चन्द्रकिशोर
उद्यमी गणेश लाठ एक सफल व्यक्ति हुन्, उनी वीरगंज उद्योग वाणिज्य ंसङ्घका अध्यक्षसमेत भइसकेका हुन्, उनी वीरगंजमा कतिपय सामाजिक अभियानहरूमा अग्रपङ्क्तिमा रहेका छन् । उनीसँग एक अपराह्न चिया पिउने साइत जुर्यो। उनले उद्योग–व्यापारभन्दा पनि अलि आध्यात्मिक, अलि मानवीय संवेदना, अलि परोपकारी कुराहरूतिर बढी बातचितलाई मोडे। गफिंदै जाँदा उनले भने– वीरगंजका एउटा पुस्ता विस्तारै हाम्रो माझबाट बिदा लिंदैछ, त्यस पुस्ताका प्रतिनिधिहरू ज्युँदो छँदै हामीले उनको अनुभवको सक्दो सदुपयोग गर्न सकेनौं, आज उनीहरूको अभाव हामीलाई महसुस भइराखेको छ। गणेश लाठसँग वीरगंजको पुरानो पुस्ताको लामो सूची छ, जो अब रहेनन्। यी प्रसङगहरू गफिंदै गर्दा उनी अलि भावुक देखिए। त्यतिखेर उनका स्वर्गवासी पिता बिहारीलाल लाठको समेत स्मृति–चर्चा गरियो। लाठ आफ्नो कारोबारको साथै दुईवटा पुस्तक प्रकाशनको तयारीमा छन् । उनी भन्छन्–मलाई चिनाउने भनेको यी कृतिहरू नै होलान्। उनमा केही गरौं भन्ने हतार पनि देखिन्छ।
हो पनि, वीरगंज क्षेत्रका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक आदि तमाम क्षेत्रमा क्रियाशील रहेका तीन दशक पहिलेका ऊर्जावान पुस्ता विस्तारै बिदा लिंदै गएका छन्, कोही अत्यधिक उमेर वा अस्वस्थताका कारण सार्वजनिक जीवनमा देखा पर्दैनन्। तर उनीहरूसँग सम्पर्क, समन्वय र सामीप्य प्राप्त गर्यो भने निश्चय पनि केही उपयोगी अनुभव हात लाग्न सक्छ। वीरगंजमा क्रियाशील रहेको त्यस पुस्ताको सङ्घर्ष आफैंमा एउटा सामाजिकताको उदाहरण हो । उनीहरूले जुन हैसियत आर्जन गरे, त्यसको सामुन्ने अहिलेको पुस्ताको उचाइ सानो देखिन्छ। अहिले प्रचारका विविध सामग्रीहरू देखिएका छन् तर त्यो कालखण्डमा यस्तो सुविधा थिएन। अर्को पक्ष के हो भने जुन पुस्ताको हामी चर्चा गर्दैछौं, त्यो पुस्ताको सङ्घर्ष भनेकै अहिलेको वीरगंजको यात्राचित्र हो। तसर्थ त्यो पुस्तालाई खोज्ने र सम्मान गर्ने काम हाम्रो काँधमा छ।
प्रौढ पुस्ताको खोजी र सम्मान आजको सामाजिक दायित्व हो। अहिले वृद्धवृद्धाहरू सामाजिक उपेक्षाको शिकार हुन थालेका छन्। उनको गरिमालाई हामीले जुनरूपमा आत्मसात गर्नुपर्ने हो त्यो गर्न सकिरहेका छैनौं। उनीहरू बाँचुन्जेल हामीले अपेक्षित सम्मान गर्न सकेनौं भने दिवङगत भएपछि उनको नाममा शोक संवेदना छाप्नु, शोकसभा गर्नुको कुनै अर्थ रहँदैन। परिवारका सदस्यहरूले पनि आफ्नो जेष्ठ सदस्यको सम्मान, सेवा र सुश्रुषा गर्ने अवसर छुटाइरहँदा लोकलाजका निमित्त श्राद्धको आडम्बरयुक्त भोजको कुनै अर्थ छैन। परिवारका सदस्यहरूले पनि आफ्नो परिवारको जेष्ठ सदस्यलाई सक्दो अनुकूल वातावरण दिने प्रयत्न गर्नुपर्छ। यसले गर्दा यी सदस्यहरूको आयु बढ्छ, जीवनमा उत्साह थपिन्छ, जीवन सुखकर भएर बित्छ। तर प्राय: के देखिन्छ भने बडो उपेक्षाका साथ जीवन काटेका वृद्धवृद्धाहरूको मरणोपरान्त खुब भोजभतेर गरिन्छ। श्राद्ध भोज यतिखेर सामाजिक हैसियत प्रदर्शनको एउटा माध्यम भएको छ। नवधनाढ्यहरू आफ्नो हैसियत प्रदर्शन गर्न तथा सामाजिक स्वीकार्यताको दायरा फराकिलो बनाउन अत्यधिक खर्च गर्ने गर्छन्। ती खर्चहरू संवेदना छपाउन, भोजभतेर गर्न, भोजभतेरमा ठूलाबडालाई निम्त्याउन खर्च गरिन्छ। विस्तारै यसले कताकता फेसनको रूप लिंदै गएको छ। मलामी जानु, श्राद्धको निम्तो मान्न जानुमा जुन संवेदना अभिव्यक्त हुनुपर्दछ, त्यो हराउँदै गएको छ। हामी कताकता यान्त्रिक र नाटकीय हुँदै गइरहेका छौं।
सामाजिक जीवनमा सक्रिय जेष्ठ सदस्यहरूलाई कुनै सार्वजनिक कार्यक्रममा निम्त्याउँछौ तर उनको सक्दो हेरचाहमा ध्यान दिदैनौं। उदाहरण नै लिऊ, भोजपुरीका सर्वमान्य कवि पण्डित दीपनारायण मिश्रलाई कतिपय कार्यक्रममा निम्त्याइन्छ। उहाँ आउनु पनि हुन्छ। उहाँ पहिलेजस्तो हिंडडुल गर्न सक्नुहुन्न, अलि असजिलो हुन्छ। निम्त्याउनेले निम्त्याउँछ, मञ्चमा सम्मानका साथ आसन ग्रहण गराउँछ, तर उहाँ कसरी आउनुभयो र कसरी फर्कनुहुन्छ त्यसको हेक्का राखिंदैन। कतिपय अवस्थामा पण्डितजी बडो कष्टपूर्ण तरिकाले फर्कने गर्नुहुन्छ। हेर्दा सानो लाग्ने यस्ता कुराहरू त्यस्ता व्यक्तिका लागि ठूलो अर्थ लाग्छ। आयोजक पक्षले प्रौढ नागरिकहरूलाई निम्त्याउँदा जोडिएर आउने सुविधाबारे पनि ख्याल गर्नुपर्छ। उनीहरू कसरी आउँछन्, कसरी फर्कन्छन्, त्यसबारे विचार पुर्याउनुपर्छ। सबैसँग न आफ्नो गाडी हुन्छ, न सहयोगी वा सहायक नै हुन्छन्। कतिपय अवस्थामा कार्यक्रमहरू होटलको माथिल्लो तल्लामा हुन्छ, जहाँ उनीहरूलाई उक्लिन गार्हो हुन्छ। रिक्सा भाडा छ कि छैन, रिक्सा चढ्न सक्ने ठाउँसम्म पुर्याउन सहयोगी छ कि छैन भन्ने कुरामाथि होश पुर्याउनु जाति।
जेष्ठ नागरिकहरू सम्मानका पात्र हुन्, बाटोमा हिंड्दा, मन्दिर–मस्जिद जाँदा, पसलमा किनमेल गर्दा, सार्वजनिक यातायातमा यात्रा गर्दा वा कर–महसुल बुझाउन पुग्दा, अस्पतालमा जँचाउन पुग्दा, भोजभतेरमा खान लाम लाग्दा उनीहरूलाई पहिलो अवसर दिनुपर्छ। सके सहयोग गरिदिनुपर्छ। कतिपय अवस्थामा यस्ता उमेरका व्यक्ति पसलमा धक्का खाइरहेका हुन्छन् वा रिक्सा नै खोज्न अप्ठयारो भइराखेको हुन्छ, यस्तोमा जो कोहीले सक्दो सहयोग गरे शहरमा जेष्ठ नागरिकप्रति सम्मानको संस्कृति झल्किन्छ।
विभिन्न सामाजिक सङ्घ–सस्थाहरूले पनि आफ्ना पुराना सदस्यहरूको खोजीनीति लिनुपर्छ, उनका अनुभवहरूलाई वर्तमानसँग जोडेर बटुल्ने काम गर्नुपर्छ। उनका सम्पर्क सूत्रहरूको संयोजन गर्नुपर्छ, उनले थालनी गरेका सामाजिक महत्त्वका कामहरूलाई काँध दिनुपर्छ। विश्वनाथ शाह वीरगंजका पुराना व्यापारी–उद्योगपति हुनुहुन्छ। उहाँले कतिपय सामाजिक कामहरू प्रचार नगरी सम्पन्न गर्नुभएको छ। नियमितरूपमा परोपकारी कामहरू भइराख्छन्। उहाँ प्रचार चाहनुहुन्न, उहाँको मान्यता छ, परोपकारका लागि प्रचार चाहिंदैन, यसमा मौन समर्पण चाहिन्छ। उहाँले वीरगंजमा मात्र होइन, बाहिर पनि केही उल्लेखनीय कार्यहरू गर्नुभएको छ, केही कामहरू शुरु हुने क्रममा छ। यसै क्रममा एउटा वृद्धाश्रम बनाउने उहाँको सपना छ। उहाँ त्यसैका लागि बढी चिन्तित देखिनुहुन्छ। वा भनौ उहाँले आफ्नो सम्पूर्ण ऊर्जा वृद्धाश्रम बनाउने दिशामा केन्द्रित गर्नुभएको छ। उहाँको उमेर र स्वास्थ्यले गर्दा यो गार्हो काममा सीमा तोकिदिएको छ। यो कामको लागि एउटा समर्पित स्वयंसेवी जमातको आवश्यकता छ, अनि मात्र उहाँको वृद्धाश्रम निर्माण गर्ने सपनाले चाँडै मूर्तरूप लिन सक्छ।
मूलरूपमा भन्न खोजिएको के हो भने जेष्ठ नागरिकहरूको सम्मान गर्ने, उनीहरूको भूमिकाको कदर गर्ने, सान्दर्भिकतालाई संयोजन गर्ने र उनीहरूको प्रयत्नलाई टेवा दिने काम भनेको सामाजिक दायित्व हो, यो हामी तपाईं सबैको काम हो। उनीहरूप्रति देखाउने सद्भाव, सम्मान र सहयोगको भावनाको संस्कार हामी सबैमा हुनुपर्छ। उनीहरू बाट लिन सक्ने प्रेरणा र प्रोत्साहन समयमैं लिन सक्नुपर्छ र त्यो अनुसारको चाहना सामाजिकरूपमैंं देखिनुपर्छ। अनि मात्र एउटा पुस्ताको सम्मान गरेको ठहरिने छ।