सञ्जय मित्र
मेरो नेपाली व्याकरण त्यसै कमजोर भएको होइन । नेपालमा स्वर्ग नै पु¥याउने ठाउँको रूपमा स्वर्गद्वारी भन्ने ठाउँलाई मानिएको छ । स्वर्गद्वारी भन्ने शब्द स्त्रीलिङ्गी हो भन्ने कुरो त्यतिखेर थाहा पाएँ, जतिखेर जनकपुरको गङ्गासागरको एउटा किनारको पल्लोपट्टि स्वर्गद्वार लेखिएको पाएँ । म अचम्ममा परें, स्वर्गद्वार र स्वर्गद्वारी दुवैको अर्थ सम्झेर ।
धेरैलाई जानकारी नहोला, जनकपुरमा स्वर्गद्वार छ भनेर । जनकपुरको स्वर्गद्वार जनकपुरकै लागि नयाँ हो रे । त्यहीं आसपासका एकजना मित्रले जनकपुर बसाइँको क्रममा कमसेकम एकचोटि हेर्न सकिने ठाउँको रूपमा मलाई टिपाएका थिए– भूतनाथ मन्दिर । भूतनाथ मन्दिर प्रवेश गर्न स्वर्गद्वार भएर जानुपर्ने । स्वगद्वारले भूतनाथको दर्शन गराउने । बडो गज्जबको वा अनौठो लागेको थियो ।
बिहीवार बिहान ३ बजेर २४ मिनेटमा ढोका ढकढकाउँछ कसैले । जनकपुरको पुरानोमध्ये स्तरीय मानिने होटल वेलकमको कोठा नम्बर ११० मा वास्तवमा मस्त निद्रामा छौं, सञ्जयकुमार मिश्र र म । ढोका एकोहोरो ढकढकिइरहेछ । को हो, किन हो केही बोल्दैन । माथि झुन्डिएर आप्mनै गतिमा घुमिरहेको पङ्खाको आवाजले पनि ढोकाको ढकढकाहटलाई छेक्न सकिरहेको छैन । निद्राले पनि ढकढकाहटलाई छोप्ने असफल प्रयास गरिरहेको छ । सिरानीतिर राखिएको सानो टेबलमा रहेको मोबाइलको स्क्रिनले आप्mनो अनुहारलाई उज्यालो बनाउँदै नाम र नम्बर देखाउँछ– कृष्ण तिवारी पत्रकार ।
मङ्गलवार (१२ चैत २०७५) म र तिवारी यसै कोठामा सुतेका थियौं । सम्भवतः उनी रौतहटका सर्वोत्कृष्ट घुराहा हुन् । कुनै दिन यस प्रकारको प्रतियोगिता भयो भने मलाई लाग्छ उनी कैयौं जिल्लाका घुराहाहरूलाई उछिनेर जिल्लाको नाम उँचो पार्छन् । उनी निदाउन नपाउँदै सक्रिय भइहाल्ने रहेछन् । यसले गर्दा पहिले त हाँसो उठ्छ र त्यसपछि रिस । किनभने शुरू भनेको त शुरू न हो, कुनै पनि कुरो शुरू भएपछि बढ्दै जान्छ । बिस्तारै तिवारीजीको ङ्यार्रङुर्र यति धेरै बढ्छ कि त्यहाँ निद्रादेवीको दर्शन असम्भव । आँखा चिम्लेर जति धेरै निद्रादेवीको ध्यान गरे पनि नहुने, नसकिने । निदाउने बेलामा आँखा बन्द गरेजस्तै कान पनि बन्द हुने अवस्था भए कति राम्रो हुन्थ्यो । निदाउने बेलामा कान बन्द गर्नुपर्छ भनेर ब्रह्माले बनाउन बिर्सेकोमा मलाई यही रात हो चित्त दुखाइ भएको । साँच्ची रात अनिदो बित्यो । मलाई एक रात अनिदोले दैनिकीमा खासै प्रभाव पार्दैन यदि अन्य अस्वस्थता छैन भने । मलाई सम्झना छ, एउटा कामविशेषले लगातार तीन रात आँखा चिम्मसम्म पनि गर्न पाएको थिइनँ, दिउँसो सुत्न पाउने अवस्थै थिएन ।
त्यस रात मिश्रजीका साथी थिए– यादवराज पुरी । पुरीजी पनि उत्तम घुराहा रे । उनको घुर्राहटको अनुभूति लिन नपाएकोमा अहिले पछुतो लागिरहेको छ । मैले सबैभन्दा ठूला घुराहा शीतल गिरी दाजुलाई मान्दथें तर तिवारीको अगाडि दाजुको अस्तित्व अजङ्गको सिमलको रूखको काखमा अम्बाको बोटजस्तो । मेरा साथीहरू प्रेमलाल साह, अनीलकुमार निधि र देवेन्द्र साह पनि घुर्छन् । सबैका घुर्राहटका आआप्mनै विशेषता छन् । पुरीको घुराइले मिश्रलाई अप्ठ्यारो लागेकोमा पुरीजीलाई पनि त्यति राम्रो लागेनछ । हामीबीच एकार्काको घुराइको चर्चा चल्छ । अन्य कुराहरू विचार गरेर हामी चारैजना रौतहटेलीबीच सल्लाह हुन्छ– तिवारीलाई पुरीको कोठामा एक रातको बसाइ सार्ने र मिश्रजी मित्रजीको कोठामा सुत्ने ।
मिश्रले कुराकानी गर्न खोज्दाखोेज्दै ११ बजे मित्र निदाउँछन् । दुवैजनाको कुराकानीको विषय हाम्रो धर्म, संस्कृति र वर्तमान समाज हुन्छ । उता तिवारी र पुरी चाहिं साढे बा¥ह बजेसम्म दुःख–सुख साट्छन् । त्यसपछि बल्ल सुत्ने प्रयत्न गर्दछन् । अब हुने भयो दुई घुराहाको परीक्षा । वास्तविक घुराहा को ? तिवारीजीको आँखामा निद्रादेवीको प्रवेश हुन नपाउँदै र मुखको आवाज लर्बरिन नपाउँदै नाकको घुर्राहट सक्रिय हुन्छ । तिवारीजीको सक्रियताभन्दा उनको निद्राको घुराइको सक्रियता निकै बढी छ । पुरीजीको निद्रालाई सजिलै लखेट्ने क्षमता तिवारीमा देखिन्छ । तिवारीजीको मुखको आवाजभन्दा कैयौं गुणा ठूलो नाकको आवाज हुन्छ । उनी जागृत अवस्थामा जति जोडले कराउन सक्दैनन्, उति कडा स्वरमा निदाएपछि कराउँछन् । उनको मुखले नाकलाई सक्रिय बनाउँदैन तर नाकले भने मुखलाई पनि सक्रिय बनाउँछ अर्थात् तिवारीजीको निद्रा गहिरिंदै जाँदा नाक र मुख दुवैबाट आवाज निकाल्न सक्छन् । मजस्तोलाई उनको अगाडि निद्रा नआउने शतप्रतिशत ग्यारेन्टी नै हो । शायद जति प्रयास गर्दा पनि पुरीजीको छेउमा निद्रादेवी परिनन् । भनेको सुनेको– कोल्टो फेर्न लगाउने, सिरक ओढ्न लगाउने, गाली गर्ने, बोतलको पानी छ्याप्ने, खाटबाट भुइँमा सुत्न लगाउनेलगायतका जति यत्न गरे पनि पुरीजीले नसकेपछि अन्ततः सवा तीन बजे अर्कै कोठामा जाऊ भनेर पठाएछन् ।
स्क्रिनमा तिवारीजी देखिन्छन् तर उठ्न मन लाग्दैन । ढोका एकै मिनटको लागि ढकढकिन बन्द हुन्छ । म निदाउन पुग्छु र फेरि ढकढकिन्छ । मिश्रजी मलाई सोध्छन्– के गरूँ, ढोका खोलूँ ?
कोही बोल्दैन, आवाज नचिनी ढोका खोलौं । होटलको कुरो हो ।
तिवारीको फोन थियो अघि, हैन...।
हो, तर फोन थियो भन्नेबित्तिकै उनैले ढोका ढकढकाएका हुन् भन्ने अर्थ लाग्दैन ।
उसो भए आवाज नचिनेसम्म जसले पनि ढकढकाउँदा पनि ढोका नउघार्ने बरु होटलको रिसेप्सनमा जानकारी गराउने ।
हाम्रो सल्लाह हुँदै थियो, तिवारीले अलि लाज मानेकै स्वरमा आप्mनो नामोच्चारण गर्दै ढोका खोल्न आग्रह गर्दछन् । मिश्रजीले ढोका खोल्दा ३ बजेर २७ मिनेट भइसकेको मोबाइलको घडीले देखाउँछ ।
अब कथाले मागे अनुसार सुत्ने वातावरण बिथोलिन्छ । एकल ओछ्यान हुने दुई खाट छन्, जोड्न मिल्दै नमिल्ने । किन यति रातमा आएको भनेर प्रश्न गर्दा आएको उत्तरले हामी सबैजनामा हाँसो उठ्छ, जसले निद्रालाई लखेट्छ । हामी चार घण्टा सुतेका छौं, यतिले पुग्छ ।
यतिबेला सामान्यरूपमा कुनै कोठाको जुन वातावरण हुनुपर्ने हो, त्यसअनुरूप छँदैछैन । जिस्क्याउने र जिस्किने गर्दै मर्निङ वाकको समय बन्दछ । अति सामान्य नित्यकर्म सिध्याएर पौने पाँच बजे निस्कन्छौं रेलवे स्टेशनतिर । सडक अँध्यारै छ । फाट्टफुट्ट मान्छे देखिन्छन्, दिनभरि व्यस्त रहने सडकमा । आधुनिक तरीकाले निर्माणको अन्तिम चरणमा रहेको जनकपुर रेलवे स्टेशनमा करीब आधा घण्टा बिताएपछि भूतनाथ मन्दिर पुग्नुपर्नेछ । जनकपुरमा जानकी मन्दिर, राम मन्दिर र अन्य मन्दिरहरू आप्mनै विशिष्टता र विशेषताले प्रसिद्ध छन् । भूतनाथ मन्दिरको नाम सुनेको दुई महीना पनि भएको छैन र अहिले जाने मौका मिलेको छ ।
रेलवे स्टेशनदेखि भूतनाथ मन्दिरसम्मको पैदल यात्रा करीब पन्ध्र मिनेटको मात्र छ । भूतनाथ मन्दिरको मूल प्रवेशद्वारमा लेखिएको छ– स्वर्गद्वार । भित्र छिर्दछौं । वातावरण निकै राम्रो छ । अनेक पुष्पहरूले मुस्कुराएर स्वागत गर्दछन् । वसन्तमा पुष्प पुष्पित हुनु स्वाभाविक हो तर जहाँ जीवनको समाप्तिपछि भौतिक देहलाई खरानी बनाउने ठाउँमा अनेक पुष्पहरूले मुस्कुराएर स्वागत गर्दछ, अनौठोपनको अनुभूति अस्वाभाविक होइन । भूतनाथ भनेकै शिव हुन् । मन्दिर पनि शिवकै हो । मन्दिरभन्दा थोरै दक्षिणतिर कुनामा शिव–पार्वतीको विशाल मूर्ति छ, खुल्ला आकाशमा । स्वर्गद्वार दुईवटा छन् । पूर्वको द्वारले मन्दिरको अगाडि पु¥याउँछ, जहाँको दृश्य रमणीय छ । त्यहीं भएर बिहानी भ्रमणमा निस्केकाहरू मन्दिरभित्र प्रवेश गरी शान्तिको अनुभूति गरिरहेका छन् । मन्दिरभन्दा पश्चिमतिर श्मशान छ, जहाँ मृतदेह खरानी बन्दछ । मानव शरीर पञ्चभूतमा विलीन हुन्छ ।
स्वर्गद्वारबाट भित्र छिरेपछि पुग्नुपर्ने हो स्वर्गमा । हामी त्यहाँबाट निस्केर चर्चा गर्दछौं– स्वर्गबाट कोही आजसम्म फर्केको छ ?
जेहोस् जनकपुरले केही गरेको छ । धेरै गर्दैछ । गर्नुपर्ने त जहाँ पनि बाँकी हुन्छ नै ।
तिवारीजीको दुई रात र दुई कोठा तथा तीनजनासित सुताइको चर्चा पनि हाम्रो यात्राको रमाइलो पक्ष बनिरहन्छ ।