मुकुन्द आचार्य
मान्छे जतिखेर वस्तु बन्छ अनि उसको पनि बजारभाउ बढ्छ–घट्छ। चुनाउको मौसम आएपछि मतदाता (भोटर) र ती मतदातालाई खरीद–बिक्री गर्ने चतुर नेता (जसलाई सोटर भनी बोलचालको भाषामा सम्बोधन गरिन्छ) को पनि ह्वात्तै भाउ बढ्छ। कोरोनाभन्दा पनि छिटो र प्रभावशाली ढङ्गले बढ्छ।
व्यापारमा आजको विश्वमा यी शब्दहरू निकै प्रचलित भएका छन्– मार्केट, सप्लाई, सर्टेज, एक्सपोर्ट, इम्पोर्ट, बिजनेस, टे«ड, बैंकिङ, दलाली, नाफा, नोक्सान, कर (टैक्स) छली, परसेन्ट, एभरेज इत्यादि।
हामी हिन्दूहरू वर्षमा एक दिन कुकुरको पनि पूजा गर्छौं। अनि भन्छौं एक वर्षमा भएपनि एक दिन सबैको पालो आउँछ। यो हाम्रो मुलुकमा श्रीमान् नेताजीहरूका केही नेत्रीहरूको बजार भाउ निकै चर्को भएको छ। जेहोस्, खरीद–बिक्रीका लागि राजनीतिक बजारमा नेता र नेत्री भनाउँदाहरू बेच्न राखिएका शोकेशका जिनिस भएका छन्। विकास युग हैन, दासयुग आए जस्तो छ।
जता बढी मोल पाइन्छ, उतैतिर टाँसिने (बिक्री हुने) सुनौलो अवसर अहिले प्राप्त भएको छ। अर्थात् बजारमा राम्रो मोलमा खरीद–बिक्री भइरहेको छ, नेता भनाउँदो जिनिसको। दशैंमा भेंडा, खसी, बाख्रा, बोका बिकेझैं।
यस्ता जिनिस किन्ने पनि के कम। नाउँ चलेका पार्टीले खरीद–बिक्री गर्न थालेपछि बजारमा गर्मी त आइहाल्छ नि। पाँचोटा सांसद ल्यायो भने दुई मन्त्रालय पक्कापक्की पाइने। यो फिक्स प्राइस होइन। मोलतोल, बोलकबोल सबै गर्न मिल्छ। यो दाम र नाम कमाउने सुनौलो अवसर घरीघरी पटक–पटक पाइन्न भन्ने ज्ञान सबै दलका दलालहरूलाई दिलैदेखि थॉछ। यस्ता दलभङ्गक नेताहरूलाई सधैं दशैं सधैं फागु १
अब हेर्दै जानुस्, कसले कतिलाई कतिमा किन्छ, कतिले आफ्नो कति भाउ लाउँछ– कति रमाइलो छ, गरीब देशको महँगो बजार। बजारमा हजार यै हो।
पैसा कमाउन विदेश जाने लाटाहरूले अब खुरुक्क राजनीतिमा छिरेर, भ्रष्टाचार र अत्याचारको हतियार भिरेर, आफ्नो पुख्र्यौली गरीबीलाई चिरेर, बडे नेताजीलाई अलिकति रकम तिरेर आफ्नै देशमा बसी आफ्नै देशलाई मुसाले झैं अरूले चाल नपाउने गरी कुटकुट खाए त भइहाल्यो नि। खाडी मुलुकको गर्मी खानुभन्दा त आफ्नै देश खाएर बसे हुन्न र ? थोडा खाना बनारस रहना सुन्या छैन ?
यो राजनीतिको बजार कहिल्यै मत्थर हुँदैन। सबैलाई फोहरी खेल खेल्न रमाइलो लाग्छ। यो फोहरी खेलमा कमाएको कालो धनमा कुनै टेक्स लाग्दैन। टैक्स फ्री बिजनेस १
पहिले जस्तो बलियो देशले कमजोर निर्धो देशलाई आफ्नो उपनिवेश बनाउने चलन अब हराउन थाल्यो। अब त आर्थिक उपनिवेश बनाउने नीति धनी र बलिया देशहरूले अपनाएका छन्। नेपालकै बजारमा हेरौं भारतीय र चिनियाँ सामानले एकछत्र राज गरेको देखिन्छ। आर्थिकरूपले हाम्रो नेपाल चैं यी दुवै बाहुबली देशको उपनिवेश भएन त ?
प्रधानमन्त्रीको कुर्सी खोस्न खोज्ने एकथरी, हैन म त बहुमतको नेता–कुर्सी ता छाड्दैन है १ भन्ने अर्काथरी। यी दुई साँढेको जुधाइमा बिचरो नेपाली जनता बाछो मिचिएझैं मिचिने, चेपिने, मर्ने अवस्था आइसक्यो। अनि यो तानातान र हानाहानमा माननीय र माननीयहरूको मोल त आकाशिने नै भयो।
तर दुःखद कुरो त के चै छ भने नेपाली जनतालाई सधैं भेंडा बनाएर राख्ने प्रवृत्ति हाम्रै नेताज्यूहरूमा टन्न भरिएको छ। जनतालाई पनि उनीहरू किनबेच गरेर, आफ्नो दुनो सोझ्याउन सिपालु छन्।
विरोध जुलुसमा सहभागी गराएर विशाल जनसमुदाय देखाउन सोझासाझा, निमुखा, निरक्षरहरूलाई किनेर ल्याएको तथ्य यौटा टिभी च्यानलले हालसालै देखाएको थियो। यस्तै रहेछ, यहाँको चलन...१ भन्दै गीत गाए हुन्छ। रोइरहनुभन्दा गाइरहनु–राम्रो हैन र ? कसको समर्थन र कसको विरोध गर्न जुलुसमा सामेल भएको हो, त्योसमेत थाहा छैन भन्ने जुलुसे त पक्कै किनबेचमा परेकै हो।