–मायामितु न्यौपाने
कवि, प्रेमी र पागल खास उस्तै–उस्तै लाग्छ ।
मलाई यी नेता र बतास उस्तै–उस्तै लाग्छ ।
जति चोट परे पनि हाँसीहाँसी सहिदिने,
मलाई मेरी आमा र आकाश उस्तै–उस्तै लाग्छ ।
वर्तमान नेपाली साहित्य गजल बाढीको रूपबाट सङ्लो नदीमा परिणत भइसकेको छ । बाढी खहरे हो, यसले झारपात, मुढा, पात–पतिङ्गर बगाउँदै धमिलो बग्छ । तर नदी निरन्तर सङ्लो बगिरहन्छ । माथिबाट खहरे हुँदै आएको बाढी निश्चित समयमा रोकिन्छ र सङ्लो नदीमा परिणत हुन्छ । हो, गजलको बाढी पनि रोकिएको छ र यतिखेर सङ्लिएको छ । शायद गजल अब धमिलिंदैन । पछिल्ला समयमा निस्केका केही गजल कृतिहरूले यसैको सड्ढेत गरेको छ । र त्यसैमा मिसिन आइपुगेकी छन् सिन्धुलीकी गजलकार अमला अधिकारी ‘अमला’ गजलकृति लिएर ।
अमला अमिलो हुन्छ । यसमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । जुन हाम्रो शरीरलाई अति आवश्यक छ । अमला खाएर पानी खाँदा अझ गुलियो हुन्छ र शरीरमा एक प्रकारको स्फूर्ति पैदा हुन्छ । त्यस्तै गजल साहित्यमा भिटामिन सी हो ‘अमला गजल सङ्ग्रह’ । वर्तमान राजनीतिक अस्थिरता प्रकट गरेको छ माथिको शेरले ।
नारीहरू घरभित्र मात्र सीमित हुनुहुन्न । चेतनाको उज्यालो दियो बाल्न नारी पनि अघि सर्नुपर्छ र नारीप्रतिको नकारात्मक सोच र नारीलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने मान्यता छ अमलाको । र त उनी लेख्छिन्–
खरैको छानो होस् चाहे टालेको घर होस्
एक हल गोरु र भैंसी पालेको घर होस्
सासू, बुहारी, नन्द, भाउजू बराबर
गोडा मोल्ने चालचलन फालेको घर होस् ।
नारीको पीर, वेदना तथा नारी मुक्तिका आवाज मात्र होइन । देश दुखेको, देशप्रेम, समसामयिक विषय पनि पाइन्छ उनका गजलमा । गणतन्त्रका कुराका साथै वर्तमान सरकारको निरीहता तथा प्रेम प्रणयका कुरा पनि उत्तिकै भेटिन्छन् । आफू स्वयं नारी भएका कारण दाइजो, पुराना संस्कार बदल्ने सोच, नारी भएकै कारण भोग्नुपरेका पीडाको तीतो यथार्थ पनि समेटिएको छ उनको सङ्ग्रहमा । त्यति मात्र होइन उनले पिउनेहरूका लागि बाँकी छाडेकी छैनन् । पिउनेहरूको जमातमा उनी पनि अछुतो छैनन् सङ्ग्रहमा । अर्थात् पिउने कुरा बडो मार्मिक ढ·ले उनेकी छन् गजलका शेरमा । प्रस्तुत शेर त्यसैको उदाहरण हो –
ऊ पिएको पियै भए, म हेरेकी हेर्यैं भएँ ।
के उदय, के अस्तय, म हेरेकी हेर्यै भएँ ।
बोलीचालीको भाषालाई टपक्क टिपेर गजलमा उनेकी अमलाको सङ्ग्रहमा मौलिकता पाइन्छ । रातपछि दिन तथा अँध्यारोपछि उज्यालो आएझैं उनी गजल साहित्यमा उज्यालोको खोजीमा निस्केकी छन् । भाव र कला पक्ष अत्यन्त सबल छन् ।
यति हुँदाहुँदै पनि उनका गजलमा मात्रामा भने केही विचलन देखिन्छ् । तर पनि पठनमा उत्कृष्ट छ । गजल गेय विधा भएकोले अबका स्रष्टाले मात्रामा ध्यान दिनु आवश्यक छ । सरल र सलल बगेका गजलमा केही प्राविधिक त्रुटि पनि भेटिन्छ तर पनि मौलिकता र सबल भएका कारण सङ्ग्रह पाठकलाई तान्न सफल भएको छ ।
अझ नारी स्रष्टाका रूपमा उनी सशक्त उभिएकी छन् । उनको भविष्य उज्ज्वल छ । सामान्य कुरालाई सटिक र मार्मिक ढ·ले प्रस्तुत गर्न खप्पिस छन् उनी ।
यस अर्थमा उनी सफल छिन् । नारी सुलभ चरित्र उनका सङ्ग्रहमा प्रशस्त पाइन्छ । भोलिको उज्यालोको कामना गरेकी छन् प्रस्तुत सङ्ग्रहमा र आफू पनि उज्यालोको खोजीमा हिंडेकी छन्, साहित्यिक यात्रामा । कहीं कतै प्राविधिक त्रुटि, काफिया पुनरावृत्ति भएको भए पनि उनको यात्रा सुखद छ ।
सिर्जन यात्रामा निरन्तर पाइला चाल्न सक्ने साहस पहिलो कृतिले नै देखाइसकेको छ । अनि उनी गजल साहित्यबाटै पुरातन संस्कार र विचार भत्काएर नयाँ संस्कार स्थापित गर्न चाहन्छिन् । जहाँ जोसुकै पनि स्वतन्त्र विचरण गर्न सकोस् । गजलमैं उनी संस्कारको विरोध गर्छिन् । उनको सिर्जनशील यात्राको कामना १