अनन्तकुमार लाल दास |
के पनि देखिएको छ भने कक्षामा प्रथम र द्वितीय हुने केटा वा केटीले अन्य कसैलाई सिकाउनु नपरोस् सोचेर आफ्नो वरिपरि एउटा पर्खाल निर्माण गर्न थाल्छन्। आमाबुबा पनि यस्तै शिक्षा दिइरहेका हुन्छन्। अगाडि बढ्ने क्रममा अरूलाई सहयोग गर्नु आफ्नो वर्चस्वमाथि खतरा ठानिन्छ। यतिमात्र कहाँ हो र, धेरैपटक अति आत्मविश्वासले ग्रस्त भई आफ्नै नोक्सान पनि गर्छन्। बिस्तारै उनीहरूभित्र केही नयाँ सिक्ने प्रवृत्ति मत्थर हुँदै जान्छ र सिकाइबाट प्राप्त हुने आनन्दमा पनि –हास हुन थाल्छ। पुरस्कार र प्रतियोगिता प्रलोभनमा परिवर्तित हुँदै जान्छ र त्यो नपाउँदा शिथिल हुन थाल्छन्। अध्ययन उनीहरूको लागि प्रतियोगिता जित्न मात्र सीमित हुन पुग्छ। यसरी आत्मसन्तोष वा खुशीको लागि स्वाध्यायको बानी विकसित नै हुँदैन। शोधकर्ताहरूका अनुसार “अत्यधिक प्रतियोगिताले सन्तोषको लागि केही गर्नुबाहेक अर्कै लक्ष्यतिर प्रेरित गर्छ। विद्यार्थीहरूको आपसी सम्बन्ध यसबाट प्रभावित हुन्छ तथा सहयोग र अरूप्रति संवेदनशीलताजस्ता मूल्यहरू यसबाट नष्ट हुन्छ।”
यस प्रकारको प्रवृत्ति समूहकार्यको मूल्यविपरीत हो। यसमा ध्यान पु–याउनु आवश्यक छ। एउटा राम्रो समाज सहभागिता र परस्पर सहयोगले मात्र स्थापित हुन सक्छ। प्रतिस्पर्धाले त्यसलाई कमजोर तुल्याउँछ। मानिसको सबैभन्दा बलियो पक्ष समूहकार्य हो। मानव विकासको इतिहास विश्लेषण गर्दा हामी के पाउँछौं भने समूहको बलले नै मानिसहरू ठूल्ठूला कठिनाइको सामना गर्नमा सक्षम भएका छन्। सामूहिक शक्तिले नै आज हाम्रो विकास यहाँसम्म पुगेको हो। यो कुनै एक मानिसको देन होइन। जुन उपलब्धिका लागि हामी कुनै एक मानिसको नाउँ लिन्छौं, उसले कुनै समुदायमा बसेर नै त्यो उपलब्धि हासिल गरेको हुन्छ। समाजको आमूल परिवर्तन पनि सामूहिकताको बलबाट नै सम्भव हुन्छ। आज हामी जुन लोकतन्त्रमा बाँचिरहेका छौं त्यो पनि सामूहिक सङ्घर्षको नै परिणाम हो। वर्तमानको सबैभन्दा ठूलो सङ्कट सामूहिकतामा आएको –हास हो। व्यक्तिवाद बढिरहेको छ। आफ्नो सुख–सुविधाका लागि संसाधन माथि कब्जा गर्नु जीवनको सबैभन्दा ठूलो लक्ष्य बन्दै गएको छ। कसले कति संसाधनमा कब्जा गर्न सक्छ, यो नै व्यक्तिको प्रतिभाको प्रमाण बनेको छ। यस परिस्थिति र परिवेशमा सामूहिक भावनाको मूल्य बचाउनु आवश्यक छ।
विद्यालय यस्तो ठाउँ हुनुपर्छ, जहाँ सबैलाई समेटेर हिंड्न सकियोस्। हरेक विद्यार्थीभित्र एक्लै लक्ष्य हासिल गर्ने चाहना नभई सबैलाई लिएर लक्ष्यमा पुग्ने चाहना होस्। पछाडि पर्नेको हात समातेर अघि बढ्ने भाव सबैमा हुनुपर्छ। त्यहाँ कुनै पनि केटा वा केटी पछि परेमा उसको मजाक उडाउने भय नहोस्। हरेक केटाकेटीमा उनीहरू एक्लै छैनन् भन्ने विश्वास होस्। यदि कोही कमजोर छ भने पनि उसको साथी उसलाई बलियो बनाउन उभियोस्। उसले जे ज्ञान हासिल गरेको छ, त्यो उसका लागि मात्र नभई सबैको लागि हो भन्ने धारणा विकसित होस्।
समूहमा सिक्न सजिलो हुन्छ किनभने न उसमाथि कुनै दबाब हुन्छ, न जाँच गरिने भय। हरेक विद्यार्थीसँग स्वयम्लाई सच्याउने र आफ्नो अनुभव बाँड्ने अवसर हुन्छ। ऊ अरूको अनुभवबाट समृद्ध हुँदै आफ्नो गतिले सिक्दै जान्छ। समूहले केटाकेटीभित्र नयाँ केही खोज्न ज्ञानको गहिरो सागरमा डुबुल्की लगाउने प्रेरणा प्रदान गर्दछ। यसमा एकअर्काभन्दा अघि बढ्ने प्रतिस्पर्धा नभई मिलेर कुनै समस्याको समाधान गर्ने बल हुन्छ। उनीहरूको खुशी र निराशा दुवै सामूहिक हुन्छ। असफल भएपछि सबै एकापसमा त्यसको कारणमाथि विचारविमर्श गर्छन्। असफलताको सामूहिक जिम्मेवारी वहन गर्छन्। सिकाइको केन्द्रबिन्दु व्यक्तिगत उपलब्धि हासिल गर्नु नभई समस्याको समाधान गर्नु हो। सबै मिलेर अघि बढ्ने कुरामा विश्वास गर्छन्। यस प्रकार समूहले उनीहरूमा सुरक्षाको भाव पनि प्रदान गर्छ।
केटाकेटीदेखि हालसम्मका सूक्ष्म अवलोकन गर्दा के पाउँछौं भने हामीले आफ्नो जीवनमा जे कुरा सिकेका छौं– कुनै जानकारी, व्यवहार वा संस्कार वा बानी, त्यो अनौपचारिकरूपले घरपरिवार, छिमेक, मित्र वा समुदायमा बस्दा सिकेका हौं। यो सिक्नको लागि कसैको आवश्यकता नभई हामी स्वयम् समूहमा बस्दा सिक्दै गयौं। यही कारण हो विद्यालयमा भर्ना हुनुपूर्व नै केटाकेटीहरूमा धेरै अनुभव उपलब्ध हुन्छ। उदाहरणका लागि उनीहरूसँग भाषाका धेरै शब्द हुन्छन्, जसमा स्वयम्लाई व्यक्त गर्छन्। आफ्नो वरिपरिका धेरै ठाउँ, जनावर, चराचुरुङ्गी, रूखबिरुवा, वस्तुआदिसँग उनीहरू परिचित हुन्छन्। नातागोताको समझ विकसित भएको हुन्छ। घरपरिवार र छरछिमेकमा जुन समूहमा बस्छ, त्यसबाट धेरै कुरा सिकिसकेको हुन्छ। समूहमा बस्दा विनाअतिरिक्त प्रयास जिज्ञासा र अवलोकनको बलमा मात्र सिकेको हुन्छ। यो क्रम जीवनपर्यन्त चलिरहन्छ।
समूहमा कार्य गर्दा एउटा ठूलो फाइदा के हुन्छ भने केटाकेटीहरूमा सहिष्णुताको मूल्य स्वतः विकसित हुन्छ। उनीहरू एकअर्काको कुरा धैर्यतासाथ सुन्छन् र आफ्नो कुरा पनि धैर्यताका साथ व्यक्त गर्छन्। यस प्रकारको सुनाइ र बोलाइले उनीहरूभित्र आत्मविश्वास बलियो हँुदै जान्छ। एउटा अर्को राम्रो पक्ष के हो भने समूहमा आफ्नो अनुभव साझा गर्दा उत्पन्न विवादलाई स्वीकार गरेर रचनात्मक प्रश्न उठाउने पर्याप्त अवसर हुन्छ। त्यस्ता विवादहरूको समाधान परस्पर सहमतिले गरिन्छ अर्थात् लोकतन्त्रलाई सही तरीकाले आत्मसात् गरेको देखा पर्छ। यसलाई हामी भविष्यको जिम्मेवार नागरिक तयार गर्ने रूपमा पनि लिन सक्छौं। एउटै उमेर समूहका भएकाले कुनै पनि शङ्का निर्धक्क समूहमा राख्न सकिन्छ। यो खुलापनले गर्दा विषयवस्तुको तहसम्म पुग्न सजिलो हुन्छ। के पनि देखिएको छ भने जुन केटाकेटी शिक्षकले सम्झाउँदा विषयवस्तुलाई बुझ्न सकिरहेका हुँदैनन्, समूहमा त्यही कुरा सजिलै बुझिरहेका हुन्छन्। यसर्थ ‘पियर लर्निङ’ सिकाइको राम्रो र सरल विकल्प हो।
विद्यालयमा सामूहिक गतिविधि बढाउनुपर्छ। कक्षामा ससाना समूह निर्माण गर्नुपर्छ। कक्षाकार्य, परियोजना कार्य वा गृहकार्य नै किन नहोस्, त्यसलाई पनि समूहमा गराउने प्रयासको थालनी गर्नु आवश्यक छ। भित्ते पत्रिका, पुस्तकालय सञ्चालन, हस्तकला, कोलाज निर्माण, किचेन गार्डेन, थियटर, भ्रमण, खेलकूदको आयोजन, पैनल छलफलजस्ता गतिविधिले केटाकेटीहरूलाई समूहमा कार्य गर्ने अवसर प्रदान गर्छ। समूहकार्य विद्यार्थीहरूलाई चिन्तनमनन गर्ने, संवाद गर्ने, त्यसलाई बुझ्ने, विचार आदानप्रदान गर्ने र ठोस निर्णय लिनको लागि प्रेरित गर्ने एउटा प्रभावकारी माध्यम हो। समूहमा सामेल केटाकेटीहरूलाई समय–समयमा एकअर्का समूहमा फेरबदल पनि गर्दै जानुपर्छ। केटाकेटीहरूको जीवनको हरेक क्षेत्र, त्यो विद्यालय होस् वा विद्यालय बाहिर, सबैको सहभागिता सुनिश्चित गर्नुपर्छ। तर विडम्बना के छ भने आजको बाजारवादी युगमा प्रतिस्पर्धाबाट आफूलाई जोगाउन सम्भव छैन तर पनि प्रोत्साहित गर्ने माध्यमको रूपमा ‘प्रतियोगिता पुरस्कार’को प्रयोग न्यून गर्ने प्रयास गर्नुपर्छ।