पूर्व प्रधानमन्त्री प्रचण्डबाट सम्मान थाप्दै लामा । |
प्रतीक दैनिकका ठोरी संवाददाता प्रेम लामा अमेरिकाबाट प्रदान गरिने कामदा– मिलन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
चितवनको पर्यटकीय स्थल पटिहानीमा बिहीवार आयोजित नेपाल महिला पत्रकारको राष्ट्रिय भेलामा लामालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संयुक्तरूपमा सम्मानपत्रसहित रु ४४ हजार ६ सय (४ सय अमेरिकी डलर) नगद पुरस्कार प्रदान गरे ।
सम्मान कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको उपस्थिति थियो ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा क्रियाशील नेपाली सञ्चारकर्मीहरूले स्थपना गरेको कामदा– मिलन पत्रकारिता पुरस्कार सान्फ्रान्सिस्कोबाट प्रकाशित हलिउडखबर डटकमको दोस्रो वार्षिक उत्सवको अवसरमा प्रदान गरिंदै आएको छ । सन् २०१८ को लागि मोफसलमा रहेर पत्रकारिता गर्ने लामालाई सम्मान गर्ने निर्णय, बितेको डिसेम्बर ९ तारिख हलिउडखबर डटकमले घोषणा गरेको थियो ।
पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारितामार्फत समाज परिवर्तन गर्न लागिपरेको भन्दै पत्रकार लामालाई ‘कामदा–मिलन पत्रकारिता पुरस्कार’ले सम्मान गरिएको हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले जानकारी दिए ।
पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरूको मनोबल उच्च राख्ने आशासहित पुरस्कार स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारका फाउन्डर रोशन अधिकारीले बताए । सञ्चारकर्मी अधिकारीले स्वर्गीय माता पिताको स्मृतिमा कामदा–मिलन पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।
ठोरी गाउँपालिका–१ सरस्वतीनगर घर भएका लामालाई पत्रकारिता माध्यमद्वारा समाजमा पु¥याएको सकारात्मक योगदानको कदर गर्दै सम्मानसहित नगदले पुरस्कृत गरिएको सम्पादक केसीले जानकारी दिए । मोफसलमा रहेर पत्रकारितामार्फत समाज परिवर्तनका लागि योगदान पु¥याउने पत्रकारको हौसला बढाउन प्रत्येक वर्ष एकजना पत्रकारलाई सम्मानित गरिने अधिकारीले बताए ।
बितेको डेढ दशकदेखि विभिन्न सञ्चार माध्यममा आबद्ध रहेर कलम चलाउँदै आएका लामालाई पत्रकारिता क्षेत्रमा काम गर्न थप हौसला मिलोस् भनेर सम्मानित गरिएको हलिउडखबरका नेपाल प्रतिनिधि सोनी शर्मा र रेशम अधिकारीले प्रस्ट्याए ।