हिजो मिति २०७० माघ १० गतेको यस दैनिकीको प्रथम पृष्ठमा ‘५४ शिक्षकको तलब रोक्का’ शीर्षकको समाचार पढेर अचम्म लाग्नुका साथै खुशी पनि लाग्यो । यस समाचारले पर्सावासीको मनमा अवश्य पनि सयौं प्रश्नहरू उठाएका होलान्, जसमध्ये केही प्रमुख प्रश्नहरू यसै पत्रिकामार्फत् सार्वजनिकरूपले जिल्ला शिक्षा अधिकारीलाई सोध्न मन लाग्यो ।
१. शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमतिपत्र शङ्कास्पद हुँदाहुँदै पनि कसरी यत्रो ठूलो सङ्ख्यामा मानिसहरू यस पेशामा छिर्न पाए । जबकि सक्कली कागजात भएका हजारौं इमानदार र अनुभवी मानिसहरू किन भौतारिरहनुपरेको अवस्था विद्यमान छ ?
२. कागजी प्रमाणहरूबिना नै कसरी जागीर दिइयो र अहिले किन प्रमाणहरू खोजिंदैछ ?
३. ती शिक्षकहरूले साँच्चिकै गलत प्रमाण पेश गरी जागीर पाएका हुन् भने उनीहरूले कति वर्षदेखि कति लाख तलब र अन्य सुविधा पाएका छन् र कति विद्यार्थीहरूका जीवनसँग खेलवाड गरेका छन्, त्यसको सही तथ्याङ्क निकाली खाएको तलब र अन्य सुविधा फिर्ता गराउनुका साथै सजाय गराउन सम्भव छ ?
४. के यो कदम शिक्षकहरूको तलब रोक्का गरी उनीहरूबाट मोटो रकम असुल गरी पुन: फाइल बन्द गर्ने कुनै नयाँ फन्डा हो कि ?
५. के यो नक्कली प्रमाणपत्र पेश गरी जागीर खाने खेलको पछाडि रहेका शिक्षा माफियाहरूलाई नाङ्गो पार्दै पहिलाको मितिदेखि पनि जाँच अनुसन्धान शुरू गरिने र कारबाईको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहायता पनि लिने हो कि ?
६. नक्कली प्रमाणपत्र वा अपुग कागजातको आधारमा मोटो रकम खाएर सिफारिस गरी ढाँडिएका भ्रष्ट कर्मचारीहरूलाई पनि कारबाई गरिन्छ कि उनीहरूलाई विशेष छुटको व्यवस्था छ ?
अन्य थुप्रै प्रश्नहरू भएपनि यसको कारबाईमा निकै शड्ढा–उपशड्ढा छ किनकि यसपछाडि करोडौं रुपैयाँको खेल पक्कै पनि खेलिएला, चपरासीदेखि हाकिम, सरुवा देखि बढुवा, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षदेखि पत्रकार मित्रहरूका घरमा पनि ‘गिफ्ट आइटम’हरूको बाढी लगाएर भएपनि यो मुद्दालाई बन्द गर्न र यस्ता प्रकृतिका सयौं फाइलहरू नखोल्न पनि रकमको ठूलो चलखेल हुने सम्भावना प्रचुर मात्रामा छ ।
शिक्षाको स्तरवृद्धि नहुनुका अन्य धेरै कारणहरूमध्ये शिक्षण पेशालाई सेवाको रूपमा हेर्न छाडेर अचेल यसलाई व्यापारको रूपमा हेर्न थालिएको हुँदा यसमा नयाँ चुनौतीहरूका साथै थप विकृतिहरू व्याप्त रहेको पाइएको छ । विद्यालयमा शिक्षकको जागीरका लागि न्यूनतम १–२ लाख देखि ३–४ लाख खर्च गर्नेहरूले सबै तामझाम मिलाएका हुन्छन् । चपरासीदेखि हाकिम र कागजदेखि पूरै फाइल पैसाकै इशारामा चलेका हुन्छन् । चासो लिएर खोजबिन गर्दै जाने हो भने शिक्षा व्यापारमा लागेका ठूलाठूला शिक्षा माफियाहरू नाङ्गो हुनेछन् । शिक्षा जस्तो पवित्र एवं सेवामुखी पेशाको खोल ओढेर बसेका शिक्षा माफिया जस्ता भेडियाहरूले मन्दविषको काम गरी पूरै पुस्तालाई नै प·ु बनाउने षड्यन्त्र गरिरहेका छन् ।
तर सलाम छ, जिशिअ हरिप्रसाद वस्तीलाई कि उनले कम्तीमा बिरालोको घाँटीमा घन्टी बाँध्ने प्रशंसनीय कामको सुरुआत गरे । मलाई आशा छ, उनले झर्को नमानी मेरा केही प्रश्नहरूलाई पर्सावासीको प्रश्न मानी उत्तर दिने प्रयास गर्नु नै हुनेछ ।
–दीपेन्द्रप्रसाद कानू, गहवा–९, वीरगंज