विश्वराज अधिकारी
केही दिन पहिले मैले गरेको टोरन्टोको भ्रमण जानकारीको हिसाबले धेरै नै महत्त्वपूर्ण रहयो। त्यहाँ पुगेर क्यानाडा देखेर–बुझेर मैले एउटा निष्कर्ष झिकें–आर्थिक अवस्था मात्र होइन, ज्ञान, विज्ञान, समझ र संस्कृतिको क्षेत्रमा पनि दक्षिण एसियाका राष्ट्रहरू अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्सजस्ता विकसित राष्ट्रहरूभन्दा धेरै पछाडि रहेछन्।
अमेरिका, क्यानाडा, जर्मनी, फ्रान्स, ब्रिटेनजस्ता धनी मुलुकहरूमा जीवनलाई सरल पार्ने उपायहरूको खोजी गरिन्छ, तिनलाई व्यवहारमा लागू गरिन्छ अनि जीवन यापनलाई सरल तुल्याइन्छ। तर दक्षिण एसियाका मुलुकहरू जस्तै नेपाल, भारत, पाकिस्तान, बङगलादेश आदिमा ठीकविपरित हुन्छ। यी मुलुकहरूमा जीवनलाई जटिल बनाउने उपायहरूको खोजी हुन्छ। तिनलाई व्यवहारमा लागू गरिन्छ। अनि जीवनलाई कष्टकर तुल्याइन्छ। माथि उल्लेख गरिएका धनी राष्ट्रहरू प्रणाली (कथकतझ) ले चलेका छन्। यी राष्ट्र प्रणालीलाई महत्त्व दिन्छन् र जीवनयापनका प्रत्येक कार्य प्रणाली द्वारा सम्पादन गर्छन्। तर दक्षिण एसियाका राष्ट्रहरूमा नियम–कानुनको पालना त उचित किसिमले हुँदैन प्रणालीको पालनाको त झन् के कुरा ? उदाहरणका लागि विकसित देशहरूमा हवाइजहाज, बस, रेल चढ्दा वा रेस्टुरा भित्र पस्दा ग्राहकलाई पङ्क्तिबद्ध हुन कसैले भन्नुपर्दैन, स्वत: पङ्क्तिबद्ध हुन्छन् । त्यसरी पङ्क्तिबद्ध हुन उनीहरूलाई प्रचलित प्रणालीले निर्देशित गर्दछ। र प्रत्येक व्यक्तिले निर्देशनको पालना गर्दछ । तर मैले स्वयं अनुभव गरेको कुरा हो– भारतमा रेल चढ्दा ढोकामा भएको भीडमा थिचिएर कतिपटक मेरो सर्ट च्यातिएको छ। एकपटक कोलकाताबाट रेल चढेर रक्सौल आउँदा हावडा स्टेशनमा स्वयं रेलभित्र पस्न नसकेर, कुल्लीलाई पैसा दिएर, उसको बलको सहारामा रेलको कम्पार्टमेन्टमा पस्न सफल भएको थिएँ। कुल्लीले बलपूर्वक मलाई रेलभित्र नपसाएको भए मेरो यात्रा स्थगित हुन्थ्यो। त्यो बखत त्यस्तो किन भयो ? किन भयो भने रेल चढ्ने कुनै राम्रो प्रणाली नै थिएन, त्यहाँ। प्रणाली बनाएर त्यसको पालना मानव हितमा गर्नुपर्छ भन्ने सोंचको विकास भएको थिएन। यस्तै स्थिति थियो बस र ट्राम चढ्दा पनि। तर यो घटना चार दशक पहिलेको हो।
दक्षिण एसिया वा विकासशील राष्ट्रहरूमा नागरिकहरूले आफ्नो बहुमूल्य शक्ति, सृजनशील ऊर्जा र अवसरको उपयोग केवल कलह, द्वन्द्व र सङ्घर्षमा बिताउँछन्, विकास र निर्माणमा खर्च गर्दैनन्। विकास–निर्माणको कार्य केवल सरकारले गर्ने हो भनेर जिम्मेवारीबाट पन्छिन्छन्। हामी पूर्वीयहरूको मनोविज्ञान कस्तो छ भने आफ्नो घरभित्रको फोहर सडकमा फालेपछि घर सफा ठान्ने । तर विकसित देशका नागरिकहरू भने त्यस्तो सोच्दैनन्। आफ्नो घरको फोहर सडकमा फालेपछि त्यो पुन: आफ्नै घरभित्र आइपुग्छ त्यस कारण फोहरको दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ भन्ने सोंच्छन्। यो सत्य कुरा हो, सुन्दा अप्रिय लागे पनि।
दक्षिण एसियाली राष्ट्रहरूमा नागरिकबीच कलह हुन मुद्दको कुनै पनि बेला कमी रहँदैन्। कुनै पनि बेला, कुनै एउटा मुद्दा उचालेर नागरिकहरूबीच सङ्घर्ष गराउन सकिन्छ। झगडा, लडाइँ र युद्ध नै गराउन सकिन्छ। स्वार्थी नेताहरू यस्तो गराउने मौकाको ताकमा बसेका हुन्छन्। जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता, भाषा, भेष, विश्वास, धर्म, संस्कृति आदिमा विभिन्न काल्पनिक मुद्दाहरू निर्माण गरेर जुन बेला पनि नागरिकहरूबीच कलह गराउन सकिन्छ । र त्यस्तो भइरहेको पनि छ।
तर व्यापार, सरल जीवन एवं अन्वेषणका लागि विश्वमा नै दोस्रो नम्बरमा पर्ने क्यानाडाको सर्वाधिक ठूलो शहर टोरन्टोमा भने स्थिति फरक देख्न पाइन्छ। करिब ५२ लाख जन आबादी भएको यो शहर एउटा सानो संसार जस्तै छ। एउटा अर्को विश्व जस्तो छ । शान्त छ, स्थिर छ। यो शहरमा संसारका लगभग सबै देशका नागरिकहरूको बसोवास रहेको देख्न सकिन्छ। सडकहरूमा चाइनिज, भारतीय, पाकिस्तानी, नेपाली, अफगानी हिंडेका देख्न सकिन्छ। यसैगरी अफ्रिका एवं पूर्वीय युरोपका विभिन्न राष्ट्रका नागरिकलाई देख्न सकिन्छ। सबै आफ्नो भाषा बोलिरहेका हुन्छन्। आफ्नै धर्म र संस्कृति अनुसारको पहिरन लगाएका हुन्छन्। सबैलाई आआफ्नो धर्म अनुसार पूजापाठ गर्न र पहिरन लगाउने स्वतन्त्रता छ। यो विशेषताले गर्दा नै टोरन्टोका सडक वा मलहरूमा खुट्टादेखि टाउको सम्म कपडाले छोपेको एवं आँखा पनि जालिदार कपडाले ढाकेका महिलाहरू देख्न सकिन्छ भने हाफपैन्ट र टिसर्ट लगाएका महिलाहरू पनि देख्न सकिन्छ । त्यस कारण टोरन्टोलाई दोस्रो संयुक्त राष्ट्र सङ्घ भन्ने गरिएको होला। अनेक देशका नागरिकको बसोवास भए तापनि सबै मिलेर, शान्तिसँग बसेका छन्। संसारभरिका नागरिक यस टोरन्टो शहरमा बसेर घरभित्र आफ्नो धर्म र संस्कृतिको पालना गरे तापनि समग्रमा टोरन्टोवासीहरू ‘क्यानेडियन संस्कृतिमा’ घुलमिल भएका छन्, विलय भएका छन् । न यहाँ जातीय कलह छ, न खलबलिएको सामाजिक सद्भाव। न धर्मको नाममा विवाद, न क्षेत्रीय विवाद। सबै केवल आआफ्नो उन्नति–प्रगतिमा केन्द्रित छन् । सरल र शान्तिपूर्वक जीवनयापनमा समर्पित छन्।
तर हाम्रो सानो देश नेपालमा भने भएभरका मुद्दा छन्। सम्पूर्ण जनता जातीयता, साम्प्रदायिकता, क्षेत्रीयताको आधारमा विभाजित छ। सामाजिक सद्भाव खल्बलिएको छ। नेपाली समाज दूध फाटेझैं फाटेको छ। एउटा जातीय समूहले अर्को जातीय समूहलाई शोषक देख्छ र आफ्नो गरिबी, शोषणको र पछौटेपनको जिम्मेवार पनि उसैलाई मान्छ। तथाकथिक जातीय समूहहरूले पनि समस्याको समाधान विचार आदान प्रदान र छलफलमा देख्दैनन्। समाधान केवल द्वन्द्व र सङ्घर्षमा देख्छन्।
जुन स्थान वा शहर जति बढी समावेसी हुन्छ, त्यहाँ शान्ति हुन्छ। त्यहाँ सोही अनुसार वा तीव्र गतिमा विकास पनि हुन्छ। यो तथ्यको प्रमाण मैले आफ्नै आँखाले टोरन्टो शहरमा देखें।
एक अर्को रोचक प्रसङग–टोरन्टो शहर भ्रमण क्रममा मैल उबर (एक किसिमको टेक्सी) प्रयोग गर्दा सवारीको चालक लगभग प्रत्येकपटक पाकिस्तानी
पाएँ। यस्तो संयोग हो वा टोरन्टोमा पाकिस्तानीहरूले बढी मात्रामा उबर चलाउँछन्, म यकिनका साथ भन्न सक्तिनँ । यात्राको क्रममा हेमचेम बढेको हुनाले, एकपटक एक पाकिस्तानी सवारी चालकसँग मैले प्रश्न गरें–नेपाल, भारत, पाकिस्तान यस्ता मुलुक हुन् जहाँ प्रकृतिले सबै किसिमका स्रोतहरू दिएको छ। यो क्षेत्र धनी भएको हुनाले नै अङ्ग्रेजहरू यहाँको स्रोतमा कब्जा जमाउन आएका थिए। युरोप र पर्सियाका लुटेराहरू धन सम्पत्ति लुट्न यो क्षेत्रमा आउने गर्दैथे। तर पनि दक्षिण एसियाका नागरिक किन विदेशतिर लाग्छन् ? तिमीले किन आफ्नो देश (पाकिस्तान) छाड्यौ ? ती चालकले भनें–सर, हाम्रोतिर (पाकिस्तानमा) सबै थोक छ, केवल शान्ति छैन। र त्यो अशान्ति हामी आफैंले ल्याएका हौं।
br2063_adhikari@yahoo.com