नेपालमा प्रकृतिले पानीको यति पर्याप्त दिएको छ कि पानीको उपयोग गरेर उन्नत र अद्वितीय खेती गर्न सकिन्छ भने जलविद्युत् उत्पादन गरेर देशलाई प्रमुख ऊर्जा उत्पादक मुलुक मात्र बनाउन सकिन्न, निर्यात गरेर देशको आम्दानी पनि बढाउन सकिन्छ। तर जाँगर नभएपछि जस्तोसुकै पनि स्रोत केही काम लाग्दैन। भोको मानिसलाई कसैले राशनपानीको व्यवस्था गरिदिन सक्छ, पकाएर आफैंले ख्याइदिन सक्दैन। नेपालको हविगत त्यस्तै छ। नेपाल देश गरीब छ, तर यहाँको जनता अमीर देखिएको छ। छ महिना लामो मधेस आन्दोलन चल्दा, चार महिनासम्म भारतीय नाकाबन्दी हुँदा पनि यहाँको जनताको निधारमा पसिना देखिएन। जतिसुकै महँगो ग्याँस र पेट्रोलियम पदार्थ किनेर पनि भान्सामा चुलो बलेकै थियो, सडकमा गाडीहरू कुदेकै थिए। यस्तो हुनुमा बाहय दबाबविरुद्ध जनताको अपार संयम र धैर्यले मात्र काम गरेको थिएन, जनतासँग सामथ्र्य पनि रहेको गुहय बुझ्न गार्हो परेन। तर त्यही जनता र त्यही मुलुकमा आफ्नो हुतिमा केही हुन नसक्ने, अर्काकै दयामा बाँच्नुपर्ने अवस्था किन आयो, बुझि नसक्नु भएको छ।
अमेरिकाले पिङपाङ कूटनीति आरम्भ नगरुन्जेल चीन दुनियाँबाट एक्लिएको थियो। चीनलाई हेर्ने विश्वको दृष्टिकोण कि सहानुभूतिशील थियो कि शत्रुतापूर्ण। दुनियाँबाट टाढिएको चीनले कसैको दयाको याचना गरेन, भित्रभित्रै दु:खकष्ट सहेर राष्ट्र निर्माणमा कसिएको थियो। एक्लिएको चीन जब असीको दशकको शुरुआतमा दुनियाँमा प्रकट भयो, न निर्धो थियो, न याचक। बाहय मदतबिना, प्रविधि र पूँजीको आफैं निर्माण गरी उसले विश्वलाई पहिलो पहिचानबाटै दग्ध पारेको थियो र आजपर्यन्त उसको प्रगतिको दिशामा तगारो लाग्न सकेको छैन। नेपाललाई विश्वका जति मुलुकले माया गरेका छन्, सहयोगको हात बढाएका छन्, नेपाल आज स्वीटरजल्यान्ड र सिंगापुरभन्दा माथि नपुगे पनि हाराहारीमा विकसित हुनपर्ने थियो। राजाको समयमा सामन्तवादले देश फस्टाउन सक्दैन भनियो। २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि सङ्क्रमणकाल भनियो। त्यसपछि माओवादी द्वन्द्व शुरु भयो । देशले जेनतेन जगेर्ना गरेका भौतिक संरचना तहसनहस पारियो । यो सङ्क्रमणकाल सकियो देशमा गणतन्त्र आयो। गणतन्त्र आएकै एक दशक हुन लागेको छ, देशको अवस्था उही सामन्तवादभन्दा अलिकति पनि उँभो लाग्न सकेको छैन।
देशले पूँजी र प्रविधिको अभावमा फडको मार्न सकेन सत्य कुरा हो। तर पूँजी नेताहरूको खल्तीमा पुगेपछि अभाव हुने नै भयो। माओवादी द्वन्द्व निदान गर्न देशको खर्बौं रुपियाँ खर्च भयो, त्यो पूँजी कहाँ गयो ? देशले जहाँ खर्चेको भए पनि पैसा त देशमैं हुनुपर्ने हो। पैसाको लगानीबाट उन्नति प्रगतिको केही झल्को त देखिनुपर्ने हो। हो नेताहरूले आलिशान भवन खडा गरेको देखिन्छ। हात्ती छाप चप्पल लगाउनेहरूको हात्तीको जस्तो कद बनेको देखिन्छ, जङगलमा भ्याकुर खाएको मुख पाँचतारे रिसोर्टबाहेक खाना खान रुचाउँदैन भन्ने देखिएको हो। अनि प्रगति र उन्नतिको नाममा एउटा गाउँलाई पूर्ण सिंचित क्षेत्र भनी कार्यक्रम गरिन्छ। देशमा भएका नहरहरू बन्द भए, किन र कसरी कसैले खोजीनीति गर्दैन। आफ्नो हुतिले वल्लो गाउँबाट पल्लो गाउँसम्म नहर खन्न सक्दैन, तर पूर्ण सिंचित क्षेत्र भनेर हाँसोलाग्दो कार्यक्रमहरू पनि चलाइन्छ । इमानदारिताको नामा यस्तो ठगी गर्दा देश कसरी सिंचित हुन्छ, कसरी प्रगति गर्छ ?