- सञ्जय साह ‘मित्र’
लोक साहित्यलाई साहित्यको जनक भनिन्छ । हरेक सभ्य जाति, समाज, संस्कृति, भाषा तथा साहित्यको इतिहासलाई कोट्याउने हो भने लोक जीवनको कुनै न कुनै अङ्गको सहायतालाई स्वीकार गरिएको पाइन्छ । लोक जीवनलाई यसै कारण साहित्य, संस्कृति तथा भाषाको मूलरूप मानिन्छ । आज विज्ञान र प्रविधि तथा आधुनिकताले निकै नै विकास गरेको भएपनि लोक जीवनमा प्रचलनमा रहेका जीवनको हरेक क्षेत्र र पक्षका कुरालाई पूरै विस्थापित गर्न सकेको छैन । कतिपय क्षेत्रमा पुरानो कुराको महत्त्व अझ बढेर गएको छ । लोक जीवनमा प्रचलनमा रहेका बहुमूल्य मानवीय सम्पदाहरूको खोजी, संरक्षण तथा उपयोगी बनाउने दिशामा कतिपय लागिपरेका पनि छन् । राज्यको विभिन्न निकायले समेत कतिपय अवस्थामा यस्ता महत्त्वपूर्ण सामग्रीको खोजी र संवद्र्धन गरेको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले पनि लोक साहित्यको क्षेत्रमा बर्सेनि विभिन्न कामहरू गर्दै आएको छ ।
कुनै पनि भाषाको लोक जीवनमा परम्परादेखि चल्दै आएको साहित्य लोक साहित्य हो । लोक साहित्य अलिखित अर्थात् मौखिक परम्परामा आधारित हुन्छ । लिखित परम्पराको आरम्भ हुनुभन्दा पहिलेदेखि चलेको र ग्रामीण क्षेत्रमा बढी प्रचलनमा रहने लोक साहित्यका विभिन्न रूप हुन्छन् । लोक जीवनको अनेक अवसरमा लोक साहित्यलाई प्रस्फुटन भएको अहिले पनि देख्न सकिन्छ । गीत, कथा, भजन, नाटक आदि रूपमा लोक साहित्यलाई समाजले आस्वादन गर्दै आएको छ । यसैगरी बोलचालको क्रममा प्रयोग गरिने उखान–टुक्का, दिदीबहिनीले खेल्ने सामाचकेवा, जटजटिन, भिंmझिया, फागुनमा गाइने फाग वा होरी गीत, चइतावर, मुस्लिम समुदायमा प्रचलनमा रहेको झारा, थारू समुदायको माघी गीत आदि मधेसी लोक साहित्यका अक्षय भण्डार हुन् । विभिन्न जातजातिको कुलदेउताको पूजाको अवसरमा गाइने भजनदेखि विवाह, तिलक, पूजा, जन्मोत्सव तथा गमाला पूजाको अवसरमा पनि अनेक किसिमको भाव, शैली र भाकामा गीत गाइने प्रचलन रहेको छ । लोक जीवनमा लोक साहित्यको अ·को रूपमा प्रचलनमा रहेको यस्तै एक विधा लोक कवित् पनि हो ।
लोक कवित्लाई आधुनिक कविताको प्रारम्भिक अवस्था मान्न सकिन्छ । उखानभन्दा ठूलो र गीतभन्दा सानो आयामको हुने कवित्को बारेका उति धेरै चर्चा गरिएको पाइन्न । यसलाई “कहबित” पनि भनिन्छ । बज्जिकाभाषी लोक जीवनमा यसलाई कहनामसमेत भन्ने गरिएको पाइन्छ । कहनाम, कहवित वा कवित् जे भनिए पनि यो लोक जीवनको एउटा महत्त्वपूर्ण धरोहर हो । यस्ता कवित्मध्ये सानोलाई उखानको वर्गमा राखेर र ठूलो आयाम भएको कवित्लाई गीतको तहमा राखेर अध्ययन गरिने चलन रहेको छ । हुनसक्छ कतिपय भाषामा लोक कवित्को अभाव होला तर सामान्यतया सबै भाषामा लोक कवित् प्रचलन रहेको हुन्छ । यसलाई लोक साहित्यकै अन्य विधासरह स्थान र महत्त्व दिएर अध्ययन गरिनु आवश्यक देखिन्छ ।
नेपालको तराई–मधेसमा बोलिने प्रमुख भाषाहरूमध्ये एक बज्जिकामा पनि लोक जीवनमा लोक कवित् प्रचलनमा रहेको छ । लोक जीवनमा प्रचलनमा रहेका विभिन्न प्रवृत्तिका केही लोक कवित्लाई यहाँ दृष्टान्तार्थ प्रस्तुत गरिएको छ–
कात्तिकमे जाढ़के जलम भेल हए
अगहनमे लड़िकाइ
पुसमे जाढ़ जमान भेल हए
माघमे ठाने लडाइ ।
अर्थात् कात्तिकमा जन्मेको जाडो मङ्सिरमा बच्चा छ र पुसमा जवान भई माघमा लडाइँ गर्छ भन्ने भाव माथिको कवित्को रहेको छ । बज्जिका भाषामा मौसम र महिनासित सम्बन्धित अनेक कवित्हरू प्रचलनमा रहेका छन् । दुई पाउको अर्काे कवित्–
न मेघे जाढ़ न माघे जाढ़
जब बेआर तभी जाढ़ ।
अर्थात् न पानी पर्दा नै जाडो र न त माघ महिना नै जाडो, हावा चलेको बेला चाहिँ जाडो हुन्छ भन्ने भाव यस कवित्को रहेको छ ।
मधेसी समाजमा महिलालाई हेप्ने गरिन्छ । छोरीलाई पनि बोझको रूपमा लिइन्छ । छोरीको बिहे कुनै पनि बाबुको लागि साँच्चिकै चुनौती हुन्छ मधेसमा । शिक्षा र चेतनाको जतिसुकै विकास भएको भएपनि छोरीको बिहेलाई सहज मानिएको छैन । छोरी त बरू मर्नु जाती भन्ने भाव भएको एउटा कवित् यस्तो छ–
बिन बिआहे बेटी मरे
खडे उँख बिकाए
बिना मारे दुस्मन मरे
तिनु काल टर जाए ।
अर्थात् विवाह नहुँदै छोरी मर्नु, उखु खेतबाटै बिक्री हुनु र शत्रु आपैंm मर्नुले तीन काल टर्छ अर्थात् छोरीको बिहे, उखुको खेतीबाट प्रतिफल लिनु र शत्रु यी तीन काल बराबर हुन् । तर छोरीलाई नराम्रो मान्ने कवित्मात्र प्रचलनमा रहेको छैन । छोरीले गर्दा परिवारमा राम्रो हुने भनाइ पनि छ । छोरीलाई लक्ष्मी पनि मानिन्छ समाजमा । छोरीलाई निकै राम्रो मान्ने दुई पाउको एउटा कवित्–
तेतर बेटा भीख मङाबे
तेतर बेटी राज लगाबे ।
अर्थात् तीन छोरीपछि जन्मेको छोरोले भिखारी बनाउँछ तर तीन छोरापछि जन्मेकी छोरीले राजा बनाउँछिन् ।
बज्जिका लोक जीवनमा समाज, संस्कृति, दृष्टिकोण र व्यवहार सबै क्षेत्रका कवित्हरू प्रचलनमा रहेका छन् । लोक मान्यतालाई बडो सुन्दर ढ·ले यस्ता कवित्हरूले पस्कन सकेको देखिन्छ । कम शब्दमा धेरै कुरा बयान गर्ने सामथ्र्यका कलात्मक तथा रागात्मक कवित्हरू पनि प्रचलनमा रहेका छन् । कलात्मक र रागात्मक कवित्को एउटा दृष्टान्त–
राग मीठ होरीके
साग मीठ तोरीके
तिरिया मीठ चोरीके
निन मीठ भोरीके ।
अर्थात् होलीको राग, तोरीको साग, चोरीको आइमाई र बिहानको निद्रा मीठो हुने भाव कवित्को रहेको छ । सरल भाषा र कवितात्मक शैलीमा हुने लोक कवित्हरूमा आनुप्राशिकताको प्राचुर्य हुन्छ । यसैले गायनको लागि पनि यो उपयुक्त देखिन्छ । दुई वा चार पाउका लोक कवित्हरू बढी मात्रामा लोक व्यवहारमा प्रचलनमा रहनुको पछाडि बोलचालको क्रममा भन्नलाई सजिलो भएर हुनसक्छ । कवित्को प्रयोगले वाणीलाई कलात्मक बनाउने, सङ्क्षेपमा भनाइलाई राख्न सजिलो हुने तथा रसिलो बनाउने हुन्छ ।
बज्जिका लोक जीवनमा बालबालिकाले प्रयोग गर्ने कवित्समेत रहेका छन् । बालबोलीको एउटा कवित् यस्तो छ–
राजा रानी आबले
पोखरी खनाबले
पोखरीके आँटे आँटे
इमली बइठाबले
इमलीके झोंखीमे
नओ सय अन्डा
अन्डा गिरे रेतमे
पोठिआके पेटमे
पोठिआ मारे धक्का
सबा सेर पक्का ।
बालबालिकाहरू यसलाई बडा मज्जाले भन्छन् । विभिन्न गाउँका बालबालिकाहरू यसलाई आआफ्नै स्वरमा समूह वा एकल गायन गर्छन् । यसरी लोक जीवनमा अनादिकालदेखि अस्तित्ववान् रहेको कवित्ले कतै बालबालिकालाई मनोरञ्जन दिन्छ भने कतै उपदेश दिन्छ त कतै बूढाबूढीप्रति व्यङ्ग्य गरिएको पनि पाइन्छ । उपदेश दिने किसिमको यस कवित्लाई हेरौं–
चोरबाके कमइआ सब कोई खाए
हरनमरन चोर असगर जाए ।
अर्थात् चोरले ल्याएको घरका सबैले खान्छन् तर पर्दा ऊ एक्लै जानुपर्ने हुन्छ । यसैगरी एउटा व्यङ्ग्यात्मक कवित्–
घसरघसर खाइअ
बुढ़िआ काहे न मोटाइअ
लहरीके दाल बिनु
कौर काहे न घोटाइअ ।
बज्जिका भाषाभाषी क्षेत्रका अनेकौं कवित्हरू प्रचलित छन् । गाउँपिच्छे फरक–फरक कवित्हरू पाइएका छन् । तर नयाँ पुस्तामा यसको प्रयोगमा कमी आएको छ । यसले कवित्हरू लोप हुँदै गएका छन् । बजार क्षेत्रको तुलनामा ग्रामीण भेग र शिक्षितको तुलना अशिक्षितले यसको प्रयोग बढी गरेका छन् । कवित्लाई जीवित राख्न महिलाको निकै ठूलो हात रहेको छ । बज्जिका लोक कवित्को विषयमा कतैबाट व्यवस्थित अध्ययन, अनुसन्धान वा सड्ढलनको प्रयास गरिएको छैन । भाषा र साहित्यसित सम्बन्धित विभिन्न संस्थाहरू खुलेका र भाषाको संरक्षणको साथै साहित्यको विकासमा राज्यले समेत ध्यान दिइरहेकोले लोक साहित्यको क्षेत्रमा काम गर्ने संस्थाले कवित्को विषयमा विस्तृत खोजी गर्नु आवश्यक देखिन्छ ।
मित्रनगर, गरुडा, रौतहट