा बालबालिका सेवा केन्द्र पर्सामा ०६७/६८ मा २३८, ०६८/०६९ मा १८२ र गत आर्थिक वर्षमा ८४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्।
महिलाविरुद्ध हुने एउटा मुख्य हिंसा घरेलु हिंसा पनि हो। घरेलु हिंसाकै कारण कतिपय महिलाले ज्यानसमेत गुमाउनुपरेको छ भने कतिपयले विभिन्न शारीरिक र मानसिक तनाव खेप्नुपरेको छ। कानुनमा घरेलु हिंसा दण्डनीय भएपनि कानुनी उपचारको जानकारीको अभावमा महिलाहरू घरेलु हिंसा सहन बाध्य छन्। न्याय दिने निकायमा पुगेका घटनाहरूमा पनि मेलमिलापलाई प्राथमिकता दिने गरिएको देखिन्छ।
पहिले घरेलु हिंसा घरभित्रै रहने भएपनि पछिल्लो समयमा बाहिर आउने क्रम बढेको अधिकारकर्मीहरूको तर्क छ। काम गर्ने क्रममा पहिले महिनामा ३०/३५ वटा घटनाहरू आउने गरेको भएपनि हिजोआज मासिक १०/१५ वटा मात्रै घरेलु हिंसाका उजुरी पर्ने गरेको छ। हिंसाका घटना बाहिर आउन थालेपछि सचेतना बढेकाले घरेलु हिंसामा केही कमी आएको भएपनि महिलाहरू हिंसाका शिकार हुने क्रम नरोकिएको अधिकारकर्मी दुर्गा तिमल्सिना बताउँछिन् । उनका अनुसार परिवारको दबाब र राजनीतिक दबाबमा अधिकांश हिंसाका घटना गाँउमैं मिलाउने गरिएको छ। पीडितहरू पनि पछि त्यही गाउँ समाजमा बस्नुपर्ने भएकोले बाध्य भएर मिलापत्रका लागि तयार हुने गरेका छन् ।
घरपरिवारको इज्जत धान्न प्रहरीमा कम उजुरी पर्ने गरेको छ, मानव अधिकारवादी संस्था इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछाने भन्छन्,“हाम्रो सामाजिक संरचनाले गर्दा पनि महिलामाथि घरेलु हिंसा भइरहेको छ। प्रहरीमा कम उजुरी आएको हुनसक्छ तर हिंसाका घटनामा कमी आएको छैन ।”
यसवर्ष साउन महिनायता महिला तथा बालबालिका सेवा केन्द्रमा ६० वटा उजुरी दर्ता भइसकेको छ। उजुरीहरूमध्ये ४५ वटा मुद्दामा केन्द्रले मिलापत्र गराएको छ। कानुनी प्रक्रिया झन्झटिलो हुने, बढी समय लाग्ने हुनुका साथै घरेलु मामिला भएकोले पीडित पक्षले पनि जानेर नजानेर मेलमिलापमैं सहमति जनाउने गरेका छन्। व्यावहारिक हिसाबले मिलापत्रलाई प्राथमिकता दिएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहको तर्क छ। महिलाहरू आर्थिकरूपमा सबल नहुने भएकोले कानुनी प्रक्रियामा जाँदा महिलाको भविष्य, सन्तान भएकाहरूको सन्तानको भविष्य, तिनको लालनपालन कसले गर्ने भन्ने सवालमा सकेसम्म मिलाउनु व्यावहारिक हुने प्रउ सिंह बताउँछन्। जिल्ला प्रहरी कार्यालय पर्सामा आएका ७० प्रतिशत उजुरीहरू पीडितलगायत सरोकारवाला सबै पक्षको सहमतिमा मिलाएर पठाइने गरेको उनको भनाइ छ। बहुविवाह, बोक्सी आरोप, जबरजस्ती, हत्या जस्ता जघन्य अपराधका घटनामा मिलापत्र नगरिने उनले दाबी गरे।
छिमेकी मुलुक भारतलगायत ८० देशमा घरेलु हिंसाविरुद्ध छुट्टै कानुन निर्माण भइसकेको छ भने नेपालमा पनि घरेलु हिंसा कसूर सजाय ऐन २०६६ र नियमावली बनिसकेको छ। घरेलु हिंसा गरेको कसूर प्रमाणित भएमा कसूर गरेको आधारमा ३ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजायसमेत हुनसक्ने अधिवक्ता अमयकुमार दास बताउँछन्। अधिवक्ता दासका अनुसार घरेलु हिंसा गर्न सघाउने मतियारलाई मुख्य अभियुक्तको आधा सजाय, एकपटक घरेलु हिंसा गरी दोषी प्रमाणित भएर सजाय पाइसकेका व्यक्तिले पटक–पटक हिंसा गरेमा पटकपिच्छे दोब्बर सजाय हुने व्यवस्था कानुनमा छ। त्यतिमात्र नभएर सार्वजनिक जवाफदेहिताको पद धारण गरेको व्यक्तिले कसूर गरेमा थप १० प्रतिशत सजायको व्यवस्था गरिएको छ । कानुन भएपनि कार्यान्वयनको अभाव देखिएको अधिवक्ता दासको भनाइ छ।
अधिकांश घटना गाउँघरमैं मिलापत्र हुने, त्यहाँबाट छानिएर आएका घटनाहरू प्रहरीकहाँ आइपुगेपछि पनि मिलापत्रबाट टुङ्गिने गरेकोले कानुनी उपचारसम्म कमै घटना पुग्छन्। यसरी घरेलु हिंसालाई सामान्यरूपमा लिइँदा जघन्य आपराधिक घटनाहरू घटेका उदहारण थुप्रै छन्। तसर्थ यस्ता हिंसालाई समयमैं नियन्त्रण गरी भविष्यमा हुनसक्ने गम्भीर परिणामबाट बच्न सबै सरोकारवाला पक्ष सजग हुनु जरुरी छ।
–चित्लाङ, मकवानपुर–२
हाल: वीरगंज