सञ्जय साह ‘मित्र’
नेपाली संस्कृति भन्नु नेपालभित्रका संस्कृतिहरूको सङगम हो। नेपालभित्र हिमाली, पहाडी र मधेसी गरी मूलत: तीन किसिमको संस्कृति रहेको परम्परागत मान्यता छ। यो भूगोलको आधारमा गरिएको अध्ययन हुन सक्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको भनिएको मधेसमा पनि मौलिक सभ्यता र संस्कृतिहरूको भण्डार रहेको देखिन्छ। यिनै विशाल संस्कृतिमध्येको एक हो बज्जिका संस्कृति।
बज्जिका संस्कृति प्रकृतिको निकै नजिक रहेको संस्कृति हो। एक हिसाबले हेर्ने हो भने प्रकृतिको सबै रूप र रङगको पूजन बज्जिका संस्कृतिमा गरिन्छ। पशुपक्षी, धरती, खोलनाला, पोखरी, हावा, चन्द्र, सूर्य, ग्रहहरूदेखि वनस्पतिसम्मको पूजा विभिन्न अवसर र सन्दर्भमा बज्जिका संस्कृतिमा गरिएको पाइन्छ। वनस्पतिमा पनि आँप, पीपल, नीम, महुआ, तुलसी, दुबो आदिको विशेष महत्त्व रहेको छ। बज्जिका संस्कृतिमा विशेष महत्त्व बोकेको आँपको साास्कृतिक महत्त्वबारे यहाँ समान्य चर्चा गरिएको छ।
नयाँ घरमा बसोवास गर्दा आँपको पातको प्रयोग विविध काममा गरिन्छ। गृहपूजा गर्दा आँपको पातको तोरनले घरलाई चारैतिरबाट घेरिन्छ। यसले सम्पूर्ण घर पवित्र भएको र कुनै अनिष्ट नहुने विश्वास लिइन्छ। घरको पूजा गर्दा आँपको कलश, आँपको पल्लो तथा आँपको सुकेको लडकी प्रयोग गरिन्छ। सत्यनारायण व्रत कथालगायत अन्य पूजाहरूमा बाँडिने पञ्चामृत बाँड्दा आँपको पातले बाँडिन्छ। आँपको विकल्प केराको पात हुन्छ। सबै किसिमको पूजाको समापन हुँदा अन्त्यमा गरिने साकल अर्थात हुमादमा आँपको दाउरा नभई हुन्न। साकलमा धूप सल्काउन वा धूपसित बाल्न आँपको दाउरा अनिवार्य हुनाले आँपको दाउरालाई धूपसित तुलना गरिएको पनि पाइन्छ।
हिन्दू धर्म मान्ने सबै जातको संस्कृतिमा आँपको सबै भागको प्रयोग हुन्छ। मधेसमा फलको राजा मानिने आँपको जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग भएको पाइन्छ।
गर्भवती आमाले आँपको पातको डाँठ चपाएर खाने चलन छ। एकाधपटक पातको डाँठ चपाएर खानाले आमाको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने विश्वास गरिन्छ। यसको वैज्ञानिक महत्त्वबारे अनुसन्धान जरुरी छ। आमाले आँपको पातको डाँठ खाने चलन हराउँदै गएको छ।
बच्चाको जन्मपछि छठियारको बेलासम्म अर्थात् छ दिनसम्म द्वारमा बालिने आगोमा आँपको काठ पनि हुनुपर्छ । आगो ननिभोस् भनेर निरन्तर गोरहा बालिन्छ तर कहिलेकाहीं आँपको काठ हाल्ने चलन भने रहेकै छ। छठियार मधेसको अति विशिष्ट संस्कृतिको रूपमा रहेको कुरोलाई कसैले अस्वीकार गर्न सक्दैन। छठियारको पूजामा पनि आँपको पातको प्रयोग गरिन्छ। पूजा सकिएपछि बालबालिकाको नामकरण संस्कार सम्पन्न गर्ने बेला दुबो र अक्षतासँगै आँपको पात पनि आवश्यक पर्दछ।
आँपसित मानिसको कति पवित्र नाता छ भने विवाहको समयमा समेत आँपको बिहे गर्ने चलन छ। नेवार समुदायमा इही अर्थात् बेलसित बिहे गरिन्छ, झन्डै त्यसै किसिमको संस्कार मधेसी संस्कृतिमा रहेको देखिन्छ। घरमा विवाहको दिन गरिने सबै तयारी भइसकेपछि केटा पक्षले घरबाट जन्ती निकाल्नुअघि आँप र महुआको बिहे गर्ने चलन छ। आँपको रूख (सँगै छ भने महुआको रूखलाई पनि) लाई पाँच फन्को लगाउँदै पहेंलो वा सेतो धागोले बेर्ने गरिन्छ। यस अवसरमा अनेक किसिमका गीत गाइन्छ । आँपको बिहे गरेपछि मात्रै जन्ती जाने चलन अद्यापि रहेको छ। सामाजिक परम्परामा यो निकै महत्त्वपूर्ण संस्कृतिको रूपमा रहेको छ।
बेहुली पक्षमा पनि यो रीति गर्ने चलन छ। सामान्यतया बेहुला र बेहुलीको घरमा गरिने आँपको बिहेको समयमा केही फरक हुनुपर्छ भन्ने मान्यता छ। पहिले बेहुला पक्षको घरमा आँपको बिहे हुन्छ, बेहुली पक्षको घर जतिसुकै टाढा भए पनि सकेसम्म बेहुलीको घरमा आँपको बिहे गर्ने समय केही पछि नै होओस् भन्ने मान्यता छ। बेहुलीको घरमा पनि आँपको बिहेमा विभिन्न किसिमका गीत गाइन्छ। दुवैतिर गाइने गीतमा भने समानता हुन्छ तर आँपको बिहेको समयमा गाइने गीतमा अहिलेसम्म अश्लीलता रहेको सुनिन्छ। कतिपयले के भन्ने गरेका छन् भने आँपको बिहे गरेर पवित्र वैवाहिक बन्धनमा बाँधिदा आँप र महुआको रूख जसरी स्थिर तथा पवित्र रहन्छ, उसैगरी बेहुला र बेहुलीको जोडी पनि स्थिर रहिरहन्छ। जस्तोसुकै आँधीबेहरी, घाम, वर्षा र अन्य प्राकृतिक प्रकोप सहेर आँपले छाया, फल र पातबाट समाजको सेवा गर्छ, उस्तै पवित्र जोडी बन्छ भन्ने मान्यता छ।
आँप र महुआमध्ये पहिले आँपको बिहे गर्ने चलन छ। आँपपछि महुआको बिहे गरिन्छ। आँपको बिहे मात्र गर्ने चलन पनि छ। आँप र महुआमध्ये एउटैको गर्नुपर्ने अवस्थामा आँपलाई छुटयाउनै हुन्न। आँपको बिहे नगरी सामान्यतया बज्जिका संस्कारमा जन्ती लैजाने वा घरमा भित्र्याउने चलन छैन।
विवाहको विभिन्न विधिको समयमा जग्गेमा आँपको पात, मुना तथा काठको प्रयोग गरिन्छ। आँपको विभिन्न अवयवको प्रयोगबिना मधेसमा विवाहको विधि पूरा हुनै सक्दैन। बिहेको लगन लैजाँदा होस् वा दुवैतिर कोसेली पठाउँदा होस्, आँपको पात नभई हुन्न। विवाहजस्तो पवित्र कार्यलाई आँपको पातले झन् पवित्र पारेको विश्वास बज्जिका लोकजीवनमा रहेको छ।
अन्य संस्कार तथा संस्कृतिमा आँपको विभिन्न अवयवको प्रयोग गरिन्छ। मृत्यु संस्कारमा आँपको अवयव नभई हुन्न। मुर्दा जलाउनसमेत आँपको काठ थोरै भए पनि हाल्नै पर्छ। दाह–संस्कारदेखि तेर्ह दिने कर्मसम्म लगभग सबै कर्महरूमा आँपको दाउरा, कलश तथा पातको प्रयोग गरिन्छ। आँपको अवयवबिनाको मृत्यु संस्कार असम्भव हुने बज्जिका संस्कृतिमा आँप जीवन पद्धतिसित गाँसिएको छ।
घरमा प्रयोगमा आउने फर्निचरमा आँपलाई उच्च मध्यमस्तरको काठ मानिन्छ। विभिन्न देवदेवी तथा लोकदेवी र कुल देवी–देवताहरूको पूजामा प्रयोग गरिने आसनमा आँपकै पिर्का चाहिन्छ। घरमा खाना खाने बेलामा सर्वसाधारणले प्रयोग गर्ने पिर्का पनि आँपकै राम्रो मानिन्छ। साधारण फर्निचरहरू–दराज, ढोका, बाकस, खाट, कुर्सी, पलङ आदि आँपको भए ढुक्क भएर प्रयोग गरिन्छ । घरमा माछा–मासु पाकेको दिन आँपको पिर्कामा बसेर खानुहुँदैन भन्ने लोकमान्यता रहे पनि विस्तारै यो कमजोर हुँदै गएको छ।
वसन्त ऋतुमा आँप फुल्न शुरु हुन्छ । आँपको मुजुरा देखेर मनै हर्षित हुन्छ। यसको सुमधुर नशालु गन्धले जसकसैको मन मोहित पार्छ। बज्जिका संस्कृतिमा अर्कै हिसाबले नयाँ वर्ष मनाइन्छ। नयाँ वर्ष अर्थात् वैशाखको पहिलो दिन बज्जिका संस्कृतिमा सतुवान मनाइन्छ। सतुवान भन्नाले सतुवा खाने दिन बुझिन्छ । विभिन्न पाँच अन्नको सातु खाने दिनको रूपमा नयाँ वर्षलाई लिइन्छ । यस दिन आँपको चिचिला अर्थात् टिकोलाको चटनी अर्थात् अचार अनिवार्य खानुपर्छ। यस दिन आँपको चिचिलाको अचार र सातु आफ्नो कुल देउतालाई चढाउने चलन छ। दोस्रो दिनलाई जुड शीतलको रूपमा बज्जिकाञ्चलमा मनाउने गरिन्छ। जुड शीतलको दिन आँपको रूखमा समेत बासी पानी छम्किने चलन छ।
छोरी र बहिनीकहाँ आँपको मौसममा कमसेकम एक दिन आँप लगिदिनुपर्छ। आँपको रूखको पहिलो फल वा हरेक वर्ष फलेको आँपको पहिलो एउटा फल साधु वा यस्तै पवित्र कर्म गर्नेलाई दान गर्नुपर्ने चलन छ। दान गर्दा ठूलो पुण्य प्राप्ति हुने विश्वास रहेको छ। आँपको फल पाक्ने बेला एकपल्ट दिदीबहिनीकहाँ कोसेली पुर्याउनु संस्कारको रूपमा रहेको छ। दिदीबहिनीले पनि कोसेलीको रूपमा आँपको अपेक्षा गरेका हुन्छन्। बज्जिका जनजीवनमा आँपको फलको कति महत्त्व छ भन्ने कुरो यसबाट स्पष्ट हुन्छ।
लोक आस्थाको महापर्वको रूपमा रहेको छठ बज्जिकाञ्चलको उपज मानिन्छ। छठमा आँपको पातको व्यापक प्रयोग गरिन्छ। लोहोटालाई कलश बनाउन आँपकै पालुवाको प्रयोग गरिन्छ । आँपको हाँगाको कलिलो डाँठले नहाखाएके दिनदेखि पारनको दिनसम्म दाँत माझ्ने चलन छ। अन्य वनस्पतिको दतिवन प्रयोग गर्नुहुँदैन भन्ने मान्यता अझै ग्रामीण समुदायमा छ। एकादशी, सत्यनारायण व्रतकथा र अन्य धार्मिक उत्सव वा पवित्र दिन आँपकै दतिवनले दाँत माझ्ने चलन छ।
बज्जिका लोकजीवनमा आँपसित सम्बन्धित विभिन्न लोकगीत प्रचलित छन् । अनेक उखान टुक्काहरू आँपबारे र आँपसित गाँसिएका छन्। आँपको स्वाद र प्रयोजनबारे अनेक कथाहरू प्रचलनमा रहेका छन्। आँपको पात, जरा, फल, काठको विषयमा सकारात्मक मान्यता रहेको छ। जस्तोसुकै शुभाशुभ कार्यमा आँपको प्रयोगले सकारात्मक प्रतिफल दिने विश्वास गरिएको छ।