प्रस, सेढवा १६ साउन/
किसानहरू वर्षेबाली धानखेतीबाट बढीभन्दा बढी उत्पादनका लागि जे गर्न पनि पछि पर्दैनन्।
उत्पादन बढाउन उन्नत जातको बीउ, मल तथा विभिन्न किसिमका कीटनाशक औषधि प्रयोगमा ल्याउँछन्। यसका लागि तीनै तहका सरकारले समेत किसानहरूलाई बीउ तथा कीटनाशक औषधि सहुलियत दरमा वा निश्शुल्क वितरण गर्ने गरेका छन्।
सरकारी सेवाबाट वञ्चित किसानहरूले भने यी कृषिजन्य सामग्री खरीद गर्न हजारौं रुपैयाँ खर्च पनि गर्छन्। यसरी किसानहरूले विषादीयुक्त खाद्यान्न उत्पादन गरी उपभोग गर्ने र अरू उपभोक्तालाई पनि खाद्य पदार्थ सेवन गर्न विवश पारिरहेका छन्।
तर पर्सामैं एउटा यस्तो स्थान छ, जहाँका किसानहरूले धानबालीमा कुनै प्रकारका विषादी र अन्य कुनै कृषिजन्य औषधि प्रयोग गर्दैनन्। त्यो हो, ठोरी गाउँँपालिका–५ सुवर्णपुर।
यहाँका किसानले कुनै किसिमको कीटनाशक औषधि तथा बाली सपार्न कुनै किसिमको एन्जाइम, केमिकल प्रयोग नगर्ने गरेको स्थानीय किसान बलिराम कर्माेचाले बताएका छन्। कर्माेचाका अनुसार सो क्षेत्रको करीब चार सय बिघा धानखेती गर्ने किसानले विषादीरहित बाली उत्पादन गर्छन्। सुवर्णपुरका किसानले उत्पादन गरेको धान बिक्री नगरी आफ्नै परिवारमा उपभोग गर्ने भएकाले पनि विषादीरहित बाली उत्पादन गर्ने गरेको उनीहरू बताउँछन्। यस क्षेत्रका किसानहरू विशेषगरी हर्दिनाथ
(चौध–बयालीस) र भदई मन्सुली जातका धान लगाउने गर्छन्। खेतमा गोबर मलको रूपमा प्रयोगपछि रोपाइँको समयमा डिएपी, तोरीको पिना र युरिया मल प्रयोग गर्ने र बाला निस्किनुअगाडि हल्का युरिया मात्र छर्ने गरेको नन्दमाया पौडेल बताउँछिन्।
पौडेलका अनुसार यहाँ धानको उत्पादन तीन मुरी अर्थात् एक सय पचास किलो प्रतिकट्ठाको दरले हुने गरेको छ। सुवर्णपुरका शिव चोक, क्षत्री लाइन, गढुवा लाइन, बथेटोल, प्रधानटोल, बाघमोर्चालगायतका किसान तरकारीबालीमा समेत कीटनाशक औषधि प्रयोग गर्दैनन्। जङ्गली जनावरबाट बालीनाली क्षति हुने अवस्थामा किसानहरूले गाईभैंसीको मलमूत्र घोलेर छर्कने गरेको गडुवालाइन निवासी मुन्नी मगर बताउँछिन्।
सुवर्णपुरका किसानले वर्षमा दुर्ई बाली सुर्तीखेती गर्छन्, हिउँदे र वर्षे। सुर्तीबालीमा भने कीटनाशक औषधि प्रयोग गर्ने गरेको स्थानीयले बताए।