राजेश केशरीवाल, रक्सौल, १६ वैशाख/
बिहारमा मदिरा निषेध भएको एक महिना बित्न लागेको अवस्थामा मदिरा विरोधी अभियानलाई सरकारीस्तरमा अझ बढी कडाइ गरिंदैछ।
नेपाल सीमासँग जोडिएका ग्रामीण क्षेत्रमा मदिरा विरोधी अभियान तीव्र बनाइएको अनुमण्डल पदाधिकारी श्रीप्रकाशले बताए। उनले सुरक्षाकर्मी र अधिकारीहरूलाई मदिरा चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन प्रयोग सम्बन्धमा तालिम दिएर ग्रामीण क्षेत्र र रक्सौल, पन्टोका आदि ठाउँमा खटाएको बताए । अनुमण्डल पदाधिकारी श्रीप्रकाशले पहिलो चरणमा ब्रेथलाइजर मेसिनबाट दोषी देखिनेलाई चेतावनी दिएर छोडेकोर अब उप्रान्त कानुन बमोजिम कारबाई हुने बताएका छन्।
अप्रिल १ देखि बिहार राज्य सरकारले मदिरा पूर्णरूपमा बन्द गरेपछि सीमावर्ती क्षेत्रबाट मदिरा सेवनको लागि नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ। पर्साको ग्रामीण क्षेत्रमा सीमासँग जोडिएका बिहारबाट मदिरासेवी आउने क्रम दैनिक बढ्दो छ। नेपालतर्फका सुरक्षा अधिकारीहरूले भारतबाट आउने मदिरासेवीविरुद्ध कारबाई नगरे पनि उनीहरूकै कारण अवैध मदिराभट्टीको पहिचान भइरहेको र छापा मारेर नष्ट गर्ने काम भइरहेको एकजना प्रहरीले बताए।
उनले पछिल्लो समयमा अवैधरूपमा सञ्चालित घरेलु मदिराभट्टीहरूमा नेपाली मदिरासेवी मात्र लुकीछिपी जाने हुनाले पहिचान हुन नसकेको तर अब ठूलो सङ्ख्यामा भारतीय नागरिक भट्टीमा पुग्ने गरेपछि भट्टी स्थापित ठाउँ खुलेको र कारबाई गर्न सजिलो भएको बताए।
बिहारमा मदिरा निषेध गरिएपछि बिहारबाट पाहुना लाग्नेहरूको सङ्ख्या बढेको छ। लगनको बेला भएकोले अहिले नेपालबाट निम्तो पुग्दा बिहारी पाहुनाहरू निकै खुशी हुने गरेका छन्। एकजनाको निम्तोमा चिनजानका पनि आउने गरेका छन्।
मदिरा सेवनको लागि निम्तो मान्न दुई–तीन दिन पहिले नेपाल आउने गरेको हाम्रा संवाददाता राजेश केशरीवालले बताउँछन्। नेपालबाट आउने निम्तो घरका महिलाहरूले लुकाइदिने गरेका छन्।
भर्खरै पर्सा, भिस्वामा आयोजित वैवाहिक कार्यक्रममा सीमासँग जोडिएको ग्रामीण विकास अधिकारी मदिरा सेवनकै लागि जन्ती आएका थिए। कार्यालयका तल्लो तहका कर्मचारीको वैवाहिक कार्यक्रममा ग्रामीण विकास अधिकारी पुग्दैन थिए। तर मदिरा निषेध भएको कारण उनी सहभागी भएको बताइएको छ।