अनन्तकुमार लाल दास
२०४६ र २०६२/०६३ को जनान्दोलनपछि धेरै कुरामा परिवर्तन हुँदै गएको छ। सोही अनुरूप शिक्षाप्रति अपेक्षामा पनि बदलाव आएको छ। विद्यालय र विद्यार्थीहरूको सङ्ख्यामा वृद्धि भएको छ। उनीहरूलाई पढाउने र सिकाउने तरिकामा पनि सुधार भएको छ। सबैभन्दा राम्रो कुरो के देखा परेको छ भने शिक्षामा समुदाय र अभिभावकहरूको भागीदारी बढेको छ । अभिभावकहरूमा केटाकेटीहरूको शिक्षाप्रति जागरुकता बढेको छ। उनीहरू पहिलेभन्दा बढी सङ्ख्यामा आफ्नो सरोकार विद्यालयमा दर्ज गराउन थालेका छन्।
परिवार केटाकेटीहरूका लागि पहिलो पाठशाला हो, जहाँ आमाबुवासँग उनीहरूले धेरै समय व्यतीत गर्छन्। परिवारमा उनीहरूलाई फरकफरक किसिमको अनुभव प्राप्त हुन्छ, जसबाट उनीहरूले आआफ्नो सिकाइ आरम्भ गर्छन्। यस कारण हामी के भन्न सक्छौं भने केटाकेटीहरूको शिक्षामा परिवार, समुदाय र स्थानीय वातावरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ, जहाँबाट उनीहरू निरन्तर ज्ञानार्जन गरिरहन्छन् । यहाँ भन्न के खोजिएको हो भने विद्यालय बाहिर पनि अध्ययन गर्न सकिन्छ अर्थात् घर, कार्यस्थल र समुदायबाट पनि ज्ञान हासिल गर्न सकिन्छ। केटाकेटीहरूको विद्यालयबाट प्राप्त ज्ञानलाई विद्यालय बाहिरको ज्ञानसँग जोड्नका लागि पनि अभिभावक र समुदायको विद्यालयमा भागिदारीको सुनिश्चितता गर्नु आवश्यक छ। यस कारण यदि अभिभावक र शिक्षक केही साझा मुद्दाहरूमा मिलेर काम गर्छन् भने यसबाट विद्यार्थीहरूलाई राम्ररी बुझ्न मात्र सहयोग हुँदैन, उनीहरूको सिकाइमा पनि धेरै फरक परेको देख्न सकिन्छ। तसर्थ विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका पनि त्यतिकै महत्त्वपूर्ण रहेको प्रस्ट हुन्छ।
मेरो मममा धेरैपटक के प्रश्न उठ्ने गर्छ, कति अभिभावक आफ्नो जिम्मेवारीप्रति सजग छन् ? कति अभिभावकले आफ्नो जिम्मेदारी बुझेका छन् ? जो सजग छ, जसले आफ्नो जिम्मेवारी बुझेको छ तीमध्ये कतिजनाले आफ्नो भूमिका निर्वाह गरेका छन् ? कति विद्यालयहरूले विद्यार्थीहरूको विद्यालयबाट प्राप्त ज्ञानलाई बाह्य ज्ञानसँग जोड्ने प्रयास गर्छन् ? कति विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरूले यस कुरोलाई बुझ्छन् र प्राथमिकतामा राखेका छन् ? यसरी चिन्तन गर्दा म के देख्दछु भने शिक्षाको स्वरूपमा परिवर्तन भएको छ, शिक्षामा बदलाव आएको छ साथसाथै शिक्षामा निजी हस्तक्षेप पनि बढेको छ र यससँगै बढेको छ विद्यालयसँग अभिभावकहरूको अपेक्षा । जसैजसै शिक्षामा निजी विद्यालयहरूको सङ्ख्यामा बढोत्तरी भएको छ त्यसैगरी उनीहरूबीच प्रतिस्पर्धा पनि बढेको छ।
उनीहरूबीच अभिभावकलाई आकर्षित गर्न थरीथरीका क्रियाकलापहरू गर्ने चलन पनि बढेको छ जस्तै भवन निर्माण, खेल्ने सुविधाको प्रबन्ध, कक्षाकोठामा आरामदायक बसाइको व्यवस्था। यो राम्रो कुरो हो तर यी सबैथोक व्यवस्था गरिदिएर मात्र के अभिभावकको अपेक्षाको पूर्ति हुन सक्छ ? अर्को प्रश्न के पनि उठ्छ भने अभिभावकहरूको सम्पूर्ण अपेक्षालाई पूरा गर्ने जिम्मेवारी मात्र विद्यालयको हो ? यदि हो भने पनि कुन अपेक्षा जायज र कुन जायज होइन भन्ने कसरी निर्धारण गर्ने ? के सबै अभिभावकको अपेक्षा एकनासको हुन्छ ? यो धेरै कठिन प्रश्न हो। यसको जवाफ खोज्न समय लाग्छ । विद्यालयहरूलाई आफ्नो मुख्य लक्ष्य पनि ध्यानमा राख्नुपर्छ साथसाथै के पनि सोच्नुपर्छ भने अभिभावकलाई साथमा लिएर विद्यार्थीहरूलाई अझ राम्रो शिक्षा कसरी प्रदान गर्न सकिन्छ ?
शिक्षण अनुभवको दरम्यान मैले के पाएको छु भने राम्रो भवन, आरामदायक कक्षा कोठा, खुला खेल–मैदानले विद्यार्थी भर्नाताका अभिभावकलाई आकर्षित गर्छ तर त्यसपछि अभिभावकको अपेक्षा विद्यार्थीको परीक्षा परिणामसँग जोडिन पुग्छ। अर्थात् एक शैक्षिक सत्र पूरा भएपछि उसको सन्तानले कस्तो पपिरणाम हासिल गरेको छ। उसले परीक्षामा कति प्रतिशत अङक ल्याएको छ । यहाँसम्म कि अभिभावक–शिक्षक बैठकमा आउँदा विद्यार्थीले प्राप्त गरेको अङकको आधारमा नै आफ्नो धारणा त्यहाँ प्रस्तुत गर्छन्। विद्यालयबाट एउटा विद्यार्थीले पढाइबाहेक कति कुरा सिक्छ त्यसमाथि कति अभिभावकको ध्यान जान्छ भन्न कठिन छ, साथै विद्यालयहरू पनि यसबारे सोच्दैनन् किनभने धेरै विद्यालयहरूले यसबारे अभिभावकलाई बताउने गरेको मैले पाएको छैन।
एउटा घटना तीन दशकपछि पनि मेरो सम्झनामा आइरहन्छ। मेरो कक्षाका दुईजना विद्यार्थी एउटै परिवारका थिए । उनीहरू दुई भाइका सन्तान दाजु–बहिनी थिए। दाजुको नाउँ सुमन र बहिनीको सुनन्दा थियो। त्यस कक्षामा जम्मा पच्चीसजना विद्यार्थी थिए। प्रत्येक दिन प्रार्थनासभापछि विद्यार्थीहरू एक लाइनमा पहिलो तल्लामा रहेको कक्षाकोठामा जान्थे। म पनि उनीहरूसँगै कक्षाकोठामा पुग्थें। कक्षामा पुगेर सबै विद्यार्थीहरू रुटिन अनुसार किताबकापी झिकेर मेरो निर्देशनको प्रतीक्षा गर्थे। यी सबै काममा सुनन्दा जहिले पनि अगाडि थिइन्। प्रार्थना सभामा अगाडि उभिने, कक्षाकोठामा छिटो पुग्ने, काम गर्न तयार भइबस्ने, दिइएको काम फटाफट गर्ने, जोसँग पनि कुरा गर्न रुचाउने, शिक्षकहरूसँग नजानेका कुरा सोध्ने। ठीक विपरीत सुमन हरेक काममा पछि पर्थे। कक्षाकोठामा पनि चुपचाप बस्ने। मैले के अनुभव गरे भने उसलाई कुनै काम गर्न मन लाग्दैन्थ्यो। कैयनपटक प्रयास गरे तापनि मैले के बुझ्न सकिनँ, ऊ के गर्न चाहन्थ्यो ?
मेरो कक्षाको प्राय: हरेक विद्यार्थीलाई ड्रइङग गर्ने शोक थियो। मैले ड्रइङगलाई अन्तिम पीरियडमा राखेको थिएँ। यसो गर्नुको दुइटा कारण थियो । पहिलो विद्यार्थीहरूले छिटोछिटो काम सकाउने प्रयास गर्ने र दोस्रो छुट्टी भएपछि सबै विद्यार्थी खुशी भएर घर फर्कन पाउँथे। सुमन ढिलो काम गर्ने भएको हुनाले ड्रइङगका लागि पनि उसलाई थोरै समय प्राप्त हुन्थ्यो। एक दिन आफ्नो सबै काम अन्य विद्यार्थीसँगै सिध्याएको हुनाले ऊ खुशी देखिएको थियो। उसले बनाएको ड्रइङग हेरेर मैले के अनुभव गरें भने ड्रइङर्गमा उसलाई धेरै आनन्द प्राप्त हुन्छ। अद्र्धवार्षिक परीक्षा सकिएपछि तोकिएको दिन माक्र्ससीट लिन सबै अभिभावकलाई विद्यार्थीसहित उपस्थित हुन सूचना पठाइयो।
मलाई त्यो दिन आज पनि स्मरण छ, कम अङक ल्याएको हुनाले सुमनकी आमा ममाथि रिसाएकी थिइन्। उनको गुनासो थियो–“सुमनले कम अङक र उसकी बहिनी सुनन्दाले बढी अङक कसरी ल्याइन् जब दुवैलाई तपाईं नै पढाउनुहुन्छ ? म सुमनमाथि घरमा पनि बढी ध्यान दिन्छु तर पनि उसले यति कम अङक कसरी ल्यायो ? त्यहीं अर्कोतर्फ सुनन्दाकी आमा खुशी थिइन् तर आउँदो परीक्षामा अझ बढी अङक ल्याउन राम्ररी मिहनेत गर्ने सल्लाह दिइरहेकी थिइन्। मैले सुमनकी आमालाई सम्झाउँदै बढी ध्यान दिइरहेको बताउँदै ड्रइङगमा अव्वल रहेको हुनाले अलि बढी समय दिन्छु भने। “तपाईंले नै जब यस्तो कुरा गर्नुहुन्छ भने ऊ कसरी सिक्छ ?” उनले फेरि ममाथि अप्रसन्नता प्रहार गरिन्। सुमनकी आमाले ड्रइङगमाथि कुनै ध्यान दिइनन् किनभने त्यसमा अङक दिने प्रावधान थिएन।
विस्तारै सुमन मसँग खुलेर कुरा गर्न थालेपछि मैले के पाएँ भने घरमा उसलाई गणित, अङ्ग्रेजी, विज्ञान र नेपाली मात्र पढ्नुपथ्र्यो। त्यहाँ ड्रइङग गर्ने छुट उसलाई थिएन। अर्कोतर्फ सुनन्दा आफ्नो काम छिट्टै पूरा गरेर खुब खेल्थिन् र टीभी पनि हेर्थिन्। बहिनीले यी सबै गरेको हेरेर उसको मन पढाइमा लाग्दैनथ्यो र विद्यालयमा पनि त्यही विषय पढाउँंदा ऊ पढ्न रुचाउँनथ्यो। मैले सुमनकी आमालाई पढाइसँगै उसले रुचाएको कुरो गर्न दिने सल्लाह दिएँ। मैले उनलाई कति सम्झाउन सकें थाहा छैन तर विस्तारै सुमन पढाइमा पनि राम्रो हुँदै गयो।
सुमनकी आमाको परीक्षा परिणाम सम्बन्धी प्रतिक्रिया सम्झँदा मलाई तीनवटा कुराको सम्झना आउँछ। पहिलो शिक्षाबारे अभिभावकको बुझाइ राम्रो अङक हासिल गरी जागिर प्राप्त गर्नु मात्र हो। दोस्रो अन्य केटाकेटीहरूसँग आफ्नो सन्तानको तुलना गर्नु र तेस्रो विद्यालयद्वारा एउटा खास किसिमको संस्कृति निर्माणको अपेक्षा गर्नु। यो त तीन दशक पहिलेको कुरो हो तर वर्तमानमा पनि यस्तो थुप्रै उदाहरण भेटिन्छ। यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने अभिभावकद्वारा कुनै खास विषयमा बढी अङक ल्याउने अपेक्षा, दोस्रो अरूहरूसँग उनीहरूको तुलनाले सन्तानमाथि अनावश्यक दबाब र विपरीत प्रभाव पर्छ। परिणामस्वरूप सुमनजस्तै पढाइप्रति रुचिमा कमी आउनु र चुपचाप कक्षामा बसिरहनु बानी पर्दै जान्छ।
के अभिभावकहरूलाई थाहा छैन कि सबै केटाकेटी पढाइमा एकनास हुँदैनन् ? के शिक्षकहरूलाई थाहा छैन कि भिन्न भिन्न विद्याथीको क्षमता बेग्लाबेग्लै हुन्छ ? के यसको पहिचान गर्नु दुवैको जिम्मेवारी होइन ? के दुवैले आआफ्नो जिम्मेवारी इमानदारीसाथ निर्वाह गरिरहेका छन् ? कहिलेकाहीं शिक्षकलाई थाहा भएर पनि अभिभावकलाई सम्झाउन गार्हो हुन्छ। विद्यालय भ्रमणको क्रममा धेरैपटक अभिभावक र शिक्षकबीच भइरहेको कुरा सुन्दा मलाई माथिको प्रसङगको सम्झना हुुन्छ। मेरो मनमा पटकपटक सवाल उठ्छ, विद्यालय र अभिभावकको सम्बन्धलाई कसरी विद्यार्थीहरूको हितमा प्रयोग गर्न सकिन्छ।
वर्तमान समयमा विद्यालयमा अभिभावकहरूको भागिदारी त बढेको छ तर त्यो एकाङगी छ। यसका लागि विद्यालयद्वारा सतत् प्रयासको खाँचो रहेको छ। यसका लागि विद्यालयहरूले शिक्षकहरूमा यसप्रति जागरुकता ल्याउन आवश्यक छ। शिक्षक–अभिभावक बैठकमा विद्यार्थीले प्राप्त गरेको अङकको साथसाथै उनीहरूको विशेष रुचिबारे पनि कुरा गर्नु आवश्यक देखिन्छ। यसको कार्यान्वयनका लागि विद्यालयद्वारा कक्षागतरूपमा मासिक बैठक गर्नु एउटा बाटो हुन सक्छ। यदि अभिभावक र शिक्षकबीच यस प्रकारको साझेदारी हुन सक्यो भने विस्तारै सबै विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ।