गताङ्कको बाँकी
बासुदेवलाल दास
लोहार:–
यसरी नै मिथिला क्षेत्रको समाजमा पौनी–पसारी वर्ग अन्तर्गत लोहार जातिलाई मानिएको पाइन्छ । यस जातिको जातीय कार्य भनेको फलाम धातुबाट खासगरी कृषि क्षेत्रका तथा घरेलु उपयोगमा आउने औजार उपकरणहरूको निर्माण र आपूर्ति गर्नु हो । मैथिली भाषामा फलामलाई ‘लोह’ अथवा ‘लोहा’ भनिन्छ । यसरी औजार तथा उपकरण इत्यादि बनाउनका लागि फलाम धातुलाई तताउने र पिट्ने गरिन्छ । यस कार्यका लागि निर्धारित गरिएको स्थानलाई ‘लोहसारि’ भनिन्छ । लोहसारिमा आगो बाल्न बनाइएको स्थानमा हावा फुक्ने कार्यका लागि उपकरण विशेष जडान गरिएको हुन्छ, जसलाई ‘भाथी’ (आरन) भनिन्छ । भाथीको निर्माण विशेष प्रविधिका साथ छाला र काठ आदिको प्रयोग गरी गरिएको हुन्छ । यसमा माथिपट्टि बीच भागमा झुन्ड्याएर राखिएको एउटा लठ्ठी हुन्छ, जसको पछाडिपट्टिको भाग भाथीसित जोडिएको हुन्छ भने अगाडिपट्टिको भागमा एउटा डोरी बाँधिएको हुन्छ, जसलाई हातले समातेर तलमाथि पारेर चलाइने गरिन्छ । यसरी तलमाथि चलाउँदा आगो बालिने स्थानमा हावा आउने गर्दछ, जसले गर्दा आगो बल्न सहयोग पुग्ने गर्दछ । यसका साथै आगो बालिने स्थाननजिकै फलामको सानो स्तम्भाकार एउटा टुक्रा जडान गरिएको हुन्छ, जसलाई ‘नेहाइ’ भनिन्छ । नेहाइमाथि रातो पारेर तताइएको फलामलाई राखेर हथौडीको चोट लगाएर इच्छित आकारका उपकरण अथवा वस्तु बनाइने गरिन्छ । यसरी बनाइने उपकरणलाई सेलाउनका लागि नजिकैमा एउटा ‘नादि’ (पानी राखिएको वस्तु) हुन्छ, जुन प्राय: काठबाट बनाइएको हुन्छ । लोहारद्वारा लोहसारिमा निर्माण गरिने फलाम धातुका वस्तुहरूमा लहरनी (नहरनी), चक्कू, दबिया, छुरी, छुरा, तलवार, गराँस, फरसा, भाला, सरौता, चुट्टा, छोलनी, करौछ, रही, खुर्पी, हाँसु, कुरहरि, वत्सु, टेङारी, टाङी, कत्ता, कोदारी, हथौरी, छेनी, बसिला (बसुला), रूखान, फार (हलोमा प्रयोग हुने), करछुल्ली, टाउक, सुआ, लोहिया, ताई, झाँझ इत्यादि हुने गर्दछन् ।
मिथिला क्षेत्र कृषिप्रधान क्षेत्र हो । यस क्षेत्रका गाउँहरूमा निवास गर्ने सबै गृहस्थ परिवार कुनै न कुनै रूपमा कृषि कार्यसित सम्बन्धित रहने गरेका हुन्छन् । हलो, कोदालो, हँसिया, खुर्पी जस्ता उपकरण प्राय: प्रत्येकका घरमा अवश्य रहने गर्दछन् । गाउँ क्षेत्रमा निवास गर्ने सबैजना लोहारका गिरहस (गृहस्थ) मानिने हुन्छन् । गृहस्थ समाजका लागि आवश्यक घरेलु उपकरणहरू तथा कृषिकार्यमा उपयोगी औजारहरू निर्माण गर्ने एवं तिनीहरूलाई तिखार्ने कार्य लोहारले गर्दछन् । मिथिला क्षेत्रमा आइतवारबाहेक प्रत्येक दिन लोहसारिमा आगो बालिने एवं गृहस्थका सामान तयार गरिने दृश्य देख्न सकिन्छ । लोहारको पारिश्रमिकको रूपमा प्रत्येक गृहस्थ परिवारबाट वार्षिकरूपमा निर्धारित परिमाणको मनी अथवा धरी प्रदान गरिने हुन्छ । लोहारलाई प्रदान गरिने धरीको परिमाणात्मक गणना भने हलोको आधारमा हुने गर्दछ । यस अन्तर्गत दुईटा गोरु राख्ने गृहस्थलाई एक हलो भनेर त्यसबापत निर्धारित परिमाणमा अन्न दिनुपर्ने हुन्छ । यसैगरी एउटा गोरु हुनेलाई ‘अधहरी’ भनेर एउटा हलो बराबरको निर्धारित परिमाणको आधा भाग दिनुपर्ने तथा गोरु नहुने परिवारलाई ‘हँसुआफरोस’ भनेर अधहरीको निर्धारित परिमाणको पनि आधा (अर्थात् एक हलोको निर्धारित परिमाणको चौथाइ भाग) दिनुपर्ने भनिन्छ ।
यसका साथै श्रीपञ्चमी (माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथि) पर्वका दिन मिथिलामा ‘हलो ठड्याउने’ विधि गरिन्छ । परम्परागत कृषिकार्यमा हलो र गोरुको अपरिहार्य आवश्यकता रहने गर्दछ । ‘श्री’ भनेको लक्ष्मी, सुख, समृद्धि र सम्पन्नता पनि हो । यस दिन श्रीलक्ष्मीको उत्पत्ति मानिएको एवं कृषिकार्यबाट उत्पन्न अन्नले सुख, समृद्धि र आनन्द प्रदान गर्ने भएकोले यस दिन हलोलाई लक्ष्मी रूप मानेर पूजा गरिन्छ । श्रीपञ्चमीका दिन लोहसारि स्थानमा गोबरले लिपेर पवित्र पारिन्छ । त्यसपछि गाउँभरिका कृषि कार्यसित संलग्न प्राय: सबै घरबाट हलो हुनेले हलोको फाली, कोदाली, खुर्पी, हँसिया आदि कृषिऔजार उपकरणहरू लिएर केही अन्नका साथ लोहसारिमा आउने गर्दछन् । यस दिन लोहारले भाथी (आरन) र नेहाइलाई विशेषरूपले पूजा गरिराखेको हुन्छ । गाउँका मानिसहरू लोहसारिमा लिपेको स्थानमा अन्न राखिदिएपछि लोहारले उनीहरूको औजार, उपकरणहरूलाई तताएर पिटेर तीखो पारिदिने गर्दछ । यसरी हलोको फाली, कोदालो, खुर्पी आदिलाई तिखार्नुलाई ‘पीटब’ भनिन्छ भने हँसियालाई तिखार्नुलाई ‘कूटब’ भनिन्छ । यसपछि आआफ्नो घरमा ‘हलो–ठड्याउने’ विधि गरिन्छ । यस दिन लोहसारिमा जम्मा भएका अन्न लोहारको आम्दानी हुने गर्दछ ।
लोहार जातिका व्यक्तिहरू फलाम धातुका साथै अन्य धातुसम्बन्धी कार्य गर्नुका साथै काठ विषयक कार्यहरू पनि गर्ने गरेका पाइन्छन् । यस अन्तर्गत कृषिकार्यमा प्रयुक्त हुने तथा घरेलु उपयोगका सामग्रीहरूको निर्माण र आपूर्ति गर्ने कार्य आउँछन् । यसका साथै समाजमा कसैको घरमा कुनै उत्सव, समारोह तथा शुभाशुभ सांस्कारिक कार्य आदि पर्दा लोहारद्वारा आपूर्ति गरिनुपर्ने सामग्री आदिका लागि आदेश दिइने एवं आदेशानुसार सामान तयार गरी पुर्याइने गरिन्छ । यस्ता अवसरहरूमा सामग्रीको तोकिएको मोलका साथै लोहारलाई भोजन गराइने, वस्त्रादि दिइने एवं बक्सिस आदि समेत दिइने गरिन्छन् ।
बरई:–
मिथिला क्षेत्रमा पौनी–पसारी वर्ग अन्तर्गत बरई जातिलाई पनि मानिएको पाइन्छ । यस जातिको जातीय कार्य भनेको पानको उत्पादन गरी त्यसको आपूर्ति गर्नु हो । पान मिथिला क्षेत्रमा उत्पादित हुने यस्तो वनस्पति हो, जसलाई अति पवित्र मानिएको पाइन्छ । यस क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, शुभाशुभ सांस्कारिक एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पातको आवश्यकता पर्ने गर्दछ । यसरी नै चौठचन्द्र, छठी, रविशनि जस्ता पर्वहरूमा ‘फूलपान’ भनेर ‘अघ्र्य’ चढाइने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्राय: केरा, राखेर ‘अघ्र्य’ दिइने प्रचलन रहेको छ । यस्ता अवसरहरूमा बरईले आफ्नो अधिकार अन्तर्गत पर्ने गाउँ क्षेत्रमा निवास गर्ने गृहस्थ परिवारमा पानका पात पुर्याउने गर्दछन् । यसरी पानको पात पुर्याउन आउने बखत ‘खोंचिया’ भनेर केही अन्न दिइने प्रचलन रहेको पाइन्छ ।
यसका साथै यस क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ । पानको पातको कतिपय अवस्थामा औषधीय उपयोगसमेत रहेको बताइने गरिन्छ । यसलाई चून, कथ, सुपारी आदिका साथ प्राय: भोजनोपरान्त खाने प्रचलन रहेको छ । मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत अर्थात् आश्विन पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ । यसका साथै यस क्षेत्रमा प्राय: आयोजन भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ । यसरी पान खाँदा यसमा अनेक प्रकारका मसाला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइने गरिन्छन् । यसरी पान खानुलाई केही हदसम्म लत (कुलत)को रूपमा पनि हेरिने गरिएको पाइन्छ । यसरी कुनै पनि वस्तु खाने लत लाग्नुलाई मैथिली भाषामा ‘अम्मल’ भनिन्छ । यस प्रकार कतिपय व्यक्तिका लागि पान खानु एक प्रकारको अम्मल जस्तै भएको पनि देखिन्छ ।
बरईको अधिकार क्षेत्रभित्रका निवासी सबै गृहस्थ परिवार उनका यजमान–गिरहस मानिने हुन्छन् । यसरी वर्षको प्रमुख बाली धान समेटिएपश्चात् अर्थात् प्राय: माघ महिनामा धरी भनेर प्रत्येक गृहस्थ परिवारबाट बरईलाई अन्न दिइने गरिन्छ । यसका साथै मार्गशीर्ष महिनामा प्राय: धानबालीको कटनीको समयमा बरईद्वारा धान काटिरहेको खेत क्षेत्रमा गएर गृहस्थलाई पानको खिल्ली लगाएर खुवाउने गरिन्छ । यस्तो बखत यिनीहरूलाई बक्सिस भनेर खेतमा काटिएको धानको बोझा प्रदान गर्ने प्रचलन रहेको पाइन्छ ।
कुम्हार:–
यसै गरी मिथिलाको समाजमा पौनी–पसारी वर्ग अन्तर्गत कुम्हार जातिलाई मानिएको पाइन्छ । यस जातिको जातीय कार्य माटोसित सम्बन्धित रहेको भनिन्छ । समाजमा अनेक व्रत, पर्व, पूजा, यज्ञ, अनुष्ठान, शुभाशुभ सांस्कारिक कार्यहरू इत्यादिका अवसरमा आवश्यक पर्ने माटोका वर्तन, भाँडावस्तु आदि निर्माण गरी आपूर्ति गर्ने कार्य कुम्हार जातिका मानिसहरूद्वारा गरिन्छ । यस्ता वस्तुहरूमा कोसिया, कुरबार, पुरहर, पातिल, हाथी, माट, लगजोरी आदि माटोबाट निर्मित हुने सामग्रीहरू पर्दछन् । समाजमा यस्ता अवसरमा कुम्हारलाई सूचना गरिन्छ एवं सम्बन्धित कार्य, उत्सव विशेषका लागि आवश्यक माटोका सामग्रीहरू आपूर्ति गर्ने आदेश दिइने गरिन्छ । यसरी आदेश दिने बेलामा केही द्रव्य ‘साइ’ भनेर दिइने गरिन्छ, जसलाई सामग्रीको तोकिने मोलभन्दा बेग्लै हुने भनेर मानिन्छ । यसका साथै दैनिकरूपमा घरेलु उपयोगमा ल्याइने माटाका अन्य वस्तुहरू यथा घैला, तौला, कोहिया, कोहा, छाँछ, टुइयाँ, डाबा, झबहा, झबही, लबनी, सुराही, गुल्लक, मटकुरी, टकही, छाँछ, ढकना, सरबा, चिलम, धूपदानी, दीप इत्यादि समेत कुम्हारद्वारा आपूर्ति गरिन्छन् । यस्तै छरका छानामा प्रयोग गरिने माटाका खपडा, टाली आदि पनि कुम्हारले बनाउने गर्दछन् ।
मिथिलाको परम्परामा माटोको बर्तनलाई शुद्ध मानिने गरिन्छ । यस क्षेत्रमा भात, दाल, तरकारी आदि भोजन सामग्री पकाउने कार्यमा समेत माटोको भाँडा, बर्तनको उपयोग गर्ने प्रचलन रहेको पाइन्छ । यसरी नै ग्रामदेवताको वार्षिकरूपमा गरिने पूजाको अवसरमा तथा सिरागू (कुलदेवता)समक्ष विशेष पूजा आदिको अवसरमा नैवेद्यको रूपमा चढाइने परिकार ‘खीर’ तयार गर्दा पनि माटोको बर्तनको प्रयोग गरिएको देखिन्छ । मिथिला क्षेत्रमा वर्षभरि नै अनेक अवसरमा माटोका देवीदेवताहरूका मूर्ति बनाएर उत्सव मनाइने तथा मेला लगाइने प्रचलन रहेको देखिन्छ । यस्ता अवसरहरूमा बनाइने माटाका मूर्तिहरू बनाइने कार्यमा कुम्हार जातिको सहभागिता देखिन्छ । अर्कोतिर, मूर्तिकलाको क्षेत्रमा अन्य जातिका मानिसको समेत सहभागिता रहने गरेको पाइन्छ ।
कुम्हारद्वारा माटोका बर्तन, वस्तुहरू बनाउनका लागि प्रमुखरूपमा जुन उपकरणको प्रयोग गरिन्छ, त्यसलाई ‘चाक’ भनिन्छ । यो चाक भनेको गोलाकार चक्र सदृश उपकरण हुन्छ । यसको निर्माण काठ, माटो आदिको प्रयोग गरी गरिएको हुन्छ । यसको केन्द्रमा तलपट्टि एउटा स्थान बनाइएको हुन्छ, जुन स्थानलाई भुइँमा गाडिएको एउटा किल्लामाथि ठड्याएर राखिन्छ । यसरी नै चाकको माथिल्लो भागमा एउटा स्थान विशेष प्रकारले निश्चित गरी बनाइएको हुन्छ, जुन स्थानमा सानो लठ्ठीको सहायताले स्पर्श गरी चाकलाई चक्राकार गोलाइमा घुमाइने गरिन्छ । चाकको माथिपट्टि बीचको केन्द्रीय भागमा माटो राखेर बर्तन, वस्तु आदि बनाइने गरिन्छ । यसरी सामग्री बनाउनका लागि माटोलाई राम्ररी मुछेर मिलाइने गरिन्छ तथा त्यसका ठूला–ठूला डल्ला बनाएर राखिन्छ । यिनै डल्लाबाट विविध प्रकार र आकारका वस्तुहरू बनाइने गरिन्छन् । यस प्रकार बनाइएका सामग्रीलाई घाममा सुकाएपछि आगोमा पोल्ने गरिन्छ । यसरी पोल्ने कार्यलाई मैथिली भाषामा ‘पकाएब’ भनिन्छ । यसमा आगो बालिने सामग्री यथा दाउरा, खढ, गोबरका गोइठा, गोरहा, करसी आदि मिलाएर राखिने एवं घाममा सुकेका माटोका काँचो सामग्रीरूलाई एकत्र गरी राखिने गरिन्छन्, जसलाई मैथिली भाषामा ‘आबा’ भनिन्छ । यसरी एकत्र गरिएको सामग्रीहरूमा आगो बालिने गरिन्छ । यसरी माटोका सामग्री ‘पकाइने’ कार्यलाई मैथिली ‘आबा लगाएब’ भनिन्छ ।
मिथिला क्षेत्रमा विद्यार्थीद्वारा अक्षरारम्भ गर्दा काठको सानो आकारको फल्याक उपयोग गर्ने प्रचलन रहेको पाइन्छ, जसलाई ‘पाटी’ भनिन्छ । यसरी पाटीमाथि अक्षर लेख्ने कार्यमा मसीको रूपमा माटोको घोल प्रयोग गरिन्छ । यसरी लेखन कार्यमा प्रयुक्त हुने घोल बनाउन चाहिने माटो विशेषलाई ‘गाविस’ भनिन्छ । यो विशेष किसिमको गाविस माटोको आपूर्ति कुम्हारले गर्ने गर्दछन् । यस प्रकार समाजमा कुम्हार जातिको अनेक प्रकारले महत्त्व रहेको देखिन्छ ।