गताङकको बाँकी......
यो त भयो राजसत्ता, विज्ञान, शिक्षा, सञ्चार आदि व्यवस्थाहरूको कुरा–व्यक्तिको दृष्टिले सोच्ने हो भने पनि हामी यसै परिणाममा पुग्छौं कि मानिस–मानिसबीच देश, जाति–धर्म, सम्प्रदाय आदिको नाममा जुन खाडल खनिएको छ, त्यो अब क्रमश: भरिंदै गइरहेको छ। मानिस मानिसको बढी नजिक आइरहेको छ। एक अर्कालाई बुझ्ने बढी सतर्कतापूर्वक प्रयास गरिंदै छ र एक ठाउँमा मच्चिएको रडाँकोलाई रुचिपूर्वक हेरिइँदैछ। दैनिक समाचार पढ्नमा–रेडियो समाचार सुन्नमा मानिसहरूको बढ्दो रुचिबाट के प्रकट हुन्छ भने व्यक्तिगत लाभ–हानिमात्रमा सीमित नरहेर अन्यान्यद्वारा अन्यत्र हुने क्रियाकलाप एवं घटनाक्रमहरूमा कसरी अभिरुचि उत्पन्न भइरहेको छ र महत्त्वपूर्ण समाचारहरूले कसरी टाढा–टाढासम्म आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। सङकटग्रस्त मानिसको सहायताका लागि कसरी टाढाका मानिस धन–जन तथा सहायता लिएर दगुर्छन्– यसको लेखाजोखा निकै उत्साहप्रद छ। यस स्नेह–सहयोगबाट के प्रकट हुन्छ भने अब दुनियाँ धेरै सानो रहेन। लोकमानस, लोकमतका साथै लोकमङगल, लोकरञ्जन, लोकसत्ताको सामथ्र्य अधिकाधिक प्रचण्ड बन्दै गइरहेको छ। संस्था एवं सङगठनहरूको विस्तार तथा तिनमा सहभागीहरूको बाहुल्यले के देखाउँछ भने एकाकीपनको पुरानो मनोवृत्ति अब असामयिक बन्दै गइरहेको छ र सहयोग विस्तारलाई युगको आवश्यकताको रूपमा मान्यता प्राप्त भइरहेको छ। प्रजातान्त्रिक शासन यसै प्रकारको एउटा साझेदारी हो। घरपरिवार अब क्रमश: सहयोग समितिहरूको रूपमा विकसित भइरहेका छन्। मानिस एक अर्कामा बढीभन्दा बढी निर्भर हुँदै गइरहेका छन्। बेलायतजस्ता लोककल्याण राज्यहरूले आफ्ना समस्त नागरिकको उत्तरदायित्व अब आफैंले वहन गर्न थालेका छन्। बेकारी भत्ता, बुढयौलीको व्यवस्था, निश्शुल्क शिक्षा र चिकित्सा, अनाथहरूको पालनजस्ता दायित्वहरू समाज अथवा सरकारहरूले वहन गर्नुको अप्रत्यक्ष अर्थ के हो भने जनताले अब कुटुम्बको रूपमा आफ्नो स्थिति स्वीकार गरिसकेको छ र एक अर्काको दु:खसुखमा भागीदार बन्ने यथार्थतालाई अङगीकार गरिसकेको छ। जुन उत्तरदायित्व पछिल्लो युगमा कुटुम्बले वहन गर्दथ्यो अब त्यसलाई समस्त समाजले वहन गर्ने मनस्थिति बनाएको छ। यस दिशामा न्यूनाधिक प्रयत्न पछि परेका मुलुकहरूले पनि गर्न थालेका छन्। विकसित मुलुकहरूले त त्यस प्रक्रियालाई पहिलेदेखि नै कार्यान्वित गरिरहेका छन्।
विज्ञान, अर्थतन्त्र, शासन, शिक्षा, जनसङ्ख्या आदिको विस्तारलाई कारण मान्ने हो अथवा त्यसलाई युग प्रवाह भन्ने हो भने पनि यो एउटा सुनिश्चित तथ्य हो कि परिस्थितिहरूले मानिसलाई बढी समिप ल्याइदिएका छन्। स्वार्थपरता एवं सङकीर्णताले भरिएको व्यक्तिवाद अब पाखा लाग्न थालेको छ। यस स्तरका तत्त्वहरू अब समाजद्वारा प्रताडित हुन थालेका छन् र तिनको गतिविधिहरूमाथि अङ्कुश लगाउन थालिएको छ। आयकर, सम्पत्तिकर, मृत्युकर आदिद्वारा व्यक्तिलाई, बढी कमाएको सम्पत्ति समाजलाई फिर्ता गर्न बाध्य पारिन थालेको छ र उसलाई बाधितरूपमा समाज सेवाका लागि दानदाताहरूको पङ्क्तिमा उभ्याउन थालिएको छ। राजा, जागिरदार तथा जमिन्दारहरूको उन्मूलन हाम्रै आँखा अघिल्तिर भएको हो। बैंक बिमादेखि विविध व्यवसायहरूको राष्ट्रियकरण गर्न सरकारहरूद्वारा चालिएका पाइलाले सङकेत गर्दछ कि हावा कुन दिशातिर चलिरहेको छ। व्यवसायमा व्यक्तिगत आधिपत्य र मनपर्दो लाभको उपार्जन अब सरल–स्वाभाविक मानिंदैन– वरन् यसमाथि सरकारद्वारा– समाजद्वारा थरीथरीका प्रतिबन्ध एवं कर लगाइँदैछ। यो प्रयास सफल हुन्छ वा असफल प्रश्न त्यो होइन। सुयोग्य सञ्चालनको अभावमा त्यसमा घाटा हुन सक्छ। तर यस रुझानको पछाडि के तथ्य स्पष्ट हुन्छ भने अब व्यक्तिलाई आर्थिक दृष्टिले पनि स्वच्छन्द गतिविधि अँगाल्न दिइने छैन। न्याय र कानुनको पकडमा त ऊ पहिले पनि छँदै थियो। अब क्रमश: यो विकास त्यस समाजवादी व्यवस्थाको रूपमा हुनेछ जसमा मानिसको अस्तित्व समाजको एउटा घटकमा सीमित हुनेछ। अरूजस्तै कठोर श्रम गर्नका लागि सबैले बाध्य हुनुपर्नेछ र त्यतिमैं निर्वाह गर्नुपर्नेछ जति सबैलाई सहज उपलब्ध हुनेछ। यस प्रणालीको प्रचलन कतिकै कष्टसाध्य, कतिकै असफल र कतिकै उपहासास्पद किन नहोस् अन्तत: समाधान यही हुनेछ, व्यवस्था यही रहने छ। अप्ठयाराहरूको निदानमा विलम्ब हुन सक्दछ तर मानिसलाई स्वेच्छाचार छाडेर समाजको एउटा एकाइ बन्नका लागि आफूलाई अनुकूल बनाउनै पर्छ। दार्शनिक दृष्टिले विचार गरौं भने यसै तथ्यलाई व्यक्तिको समाजप्रति समर्पण–परस्पर एकअर्कासँग घनिष्ट स्नेह–बन्धन पनि भन्न सकिन्छ। अध्यात्मको भाषामा भन्ने हो भने यसलाई ‘आत्मवत् सर्वभूतेषु’ को दिशामा अनुगमन पनि मान्न सकिन्छ।
दुनियाँ सानो भइरहेको छ। र मानिस एकअर्काको समिप हुँदै गइरहेको छ यो एउटा तथ्य हो। नियति आफ्नो विकासक्रमको यस भूमिकालाई आउँदा दिनहरूमा पनि निर्वाह गर्दै जानेछ, तदनुरूप विश्व परिवारको, विश्व मानवको यो स्वरूप आउँदो दिनमा हेर्न पाइने नै छ जसलाई उपनिषद्हरूमा पाइला–पाइलामा मानवी सुख–शान्तिको एकमात्र आधार मानिएको छ। सङकीर्ण स्वार्थरूपी विषले सदादेखि समाजमा विग्रह उत्पन्न गरिरहेको छ तर दुनियाँ सानो हुँदै गइरहेको छ र मानिस–मानिसबीचको दूरी अन्त हुँदै गइरहेको छ। निष्कृष्ट व्यक्तिवादको उद्धत महत्त्वाकाङ्क्षाले समर्थन प्राप्त गर्यो भने त्यसले जति मात्रामा आफ्नो जरा गाड्ने छ, त्यति नै बढी कष्ट–क्लेशको विभीषिकाले मानव समाजलाई दुस्सह त्रास दिइरहने छ।
युग प्रवाहसँगै हिंड्नाको पनि लाभ छ। आँधीको प्रतिरोध गर्ने उखेलिन्छ। राम्रो त के हुन्छ भने समय छँदै हामी होश सम्भालौं र आफ्नो गतिविधि परिवर्तन गरौं। व्यक्तिवादी गतिविधि र महात्त्वाकाङ्क्षालाई समूहवाद अनुरूप बनाऔं। सबैको हितमा आफ्नो हित ठानौं र आफ्नो सुख बाँड्न तथा अरूको दु:ख घटाउन प्रसन्नता अनुभव गरौं। आफ्ना सुविधाहरू बढाउन र एकाकी उपयोग गर्ने रीति–नीति जब आउँदो दिनमा चल्नै सक्दैन भने त्यसका लागि आग्रह गरेर समयको झापड सहने सङकट किन मोल्नू ? बृहत्तर मानव परिवार बनेरै रहन्छ भने विशाल दृष्टिकोण अँगालेर तदनुरूप बन्न–बनाउनमा विलम्ब किन गर्ने ? प्रगतिका साथसाथै जुन सर्वनाशी विभीषिकाहरूको अभिवद्र्धन भएको छ, तिनको सामना पनि त स्नेह–सहयोगको आधारमा विनिर्मित लोकशक्तिबिना हुन
सक्दैन। भनिरहनुपर्दैन कि परिष्कृत लोकशक्तिको आधार मानिसको मानिसप्रति बढी निकटता, घनिष्टता र आत्मीयताका गतिविधि अँगालेर
मात्र हुन सक्दछ। हाम्रो वैयक्तिक
र सामूहिक प्रगति यसै दिशामा हुनुपर्दछ।