प्रस, वीरगंज, १४ पुस/
नेकपा (प्रचण्ड–नेपाल) समूहले संसद् विघटनको विरोधमा मङ्गलवार ७७ जिल्लामा प्रदर्शन घोषणा गरेअनुरूप वीरगंजको घण्टाघरमा सो समूहले प्रदर्शन तथा कोणसभा गरेको छ।
पार्टी कार्यालय मनमोहननगरबाट निस्किएको विरोध –याली नगरपरिक्रमापछि घण्टाघरमा कोणसभा गरेको थियो। कोणसभामा नेकपाका केन्द्रीय सदस्य नेत्री उर्मिला अर्यालले संसद् विघटन गरेर प्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक चरित्रलाई उदाङ्गो पारेको बताइन्। उनले आफ्नै पार्टीका अध्यक्ष्F रहेका प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना गर्नुपर्ने अवस्था सृजना भएको बताउँदै लोकतन्त्र रक्षाको लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताइन्।
अर्का केन्द्रीय सदस्य नागेन्द्र चौधरीले संसद् विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको अपहेलना गरेको आरोप लगाए। देशको कानूनले बलात्कारी र हत्यारालाई जुन प्रकारको सजाय दिन्छ, त्यो सजायको भागीदार प्रधानमन्त्री र राष्ट्रपति हुनुपर्ने उनले माग गरे। नेता चौधरीले संविधान पुनस्र्थापना नहुन्जेल नेकपाका कार्यकर्ताहरूलाई टोल, वडाबाट समेत विरोध गर्न आग्रह गरे।
यसैगरी, केन्द्रीय सदस्य रामचन्द्र साहले पुस २५ गतेसम्म नेकपाको आन्दोलनलाई जारी राख्दै संसद् पुनस्र्थापनाको पक्षमा प्रदर्शन गर्न कार्यकर्ताहरूलाई आग्रह गरे। संसद् पुनस्र्थापना नहुन्जेल आन्दोलन जारी रहने उनले बताए।
विरोधसभाअघि निकालिएको जुलुसमा ओलीको पाराले दुःख पायो साराले, विद्याको पाराले दुःख पायो साराले, प्रधानमन्त्री–राष्ट्रपति मुर्दाबाद, नेकपा जिन्दाबाद जस्ता नाराहरू लगाइएको थियो।
संसद् स्थापित नभएसम्म आन्दोलन
प्रस, रौतहट/
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपीशर्मा ओलीले असंवैधानिकरूपमा गरेको संसद् विघटनलाई सडकबाट स्थापित नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रौतहटद्वारा आयोजित विरोध जुलुस प्रदर्शनपश्चात् विपी चोकमा कोणसभामा नेता यादवले काङ्ग्रेस र नेकपाका केही नेताको बलमा प्रम ओलीले प्रतिगामी कदम चालेको जिकिर गरे। नेता यादवले प्रतिगामी कदम चाल्ने प्रम ओली र सहयोग गर्ने नेतालाई जनताले मूल्याङ्कन गर्ने बताए। कुनै हालतमा पनि प्रतिगामी तत्वलाई विजय हासिल गर्न नदिने नेता यादवले प्रतिबद्धता व्यक्त गरे।
नेकपाका जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा कोणसभा भएको थियो। सदरमुकाम गौरको राइस मिलको प्राङ्गणमा विभिन्न क्षेत्रबाट आएका विरोध जुलुस एकत्रित भई गौर नगरपरिक्रमा गर्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नारा लगाइएको थियो।
दुर्गाभगवती गाउँपालिकाका विभिन्न वडाबाट शम्भु सिंहको नेतृत्वमा, चन्द्रपुरबाट सांसद रामकुमार भट्टराई र ओहिद अन्सारीको नेतृत्वमा, मौलापुरबाट भोला पाण्डेको नेतृत्वमा, यमुनामाईबाट नगरप्रमुख चन्द्रिकाप्रसाद मुखियाको नेतृत्वमा, राजदेवी नगरपालिकाबाट भिखारी यादवको नेतृत्वमा विरोध जुलुस निस्केर गौरस्थित राइस मिलको प्राङ्गणमा जम्मा भएको थियो।