चन्द्रकिशोर
प्रतीक दैनिकका स्तम्भकार विश्वराज अधिकारी एउटा सफल सामाजिक–आर्थिक मामिलाका विश्लेषक मात्र होइनन्, स्थापित कथाकार पनि हुन्। उनका ६ वटा कथासङ्ग्रह प्रकाशित भइसकेको छ भने केही पाण्डुलिपि तयारी अवस्थामा छ। उनका प्रकाशित कृतिहरूमा सूर्य, लघुकथा सङग्रह, बहलिया कथा सङ्ग्रह, अभिनय लथुकथा, मधुर मिलन कथा र मिसिसिपीको किनार कथासङ्ग्रह छ। केही पहिले उनको ‘रानीघाट’ नामक कथासङ्ग्रह बजारमा आएको छ। यो वीरगंजका पुस्तक पसलहरूमा समेत उपलब्ध छ।
विश्वराजको लेखन संसार व्यापक छ। उनले सामाजिक–आर्थिक विषयका एक दर्जन पुस्तकसमेत प्रकाशित गरिसकेका छन्। सर्लाही, रौतहटदेखि पर्सासम्मको परिवेशमा हुर्केका उनी आफ्नो रचना संसारमा पनि त्यस परिवेशलाई चिनाउन, पक्रिन र गाँसिन खोजेको पाइन्छ, जुन माटोमा हुर्के, बढे र खेले, आफूलाई चिने, खोजे र छामे, त्यसलाई कथा होस् वा कविता उनले त्यसको सुवासलाई चित्रित गर्न खोजेकै हुन्छन्। नेपाली र अङ्ग्रेजीमा निरन्तर कलम चलाइरहने विश्वराज यतिखेर बज्जिका भाषाका समेत परिचित हस्ताक्षर भइसकेका छन्। मधेसी जीवन, भोजपुरी परिवेश यिनका कथ्यका नछुटिने पाटाहरू हुन्।
‘रानीघाट’ पुस्तकमा साहित्यकार नवराज रिजालले विश्वराजका पारिवारिक पृष्ठभूमि खोतल्दै लेखेका छन्, “वि.सं. १९३५ तिर काभ्रेको पनौतीबाट तराई झरेका यज्ञधर उपाध्यायका चौथो पुस्ताका सदस्य हुन् उनी। वन विभागका कर्मचारी रहेका उनका जिजुबाजे यज्ञधरले तराईमा नै बसोवास शुरु गरे। त्यसपछि उनीहरूले कहिल्यै पहाडतिर बसाइँ सारेनन्। तराईलाई सबैथोक ठाने, माने र त्यसैको विकासका लागि जाने बुझेको गरे। विकासका पाइलाहरूमा गतिविधि बढाए। उनीहरूको पहाडसँगको सम्बन्ध टुट्यो। खाँटी तराईवासी बने उनीहरू।” उनी थप्छन्– “पाँच वर्षको उमेरमा पिताले संस्थापक प्रधानाध्यापक भएर स्थापना गरेको र अध्यापन गराइरहेको रौतहटको सिमरा भवानीपुरमा पुर्याइएका उनले कक्षा चारसम्मको अध्ययन त्यसै विद्यालयबाट पूरा गरे। २०२६ सालदेखि वीरगंजबाट कक्षा ५ को अध्ययन शुरु गरेका उनले २०३३ सालमा राष्ट्रिय विद्यापीठ वीरगंजबाट एसएलसी परीक्षा उत्तीर्ण गरे। ठाकुर राम कलेज वीरगंजबाट आइकम र विकम उत्तीर्ण गरी त्रिवि काठमाडौंबाट बजारशास्त्र विषयमा एमबिए पूरा गरेका अधिकारीले अमेरिकाबाट पनि सोही विषयको स्नात्तकोत्तर तहको शिक्षा पूरा गरी हाल प्राध्यापन पेशामा संलग्न रहेका छन्।”
विश्वराज यतिखेर अमेरिकाको लुजियाना राज्यको लाफियत शहरमा रहेको ‘साउथ लुजियाना’ कम्युनिटी कलेजमा प्राध्यापनरत छन्। उनी अमेरिका पढ्न गएको र बसोवास थालेको पनि एक दशक नाघिसकेको छ । आजभन्दा ५७ वर्ष अघि सर्लाहीको छतौनामा जन्मेका उनी, केही वर्षपछि वीरगंज श्रीपुरमा बसाइँसराइ गरेका थिए । त्यसैले उनी अमेरिका पुगे पनि आफूलाई ‘वीरगंजिया’ भनेर चिनाउनमा नै गर्व गर्दछन्। हो यही वीरगंजसँगको सामीप्यले उनलाई आफ्ना कथाहरूमा स्थानीय परिवेश पस्किन उत्प्रेरित गर्दछ । विश्वराजको सबल पक्ष भनेको उनी वीरगंजबाट लामो समयदेखि टाढा बसेर पनि यहाँको भाषा, संस्कृतिलाई भुल्न सकेका छैनन्। देहाती लवजको उच्चारण, लोप हुन थालेका पुराना शब्दहरूको प्रयोग गर्ने सामथ्र्यले प्रस्ट्याएको तथ्य के हो भने उनी आफ्नो मोटो–पानीलाई बिर्सिन सकेका छैनन्।
‘रानीघाट’ कथासङ्ग्रहबारे नवराज रिजालले मूल्याङगन गर्दै लेखेका छन्– वीरगंजका स्थायी बासिन्दा अधिकारीका बाल्यजीवनसँग सामीप्यता राख्ने अर्थात् संस्मरणमूलक यी कथाले तपाईंहरूलाई ४०/४५ वर्ष अघिको वीरगंज पुर्याउँछन् । त्यहाँको वस्तुस्थिति अवगत गराउँछन्, जीवनका आरोह/अवरोह देखाउँछन्। मानिसको सोचाइ तथा चिन्तनधारा बुझाउँछन्। हिजोको रानीघाट र आजको परिवेशको तुुुुुुुुुुुुुुुुुुलना गराउँछन्। अनि मानवीय जीवनका उहापोह अवगत गराउँछन् तथा हिंड्न सिकाउँछन् आस्था र विश्वासको गोरेटोमा।
त्यसैगरी गुञ्जन नारी साहित्य संस्थाका अध्यक्ष गीता केशरीले उक्त पुस्तकमै आफ्नो अभिमत प्रकट गर्दै लेखेकी छन्– विगतका सम्झनालाई लिएर वर्तमानमा आफ्नो मनमा उठेका ती कोलाजहरूसँग जोडेर व्यक्त गरी शान्ति प्राप्त गर्न कलम उठाउँछन् र कथाहरू लेख्न थाल्छन्। धेरैजसो कथाहरूमा म पात्रको रूपमा आफूलाई प्रवेश गराई घटना र सन्दर्भ मिलाएर आफूले प्राप्त गरेको अनुभव, विचार र भाव सम्झीसम्झी व्यक्त गरेका छन् भने प्रस्तुतिभित्र विस्थापितहरूको मनको अवस्था प्रभावकारी तरिकाबाट अभिव्यक्त भएका छन्।
विश्वराज अधिकारीको ‘रानीघाट’ तथा अन्य कथासङग्रह हेर्दा लाग्दछ उनका कथाहरू तटस्थ र निष्पक्ष मूल्याङगनका लागि समीक्षकहरूको बाटो पर्खिरहेको छ। यतिखेर प्रायोजित प्रचार र नियोजित लेखनले गर्दा समीक्षाको क्षेत्रमा समकालीन लेखनको सही तस्वीर आउन सकिरहेको छैन। समर्पित, निष्ठावान रचनाकारहरूलाई किनारामा हाल्दै आआफ्नो गिरोह, गुट वा राजनीतिक वैशाखीमा हिंड्ने वृत्तलाई महिमा मण्डन गर्ने गलत प्रवृत्ति मौलाउँदै गएको अवस्था छ। यी सबका बावजुद विश्वराजका कथाहरू पाठकको नोटिसमा परेको छ। यसले पनि उनको लेखन सामथ्र्यको जरोलाई पहिल्याउँछन्।
पहिले नै भनिसकियो उनी हाल प्रवासमा छन्। तर पनि उनी नियमितरूपमा प्रतीक दैनिकमा साप्ताहिक स्तम्भ कोर्छन्। नेपालमा छँदा तत्कालीन मूलधारका प्राय: पत्रिकाहरूमा उनका रचनाहरू प्रकाशित भइरहेका हुन्थे, अहिले पनि त्यो क्रम रोकिएको छैन। अमेरिकाको भागदौडको जीवनबीच नवसिर्जनका लागि समय निकाल्न सक्नु, लेखनमा विविधताको इन्द्रेनी प्रस्तुत गर्नु, आफ्नो ब्लगमा आवधिक नूतन सामग्री पस्किनु र सामाजिक सञ्जालमार्फत् नेपाली माटोप्रतिको माया प्रकट गरिरहनुले उनको व्यक्तित्वको गहिराइ र मेहनत गर्ने खुबीलाई स्थापित गर्दछ यो नै विश्वराज हुनुको विशेषता हो। विश्वराज कुनै आर्थिक आर्जनका लागि लेख्दैनन्। न उनी कुनै पुरस्कार थाप्ने भीडमा आफूलाई उभ्याउँछन्। महाकवि तुलसी दासको शब्दमा ‘स्वान्त: सुखाय’ नै उनको लेखनको उत्स हो। उनी लेखनमार्फत् आफ्नो देश, आफ्नो शहर, आफ्नो अतीतलाई सम्झिरहन्छन्, त्यो सँग आफूलाई जोडिरहन्छन्। उनले बताउन चाहेको मूल पक्ष हो– मुलुकबाहिर बसे पनि आफ्नो माटो बिर्सिएको छैन।
रानीघाट कथासङ्ग्रह उनका अन्य कथासङ्ग्रह जस्तै पाठकहरूले रुचाउँछन् । तीस र चालीसको दशकको वीरगंजसँग परिचित पुस्तालाई अतीतमा फर्काउँछ, नयाँ पुस्तालाई विगतसँग साक्षात गराउँछ र भित्रका कथाहरूले कथाका कतिपय पात्रहरू छेउछाउमै कतै जम्काभेट भएको वा कथा पढेपछि त्यसका पात्रहरूले पछयाइरहेको अनुभूति हुन्छ। यस्तो अनुभूतिको स्पर्श हुन सक्नुले लेखकको लेखकीय जग मजबुत रहेको देखाउँछ। वीरगंजका विश्वराज अधिकारी आफ्ना अनुभूति पस्कँदै ख्यातिको आयतन फराकिलो पार्दै जाऊ्न, यसले उनलाई वीरगंजिया हुनुमा जति गर्व लाग्छ शहरले पनि उनीलाई त्यत्तिकै मान गर्छ।