प्रस, वीरगंज, ११ असोज/
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मोर्चाको संयुक्त नाकाबन्दी आज पाचौं दिन पनि मितेरी पुलमा जारी छ ।
मितेरी पुलमा जारी नाकाबन्दीप्रति भारत तथा नेपालका विभिन्न सङ्घंसंस्थाहरूले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागीहरूका लागि खाजा, राशनको व्यवस्थासमेत गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका आन्दोलन जनपरिचालन समितिका संयोजक प्रदीप यादवले जानकारी गराएका छन् । नगवा युवा क्लब, पर्सा बस ट्रक बडी बिल्डर्स, निर्माण व्यवसायी सङ्घ, महावीर स्थानका स्थानीय व्यापारीहरूले आज खाजा, पानी तथा चामल, दाल, तरकारीको सहयोग गरेका छन् ।
मितेरी पुलमा मोर्चाले गरेको नाकाबन्दीमा आज पर्साका पत्रकारहरूले पनि विरोध जुलुस निकाल्दै समर्थन जनाएका छन् । पत्रकारहरू धु्रव साह, आरके पटेल, शेखरबहादुर छतकुली, रितेश त्रिपाठी, अमित अग्रवाल, पवन तिवारी, नरेश सर्राफ, सन्तोष पटेल, अजय चौरसिया, दीपक चौरसिया, प्रणय कुमार, राम सर्राफलगायतको सहभागिता थियो । मधेसको माग जायज हो भन्दै घण्टाघरबाट निस्केको विरोध जुलुस नेपाल–भारत सीमा क्षेत्रमा रहेको मितेरी पुलमा पुग्दा नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले स्वागत गरेका थिए । पत्रकारहरूलाई स्वागत गर्दै अध्यक्ष महतोले देशको चौथो अङग सञ्चार क्षेत्र नाकाबन्दीमा सहभागी भएर आन्दोलनलाई थप सहयोग र ऊर्जा थपेको बताए ।
पर्साका सञ्चारकर्मीहरूले २०६२/६३ सालको आन्दोलनलगायत अन्य ठूल्ठूला आन्दोलनमा सहयोग गरेको र २०७२ को आन्दोलनलाई सार्थक बनाउन ऐक्यबद्धता जनाएकोमा उनले धन्यवाद व्यक्त गरे । देशमा छुट्टै पहिचान बनाउन सफल भएका पर्साका सञ्चारकर्मीहरूले आन्दोलनलाई निर्णायक तथा सार्थक बनाउन अझ सहयोगको आवश्यकता रहेको अध्यक्ष महतोले बताए ।
तीन दल अन्धो र बहिरो भएको कारण देख्न र सुन्न नसकेको बेला सञ्चारकर्मीहरूले सुनाउने र देखाउने समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।
त्यसैगरी आज सीमावर्ती रक्सौलका भारतीय नागरिकले पनि नाकाबन्दीमा बसेका राजनीतिक दलको लागि राशनको व्यवस्था गरेको आन्दोलनरत मोर्चाका नेताहरूले बताएका छन् ।