प्रस, पर्सागढी, १४ मङ्सिर/
पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिरमा कात्तिक पूर्णिमाको मेला धूमधाम र भीडभाडका साथ लागेको छ।
मङ्सिर १५ गते कात्तिक पूर्णिमा परेकोले यसअघि नै वडा कार्यालयले कोरोना भाइरसको कारण सो दिन यसपटकको कात्तिक पूर्णिमामा लाग्ने मेला आमादेवी मन्दिरमा नगर्न आग्रह गरेको थियो। वडाध्यक्ष उद्धवबहादुर उप्रेतीले पूजा भीडभाड नगरी गर्न र मेला नलगाउन सबैलाई आग्रह गरेका थिए तर सोको बावजूद सोमवार हुने कात्तिक पूर्णिमाको लागि आइतवार मेला शुरू भएको छ।
पर्सागढी नगरपालिकाको आमोदेवी र कोइलाभार मन्दिरमा कात्तिक पूर्णिमाको दिन ठूलो मेला लाग्छ। पर्सा, बारा र भारतबाट समेत मेला भर्न श्रद्धालुहरू आउने गर्छन्। यसपटक सीमा सिल भएको कारण भारतबाट आउने श्रद्धालुहरूको सङ्ख्या पातलिएको छ। तर पर्सा र बाराबाट श्रद्धालुहरू आएकाले ठूलो मेला लागेको छ।
प्रस, सेढवा/
कोरोना भाइरसको कारण यसपटक पर्साको ग्रामीण क्ष्Fेत्रमा लाग्ने कात्तिक शुक्ल चतुदर्शीको मेला प्रभावित भएको छ। खासगरी वनसँग जोडिएका शक्तिपीठहरूमध्ये पाँचवटा शक्तिपीठमा यो मेला लाग्ने गरेको छ।
जीराभवानी गापा–५ सुगीभारमाई, पटेर्वासुगौली गापा–१ गादीमाई, पर्सागढी नपा–१ कोइलाभारमाई र वडा नं ३ आमोदेवी तथा ठोरी गापा–५ बाघमोर्चामाईमा कात्तिक पूर्णिमाको मेला लाग्दै आएको थियो। जीराभवानी गापा–५ सुगीभारमाई, पटेर्वासुगौली गापा–१ गादीमाई, ठोरी गापा–५ बाघमोर्चामाईमा मेला लाग्ने सम्भावना न्यून छ। ठोरी गापा–५ बाघमोर्चाका अष्टबहादुर लोप्चनले प्रशासनले मेला लगाउन अनुमति नदिएको हुँदा यस वर्ष मेला नलाग्ने बताए। उनले संस्कृति जोगाउन परम्परागतरूपमा गरिने जल चढाइ, पूजा अर्चना र सोमवार पूर्णिमाको दिन बलि दिने कार्य सीमित व्यक्तिहरूबीच गरिने बताए। आइतवार राति पूजा गर्ने प्रचलन छ र सोमवार बिहान बलि दिइन्छ।
यसपटक परम्परा निर्वाह गर्नेबाहेक धूमधामका साथ मेला नलाग्ने उनले बताए। बाघमोर्चामा कात्तिक पूर्णिमाको मेला एक सातासम्म लाग्ने गरेको लोप्चनले बताए। इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्ष्Fक रामकाजी थापाले जिल्ला प्रशासन कार्यालयबाट मेला नलगाउन निर्देशन भएकोले मेला लाग्न नदिने बताए।
उनले आफ्नो क्षेत्रमा लाग्ने मेलालाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएका छन्।