वैद्यनाथ ठाकुर
महाभूकम्प गएको आज जेठ १५ गते एक महिनाभन्दा बढी बितिसकेको छ । हालसम्म पनि भूकम्पले गरेको धनजनको क्षति भएका ठाउँहरूमा अझै उद्वार टोली पुगिसकेको छैन । गाउँ–गाउँमा भत्किएको भग्नावशेषभित्र च्यापिएर मरेका मानिस तथा चौपायाको शव झिक्न नसकेको हुनाले बस्नै नसक्ने गरी गन्हाउन थालेको छ । बेमौसमी वर्षाले झन् विपत्तिलाई बढाइदिएको छ । गाउँमा झाडापखालाको प्रकोप दुर्गम क्षेत्रका भूकम्प प्रभावित क्षेत्रमा शुरु भइसकेको छ । एकथान त्रिपालसमेत ओत लाग्न नपाएको भूकम्प पीडितहरू यति बेला एक पुडिया जीवनजल नपाएर मृत्युसँग जुझिरहेका छन् । लगाएको लुगाबाहेक अरू केही पनि छैन । संसार नै घरसँगै भत्केको खण्डहरभित्र पुरिएको छ । नेपालकै इतिहासमा सबैभन्दा ठूलो विपत्ति यति बेला नेपालीहरूको जीवनमा आइपुगेको छ । छिमेकी देश भारत र चीन यस विपत्तिको समयमा नेपाललाई चाहिएको सबै प्रकारको सहयोग गर्न तयार रहेको पटक–पटक बताइरहेका छन् । मुलुक दशकौं पछि परिसक्यो । विनाशकारी भूकम्पले मुलुकलाई तहसनहस गरिसकेको छ । यति बेला मुलुकको अगुवाइ गर्ने राजनीतिक पार्टीहरू जो उद्वार, राहत र पुनर्निर्माणमा एकजुट भएर लाग्नुपर्ने हो, फेरि आफ्नो घिनलाग्दो राजनीतिको प्रधानमन्त्री को बन्ने भन्ने दाउपेंच खेल्न शुरु गरेका छन् । राष्ट्रिय सरकारको नाम दिइएको यस फोहरी खेलमा बाहिरबाट राहत र पुनर्निर्माणलाई व्यवस्थित गर्न खोजेको भए तापनि वास्तवमा यिनीहरू पदमा गएर एकचोटी फेरि राहतको नाममा तथा पुनर्निर्माणको नाममा आउने अर्थमाथि आफ्नो वर्चस्व कायम गरी भ्रष्टाचार गर्ने अभिप्राय नै प्रमुख रहेको देखिन्छ ।
भनिन्छ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात । कुरा ठीकै हो । राजनीतिक पार्टीहरू वास्तवमा जनताप्रति समर्पित भएको भए भुइँचालो गएको एक सातासम्म यिनीहरू कहाँ भूमिगत भएका थिए ? भूकम्प पीडित जनताले यस प्रश्नको जवाफ खोजिरहेको छ । यति बेला एकजुट भएर सबैजना होस्टेमा हैंसे गर्दै भारतको गुजरातजस्तै भूकम्पपछि योजनाबद्ध विकासमा लाग्नुपर्नेमा नेताहरू तथा सरकारको चरित्र र चिन्तन हेर्दा हाइटीजस्तो भूकम्पपछि राहत तथा पुनर्निर्माणमा व्यापक भ्रष्टाचार भई आजसम्म विकास निर्माणमा पछाडि नै रहेकोलाई अनुसरण गर्न त खोजेको होइन भन्ने आशड्ढा गर्ने थुप्रै ठाउँहरू देखिन्छ ।
ध्वंस र निर्माण सँगसँगै हुने गर्दछ । संसारमा जति पनि विकसित देशहरू यति बेला अस्तित्वमा छन् तिनीहरू सबैले कुनै न कुनै बेला यस्तै राष्ट्रिय विपत्तिको सामना गरेका थिए । तर त्यति बेला सरकारमा रहेका दल वा व्यक्तिको दृढ इच्छाशक्तिले सबै प्रकारको विघ्न बाधाहरू पन्छाएर मुलुकलाई विकसित राष्ट्रको रूपमा खडा गरेको छ । यो कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र सोचले भएको होइन । राष्ट्र विकासको निस्स्वार्थ भावना तथा जनसेवनाप्रतिको निश्छल समर्पणको भाव सरकार तथा प्रतिपक्षी सबैमा नभएसम्म राष्ट्रको विकास सम्भव हुँदैन । केवल गुलियो भाषणले मात्र संसारमा कुनै पनि देशले विकास गरेको छैन । बाहिर बाहिर लोकाचार भित्रभित्र पोका पारको नीति जबसम्म राज्य र राजनीतिक पार्टीहरूले अख्तियार गरिरहन्छन्, मुलुकको समृद्धि र विकास आकाशको फल मात्र हुनेछ । भ्रष्ट राजनीति तथा व्यक्ति स्वार्थ केन्द्रित सत्ताले व्यक्ति विशेषलाई धनाढ्य बनाउन सक्छ । नेता र मन्त्रीका छोराछोरी तथा आसेपासेहरूलाई डाक्टर, इन्जिनियर बनाई सुखसयलको जीवन बिताउन भौतिक सुविधा उपलब्ध गराउन सक्छ तर त्यसले आम जनतामा रहेको गरिबी, बेरोजगारी तथा अशिक्षालाई किमार्थ उन्मूलन गर्न सक्दैन । ठूलाबडाहरू त यति बेला पनि सबै प्रकारको सेवा र सुविधाबाट सम्पन्न छँदैछन् । उनीहरूलाई के थाहा भोक कस्तो हुन्छ ? गरिबी भनेको के हो ?
एउटा व्यक्ति धनी हुँदैमा राष्ट्र कहिले पनि धनी हुँदैन । व्यक्ति विशेषको घरआँगनमा विकास पुग्दैमा राष्ट्र विकसित कहिले पनि मानिदैन । राष्ट्र विकसित हुनलाई बहुसङ्ख्यक जनताको जीवनशैलीमा विकास हुनुपर्दछ । प्रत्येक नागरिक विकासको पूर्वाधारबाट सम्पन्न भएमा राष्ट्र अविकसित रहने प्रश्न नै आउँदैन । त्यसैले प्रयत्न राष्ट्रको सम्पन्नतातिर हुनुपर्दछ । तर नेपाली राजनीतिको सबैभन्दा दु:खद पक्ष यही नै हो कि जहिले पनि सरकारमा बस्नेहरू आफूमुखी राजनीति गर्दछन् । चाहे राजा महाराजाको शासन व्यवस्था होस् वा आफूलाई प्रजातन्त्रवादी भन्नेहरूको अथवा गणतन्त्रवादी भन्नेहरूको । जुन जोगी आए पनि कानै चिरेको परम्पराबाट आजसम्म कुनै पनि राजनीतिक पार्टी वा नेता समग्रतामा उठेको देखिएन । जहिले पनि उनीहरू सारमा सामन्ती चरित्र बोकेका सामन्ती संस्कारको संरक्षण गरेका र जनतालाई सुविधा दिन नचाहेका मनसाय वा नीतिबाट अभिप्रेरित भएको देखियो ।
त्यसैले हिजोको राजतन्त्रमा दरबारियाहरू मोटाएका थिए । प्रजातन्त्रमा काङ्ग्रेसीहरू मोटाए र गणतन्त्रमा पनि तिनै गन्हाएका काङ्ग्रेस, मण्डले, पञ्च, एमाले र कतिपय सवालमा माओवादीहरूसमेत मोटाएका छन् । जनता त प्रत्येक समयमा दुब्लाएकै थियो र छ पनि । त्यसैले जनता सम्पन्न कसरी हुन सक्छ त्यसतर्फ विचार गर्न प्रकृतिले यति बेला सबैलाई बाध्य पारेको छ । अझै पनि हाम्रा नेताजीहरूलाई व्यक्तिगत स्वार्थको कुपमण्डुकतामैं रहिरहनु छ भने यो विपत्तिले मुलुकलाई दशकौंसम्म पहिचान विहीनताको अवस्थामा पार्न सक्ने खतरालाई समयमै बुझेर अग्रगमनको दिशामा पाइला चाल्नु सबैको लागि उत्तम हुनेछ । हालसम्म हामीले जनताको संविधान बनाउने दिशामा एकमत हुन नसक्नुको मुख्य कारण नै आआफ्नो स्वार्थ अनुसारको संविधान बनाउन खोजेको हो भन्ने कुरालाई मनन गर्न अब ढिलो गर्नुहुँदैन । राजनीतिक पार्टीहरू, सरकार र जनता सबै राष्ट्र विकासको मुद्दामा हातेमालो गरी अगाडि बढ्नुको अब अर्को विकल्प छैन ।