आन्दोलनमा बसेका पर्साका शिक्षक–शिक्षिकाहरू । फोटो: आरके पटेल |
राष्ट्रव्यापी आन्दोलनमा उत्रिएका शिक्षकहरूले विद्यालय बन्दलाई आज पनि निरन्तरता दिए । आन्दोलनकारी शिक्षकहरूले कार्यालय समयावधिभरि जिल्ला शिक्षा कार्यालयमा धर्ना दिए ।
धर्नाको क्रममा शिक्षक नेताहरूले जायज मागका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि राजधानीलगायतका स्थानमा सरकारले निर्मम दमन गरेको भन्दै आक्रोश पोखेका थिए ।
“श्रमजीवीहरू दमनबाट कहिल्यै डराउँदैनन्, कलमको आन्दोलनलाई सरकार बन्दुक र बुटले निश्तेज गर्न खोज्छ भने भोलि कलम बारुद बनेर पड्कन बाध्य हुन्छ,” शिक्षक नेताहरूको चेतावनी थियो । आक्रोश र विद्रोह कसरी सुरु हुन्छ थाहा हुँदाहुँदै पनि सरकार अनभिज्ञ बनेर शिक्षकविरुद्ध दमनमा उत्रिएको प्रदर्शनकारी शिक्षकहरूको आरोप छ ।
विरोधसभालाई नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पण्डित, शैक्षिक गणतान्त्रिक मञ्चका बिन्दा दास, शिक्षक सङ्घका तीर्थराज यादव, शिक्षक स·ठनका अशोक चौधरी, शिक्षक मञ्चका दिनेश चौरसिया, राहत शिक्षक सङ्घर्ष समिति पर्साका संयोजक श्याम घिमिरे, पीसीएफ शिक्षक सङ्घर्ष समितिका सोनालाल पटेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्चलगायतको अगुवाइमा विभिन्न शिक्षक सङ्घस·ठनहरूले गरिरहेको आन्दोलनको मुख्य माग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकहरूलाई प्रक्रिया पुर्याएर स्थाइ गर्नुपर्ने, राहतलाई दरबन्दीमा बदल्नुपर्ने, बालविकासमा पढाउने शिक्षकहरूलाई प्रावि सरह तलब पाउनुपर्ने, विद्यालयका पाले, पियनलगायत कर्मचारीहरूले सरकारी तलब पाउनुपर्ने एवं अनिवार्य र निश्शुल्क शिक्षा लागू गर्नुपर्नेलगायतका मागहरू रहेका छन् । आन्दोलनकारी शिक्षकहरूले फागुन १८ गतेसम्म विद्यालय ठप्पको घोषणा गरेका छन् ।
प्रस, कलैया/
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा बाराका शिक्षकहरूले सोमवार सदरमुकाम कलैयामा विरोध जुलुस प्रदर्शन गरेका छन् । नेपाल शिक्षक युनियन बारा र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको आह्वानमा शिक्षकहरूले कलैयामा विरोध जुलुस प्रदर्शन गरेका हुन् । कलैयास्थित ३ चन्द्र उच्च मावि परिसरबाट निस्केको जुलुस कलैया नगर परिक्रमा गर्दै जिल्ला शिक्षा कार्यालय पुगी धर्नामा परिणत भएको थियो ।
नेपाल शिक्षक युनियन, बाराका अध्यक्ष देवेन्द्र गिरीको नेतृत्वमा शिक्षकहरूले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए । शिक्षकहरूले शिक्षा कार्यालयमा कामकाज अवरुद्ध गर्ने गरी धर्ना दिएका थिए । शिक्षकहरू ४७ सूत्रीय माग राखी विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन् । यसैबीच नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीको संयोजकत्वमा संयुक्त शिक्षक सङ्घर्ष समिति बारा गठन भएको छ ।
प्रस, रौतहट/
नेपाल गणतान्त्रिक शिक्षक मञ्च र नेपाल शिक्षक युनियनले आज पनि सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरेका छन् ।
काठमाडांैमा हिजो भएको प्रदर्शनमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेकोले आज रौतहटमा विरोध प्रदर्शन भएको हो । प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री राजीनामा गरजस्ता नारा लगाइएको थियो ।
अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने, विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, संस्थागत विद्यालयका शिक्षकलाई सरकारी शिक्षकसरह तलब सुविधा, भत्ता, नियुक्तिपत्र दिनुपर्ने लगायत ४७ बुँदे माग अघि सार्दै नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले संयुक्तरूपमा तेस्रो चरणको आन्दोलन गर्दै आएका छन् ।