यमुना प्रधानाङ्ग ‘मुना’
साँझ पनि झमक्कै परिसक्यो, कति चाँडै रात पर्छ भने ? छोटो दिनमा त केही गर्नै भ्याउँदैन । खाना पकाउन पनि ढिलो भइसक्यो । के पकाउँ ? अहिले छोरो आयो भने भोक लाग्यो भनेर थाल ठटाउन थाल्छ । छिटोछरितो पनि हुने, आफ्नो पेट पनि ग्याँसले गर्दा भारी भएको छ । आ... खिचडी पकाउँछु ।
आफ्नो पेटको अवस्था हेरेर बनाउँछु त भनें, छोरा, पतिदेव, देवरले खाने हुन् कि होइनन् ? छोरोले नखाए भने भोकभोकै सुत्छ । छोरोको लागि अरू पनि केही खानेकुरा फ्रिजमा छँदैछ, नखाए भने, त्यही दिउँला । पतिदेवलाई पनि खिचडी मन परिहाल्छ । झन् अलिकता घ्यू, मासको दाल राखी पकाएको हुनुपर्छ, मीठो मानेर खानुहुन्छ । तर आज उनको मुड कस्तो छ ? अलि झोकी मान्छे ? अचेल प्रेसर पनि बढेको छ । झोकिन्छन् कि भन्ने डर पनि लाग्छ । देवरले त खाइहाल्नुहुन्छ होला । खिचडी नै बनाउँछु । कहिलेकाहीं त पेट हलुका पनि राख्नुपर्छ । भनिन्छ, हप्तामा एक दिन पेट खाली राख्यो भने स्वास्थ्यको लागि राम्रो हुन्छ । पेट खाली राख्न नसके तापनि राति चाहिं हल्का खाना खायो भने स्वस्थ होइन्छ रे भन्छन् । अहिले त चिनी, ग्यास्ट्रिक, प्रेसर नभएको मानिस नै छैन भन्दा पनि हुन्छ । ग्यास्ट्रिक त पुर्खौली सम्पत्ति नै हो । जन्मिदै लिएर आएका हुन्छौं । हजुरबुबालाई ग्यास्ट्रिक, हजुरआमालाई ग्यास्ट्रिक, बुबालाई ग्यास्ट्रिक, आमालाई ग्यास्ट्रिक अनि तिनीहरूबाट जन्मेका सन्तानलाई ग्यास्ट्रिक नहुने त कुरै भएन । अचेल त सानासाना नानीहरू पनि ग्याँसले पेट दुख्यो भनेर रुने कराउने गरेका देखेको छु । चिनी र प्रेसर हाई भनेको त चालीस काटिसकेका मानिसहरूमा फेसनकै रूपमा व्याप्त भेटिन्छन् । नभएका त विरलै मानिस होलान् ।
सधैं उनीहरूकै फरमाइस अनुसार परिकार बनाउँदै आइरहेकै हुँ क्यारे ? आज हेरूँ ? मेरो पनि त मन हुन्छ । आ... मेरै मनले मागेको चीज ‘खिचडी’ बनाउँछु । नखाए भने देखा जाएगा । भनूँ भने बच्चाहरूलाई पचाउन सजिलो हुने भएकोले उनीहरूको स्वास्थ्यका लागि खिचडी निकै लाभदायक हो । अझ त्यसमा अलिकति साग, गाजर मसिनो पारेर काटी राखी पकाउनुपर्छ, त्यसको स्वादै अर्कै हुन्छ । चामलमा नुन, बेसार, दाल, शुद्ध घ्यू, साग र गाजर मिसाएर बनाएको खिचडीको स्वाद नै बेजोड हुन्छ । हाम्रो स्वास्थ्यलाई चाहिने सबै त्यो खिचडीबाट पूर्ति गर्न सक्छौं । समयको पनि बचत, ग्याँस, दाउरा, मटीतेल केमा पकाउनुहुन्छ ? त्यसको पनि बचत । स्वास्थ्यको लागि पनि फाइदा । कम खर्चमा पनि हुने । अनि भएन त फाइदै फाइदा । कमसेकम हप्तामा एक/दुई पटक खिचडी बनाएर खायो भने महिना, वर्षमा कतिपटक खाइन्छ ? गणना गर्नुस् त ? उपाय त रामै्र हो । तर खानेले खानुपर्यो नि । अहिले खाने बेला छोरोले कति रडाको मचाउने हो ? कति नाक खुम्च्याउने हो ? सानोमा त खिचडी मीठो मानेर खान्थ्यो । अब ठूलो भइसक्यो । जिब्रोलाई बिगारी सक्यो, चट्कार मट्कार खाएर । अनि सादा खाना खान किन खोज्थ्यो ? रुपैयाँ माग्यो भने किन चाहियो भनेर बुबाले सोध्ने पनि होइन, दिइहाल्छन् । अनि मैले बचत हुन्छ भनेर मुठी कस्न खोजेर के गर्नु ? स्वास्थ्यलाई फाइदा हुन्छ भनेर के गर्नु ? म एक्लैले गरेर हुने पो के हो र ?
जे परोस् परोस् आज त खिचडी नै बनाएर खुवाउँछु सबैलाई । फेरि कुरा यसो छ । मेरो लो प्रेसर । पतिदेवको हाई प्रेसर र देवरलाई चिनी छ । धेरैलाई थाहा भएकै हो चिनी रोग लागेका मानिसहरूका लागि चामलको परिकार कमै खाँदा स्वास्थ्यको लागि फाइदा हुन्छ । अब भन्नुस् त, खिचडी कसरी बनाउँ ? छोरोलाई भने सबै ठीक मात्रामा पुगेको हुनुपर्छ । न धेरै गिलो, नसाह्रो । नुन ठीक्कको कम पनि हुनुभएन, धेरै पनि हुनुभएन । बनाउन त बनाउँछु भनें, सबैको लागि संयोजन मिलेको खिचडी पकाउन पो गाह्रो भो । पकाउन त पकाउँछु । लो प्रेसर हुने, हाई प्रेसर हुने, चिनी रोग हुनेहरूले खिचडी खाइसकेपछि एउटा न एउटा खोट लगाउँछन् नै । तपाईंहरूका लागि पनि खिचडी पकाउँछु । माथिका सबै रोगबाट टाढा भएका स्वस्थ व्यक्तिले भनिदिनुहोला, खिचडी खाइसकेपछि, जुन खिचडीमा हुनुपर्ने वास्तविक गुणले भरिपूर्ण खिचडी बनेको छ कि छैन । छैन भने पनि कुरा प्रस्ट राखिदिनुहोला किनकि भोलिका दिनमा खिचडी मीठो स्वादिलो बनाउने कोसिस गर्छु ।
अस्तु ।