सञ्जय साह 'मित्र'
आज यो कुरा भन्न अलिकति अप्ठ्यारो भइरहेको छ, मैले लामो समयपछि एउटा कथासङ्ग्रह आद्योपान्त पढेको छु। विगत केही वर्षदेखि ऐतिहासिक पृष्ठभूमिमा लेखिएका आख्यानहरू खोजेर पढ्नतिर रुचि गएको भएपनि आख्यानकै कथासङ्ग्रहभित्रका सबै कथाहरू भने पढ्न सकेको थिइनँ। कथामा पाश्चात्य विषयवस्तु बढी पस्किन थालेकोले मेरो रुचि उल्टो नदीतिर बगेको हुनुपर्छ। केही पुस्तकहरू किनें र केही प्राप्त भएका छन् तर एक/दुई कथालाई पढेर पढ्नु नपर्ने पुस्तकहरूतिर राखिदिएको छु वा अरूलाई दिइसकेको छु । मैले श्रद्धा गरेको अग्रज सर्जक विश्वराज अधिकारीको मधुर मिलन कथासङ्ग्रहको नाम र आवरणले मलाई तान्नै सकेन भन्दा मलाई अहिले आपैंmलाई दु:ख लागिरहेको छ। अमेरिकामा बसाइ भएको मान्छेको कथाको विषयवस्तु पनि उही वा उस्तै होला भन्ने मेरो पूर्वानुमानले मलाई कृतिले आकर्षित गर्न सकेको थिएन। विशिष्ट सञ्चारकर्मी चन्द्रकिशोरजीले पढ्नको लागि भन्दासम्म पनि मेरो अन्तर्हृदयले कृतिप्रति अनुराग उत्पन्न गराउन सकेको थिएन। साउनको दोस्रो हप्ता मेरो हातमा कृति पर्दासम्म पनि भित्री मनले पढ्न खोजिरहेको थिइनँ। तर एक दिन पुन: चन्द्रकिशोरजीले "अधिकांश कथा रौतहटकै पृष्ठभूमिमा लेखिएका छन् र पर्याप्त मात्रामा बज्जिका भाषाका शब्दहरूको प्रयोग गरिएका छन्" भनेपछि मैले कृतिलाई चाँडो पढ्ने चाँजोपाँजो मिलाएर पढें।
आधुनिक नेपाली उपन्यासको पहिलो पाइला मानिने रूपमतीमा थोरै भएपनि तत्कालीन सदरमुकाम कटरवनको चर्चा पाइन्छ। साहित्यमा मैले भेटाएको पहिलो थोपा रौतहट त्यही हो। त्यसपछिका धेरै कृतिहरूमा रौतहटको चर्चा पाइन्छ तर भाषिक सन्दर्भमा भने रौतहट र सर्लाहीको प्रभावकारी उपस्थिति यही मधुर मिलनमा हुनुपर्छ। र, मूलत: प्रथम कथाको यही आकर्षणले कृतिको आद्योपान्त मलाई पढ्न बाध्य बनायो र अन्तसम्म मलाई आकर्षित गरिइरह्यो। कृतिभित्रको भाषा र विषयवस्तु तत्काल केही वर्षदेखि पढेका कृतिहरूभन्दा नितान्त भिन्न र स्वत्वयुक्त लागेको छ, मलाई। यहाँ मूलत: यसै विषयमा केन्द्रित रही सन्दर्भलाई अगाडि बढाउँछु।
मधुर मिलनको कथ्यशैली निजात्मक रहेको छ। सम्भवत: कथाकारले आफ्नो जन्मस्थल उल्लेख गरेको क्षेत्रमा बसोबास गर्ने नेपाली मातृभाषी परिवारका सदस्यहरूले बोल्ने गरेको कथनशैलीमा विषयवस्तु पस्केका छन्। रौतहटको समनपुर र कटहरियालगायतका क्षेत्रका नेपाली र नेवारी मातृभाषी परिवारका सदस्यले बोल्ने नेपाली भाषाको निकै नजिक रहेको मधुर मिलनको कहनशैली अथवा कथाकारले यस क्षेत्रमा बोलिने भाषालाई नेपाली आख्यानको क्षेत्रमा नवीन प्रयोग गर्ने प्रयास गरेको हुनुपर्छ। यदि दोस्रो हो भने कथाकार साँच्चिकै सफल भएका छन्।
अधिकांश कथाको पृष्ठभूमि अर्थात् परिवेश रौतहट रहेको छ। केही कथा वीरगंजको परिवेशमा विरचित छ भने एउटा कथाले कलैया जाँदाको कथन परिवेशमा वीरगंजलाई समेटेको छ। सर्लाही जिल्लाको मानिस वीरगंजमा अध्ययन गरेर अमेरिकाको बसाइमा रहँदा आख्यानात्मक बुटाहरूमा यसै भूमिलाई लिनु र भाषा तथा शैलीको क्षेत्रमा पनि नितान्त यथार्थिकतालाई अवलम्बन गरिनुलाई कथाकारको सम्मोहनलाई दर्शाएको छ। साँच्चिकै मानिस जहाँ गए पनि आफू हुर्केको परिवेशलाई बिर्सन सक्दैन भन्ने कुरालाई कृतिले पूर्णतया प्रमाणित गरेको छ। यस कुरालाई अर्को तथ्यले पनि पुष्टि गर्दछ। कृतिकार अधिकारीको बसाइ अमेरिका (अमेरिकामा महिना दिन : जगदीशप्रसाद शर्मा) भएको र अमेरिकामा बसेर पनि गीताका श्लोकहरूलाई नेपाली भावार्थसहित आफ्नो ब्लगमा राखिरहेका छन् र नेपाली परिवेशका उनका कविताहरू निरन्तर प्रकाशित भइरहेका छन्।
निकै धेरै अग्रज साहित्यकारहरूले मधेसको भाषा र शैली तथा परिवेशमा कथा लेखेका छन्। त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने केही कथामा भने यसको स्पष्ट रूप देख्न सकिन्छ तर मधुर मिलनभित्रको भाषिक मिलन साँच्चै अर्कै मधुर मिलन रहेको छ। नेपाली आख्यानको क्षेत्रमा मधेसको जनजीवनलाई प्रस्तुत गर्ने प्रवृत्तिमा नयाँ आयाम थपेको छ। यस कृतिले एकातिर मधेसको जीवनशैलीलाई पस्केको छ भने अर्को पाटोमा भाषिक शैलीलाई समग्र नेपाली साहित्यमा विस्तार गर्ने ठूलो प्रयास गरेको छ। कृतिभित्रको भाषिक सम्पत्तिले निकै महत्त्व राखेको छ। कला र शैलीले पनि निजत्व दिएको छ र प्रस्तुतिको तरिकामा वर्णनात्मकतासँगसँगै तरलतालाई लचकतापूर्वक प्रस्तुत गरेको छ। सबैबाट यस किसिमको भाषिक सरलता, सरसता र लचकतापूर्ण कृतिको अपेक्षा गर्न सकिन्न। कतिपयले मसालाको रूपमा भाषालाई काव्य र आख्यानमा प्रयोग गरेको यथार्थभन्दा निकै माथि उठेर कथाकार अधिकारीले आफ्नो कथाकारिताको जीवन बनाएका छन्। भाषिक कलाका पारखी र भाषामा नवीनताको खोजी गर्ने आख्यानका पाठकहरूको लागि मधुर मिलनभित्रको भाषिक मिलनको आनन्दले चरमोत्कर्षमा पुर्याएको अनुभूति गराउला। मैले
केही ढिलो यो कृति पढ्ने अवसर
प्राप्त गरेकोमा भने मलाई अहिले
पछुतो लागेको छ। यसपछि मेरो अन्तर्मनमा बहलिया कथासङ्ग्रह पढ्ने तिर्खा बढेको छ र मलाई कथाकार अधिकारीको अर्को कथाकृतिको प्रतीक्षा रहेको छ किनभने यसले तिर्खालाई अतृप्त छोडेको छ।
मित्रनगर, गरुडा नपा–१, रौतहट