वीरगन्जबाट २० किलोमिटर पर एउटा गाउँ सतवरियामा दुई महिनायता एउटै वडाका २६ जनाको मृत्यु भयो । सरकारी निकाय जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘ज्वरो आएर’, ‘चिसोले’, ‘निमोनिया भएकोले’ उनीहरूको निधन भएको बतायो । आजको दिनमा कुनै व्यक्तिले मृत्युवरण गर्नुमा यी कारण पर्याप्त छन् ? सतवरिया घटनाको भित्री पाटो :
राधेश्याम पटेल, सतवरिया पर्सा
‘खोज पत्रकारिता केन्द्रका लागि’
वीरगन्जबाट २० किलोमिटर पश्चिममा पर्छ पोखरिया नगरपालिका । गएको वर्ष मात्रै नगरपालिका घोषणा भएको यसको वडा नम्बर ४ मा पछिल्लो दुई महिनामा २६ जनाको मृत्यु भयो । १३ माघमा वीरगन्जका सञ्चारमाध्यमले यो दु:खद घटना बाहिर ल्याए । त्यसको भोलि र पर्सिपल्ट राजधानीका केही सञ्चार माध्यमले यसलाई छिटफुट स्थान दिए ।
घटनास्थल पुग्न कठिन हुने पहाडको कुनै दुर्गम गाउँ होइन, मधेसको त्यो गाउँ, त्यो पनि नगरपालिका । २०७२ मङ्सिर पहिलो सातादेखि र माघ पहिलो सातासम्म दुई महिनामा एउटै वडाका २६ जनाको मृत्यु । कारण जेसुकै भए पनि एउटै वडामा यति ठूलो मानवीय क्षति हुनु सामान्य घटना थिएन । अनि हामी सतवरियाको त्यो बस्तीमा पुगेर खोतल्यौं यस प्रकरणको भित्री पाटो ।
यस वडामा दुई हजार ६ सय हाराहारी जनसङ्ख्या छ । घरधुरीका हिसाबले हजाम १५ घर, चमार २७५ घर, लोहार २५ घर, कानू ३ सय घर, अहिर ७५, पहाडी समुदाय १५, रौनियार २५० र कोइरी १० घर छन् ।
गाउँमा सबैभन्दा पहिले भेटिइन् प्रमिलादेवी कानू । एक महिना अघि मात्रै १२ वर्षीया छोरी गुमाएकी प्रमिलासँग भन्नका लागि शब्द थिएन । निन्याउरो मुहारले धेरै कुरा भन्थ्यो । शोकाकुल उनले घर अगाडि उभिएर बल्लतल्ल भनिन्–“अहिले पनि विश्वास लाग्दैन, रानी बितेको ।”
रानी कक्षा ६ मा पढ्थिन् । डेढ सातादेखि बिरामी थिइन् । झाडापखाला लागेको थियो । प्रमिलाले गाउँकै अस्पतालका डाक्टरलाई देखाइन् । औषधीले काम गरेन । हजुरबुवाले छिमेकी हरिहरपुर गाउँबाट झाँक्री बोलाएर झारफुक गराए । रानीलाई सन्चो भएन । नजिकैको बसतपुर गाउँको चिनेको झोले डाक्टर मुन्नाबाट औषधी किनेर खुवाए । उल्टो रानी बर्बराउन थालिन् । एक दिन रानीले–“हजुरबुबा, मेरो आँखाले केही पनि देख्न सक्दैन”–भनिन् । ससुरा–बुहारी भएर रानीलाई वीरगंज, नारायणी उपक्षेत्रीय अस्पताल पुर्याए । केही बेरमैं उनको मृत्यु भयो ।
कलिलो उमेरकी खेल्नेखाने उमेरकी छोरी गुमाएको कानू परिवारको कोही नरोई बोल्न सक्दैन । निकै बेर थामिएर आमा प्रमिलाले भनिन्–“पोखरिया अस्पतालमा राम्रो डाक्टर राखिदिनु, नत्र अस्पताल बन्द गरीदिनु ।”
सतवरिया गाउँकै सोनु साह कानूको ६ महिना २ दिनको छोरो अर्जुन बित्यो । अर्जुन र करण जुम्ल्याहा जन्मिएका थिए । जेठो अर्जुनको माघ पहिलो साता मृत्यु भयो । राति आमाको दूध चुसेर निदाएको अर्जुन बिहान आमा बिउँझदा जीवित थिएन ।
पोखरिया बजारमा मिठाई पसल छ सोनुको । छोराको मृत्युले पत्नी विक्षिप्त भएकी छन् । सोनु भन्छन्–“एक सातासम्म त जीवन नै समाप्त भएझैं लाग्यो । हिजोआज जीउ अलिक हलुको हुँदैछ ।” छोरा अर्जुनलाइ कुनै रोग थिएन । राति राम्रैगरी सुतेको छोरो बिहान जीवित रहेन । घटना कसरी भयो भन्नु ? कसको दोष भन्नु ? बिखलबन्दमा छ साह परिवार । अव करणलाई कसरी बचाउने चिन्तामा छन् उनीहरू ।
यो दुई महिनामा गाउँका अरू २४ जनाले ज्यान गुमाएका छन् । एकपछि अर्को गरेर मानिस मर्न थालेपछि गाउँ त्रसित छ । एउटै वडामा यति ठूलो भवितव्य कसरी पर्न गयो ? गाउँले चिसो र जाडोलाई दोष दिन्छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले सबैको मृत्युको कारण फेला पारेको रहेछ । घटना धेरै चर्चामा नआओस् र पत्रकारले पनि ‘अज्ञात कारणबाट मानिस मरेको’ समाचार नदिऊन् भनेर हुन सक्छ जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले ‘सबैको मृत्युको कारण खुलेको’ प्रतिवेदन सार्वजनिक गर्यो । जिल्ला जनस्वास्थ्य कार्यालय, पर्सा मातहतको पोखरिया अस्पतालका मेडिकल अधिकृत डा. रोशन चौरसियाले २६ जनाकै मृत्युको कारण सार्वजनिक गरे ।
माघ १३ गते जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका शाखा अधिकृत राजकिशोर दासको नेतृत्वमा सतवरिया गाउँमा प्रारम्भिक अनुगमन तथा तथ्याड्ढ सड्ढलन गरियो । जस अनुसार–सोनु साह कानूका दूर्ध छोरा अर्जुन मृत फेला परेको, रामबाबू साहकी छोरी रानी कुमारी
(१२) चिसोले, जानकी देवी (७४) झाडापखाला र ज्वरोले, जादोलाल महतो (६५) टाउकोको घाउले, रामचन्द्र महतो (७३) फोक्सोको क्यान्सरले, धुन साह कानू (९०) पक्षघातले, सोमरावती मियाँ (३४) आत्महत्या गरेकोले, प्रद्युम्न रामको १२ दिने छोरी चिसोले, शिवदुलारी चौहान (५५) अपा· पक्षघातले, लालबहादुर ठाकुरको नाति (३ महिना) एसआइडिएसले, पुकार साह (२०) ब्रेन टयुमरले, रामाज्ञा साह कानू (७५) र ढोडा महतो (७४) मृर्गौला खराब भएकोले, रोज मियाँ (७३) खोकी र ज्वरोले, कलहीदेवी राम (७०) ज्वरो र खोकीले, समुद्रदेवी राम (२२) धेरै रगत बगेकोले, उनकी एक दिनकी छोरी कम तौलकी भएकोले, श्रीराम महतो चौहान (६०) मानसिक रोगी भएकोले, नन्दलाल साह (१०२) बूढो भएकोले, भोजियादेवी (७५) पुरानो दमको रोगी भएकोले, रिंकु कुमारी राम (५ महिना) झाडापखाला तथा ज्वरो आएकोले, आरतीकुमारी राम (१८) मृगौला खराब भएकोले, मकसुद मियाँ (५५) लिभर क्यान्सरका कारणले, लोथा महरा चमार (६०) झाडा पखालाले, उनकी २ दिने नातिनी एसआइडिएसले, बाबूलाल राम (५५) को पक्षघातबाट मृत्यु भएको देखाइयो ।
विपन्नता र गरिबी
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको यो प्रतिवेदनमाथि राष्ट्रिय र क्षेत्रीय स्तरमा खासै बहस र चर्चा भएन । पुस र माघ महिनाभित्र मधेसको एउटा गाउँका यति धेरै मानिस मर्दा काठमाडौले कुनै चासो वा चर्चा गरेन, मधेसमा पनि यसको गम्भीरताबारे बहस, छलफल भएन ।
यति ठूलो सङ्ख्यामा नागरिक ज्वरो आएर, निमोनिया भएर, कम तौलजस्ता कारणले मरेको प्रतिवेदन दिन कुनै विशेषज्ञ आवश्यक पर्दैन । त्यस अर्थमा जनस्वास्थ्य कार्यालय पर्साको त्यो प्रतिवेदन सरकारी झाराटराइ मात्रै थियो । घटनाको सामाजिक, अर्थ– राजनीतिक दृष्टिबाट बहस, विश्लेषण जरुरी थियो, जुन भएन ।
यो मृत्युकथाले किन मुलुकभर चर्चा पाएन ? दलित बस्ती घुमेर फर्केपछि हाम्रो निचोड थियो– त्यहाँ मर्नेहरू प्राय:जसो विपन्न र गरिब थिए । उनीहरू आफैं बोल्न सक्दैनथे । उनीहरूको पक्षमा बोलीदिने पनि कोही थिएन ।
हामीले पटकपटक कुरा कोटयाएपछि स्थानीय ६० वर्षीय जोगिन्दर साह कानूले सरकारतिर औंला ठडयाए । उनले भने– “यो घटना हुनुमा पोखरिया अस्पतालको लापरवाही जिम्मेवार छ ।”
अनि हामीले पोखरिया अस्पतालको व्यवस्थापन र त्यहाँको जनशक्तिबारे जान्न खोज्यौं । रु २ करोड ५१ लाखमा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएको पोखरिया अस्पताल अहिले आफैं थला परेको छ । १५ शय्या क्षमताको उक्त अस्पतालको उद्घाटन २०५९ सालमा तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र महतोले गरेका थिए । आर्थिक वर्ष २०७२/०७३ को बजेट जम्मा रु ६३ लाख ८९ हजार छ । यसमध्ये बर्सेनि रु १० लाखको औषधी खरिद गर्नुपर्छ । यसमा चर्को चलखेल हुने गर्छ ।
अस्पतालमा मुश्किलले एकजना चिकित्सक र कर्मचारी भेटिन्छन् । एक मेडिकल सुपरिटेन्डेन्ट र दुई मेडिकल अधिकृतको दरबन्दी छ । तर दुईजना मेडिकल अधिकृत डा. रोशन चौरसिया र डा. अनिसा महतो मात्रै छन् । ६ जना नर्सको दरबन्दी रहेको यस अस्पतालमा केही दिन अघिसम्म तीनजना नर्स थिए । पुष्पा ओली, शुभेच्छा चापागााईं र रीना पासवान सरुवा भएर एक महिना पहिले अन्यत्र गए । जन स्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतो भन्छन्–“मध्यमाञ्चाल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडाले सरुवा गरेकोले अहिले अस्पतालमा एकजना पनि नर्स छैनन् ।”
तीनजनाको दरबन्दी रहेको सो अस्पतालमा एकजना मात्र अनमी छन् । १२ माघदेखि उनी पनि सुत्केरी बिदामा छिन् । एकजना एचए सबिना माझी र अहेबद्वय नरेश साह र रामनारायण सिंह छन् । ल्याब टेक्निसियन निरीक्षक सुशील चौरसिया छन् । मासिक ४० भन्दा बढी सुत्केरी केस आउने यो अस्पतालको ‘बर्थिग सेन्टर’ अहिले बन्द छ ।
अस्पताल किन यतिबिघ्न लथालि· भयो ? जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख महतो र अस्पताल विकास समितिका प्रमुख उमेश चौहानका आआफना तर्क छन् । अस्पताल विकास समितिका प्रमुख उमेश चौहानको उदासीनताले औषधी खरिदलगायत काम नभएर यस क्षेत्रको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको महतोको भनाइ छ । तर चौहान यो मान्न तयार छैनन् । उनी भन्छन्–“औषधी खरिद टेन्डर प्रक्रियाबाट गर्नुपर्ने भएकोले दुई महिना ढिलो भयो ।”
पोखरिया नगरपालिका–४ का वडा सचिव साधु साह रौनियार अस्पताल र औषधीबाहेक यो गाउँमा अरू पनि समस्या रहेको बताउँछन् । उनको भनाइमा यही वडामा यति ठूलो क्षति हुनुमा सामाजिक कारण पनि छ । साधु भन्छन्–शिक्षा र सचेतनाको कमी छ । गरिबिका कारण रोगको पहिचान गरी समयमा उपचार गर्न सक्दैनन् । त्यसैले यति ठुलो क्षति भयो ।
ज्वरो, झाडापखाला र निमोनियाजस्तो मामुली कारणले यति धेरैको मृत्यु हुनु मानव अधिकारका दृष्टिले पनि थप बहस र छलफलको विषय हुनुपथ्र्यो, तर भएको छैन ।