- मायामितु न्यौपाने
नेपाली साहित्यको सन्दर्भमा सबैभन्दा धेरै लेखिने विधा कविता हो । अझ गोपालप्रसाद रिमालको ‘आमाको सपना’ मा नयाँ–नयाँ शैलीको खोजी हुँदै सिर्जनाको फाँटमा कविताको बिस्कुन लाग्न थालेको छ । नवीन प्रस्तुति परम्पराभन्दा भिन्न र नवीन जीवनमूल्यको खोजी आधुनिक कविताको विशेषता हो । अन्य विधाभन्दा कवितामा प्रयोग हुने भाषा तथा शब्दहरू सटीक हुने गर्छन् र विशिष्ट पनि हुन्छन् । किनकि अन्य गद्य साहित्यको आख्यान विधाभन्दा कविता छोटो हुन्छ र छोटोमा धेरै कुरा व्यक्त गर्नुपर्छ । अर्थात् थोरैमा सबै अटाउनुपर्छ । एउटा सिङ्गो मान्छे, सिङ्गो घर, सिङ्गो देश नै अटाउनुपर्छ । र, अटेको पनि हुन्छ । यही क्रममा युगीन यथार्थलाई प्रस्तुत गर्दै नवीन विम्ब, प्रतीक, मिथक, भाव, विचार, कला र अनुभूतिलाई सरल तर सशक्त अनि कलात्मकरूपमा साहित्याकाशमा विचरण गर्न आइपुगेका छन् कवि निमेष निखिल दोस्रो कविता कृति ‘उमेरको नदी’ लिएर ।
लामा कविताको सङ्ग्रह भनिएको उमेरको नदीमा कवि निखिल सललल बगेका छन्, एउटा सङ्लो नदी भएर । जहाँ म कस्तो छु भनेर हेर्न सकिन्छ आफ्नै अनुहार नदीमा । उनले पनि पक्कै हेरेका होलान् । र, आफूले आफूलाई कस्तो छु भनेर पनि अनुमान गरेका होलान् । लामा भएर के भयो ? मूल कुरा पाठकको मन जित्न सक्नु हो, जसमा उनी सफल भएका छन् । म भन्छु कविता दुई तरिकाले लेखिन्छ । एक मनले र अर्काे मस्तिष्कले । मस्तिष्कले लेखेको कवितामा विचार पक्ष सबल हुन्छ र मनले लेखेको कवितामा भाव पक्ष । तर कवि निखिलले भने मन र मस्तिष्क दुवैको बडो होशियारीपूर्वक प्रयोग गरेका छन् । उनी विद्रोहमा पनि शालीन भएर प्रस्तुत भएका छन्, यसरी–
गड्गडाएर अहङ्कारका गर्जनविरुद्ध
चम्चमाएर विद्रोहका बिजुली
सुसेल्दै आँधीका प्रचण्ड प्रवेग
उचालेर ज्वालामुखीका हुङ्कारहरू
म झरी बर्सन्छु
झम झम झम झम
झम झम झम झम ।
(म झरी बर्सन्छु)
सिर्जनामा शैली विज्ञानले बडो महत्त्व राख्छ । जसको लागि भाषा विज्ञानको राम्रो ज्ञान हुन अति आवश्यक हुन्छ । एउटै व्यक्ति भाषाविद् र साहित्यविद् नहुन पनि सक्छ । तर कवि निखिल स्वयम् भाषा शिक्षक भएकाले साहित्यमा सहजतापूर्वक प्रस्तुत हुन सफल भएका छन् । कृतिको गहिराइसम्म पुग्ने माध्यम पनि भाषा र शैली नै हो । यही भाषा र शैलीका कारण उमेरको नदीले पाठकलाई गहिरोमा डुम्ब बाध्य बनाउँछ । कविले सशक्त ढङ्गले मानवतावादी चिन्तन प्रस्तुत गरेका छन् । युगीन विसङ्गति र विकृतिप्रति तीखो व्यङ्ग्य, विद्रोह र आक्रोश, क्रान्ति चेतना बाल्दै उज्यालोको खोजीमा हिंडेका छन्, कवि निखिल कविताको दियो बोकेर । मान्छेले आफ्नो पहिचान भुल्नुहुन्न भन्ने राम्रो सन्देश दिएको छ शीर्षक कविताले–
पराले झुप्राले महलको आकार ग्रहण गर्यो भन्दैमा
धूलो पैताला महँगा कवचभित्र लुके भन्दैमा
हिमनदी बग्ने नाकमाथि किमती चस्माले डेरा सर्यो भन्दैमा
तिमीले नबिर्सिदिएको भए पनि हुन्थ्यो
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।
(उमेरको यो नदी)
वास्तवमा मानिसले प्रगति चाहन्छ र प्रगति हुनु पनि पर्छ । तर आफ्नो धरातल बिर्सन हुँदैन । खोला तरिसकेपछि लौरो बिर्सनेहरूप्रति तीखो प्रहार हो यो ।
कसै कसैले शब्दहरू थुपार्ने गर्छन्, कविता उत्कृष्ट बनाउने क्रममा । तर त्यस्ता शब्दले कविताको विशिष्टता बोक्न सक्दैन । म त भन्छु कविता हाम्रा ग्रामीण हजुरआमा, आमाहरूले बुझ्ने भाषामा हुनुपर्छ । यसमा कवि सचेत देखिएका छन् । सरल भाषा र कलात्मक शैलीमा सटीक विम्ब र प्रतीकको समायोजन गरेका छन् । मानिसको इच्छा, चाहना, आकाङ्क्षा पूरा हुन नसक्दाको पीडा उनले मार्मिक ढङ्गले यसरी प्रस्तुत गरेका छन् कविता दु:खको सुसेलीमा–
सर्टिफिकेट छैन ऊसँग
तर जीवनका असङ्ख्य अक्करे भीर छिचोल्ने
अर्काे अघोषित हिलारी पनि हो साइँलो
लेकबेंसी चहारेर जीवन अन्वेषण गर्ने कोलम्बस हो साइँलो
गाईबाख्राको जुलुस लिएर राजनीति गर्ने उसले
पटक–पटक नाराहरू लगाएको छ–
शान्तिले बाँच्न देऊ
एक छाक खान देऊ
एकसरो लाउन देऊ
प्रत्युत्तरमा उसले केही पाएको छैन
सिवाय गाईबाच्छाका बाँ.....बाँ....
र बाख्रापाठाका म्याँ......म्याँ.....हरू ।
(दु:खको सुसेली)
जीवन समस्या र अपूर्णताको जटिलताभित्र जकडिएको छ । जसको दरिलो अभिव्यक्ति हो यो जीवन भोगाइ परिणाम । कल्पनाशीलताको उँचाइमा पुगेर जीवन भोगाइलाई कलात्मकरूपमा प्रस्तुत गरिएको छ, दु:खको सुसेलीमा ।
साहित्यले ठूल्ठूला महल बनाउन नसक्ला । तर जीवनलाई असहजताबाट सहजतातर्फ डोर्याउने एउटा गतिलो माध्यम हो साहित्य । अनि दु:ख र पीडाको चरमोत्कर्षमा पुग्दा पनि साहित्यले निराशा व्यक्त गर्दैन । आशावादी बनाउँछ । अर्थात् हामी साहित्यमार्फत् नै उज्यालोको खेती गर्न चाहन्छौं कविताका गराहरूमा । र, यहीबेला उनी प्रश्न गर्छन् हामी हुनुको अर्थमा–
के हामीले देशका बारेमा सोच्नुपर्दैन?
जीवनका बारेमा सोच्नुपर्दैन ?
मान्छेका बारेमा सोच्नुपर्दैन ?
(त्रासद वर्तमान)
प्रस्तुत कवितामा मानव जीवनप्रति मात्र होइन, समाज, प्रकृति तथा सिङ्गो देशको चित्ता छ । मानव जीवन सँगसँगै देशप्रति पनि उनी त्यतिकै चिन्तित छन् । खुशी, पीडा, विद्रोह सबैलाई शालीन शैलीमा प्रस्तुत गर्नु कविको क्षमता हो । र, कविको निरन्तर साधनाको प्रतिफल । समग्रमा कविता लामो भएपनि पट्यारलाग्दो छैन । १५ वटा लामा कविता रहेका यो सङ्ग्रह पठनीय छ । कविताको प्रत्येक हरफले उज्यालो क्रान्तिको राँको बोकेको छ ।
काव्यिक चेतनाको धरातलमा उभिएर उमेरको नदीलाई पर्वतीय उँचाइमा पुर्याउन सफल कवि निमेष निखिललाई आगामी सिर्जनशील यात्राका लागि शुभकामना !