Posts

Showing posts from February, 2011

खाद्य सुरक्षा ऐनविपरीत कसुर गरेको अभियोगमा आठजना उद्योगी–व्यवसायी दण्डित

पवन तिवारी, वीरगंज, १५ फागुन/     जिल्ला प्रशासन कार्यालय, पर्साले आठजना स्थानीय उद्योगी–व्यवसायीलाई दण्डित गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रशासनले उद्योगी व्यापारीहरूलाई दण्डित गरेको हो।     दण्डित हुनेमा भवानी खाद्य उद्योग वीरगंज–१५ का सञ्चालक दीपेश अग्रवाल, शिवगङगा मसाला भण्डार वीरगंज–५ का सञ्चालक प्रमोदप्रसाद कलवार, खुश्बु बेकरी एन्ड कन्फेक्सनरी प्रोडक्ट्स वीरगंज–१४ का सञ्चालक अर्जुनराज शर्मा, रमा खाद्य उद्योग वीरगंज रानीघाटका प्रभुप्रसाद कलवार रहेका छन्।     त्यसैगरी जय किराना स्टोर्स वीरगंज–१६ मुर्लीका सञ्चालक ओमप्रकाश प्रसाद, सुशील वनस्पति  प्रालि परवानीपुर–७ का रतनलाल केडिया, आदर्श आयल इन्डस्ट्रिजका सञ्चालक श्रवणकुमार चाचान र सुशील वनस्पति प्रालि (सूर्यमुखी तेल) का सञ्चालक अनिल केडियालाई खाद्य ऐन २०६३ अनुसार दण्डित गरिएको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले जानकारी गराएका छन्।     क्षेत्रीय खाद्य प्रविधि तथा नियन्त्रण कार्यालय, हेटौंडाले दायर गरेको मुद्दामा दोषी देखिएकाले उद्योगी–व्यवसायीलाई दण्डित गरिएको प्रजिअ झाले बताए।     गु

विद्युत् प्राधिकरण वीरगंजद्वारा हदैसम्म लापरवाही

Image
प्रस, लङगडी, १५ फागुन/     विद्युत् प्राधिकरण वीरगंज शाखाद्वारा जिल्लाका ग्रामीण भेगमा गरिएको विद्युतीकरणमा हदैसम्म लापरवाही गर्न थालेकोले गाउँलेहरू पीडित छन्।     विद्युत् जडान भएको ठाउँमा उचित सम्भार गरिएको देखिंदैन। जसले गर्दा ट्रान्सफर्मर दैनिक जल्ने र पोलका तारहरू भाँचिने गरेको छ। पिडारीगुठी गाविसका जनताको लाखौंको धनमाल केही दिनअगाडि जलेर नष्ट भएको छ।     गाउँ–गाउँमा दैनिक तार र पोलहरू भाँचिइरहेको कारण विद्युत् अवरोध हुनका साथै ज्यानको पनि खतरा रहेको सबैठवा गाविसका रामबाबू चौरसियाले बताए। सबैठवा गाविसको प्रहरी चौकीनजिकै रहेको विद्युत्को पोल ढल्न लागेको वर्षौं हुन लागेको छ।     सो पोल वीरगंज–भिस्वा जोड्ने मुख्य सडकखण्डमा पर्छ। कुनै बेला पोल अचानक ढल्यो भन्ने कतिजनाको ज्यान जान सक्छ, अनुमान गर्न गार्‍हो छ। विद्युत् प्राधिकरण वीरगंजमा सोबारे पटक–पटक जानकारी गराए पनि कुनै वास्ता गरिएको छैन।

नव जनजागृति क्लब सिमरा विजयी

प्रस, कलैया, १५ फागुन/     बारा जिल्ला फूटबल सङ्घ एवं नेपाल खेलकुद महासङ्घ बाराको आयोजनामा जिल्ला विकास समिति खेलकुद विकास समिति बाराको प्रायोजनामा सदरमुकाम कलैयामा सञ्चालित जिल्लास्तरीय नकआउट फूटबल प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा नव जनजागृति क्लब सिमरा विजयी भएको छ। सिमराले उमजन–११ फूटबल क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो।     सिमराका लागि रामकुमार श्रेष्ठले दुई र विजय लामा एक गोल गरेका थिए। उमजनको लागि नरेन्द्र चौधरी र दिलमणि चौधरीले एक/एक गोल गरेका थिए। भोलि माउन्ट एभरेस्ट ऐकेडेमी सिमरा र कलैया फूटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

जाग शिक्षक जाग–१२

अनन्तकुमार लाल दास     शिक्षा र शिक्षकका बारेमा धेरै कुराहरू लेखियो। धेरै कुराहरू विभिन्न कोणबाट भाषण गरियो तर समाजको विकास यात्रामा सङगीत शिक्षाको उपादेयताका बारेमा बहस नै चलाइएको छैन। प्रख्यात लेखक सीके लालले सङगीत र कलाको सङगत नपाएर तराईका युवाहरू रसविहीन बन्दै गइरहेका बताएका छन्। उनको यस कथनले पनि तराईका युवाहरूलाई सङगीत शिक्षा आवश्यक रहेको देखाउँछ। फेरि प्रश्न उठ्ला युवाहरूमा एफएमको त्यत्रो क्रेज छ। यहाँ दिनभरि युवाहरूको एउटा ठूलो जमात कानमा एफएमको तार जोडेकै हुन्छन्। फेरि उनीहरूलाई कसरी भन्ने कि यिनीहरूमा सङगीतको मोह छैन ?     यस बहसलाई अगाडि बढाउन हामीले सङगीतको महत्त्व बुझ्नुपर्छ। सङगीतको चमत्कारहरूका बारे यदाकदा पढ्न त पाइन्छ तर हामीकहाँ त्यस्ता चमत्कारहरूसित साक्षात् हुने अवसर कसैले भेटेको भने कहीँ पनि थाहा पाइएको छैन। त्यसैले पनि होला सङगीतको महत्त्वबारे समाजलाई त्यति जानकारी नभएको हुन सक्छ। तानसेन प्रवृत्तिका गायकहरूले गाएर वर्षा गराएको, गाएर दीप प्रज्वलित गराएको, गाएर फूल फक्रेको इत्यादि कुराहरू विस्मित भएर हामीहरू सुन्थ्यौं। अझ पनि धेरै त्यस्ता विस्मित भई  रहन्छन्। वि

सबैलाई हाइसञ्चो

    नेपालीमा एउटा उखान छ– हिङ भए एक भाइ भान्सै नपस्ने, हिङ नभए अर्का भाइ भागै नबस्ने। आज नेपाली राजनीतिमा एनेकपा माओवादी र अन्य दलहरूबीच यसै उखानलाई चरितार्थ गर्ने लहड चलेको छ। सातबुँदे सहमति कायम नभए एमाओवादी सरकारमा नजाने र सातबुँदे सहमति कायम भए अन्य दललगायत आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालविरोधी खेमालाई मान्य नहुने विचित्रको अवस्था नेपाली राजनीतिले बेहोर्नुपरिरहेको छ। यसै विषयलाई लिएर सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता पाउन नसकेको यो नै पहिलो चोटी भने होइन। यसभन्दा पहिले पनि माधवकुमार नेपालको सरकारले सातपटकमा पूर्णता पाएको थियो। अर्थात् चलन नै भइसक्यो, अन्योलमा बाँच्ने। अब त यो अन्योल झाङिगने, फस्टाउने परिस्थिति स्वत: बनेको छ। संविधानसभाको म्यादबारे सर्वोच्चले संविधान नबनेसम्म संविधानसभा रहिरहने निर्णय दिएपछि जति कलह गरे पनि पुग्ने भएको छ। किनकि संविधान नबनुञ्जेल संविधानसभा रहिरहन्छ, संविधानसभा रहुञ्जेल यो रडाँको पनि निखनिंदैन।     अब त के सोच्न बाध्य हुनुपरेको छ भने के राजनीतिक दलहरू संविधान नै चाहँदैनन्। अन्यथा मूल विषय छाडेर तपसिलका विषयमा किन अल्झ

सातबुँदे सहमति अमान्य: राप्रपा अध्यक्ष जबरा

Image
प्रस, पर्सा, १४ फागुन /     राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले माओवादी र एमालेबीच भएको सातबुँदे सहमति आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन्।     रिपोर्टर्स क्लब पर्साले स्थानीय होटल सम्झनामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जबराले सातबुँदे सहमतिमध्ये छुट्टै फोर्स र दीर्घकालीन आलोपालो प्रधानमन्त्री बन्ने सहमति आफ्नो पार्टीलाई कुनै पनि सर्तमा मान्य नहुने बताए।     उनले एमाले र माओवादीबीच भएको सहमतिमध्ये छुट्टै फोर्स बनाएमा लडाकूको इमानदारितापूर्वक समायोजन हुन नसक्ने र नयाँ संविधान पनि बाँकीको तीन महिनामा बन्न सक्ने दाबी गरेका थिए। अध्यक्ष जबराले सबै दलबीच सहमतिको अवस्था आएमा बाँकीको तीन महिनामा शान्तिप्रक्रियाको टुङगो लगाएर संविधाननिर्माण हुन सक्ने बताएका थिए ।     उनले तोकिएको समयमा सविधान र शान्तिप्रक्रिया टुङगोमा लगाउनका लागि गरिएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई खारेज गर्नुपर्ने जिकिर गरेका थिए। उनले संविधाननिर्माणका लागि थप गरिएको एक वर्षमध्येको आठ महिना तीन ठूला दलको गाईजात्रा र  नौटङकीमा बितेको चर्चा गर्दै तीन दलकै कारण मुलुक अस्तव्यस्त

पटेलद्वारा आफ्नै पत्नीको हत्याको प्रयास

प्रस, लङगडी, १४ फागुन/     गाविस अलौ–४ निवासी प्रदीपकुमार पटेलले आफ्नै पत्नी शान्ता देवीको हत्याको प्रयास गरेको समाचार प्राप्त भएको छ। उनले आज आफ्नै पत्नीको शरीरमा पेट्रोल खन्याइ आगो लगाएका थिए। आगो छिट्टै निभेकोले शान्ता सख्त घाइते मात्र भएकी छन्।     सो घटना छिमेकीले थाहा पाएपछि उनको माइतीमा खबर गरिएको थियो। माइती पक्षले घाइते शान्ता देवीलाई लिएर उपचारका लागि वीरगंज लगेका छन्। शान्ता देवीको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।     घाइते शान्ता देवीको बयान अनुसार पति प्रदीपले केही दिन अगाडि उनीसँग एक सिलाइ मेसिन माग गरेका थिए। तर सो सामान केही दिनपछि बुबाले दिने बताएका थिए। सोही दिनदेखि पतिले दु:ख दिन थालेको प्रहरीसमक्ष बताएकी छन्। अहिले पतिलगायत उनका अन्य परिवारिक सदस्यहरू फरार भएको प्रहरीले जनाएको छ।

वीरगंजद्वारा पोखरा पराजित

Image
आरके पटेल, वीरगंज, १४ फागुन/     आजदेखि वीरगंजमा एमजी ट्रफी टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। पूर्व एनआरएन अध्यक्ष डा. उपेन्द्र महतोकी स्व. माताको नाउँमा स्थापित फूलकुमारी महतो मेमोरियल ट्रस्टले आयोजना गरेको एमजी टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बलिङ र ब्याटिङ गरी प्रारम्भ गरेका थिए। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव हरिबाबू चौधरीले नेपालमा खेलकुदको माध्यमबाट विकासको लहर ल्याउनुपर्ने बताए।     फागुन १४ देखि २१ गतेसम्म चल्ने यस प्रतियोगितामा नेपालभरिका १० वटा क्षेत्रीय क्लबहरू सहभागी भएको आयोजकले जानकारी गराएको छ। आज भएको खेलमा वीरगंजले  पोखरालाई ६ विकेटले पराजित गरेको छ।     खेलको प्रारम्भमा पोखराले टस जिती ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको थियो भने वीरगंजले १९ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाउँदै विजयी भएको थियो। आज भएको खेलमा म्यान अफ दि म्याच ५ विकेट लिन सफल वीरगंजका नारायण पटेल घोषित भएका थिए।

युवाले सफलताको लागि के गर्ने ?

आर. पी. कोइराला     अङ्ग्रेजीमा एउटा भनाइ छ– “Everybody wants to get success but very few prepare to get success” अर्थात् सफलताको चाहना सबैले राख्दछन् तर ज्यादै कमले सफलता प्राप्त गर्नको लागि आफूलाई तयार गर्दछन्। हो, आफूलाई तयारी गर्नु सफलताको अग्रगमनको बाटोमा आफूलाई डोर्‍याउनु हो।     प्रश्न उठ्छ, आफूलाई तयार कसरी गर्ने ? जीवनमा तीन किसिमको उद्देश्य बनाउनुपर्छ। ती हुन्– छोटो समयको लागि बनाइने उद्देश्य, जसमा तपाईंले आफ्नो कमजोरीलाई पहिचान गरेर छोटो समयमा के के सिक्न सकिन्छ, जस्तै प्रभावकारी सञ्चारको सीप, कम्प्युटरको ज्ञान, साना साना अर्थात् १५ दिनेदेखि ३५ दिनेसम्मका व्यक्तित्व विकाससम्बन्धी तालिम आदि इत्यादि।     दोस्रो मध्यकालको उद्देश्य, जसमा तपाईंले आफ्नो प्राज्ञिक शिक्षा (Academic Education) मा सम्पूर्ण ध्यान लगाएर राम्रो अङक प्राप्त गर्नको लागि दत्तचित्त भएर लाग्नु जरूरी छ र यसको लागि अवश्य तपाईंहरूमा कौतुहलता होला आखिर पढ्ने कसरी ? हो, किताबी किरा भएर, समय दिएर र घोकेर मात्र राम्रो ज्ञान प्राप्त गर्न सकिंदैन। त्यसको लागि मेरो ब्रह्मले देखेका, बुझेका, अनुभव र अनुभूति गरेका केही

सर्वधर्म समभावको रीति–नीति अपनाऔं

    दुई आस्था एवं प्रवीणता प्रत्येक विचारशील व्यक्तिले आफूमा उत्पन्न गर्नुपर्छ। एउटा के भने ऊ आफ्नो निजी जीवनमा विवेकवान्, चरित्रवान, सुसंस्कृत र प्रतिभावान बनोस्। सभ्य समुदायमा गनिनेयोग्य आफ्नो स्तर बनाओस्। उसको प्रामाणिकता एवं गरिमा अक्षुण्ण रहोस्।     दोस्रो काम के भने समाजनिष्ठ उदारचेता बनोस्। आत्मवत् सर्वभूतेषुको भावना विकसित गरोस्। अरूको दु:खमा आफू सहभागी बनोस् र आफ्नो सुख अरूलाई बाँडोस्। वसुधैव कुटुम्बम्को मान्यता सुदृढ गरोस्। आफूलाई समाजको एउटा अविच्छिन्न घटक मानोस् र सबैको उन्नति आफ्नो उन्नति ठानोस्। सङकीर्ण स्वार्थपरताबाट जोगिने व्रत निर्वाह गरोस् र सम्पर्क क्षेत्रमा पछि परेकालाई उठाउन, अग्रगामीलाई अघि बढाउन आफ्नो गच्छेअनुसार योगदान पुर्‍याओस्।     मानिसका यिनै दुई प्रधान कर्तव्य र दायित्व हुन्। उसको अन्तस्करण यसै कसीमा घोटिनुपर्छ। दृष्टिकोणमा यसै आदर्शवादिताको सघन समन्वय हुनुपर्छ। दुष्कर्म नगरोस्। अरूलाई हानि पुर्‍याएर आफ्नो स्वार्थ पूर्ति नगरोस्। विलासी र सङ्ग्रही नबनोस्। औसत नागरिक स्तरको जीवन बाँचोस्। कुटुम्बको असीम जिम्मेदारी आफ्नो टाउकोमा नबोकोस्। बाँकी समयलाई सत्प्रव

कर्मचारीको हत्याको विरोधमा पाँचै जिल्लाका सरकारी कार्यालय बन्द, मन्त्रिपरिषद्द्वारा हत्याप्रति दु:ख व्यक्त

प्रस, पर्सा १२ फागुन/     मालपोत कार्यालय, बाराका नायब सुब्बा माधव थापाको हत्याको विरोधमा आज दोस्रो दिन पनि नारायणी अञ्चलका सरकारी कार्यालयको कामकाज ठप्प रहयो। हत्याको विरोधमा नेपाल निजामती कर्मचारी सङगठनको आह्वानमा तीन दिने अञ्चल बन्द अन्तर्गत आज पनि बारा, पर्सा, रौतहट, मकवानपुर र चितवनका सरकारी कार्यालयको कामकाज ठप्प भएको हो। कर्मचारीहरूले नारायणी अञ्चलभरिका सरकारी कार्यालय तीन दिनसम्म बन्द गरी आइतवार मात्र सञ्चालनमा ल्याउने जनाएका छन्।     यता बारामा भने निजामती कर्मचारी सङगठनहरूले बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय बारा अगाडि धर्ना दिएका थिए। आन्दोलनरत कर्मचारीहरूले मृतक थापालाई सहिद घोषणा गरी परिवारजनलाई क्षतिपूूर्ति दिनुपर्ने, मृतकको परिवारका एकजनालाई रोजगारी उपलब्ध गराउनुपर्ने, मालपोत कार्यालयमा मृतकको सालिक निर्माण गर्नुपर्ने र कर्मचारीको सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखेका छन्।     यसैबीच थापाको हत्याको अनुसन्धानका लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले अञ्चल प्रहरी कार्यालय नारायणी का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोपाल भण्डारीको संयोजकत्वमा तीन सदस्यीय

सात बँदे सहमतिले खतरा बढ्यो : अध्यक्ष जबरा

प्रस, पर्सा १२ फागुन/     राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले माओवादी र एमालेबीच भएको सात बुँदे सहमतिले उग्र वामपन्थी खतरा बढेको बताएका छन्। राप्रपाले वीरगंजमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जबराले सात बुँदे सहमतिमा उल्लेख भएअनुसार दुवैले आलोपालो सरकार चलाउने सहमति मुलुक र प्रजातन्त्रको लागि खतरा हुने बताए।     उनले ठूला दलको अदूरर्शिताकै कारण अपार जलस्रोतको धनी मुलुकका जनताले १४ घण्टा लोडसेडिंगको मार खेप्नुपरेको जिकिर गरेका थिए। उनले मुलुकमा केवल एक तिहाई मात्र उज्यालो बाँकी रहेको चर्चा गर्दै देशको आर्थिक र सामाजिक विकास धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले मधेसवादी नेताहरूले मधेसीहरूकै मतबाट जितेर गएपनि केवल सत्तालिप्सामा रुमलिएको आरोप लगाएका थिए।     प्रशिक्षण कार्यकम पार्टीका केन्द्रीय सदस्य गोखुलप्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।

जनक, त्रिभुवन, निर्मल र सूर्योदय सेमिफाइनलमा

प्रस, हेटौंडा, १२ फागुन/     निर्मल उच्चमावि बस्तीपुरमा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगितामा चारवटा विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।     लीग कम नकआउट अन्तर्गत बिहीवार भएको खेलमा जनक मावि भीरकोट, त्रिभुवन नमुना उच्च मावि नवलपुर, निर्मल मावि बस्तीपुर र सूर्योदय मावि सरिखेत सेमिफाइनल प्रवेश गरेका छन्। जनकले बुद्ध मावि पदमपोखरीलाई, त्रिभुवनले सनसाइन इङगलिश बोर्डिङ स्कूल बसामाडीलाई, निर्मलले महेन्द्र उच्चमावि पदमपोखरीलाई र सूर्योदयले राष्ट्रिय मावि काँकडालाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो।     निर्मल उच्च मावि जुनियर रेडक्रस सर्कलको आयोजनामा बुधवारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका २१ वटा विद्यालयको सहभागिता छ। जिल्लाभरका शिक्षकहरूमा मैत्रीभावको निरन्तरताको लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ ।

खाद्य सङकट र राजनैतिक डढेलो

ई. गोपाल श्रेष्ठ     विश्व जनसङ्ख्या अहिले झन्डै सात अर्ब छ भने अबको तीन दशकपछि यो नौ अर्ब पुग्ने अनुमान गरिएको छ। बढ्दो जनसङ्ख्याको लागि अहिले नै खाद्य सङकट छ भने भविष्य कति कहालिलाग्दो होला सहजै अनुमान गर्न सकिन्छ। सम्पन्न राष्ट्रहरूले त खाद्यान्न आपूर्ति र जनसङ्ख्याबीच तालमेल मिलाउन सक्लान्। तर गरिब राष्ट्रलाई यो तालमेल मिलाउन अवश्य गार्‍हो हुनेछ। अनि यस्ता राष्ट्रमा आन्दोलन चर्कन के बेर १ जे जस्तो विध्वंस हुन्छ गरिब राष्ट्रहरूमा नै त हुने हो। सम्पन्नताभित्र स्थिरता नै स्थिरता छ भने विपन्नताभित्र अस्थिरता नै अस्थिरता १     इजिप्टमा खाद्यान्नको भाउ विशेष गरी गहुँुको भाउ अति नै बढ्न गयो। विस्तारै खाद्यान्नको भाउ गरिब जनताको पहुँुचभन्दा बाहिर गयो। परिणाम, जनक्रान्ति भयो र तीन दशकदेखि सत्तामा रहेको इजिप्टका राष्ट्रपति होस्नी मुबारकले सत्ता छाड्न बाध्य हुनुपर्‍यो। यो राजनैतिक डढेलो फैलिंदै गई यमन, लिबिया, बहराइन र इरान पुगिसक्यो। चार दशकभन्दा बढी समयदेखि कार्यरत लिबियाका राष्ट्रपति गद्दाफीलाई पनि सत्ता परित्याग गर्नुपर्ने अवस्था सृजना हुँदैछ। गरिबी बढ्दै गई खाद्यान्नको भाउ जनताको पहुँचभ

गरिबी र अर्थ व्यवस्था १८ उधारो पत्र

विश्वराज अधिकारी उधारो पत्र (Credit card) एक किसिमको नगद नै हो। यसले नगदले झै कार्य गर्दछ। यसको प्रयोगले गर्दा एकातिर पैसा नभएको बेलामा पनि आफूलाई आवश्यक परेका सामाग्रीहरु खरिद गरेर आफूसँग पैसा भए पछि त्यसको भुक्तानी गर्न सकिन्छ र अभावको स्थितिमा बस्नु पर्देन भने अर्कोतिर पैसाको खाँचो परेका बेला योसँग वा उसँग सापट्टी लिनु पर्देन। यसै गरी बिक्रेताहरुले पनि तत्काल खल्तिमा पैसा नभएका ग्राहकहरुलाई पनि सामान बिक्री गरेर आफ्नो बिक्रीको परिणाममा वृद्धि गर्न सक्छन्। र आफ्नो बिक्रीलाई नियमित र भरपर्दो तुल्याउन सक्छन। उधारो पत्रको प्रयोगले गर्दा, उधारोमा सामान बिक्री गरे पछि त्यसको भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने चिंता बिक्रेताले लिनु पर्दैन। उधारो पत्रको आधारमा  सामान बिक्री गर्दा बिक्रेताले सामान बिक्री गर्ने बितिक्कै त्यसको भुक्तानी नपाए पनि दुइ चार दिन पछि भने अवश्य पाउँछ। बिक्रेताले आफ्नो सामानको मूल्य क्रेडिट कार्ड कम्पनीबाट पाउँछ र क्रेडिट कार्ड कम्पनीले पछि बिक्रेतालाई जति भुक्तानी गरेको हो त्यति रकम क्रेताबाट प्राप्त गर्दछ।  उधारो  पत्र वा क

खुला छ – निर्यातको ढोका

शीतलप्रसाद महतो     नेपालजस्तो विकासोन्मुख राष्ट्रको आर्थिक उन्नतिको गति तीव्र बनाउन तथा प्रवद्र्धनात्मकरूपमा निकासी व्यावसाय वृद्धि गरी व्यापारिक क्षेत्रलाई प्रतिस्पर्धात्मक ढङगले अगाडि बढ्नका लागि सामान्य ग्राह्यता प्रणाली (जीएसपी) ले महत्त्वपूर्ण भूमिका निर्वाह सक्दछ। अति कम विकसित अथवा विकासशील देशको हैसियतले नेपालले विकसित देशहरूमा बजार पहुँच सम्बन्धी सामान्य ग्राह्यता प्रणाली (जीएसपी) अन्तर्गत सौविध्यप्राप्त बजार पहुँच पाइरहेको हो। तर नेपाली निकासीकर्ताहरूमा जीएसपी सुविधाप्राप्त गर्नका लागि आवश्यक पर्ने ज्ञान, सूचना र प्रावधानहरूबारे विस्तृत जानकारी प्राप्त हुन नसक्दा यसको उच्च सदुपयोग हुन सकेको छैन।     विकासशील राष्ट्रका उत्पादनहरूलाई प्रतिस्पर्धात्मक बनाउने प्रयासस्वरूप सन् १९६८ को नयाँ दिल्लीमा सम्पन्न अङटाङको दोस्रो सम्मेलनबाट प्रतिपादित भई सन् १९७१ देखि लागू गरिएको यो प्रणालीबाट विकासोन्मुख मुलुकहरूमा तोकिएको कृषि तथा औद्योगिक वस्तुहरू ग्राह्य हुनेछन्। यस प्रणालीमा विकसित राष्ट्रहरूले विकासशील राष्ट्रहरूका वस्तुहरूलाई भन्सार महसुल तथा छुटको सुविधा प्रदान गरेको हुन्छ। यो

विद्युत् कटौतीबाट प्रभावित आर्थिक विकास

वीरेन्द्रप्रसाद यादव     नेपाल जलस्रोतको मामिलामा विश्वमैं दोस्रो धनी राष्ट्रको रूपमा रहेकोले नेपालको समग्र विकास निम्ति विद्युत् ऊर्जा अनिवार्य शर्तको रूपमा रहेको छ । मुलुकको आर्थिक विकास द्रुत गतिमा अगाडि बढाउन विद्युत् ऊर्जाको पर्याप्त मात्रामा उत्पादन र उपभोग स्वदेशमा हुनैपर्छ। मुलुकलाई स्वीटजरल्यान्डजस्तो विकसित मुलुक बनाउन जति रट लगाएपनि विद्युत् ऊर्जाको उत्पादन र उपयोग व्यवहारमा नबढाएसम्म आमाको काखमा रहेको बच्चालाई चन्द्रमा ल्याएर खेल्नदिने जस्तो झूटो आश्वासन मान्नुपर्छ । जुन कहिल्यै सत्य आश्वासन मात्र हो। पानीले धनी मुलुकमा विद्युत् अभाव देखाएर लोडसेडिंग गरिने गरिएको छ ।     वर्षायाममा दुई घण्टा, त्यसपछि चार, छ, आठ, बारह र सोर्‍ह–सोर्‍ह घण्टा लोडसेडिंग बढ्दै जानुले नेपालको विकासको सम्भावना कुन गतिमा अगाडि बढिरहेको छ भन्ने कुरा अनुमान लगाउन आम नागरिकलाई गार्‍हो पर्दैन होला। विकसित मुलुकहरूको अनुभव हेर्दा द्रुतगतिमा आर्थिक विकास गर्ने मुलुकहरूले उद्योग–व्यापारबाट आय बढाएका छन् भने उपभोग्य सामग्री सस्तो र सहुलियत दरमा उपभोग गरेर अत्यधिक बचत गरेका छन्। उद्योग व्यापारबाट लाभ लिन उद

सम्झौताका कारण समायोजनमा समस्या

श्रीमन्नारायण     एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सात बुँदे सम्झौता गरी सरकारको नेतृत्वमा पुगेका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल सम्झौताकै कारण प्रत्येक पाइलामा विवादको सामना गरी राखेका छन्। सम्झौताका प्राय: बुँदाहरू आलोचनाका विषय भएपनि लडाकू समायोजन विषय ए. माओवादीबाहेक कसैलाई मन परिरहेको छैन। यस सम्झौताको चारैतिर चर्को विरोध भइरहेको छ।     शान्ति प्रक्रियालाई उपलब्धिमूलक निष्कर्षमा पुर्‍याउन माओवादी सेनाका लडाकूहरूको स्वेच्छिक अवकास, पुनस्र्थापना र समायोजन कार्यलाई सम्मानजनक ढङगले सम्पन्न गरिने, सुरक्षा निकायमा समायोजन गर्ने सम्बन्धमा अहिलेसम्म भएका कामहरूलाई निरन्तरता दिंदै माओवादी लडाकूहरूको छुट्टै वा अन्य सुरक्षा निकाय समेतको संलग्नतामा छुट्टै फोर्स निर्माण गर्ने विषयमा भएको सहमति सत्ताधारी एमालेलाई पनि मन परेको छैन। अन्य दल र पक्षको चर्को आपत्ति त यसमा छ नै। लडाकू समायोजन कार्य राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयसँग सम्बन्धित एउटा गम्भीर मामिला हो। क्षणिक आक्रोश वा भावनामा आएर यसबारे हतारमा निर्णय अथवा सम्झौता गर्नुहुँदैन, यसको दूरगामी महत्त्व छ। प्रधानमन्त

निर्वाह गर्नैपर्ने दायित्व

    वीरगंजस्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका शिक्षकहरूले विद्यालय परिसरमा धूमपान नगर्ने प्रतिबद्धता जनाएर सामाजिक दायित्व निर्वाहका साथै विद्यार्थीहरूमा नराम्रो बानी बस्ने सम्भावनालाई पन्छाउने काम गरेका छन्। निश्चय नै परिवारको अभिभावकपछि विद्यार्थीहरूमा सबैभन्दा बढी र स्थायी छाप शिक्षकहरूको नै पर्दछ। खासगरी विद्यालयस्तरका विद्यार्थीहरूको कलिलो मस्तिष्कमा आफूलाई शिक्षा दिने गुरुको अनुसरण गर्ने स्वाभाविक प्रवृत्ति उत्पन्न हुन्छ। यो प्राणी जगत्कै अनुकरण गर्ने प्रवृत्ति हो। यसै स्वभावगत गुणका कारण प्राणी जगत्को अस्तित्व कायम पनि छ। आमा–बाबुको देखासिकी के मानिस, के पशुपक्षी र जलचर सबैले आजीविकाको जोहो गर्दछन्। त्यसैले बाघको प्रवृत्तिसँग बाख्राको प्रवृत्ति मिल्दैन। डमरूले घास खाने प्रयास नै गर्दैन भने पाठोमा मासु खाने किञ्चित इच्छा जाग्रत हुँदैन। मानवेतर प्राणीमा प्रकृतिगत स्वभावभन्दा माथि जाने सामथ्र्य नहुने हुँदा बाँकी विकृतिहरूबाट ऊ जोगिएको हुन्छ।     मानिसमा ज्ञान र जिजीविषा प्रखर हुने हुँदा ऊ राम्रो र नराम्रो सबै प्रवृत्तिको अनुभव गर्न चाहन्छ र धूमपानको लत बस्न जा

हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालय तीन दिन बन्द रहने

Image
आरके पटेल, ११ फागुन/ बारा मालपोत कर्यालयमा कार्यरत नायब सुब्बा माधव थापाको हत्याको विरुद्ध पर्सालगायत अञ्चलका सम्पूर्ण सरकारी कार्यालय तीन दिनसम्म बन्द गर्ने विभिन्न कर्मचारी सङगठनहरूले आज प्रेस विज्ञप्तिी जारी गरी जनाएका छन्। जिल्लामा रहेका विभिन्न कर्मचारी सङगठनहरूले प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई आज ज्ञापन बुझाउँदै सो कुरा जनाएका छन्। प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री समक्ष सो ज्ञापनपत्र बुझाएको स्थानीय निकाय कर्मचारी युनियनका जिल्ला अध्यक्ष मङ्केश्वर ठाकुरले बताएका छन्। मृतकलाई शहीद घोषणा, २० लाख क्ष्तिपूर्ति, परिवारलाई सरकारी नोकरी लगायत दोषीलाई पक्राउ गरी कारबाईको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ। निजामती कर्मचारी युनियनका अध्यक्ष सच्चिदानन्द सिंहले ज्ञापनपत्र बुझाएका थिए। हत्याराको पहिचान भइसकेको छ, हाम्रो जिल्ला नभएपनि हामीले आफ्नो अनुसन्धानबाट हत्याराबारे बाराका प्रमुख जिल्ला अधिकारीलाई जनकारी गराई सकेको कुरा ज्ञापनपत्र बुझ्दै प्रजिअ झाले आज बताए। नेपाल कर्मचरी सङगठनका अध्यक्ष सुबदार यादव, राष्ट्रिय कर्मचारी सङगठनका अध्यक्ष अलाउद्दिन अंसारी, सचिव हकहित सरक्षण

बाघको हड्डी तस्कर गिरोह वीरगंजबाट पक्राउ

प्रस, पर्सा, ११ फागुन/     बाघको हड्डी तस्करी गर्ने गिरोहलाई प्रहरीले वीरगंजबाट गिरफ्तार गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र वन्यजन्तु संरक्षण सङ्घको संयुक्त टोलीले वीरगंज लिङकरोड स्थित राज गेस्टहाउसबाट १५ किलो बाघको हड्डीसहित तीनजनालाई दिउँसो दुई बजे गिरफ्तार गरेको हो। गिरफ्तार हुनेमा सर्लाहीका शैलेन्द्र बस्नेत, दीपेन्द्र चौधरी र सुपौलीका जसी चौधरी रहेका पर्साका प्रहरी प्रवक्ता प्रनि भीमकिरण बोगटीले बताए।     मकवानपुरको मनहरीबाट सो हड्डी काठमाडौं लग्न वीरगंज ल्याइएको अवस्थामा सूचनाको आधारमा छापामारी भएको बोगटीले बताएका छन्। बरामद हड्डी काठमाडौंबाट तस्करहरूले चीन पठाउने गरेको अनुसन्धानबाट खुलेको छ। हड्डी तस्करी गिरोहका थप व्यक्तिको नाम अनुसन्धानबाट खुल्न आएकोले प्रहरी प्रधान कार्यालयबाट थप पक्राउ गर्न विभिन्न जिल्लामा टोली परिचालन भएको प्रहरीले बताएको छ।     पक्राउ परेकाहरूलाई जिल्ला प्रहरीमा राखी अनुसन्धान भइरहेको छ ।

नगरको परिभाषा नबोकेको वीरगंज

जगदीश शर्मा     नगरको विकास मानव सभ्यताको अनिवार्य तत्त्व थियो। नवपाषाण युगमा कृषिको विकास हुँदै गयो, पशुपालन व्यवस्था फस्टाउँदै गयो अनि नगरहरूको विकास पनि सँगसँगै भयो। नगर भनेको पहिले गाउँहरूको विस्तारित रूप थियो। जनसङ्ख्या वृद्धिले गाउँहरू विकसित र विस्तारित भए। जनसङ्ख्या बढेपछि उनीहरूको आवश्यकता पनि बढे। बढेको आवश्यकताको पूर्ति प्राकृतिक उत्पादनबाट मात्र सम्भव देखिएन। उत्पादनका अभिशेषहरू (क्गचउगिक) हुनुपर्ने आवश्यक देखियो। अभिशेषका सुरक्षाका लागि बलियो घर, सुरक्षा निकायको आवश्यकता देखियो। एकै ठाउँमा थुप्रिएको नागरिकलाई अन्य थुप्रै सुविधा आवश्यक भयो। अब एक्लै मानिसले गरेर केही सम्भव भएन। त्यसैले उत्पादनका लागि विभिन्न शक्तिहरू एकत्रित भए। जस्तै एउटा कारखानास जसबाट धेरैको आवश्यकताका सामानहरू उत्पादन हुन्छ, त्यसमा व्यवस्थापन, पूँजी, श्रम र पछि–पछि बजार आदि आवश्यक पर्‍यो। जङगलमा फलफूल खाएर एक्लो व्यक्तिको आजीविका सम्भव थियो भने शिकार गर्न एउटा सम्पूर्ण परिवार आवश्यक भयो। कृषि कर्ममा पनि परिवारेतर श्रम आवश्यक पर्‍यो भने उद्योगका लागि विभिन्न स्थानका विभिन्न योग्यता भएका व्यक्तिहरूको खाँच

कसरी जोगिन्छ नेपालीको ज्यान

    अहिले नेपालमा सबैभन्दा सस्तो नेपालीको ज्यान भएको छ। स्वदेशमा मात्र होइन, विदेशमा पनि नेपाली भनेपछि मूलाजत्तिको पनि मूल्य देखिएको छैन र नेपालीहरू ज्यान फालिरहेका छन्। वीरगंजमा हिजै दुईजना विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो। कलैयामा एकजना सरकारी कर्मचारीको गोली हानी हत्या गरियो। स्वदेशमा रोजगार नपाएर विदेश जाने थुप्रै नेपालीहरू अनाहकमा ज्यान गुमाइरहेका छन्, कैदी जीवन व्यतीत गरिरहेका छन्। यी सबको पछाडि मुलुकमा व्याप्त अव्यवस्था नै हो। दुर्घटनामा ज्यान जानुलाई भवितव्य भन्ने गरिन्छ, तर जब घरीघरी दुर्घटना भइरहन्छ भने प्रचलित नीति नियम, सडकको अवस्था, सवारी साधनको सम्भार, चालकहरूको अज्ञानता वा नियम मिच्ने प्रवृत्तिमाथि गहन निरीक्षण आवश्यक हुन जान्छ। दुईजना मर्ने विद्यार्थीहरू जुन मोटरसाइकलमा चढेका थिए त्यसमा तीनजना सवार थिए। ठक्कर दिने सवारीको चालक अदक्ष हुन सक्छ वा सवारी साधनहरूको उचित मरम्मत सम्भार नहुँदा यान्त्रिक खराबी उत्पन्न भएर पनि दुर्घटना हुन सक्छ।     यस्ता दुर्घटनाहरूलाई भवितव्य मान्नै सकिंदैन। के मोटरसाइकल तीनजना चढेर गुडाउनका लागि बनाइएको हो ? के नेपालमा एउटा मोटरसा

नगरवासीले जतिकै सास्ती सहेपनि,फोर लेनको काम बल्ल प्रारम्भ भयो

Image
प्रस, पर्सा, ९ फागुन/     वीरगंज उपमहानगरपालिकाले निर्माण गर्न लागेको चार लेनको सडक ठेक्का अन्तिम अवस्थामा आएर सुरु भएको छ।     एक वर्षमा निर्माण गर्ने गरी प्रकाश, शिवाको काठमाडौं र मोना कन्ट्रक्सन वीरगंजले तोकिएको रकममा ४१ प्रतिशत कम गरी १ करोड १३ लाखमा ठेक्का सकार गरेका थिए। आपसी प्रतिस्पर्धामा ठेक्का रकमको ४१ प्रतिशत कम गरी सकार गरिएको कारण फोरलेनको सडक निर्माणमा ढिलाइ भएको आम बुझाइ भए पनि वीउमनपा सोको ढिलाइ हुनुमा ठेकेदारलाई भुक्तानी दिनुपर्ने रकम अभाव भएको बताउँछ।     वीउमनपाले सो सडक निर्माणबापत् २० लाख मोबाइलाइजेशन रकम ठेकेदारलाई भुक्तानी गरेको र सो रकम भुक्तान गरेको निकैपछि गत एक महिनादेखि फोरलेन सडक निर्माण सुरु भएको हो। वीउमनपाले इनर बाइपास अन्तर्गत कुम्हालटोलदेखि छपकैया पोखरीसम्मको कालोपत्रे सडक निर्माण गर्नको लागि प्रकाश, शिवाको काठमाडौं र मोना कन्ट्रक्सनलाई भुक्तान गर्नुपर्ने रकम हालसम्म भुक्तान गरि नसकेको कारण पनि फोरलेनको निर्माणमा ढिलाइ भएको हो। वीउमनपाले ढेड साता अघिमात्र इनरबाइपास सडक निर्माणको भुक्तानीमध्ये ४० लाख मात्र भुक्तान गरेको छ।     वीरगंजस्थित भारतीय महा

माओवादी मजदुर सङगठनमा तीव्र फुट

Image
प्रस, पर्सा, ९ फागुन/     ए. नेकपा माओवादीको भ्रातृ सङगठन अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीयस्तरमा विभाजित भएपछि त्यसको असर क्षेत्रगतरूपमा पनि देखिन थालेको छ।     सभासद्समेत रहेका सालिकराम जम्मरकटेल अध्यक्ष रहेको अखिल नेपाल ट्रेड युनियन महासङ्घका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद बजगाईंको संयोजकत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गठन भएको तेस्रो साता आज महासङ्घको भोजपुरा राज्य कमिटि गठन भएको छ।     होटल सम्झनामा पत्रकार सम्मेलन आयोजना गरी भोजपुरा महासङ्घ राज्य कमिटिका संयोजक गङगा बस्नेतसमेत ८६ पदाधिकारी, सदस्यहरूको घोषणा गरिएको थियो। भोजपुरा महासङ्घ राज्य कमिटिका संयोजक गङगा बस्नेतले अध्यक्ष प्रचण्डको पक्षमा रहेको सालिकराम जम्मरकटेलले मजदुर सङगठनलाई अर्थवादी र ट्रेड युनियनवादी दिशामा डोर्‍याउनु, मजदुर आन्दोलनको नेतृत्व अभिजात वर्गको कित्तामा रूपान्तरित गर्नु, दलाल पूँजीपतिहरूको पक्षपोषण गर्दै सङगठनको स्रोत साधनमाथि एकलौटी पकड बनाउन क्रान्तिकारी पक्षधरलाई निषेध गरेकोले सङगठन फुटको शिकार भएको दाबी गरेका थिए।     उनले विगत डेढ वर्षदेखि अनधिकृत कार्यवाहीको प्रचार, आर्थ

फूलकुमारी महतो मेमोरियलको आयोजनामा वीरगंज र कलैयामा एम.जी. ट्रफी हुने

Image
प्रस, पर्सा, ९ फागुन/     फूलकुमारी महतो मेमोरियल ट्रस्टले दोस्रो एमजी ट्रफी क्रिकेट प्रतियोगिता वीरगंजमा गराउने घोषणा गरेको छ।     सिन्टेज एम.एम. ट्रफीको नामबाट गत वर्ष वीरगंजमैं सञ्चालित क्रिकेट प्रतियोगिता यस वर्षदेखि एम.जी.ट्रफीको नामबाट सञ्चालन हुन गइरहेको आयोजक कमिटिका अध्यक्ष डा.वीरेन्द्र महतोले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका हुन्।     अध्यक्ष डा. महतोले एम.जी ट्रफी नारायणी रङगशाला र कलैया क्रिकेट ग्राउन्डमा गरी दुई स्थानमा आयोजना गरिने बताए। फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा वीरगंज, पोखरा, नेपालगंज, भैरहवा, काठमाडौं, जनकपुर, बैतडी र विराटनगर सहभागी हुनेछन्। फागुन २१ गतेसम्म सञ्चालित प्रतियोगितामा यस वर्ष प्रथम हुनेलाई एक लाख र द्वितीय हुनेलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ। गत वर्ष प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजार पुरस्कार राशि रहेकोमा यस वर्ष दोब्बरी गरेको अध्यक्ष महतोले जानकारी दिंदै बर्सेनि पुरस्कार राशि वृद्धि गरिने बताएका थिए। उनले गत वर्ष प्रतियोगितामा २१ लाख खर्च भएको जानकारी गराएका थिए।     अध्यक्ष डा. महतोले स्वास्थ्य, शिक्षा, सञ्चारमा ल

सत्तागठबन्धनको आलोचनाको औचित्य

अधिवक्ता वीरेन्द्र यादव     सात महिनाअघि माधवकुमार नेपालको सरकारले राजीनामा दिएपनि शीर्ष नेताहरूको सत्तामोहको कारण समयमा सरकार बन्न ढिलाइ मात्र भएन, सत्रपटक निर्णयविहीन प्रम निर्वाचन भएर विश्वमैं जगहँसाइ भयो। शान्ति प्रक्रिया र संविधान निर्माणको महत्त्वपूर्ण सात महिना पाँच दिनको समय व्यर्थ त बित्यो नै, दलहरूबीच अनावश्यक मतभेद भयो। कतिपय दल विभाजित भए। यति मात्र होइन, पाएको उपलब्धि गुम्न थाल्नुका साथै चौतर्फी समस्याको दलदलमा मुलुक भासिंदै गएको सबैको बुझाइ थियो। वैधानिक सरकारको अभावमा राज्यविहीनता, अराजकता, दण्डहीनता, आपराधिक क्रियाकलापमा बढोत्तरी तथा नागरिक असुरक्षा अचाक्ली बढयो। प्रतिगामीहरू उत्साहित हुँदै गएका थिए भने दल र नेताहरूप्रति जनाक्रोश र वितृष्णा पनि ह्वातै बढयो। नेताहरूविरुद्ध जनावाज चर्किएन मात्रै, कतिले जनताको थप्पड पनि खाए।  जिल्लामा प्रवेश निषेधको तयारी जनस्तरबाट गएको कसैबाट छिपेको छैन। अस्थिर र कमजोर सरकारका कारण शोषण उत्पीडन, भ्रष्टाचार, तस्करी, कालाबजारी, जालझेल, लैङिगक तथा जातीय विभेद, रुढिवादी अन्धविश्वासमा आधारित विभिन्न कुप्रथा तथा अमानवीय अपराधी क्रियाकलापको बिग

एउटा हावा चल्नुपर्छ

    लामो काल शासन गरेका र आफूलाई सर्वथा योग्य ठान्ने राजनेताहरूको मानमर्दन हुने क्रम चलेको छ। मिश्रका राष्ट्रपति होस्नी मुबारकबाट सुरु भएको यो हावाले लिबिया, यमन, बहराइन, मोरक्को आदि मुलुकहरूलाई छोइसकेको छ। प्रजातन्त्रमा कुनै एक व्यक्ति सदैव सही हुन सक्दैन। प्रजातन्त्रमा लामो समयसम्म शासन चलाउने व्यक्तिमा अधिनायकवाद विकसित भएर यस्तो हुन जान्छ। त्यसैले सर्वथा सजग देशका जनता वा राजनेता न कसैलाई अधिनायक बन्न दिने अवसर जुराउँछन् न कोही बन्न नै चाहन्छ। अमेरिकाजस्तो अति शक्तिशाली राष्ट्रमा दुईपटकभन्दा बढी कोही पनि, ऊ जतिसुकै शक्तिशाली र लोकप्रिय किन नहोस् चुनाव लड्नै चाहन्न। शायद राजनेताहरूलाई यो डर रहन्छ कि त्यसको अर्थ जनताले शासनको भोको ठान्ला र पराजयपछि सम्पूर्ण जीवन नै अभिशापग्रस्त होला। त्यसैले राष्ट्रपति पदमा पुगेर सामान्य जीवनमा फर्केको राजनेतालाई त्यस मुलुकमा औधी सम्मान गर्ने र उसको कुरालाई गम्भीरतापूर्वक सुन्ने चलन छ।     नेपालले घरीघरी यस्तो कुरा बेहोरिसकेको छ। प्रजातान्त्रिक अभ्यासमा लागेको नेपालले विगत दुई दशकदेखि विभिन्न नेताहरूलाई बेहोरेको छ, जसले आफूलाई स्वनामधन्य ठानेका थिए।

विद्युत् कर्मचारीको लापरवाहीका कारण पिडारीमा लाखौंको क्षति, ५ जना घाइते

आरके पटेल, लङगडी, ८ फागुन/     गाविस पिडारीगुठी वडा ७, ८ र ९ मा आज बिहान विद्युत् सर्टसर्कीट हुँदा ५ जना घाइते हुनुका साथै लाखौं बराबरको विद्युतीय सामान जलेर नष्ट भएको छ। घाइते हुनेमा ८ वर्षीय धामु साह तेली, रामुकुमार तथा बिकीकुमार छन्। छोटेलाल तेलीकी ५० वर्षीय पत्नी सख्त घाइते भएको कारण उपचारका लागि वीरगंज लगिएको छ। ११ हजार भोल्टको विद्युतीय तार चुँडिएर खस्दा सो दुर्घटना हुन गएको स्थानीय जोखन महाराले बताए।     ट्रान्सफरमरमा एक्कासि आगो लाग्दा विद्युत् तार चुँडिएर भुइँमा खसेको थियो। गाउँलेहरूको २० वटा टिभी, २८ वटा पानी तान्ने मोटर, २० वटा मोबाइल सेट, ५ थान इन्भर्टर, ८० वटा विद्युत् मिटरलगायत अन्य सामान जलेर नष्ट भएको छ। तार भुइँमा खसेपछि ट्रान्सर्फमरमा आगो लागेको थियो। लगत्तै घर–घरमा जडान मिटरहरू पड्कन थालेको कारण गाउँलेहरू घर छोडी भागेका थिए। पोखरिया फ्युज शाखालाई पटक–पटक फोन गर्दा कसैले फोन नउठाउँदा क्षति बढी भएको गाउँलेहरूले बताएका छन्।  सो विद्युत् शाखामा २४ घण्टा नै सेवा दिने कर्मचारीहरू कार्यरत रहेको कुरा विद्युत् प्राधिकरण शाखा कार्यालय वीरगंजले जनाएको छ। फोन गरेपछि विद्युत् स

जिल्ला विकास समिति रौतहटका कर्मचारी आन्दोलनमा

प्रस, रौतहट, ८ फागुन/     जिल्ला विकास समिति, रौतहट कर्मचारी युनियनले चार बुँदे माग राखी आज पहिलो दिन दुई घण्टा पेन डाउन गरेको छ। दुई घण्टाको पेन डाउनबाट सर्वसाधारण सेवाग्राही मारमा परेका छन्।  आन्दोलनले गर्दा विवाह दर्ता प्रमाणित, मालपोत रसिद, योजनाका काम, लेखा सम्बन्धी कामहरू आज ठप्प भए।     विगतदेखि दिदै आएको फिल्ड तथा प्रोत्साहन भत्ता जिविस र जिल्ला प्राविधिक कार्यालयका स्थायी कर्मचारीलाई मात्र दिने , स्थानीय विकास कोषका कर्मचारीलाई जिविस रौतहटबाट स्थानीय विकास कोष समिति सचिवालयमा फिर्ता पठाई शाखा प्रशाखाको जिम्मेवारी स्थायी कर्मचारीको जिम्मा दिने, स्थानीय विकास कोषका कर्मचारीहरूलाई टीओआर अनुसार काममा  लगाउने, जिविस जिप्राकाका कर्मचारीहरूलाई कार्य जिम्मेवारी अनुसार इन्धन निर्धारण गर्न माग राखेका छन्।     माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक भएको छ। जसअनुसार फागुन ९ गते पेन डाउन गर्ने, त्यसबाट माग पूरा भएन भने जिविस रौतहटमा अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय भएको छ। रु. ५० लाख कर्मचारी भत्तामा जाने भएकोले भत्ता कटौती गरेको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी विष्णु