राधेश्याम पटेल, वीरगंज, १७ वैशाख/
केन्द्र सरकारले प्रदेश २ को लागि पठाएको चिनियाँ पोर्टेबल पिसिआर मेशिनले गलत रिपोर्ट दिन थालेपछि केन्द्र सरकारले प्रदेश २ मैं कोरोना महामारी फैलाइरहेको टिप्पणी हुन थालेको छ। केन्द्र सरकारले हतारमा डब्लुएचओ एवं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले सर्टिफाइड नगरेको मेशिन पठाएर प्रदेश २ का जनताको स्वास्थ्यसँग खेलवाड गरी कोरोना महामारी फैलाउन मदत गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमका विज्ञ तथा प्राविधिकहरूको आरोप छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक रामविनय साहले लकडाउनको ३६ दिन बितिसक्दा पनि भरपर्दो मेशिन उपलब्ध नगराएको चर्चा गर्दै यस्तो आरोप लगाएका हुन्। “केन्द्र सरकारले हामीसँग विभेद गरेको छ, मिडियाको दबाबमा हतारहतार पिसिआर मेशिन पठायो, जुन बच्चाले खेल्ने झुनझुनाबाहेक केही होइन।” उनले भने–“लगातार गलत रिपोर्ट आउन थालेपछि गत शुक्रवारदेखि नै जनकपुरको ल्याबबाट पिसिआर परीक्षण बन्द गरेका छौं।” नेपाल र भारत दुवैतिर लकडाउन भएपनि भारतबाट नेपाली नागरिक पस्नेक्रम जारी छ। नेपालका ७ वटा प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या रहेको प्रदेश २ मा केन्द्र सरकारको उदासीनताको कारण एउटा पनि गतिलो मेशिन जडान नभएको र यहाँका जनता कोरोनाको उच्च जोखिममा रहेको उनको विश्लेषण छ।
सातवटा प्रदेशमध्ये सबैभन्दा बढी जोखिम प्रदेश २ मैं छ। यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताउँदै उनले भने– “जनकपुरको ल्याबबाट सयजनाको रिपोर्ट नेगेटिभ आएको थियो, सर्लाही धनकौलका १४ वर्षीय बालकको रिपोर्ट र रौतहटका थप दुईजनाको रिपोर्ट टेकु प्रयोगशालामा पोजिटिभ भेटिएको छ, यसले प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान लगाउन सकिन्छ।”
नारायणी कोभिड अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले प्रदेश २ को नारायणी अस्पताल कोरोना सङ्क्रमितहरूको उपचार गर्ने थलो हो। तर टेकु प्रयोगशालाबाट पठाइएको पिसिआर मेशिन हालसम्म सञ्चालनमा नआएकोले मास स्क्रिनिङ र थ्रोट स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि हेटौंडा ल्याबकै भर पर्नुपर्ने बताए ।
“कोरोना अहिले समुदायमा सरिसकेको छ, तर पनि सरकार गम्भीर छैन, वीरगंज पठाएको पिसिआर मेशिन भण्डार कक्षमैं थन्किएको छ,” डा उपाध्यायले भने, “जुन हिसाबले दैनिक दुई/दुई जना कोरोना सङ्क्रमित थपिंदै छन्, आगामी दिनमा केन्द्र र प्रदेश सरकार दुवै जिम्मेवार हुनुपर्छ। कोरोना महामारी रोक्न समयमैं ध्यान दिइएन भने अवस्था जटिल बन्दै अनियन्त्रित पनि हुन सक्छ ।”
उनले वैशाख १४ गते वीरगंजमा थपिएका दुईजना सङ्क्रमितमध्ये एकजना महानगरपालिकाका सफाइकर्मी रहेको र उनले घरपरिवार र महानगरका कर्मचारी गरी ९४ जना र वीरगंज–१६ इनर्वाका अर्का सङ्क्रमितको सम्पर्कमा आएका १७ जना गरी कुल १११ जनाको थ्रोट स्वाब सङ्कलन गरी टेकु प्रयोगशाला पठाएको बताए। त्यसैगरी, रौतहटका एकजना युवकको सम्पर्कमा आएका १३ जनाको पनि स्वाब सङ्कलन गरी काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक रामविनय साहका अनुसार यसअघि जनकपुरको पिसिआरबाट चेकजाँच गरिएको १०० वटा स्वाब नमूना पुनः परीक्षणको लागि टेकु पठाइएको छ। टेकु प्रयोगशालामा नेपालभरिबाट स्वाबको नमूना आइरहेकाले एउटा रिपोर्ट आउन ३ दिनदेखि ७ दिनसम्म लाग्ने भएकोले अवस्था भयावह बन्दै गएको विश्लेषण गरिएको छ।
पोर्टेबल पिसिआर खरीद प्रक्रियाको छानबीन हुनुपर्छ
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपूर्ति केन्द्रले खरीद गरी विभिन्न प्रदेशमा पठाएको चिनियाँ पोर्टेबल पिसिआर मेशिनले गलत रिपोर्ट दिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरी दोषीलाई कारबाही गर्न माग हुन थालेको छ। चिकित्सक तथा विज्ञहरूले यो प्रकरणको उचित छानबीन गरी दोषी जोकसैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका प्राविधिकहरूले भने– “यस्तै पोखराको ल्याबले पनि गलत रिपोर्ट दिंदा आलोचना भएपछि पोखराको ल्याबबाट पिसिआर परीक्षण बन्द भएको छ। धनगढी, सुर्खेत, बुटवललगायत ठाउँमा पनि पोर्टेबल पिसिआर मेशिनमाथिको विश्वसनीयता गुमेको छ। सबैतिर जनता तथा स्वास्थ्यकर्मीलाई अल्झाउन केन्द्र सरकारले गलत मेशिन पठाएको छ, यस्तो गलत काम गर्नेको पर्दाफास हुनुपर्छ ।”