राधेश्याम पटेल, वीरगंज, ३१ भदौ/
दशैंको सिजन शुरू हुन लाग्दा पनि वीरगंज नाकाबाट पहिलेजस्तो गाडी आयात भएको छैन। दशैं–तिहारमा विशेष गरी मोटरसाइकलदेखि विलासी कार र हेभी सवारीसाधन विगतमा खूबै आयात हुन्थ्यो। तर विगत ६ महीनादेखि जारी कोभिडको असरले देशकै अर्थव्यवस्थामा नकारात्मक असर पारिरहेको छ।
चैत १० गतेदेखि नेपालमा शुरू भएको लकडाउन र निषेधाज्ञाको कारण बजार बन्द छ। सडकमा गाडी गुडेको छैन, बिक्री नभएर गाडीहरू शोरूममा थन्केका छन्। त्यसमाथि पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको गाडी आयातमा परिवर्तित भन्सार नीतिले गाडी आयातकर्ताहरू निराश बन्नुका साथै खर्बाैंको लगानी रहेको यो व्यवसाय पनि घाटाको व्यापार बन्न थालेको बताइएको छ।
गाडी आयात रोक्दा व्यापार घाटा कम हुने भएकोले सरकारले त्यस्तो नीति ल्याएको अर्थमन्त्रीको दाबी थियो। तर गत जेठ १५ गतेको बजेट भाषणमा विद्युतीय गाडीको आयातमा कडाइ गर्दै राजस्वको दर बढाउँदा अहिले विद्युतीय गाडीहरू पनि भन्सार नाकामैं होल्ड भएर खिया लाग्न शुरू भएको छ।
वीरगंजमा अहिले तीनवटा भन्सार नाकामा १५०० वटा सवारीसाधन होल्ड भएर बसेको भन्सार अधिकारीहरूले बताएका छन्। वीरगंज भन्सारको पुरानो भन्सार नाकामा ३०० कार र आइसिपी नाकामा १४०० वटा सवारीसाधन (ट्रक, ट्रिपर, कार, जीप, भ्यान, ट्याक्टर, लरी) अड्केको छ। श्रीसिया सुक्खा बन्दरगाह भन्सारको यार्डमा करीब २०० विभिन्न ब्रान्डका गाडी थन्केका छन्। कुल गाडीमध्ये ८० प्रतिशत विलासी कार रहेका छन्। कारहरूमा मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, किया, इसुजु, फोर्ड, टोयोटा, निसान, प्राडोलगायत रहेको आइसिपी भन्सार सञ्चालन हेर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति, आइसिपी वीरगंजका वरिष्ठ सहायक प्रकाशकुमार झाले बताए। उनले दुई दिनदेखि ५३२ दिनसम्म होल्ड भएका थुप्रै कार रहेको बताए। यसरी गाडी होल्ड हुँदा २ दिनदेखि ८ दिनसम्म पार्किङबापत २७३ रुपैयाँ प्रतिदिन तिर्नुपर्छ भने त्यसपछि हरेक दिनको ५३२ रुपैयाँ जोडिंदै जाने नियम छ।
आइसिपीमा रोकिएका करीब १४०० वटा गाडीको पार्किङ शुल्कबापत रु ३ करोड ८ लाख असुल हुन्छ। होल्ड भएका गाडीको पार्किङ शुल्क बढ्दै जाँदा पछि आयातकर्तालाई थप भार पर्छ। उनले हुन्डाई कार आयात गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टल लिमिटेडले जेठ पहिले नै मगाएको २७ वटा विद्युतीय कार पनि जाँचपास हुन नसकेर थन्केर बसेको बताए। त्यसैगरी, कन्टिनेन्टल ट्रेडिङले आयात गरेको किया, जिओ
अटो मोबाइल्सले आयात गरेको फोर्ड ब्रान्डको कार, अग्निले आयात गरेको महिन्द्राका गाडीहरू, सिप्रदीले आयात गरेको टाटाका गाडीहरू, चौधरी समूहले मगाएको मारुती सुजुकी कार, जापानी ब्रान्डको टोयोटा र निसानका गाडीहरू पनि होल्ड भएका छन्। त्यसैगरी, १० वटा प्राडो कार पनि होल्ड भएको छ।
बजार बन्द र माग कम भएपछि गाडी आयातकर्ताहरूले गाडी भन्सार बिन्दुबाट नछुटाएको भन्सार अधिकारीहरूले बताएका छन्। वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार डिजेल र पेट्रोलबाट चल्ने विलासी गाडीको आयातमा ६० देखि ८० प्रतिशत भन्सार महसूल, शतप्रतिशत अन्तःशुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र ८ प्रतिशत सडक निर्माण दस्तुर जोड्दा करीब २ सय प्रतिशत राजस्व तिर्नुपर्छ। त्यसैले आयातकर्ताहरू गाडी किन्ने ग्राहक पक्का भएपछि मात्र भन्सार नाकाबाट गाडी छुटाउँछन्। विद्युतीय गाडीमा पनि राजस्व बढाउँदा विद्युतीय गाडीको आयात ठप्प भएको छ भने भन्सार नाका आइपुगेका गाडी जाँचपास गराउन पनि व्यवसायी उदासीन बनेका छन्।