राजनीतिकरूपले देश पहिले नै भताभुङ्ग थियो। न सत्ताधारीलाई देशको चिन्ता न प्रतिपक्षीलाई। सबैको अभीष्ट सत्ता। त्यसैले नेताहरूको सम्पूर्ण ध्यान सत्ता पाउन, त्यसलाई जोगाउनमैं सीमित रह्यो। आज कोरोना महामारीको त्रासले विश्व त्रस्त छ, नेपालसमेत अछूतो छैन। नेपालमा अहिले चारैतिर कोभिड सङ्क्रमितहरूको सङ्ख्या ज्यामितीय गतिमा बढिरहेको छ, तर के केन्द्रीय सरकार, के प्रदेश सरकारहरू र के स्थानीय प्रशासन र सरकारहरू सबैको ध्यान महामारीको व्यवस्थापनमा होइन, कुत्सित स्वार्थ पूरा गर्न केन्द्रित छ। केन्द्र सरकार कुर्सीको लडाइँमा रणकौशल देखाउँदै छ, प्रदेश सरकारहरू आफ्नै मपाइँमा मग्न छन्। स्थानीयस्तरमा प्रशासन र स्थानीय सरकारहरू को ठूलो, को सक्ष्Fम भन्ने अहम् पुष्टिमा लागेका छन्। कोरोनासँग एक्लै कोही लड्न सक्दैन भन्ने सबैलाई थाहा छ, तर अहम्ले सबैलाई एकजुट हुन दिइरहेको छैन। नागरिक महामारीले पीडित त थियो नै, निषेधाज्ञाले झन् प्रताडित बनेको छ। मानिस धमाधम मरिरहेका छन्। सद्दे मानिसमा सङ्क्रमणको वृद्धि पानीमा तेलझैं विस्तार भइरहेको छ।
न स्थानीय तह, न प्रशासन नै बिरामीको गति बढेसँगै उपचारको मात्रा वृद्धि गर्न सक्ष्Fम भइरहेका छन्। अहिले थप कोभिड अस्पताल चाहिएको छ, अहिले थप चिकित्सक चाहिएको छ, अहिले रोग परीक्ष्Fणको दायरा फराकिलो बनाएर सङ्क्रमण देखा परेका व्यक्तिलाई आइसोलेशनमा राख्ने ठाउँ चाहिएको छ। तर विडम्बना के छ भने जिउँदोका लागि स्थानाभाव भएको अस्पतालमा शवलाई आकस्मिक कक्षमा राख्नुपर्ने बाध्यता छ। आफ्नो कर्तव्यमा जुटेका चिकित्सकहरू यी परिस्थितिबाट आजित भएर राजीनामा दिने धम्की दिन थालेका छन्। सत्ताविहीन राजनीतिक दलहरू यी सबै अव्यवस्थाको मजा लिइरहेका छन्। हुनुपर्ने काममा छेकबार लगाइरहेका छन्, आपसी सहयोग र तालमेलबाट पन्छिइरहेका छन्। अब कोरोना सङ्क्रमण समुदायमा छिरिसकेको छ। त्यसबाट न राजनीतिक दल, न प्रशासक वा नागरिक कोही अछूतो रहन सक्दैन भन्ने तथ्य पनि सबैले बिर्संदै गएका छन्। एकताका एकथरी धार्मिक सम्प्रदायका मानिस उनीहरूलाई ईश्वरले नमारे कोरोनाले मार्न सक्दैन भन्ने भ्रममा भएजस्तै राजनीतिक दलका व्यक्ति र प्रशासन, कोरोनाले छुन सक्दैन भन्ने भ्रम पालेर बसेका छन्।
देशमा अवाञ्छित परिस्थिति आइलागेको बेला यस्तो विडम्बना देखिनु पीडादायक हो। राजनीतिक दलहरू र प्रशासन तथा स्थानीय सरकारहरूको चरित्रले नागरिक समाजमा पनि नकारात्मक प्रवृत्तिको सन्देश प्रसारण गरेको छ। त्यसैले त कुनै अनजान व्यक्तिको शव देख्दा पनि उभिएर बिदाइ अभिवादन दिने हाम्रो संस्कारविपरीत अब शवको अन्तिम संस्कार गर्दा पनि मानिसहरू हुलका हुल आएर विरोध गर्न थालेका छन्। नागरिकमा यो विश्वासको –हास भएको छ कि आफूलाई सङ्क्रमण भएमा कसैले साथ दिंदैन, त्यसैले सङ्क्रमणको समस्त मार्ग बन्द गरौं। के थाहा गाडेको लाशबाट कोरोनाको भाइरस बाहिर निस्कने हो कि, के थाहा जलाएको लाशको धूवाँसँगै कोरोना उडेर सर्वव्याप्त हुने हो कि ? यस सङ्क्रमणमा न सरकार न राजनीतिक दल कसैले सहयोग गर्दैन भन्ने विश्वासले मानिसको मनमा डेरा जमाएको छ। यस्तो विश्वासको कमी र मानिसको जिउने इच्छाले उसको व्यवहार र सोचलाई असामाजिक बनाइदिएको छ।