सञ्जय साह ‘मित्र’
माग्नेहरू लस्करै बसेका छन्। माग्नेहरू सबै उमेरका देखिन्छन्। भर्खरका बालबालिकादेखि उमेरले निकै बूढो देखिनेहरू पनि देखिन्छन्। अशक्त र सशक्तहरू पनि लाइनमा बसेका छन् । सबैको हातमा आल्युमिनियमको कालो भइसकेको बटुको देखिन्छ। जब कोही उनीहरूका अगाडि भएर गइरहेका हुन्छन्, तब उनीहरू एक रुपैयाँ भनेर आफ्नो हात बटुकोसहित बढाइरहेका हुन्छन्। अधिकांशको बोलीमा तालिमेपन झल्किन्छ। बोलीमा तालिमेपन देखाउनेहरू नक्कली माग्ने हुन सक्छन् भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । माग्नेहरू त नक्कली हुनु नपर्ने हो, माग्नेहरू त तालिमे हुनु नपर्ने हो भन्ने हामीलाई लाग्थ्यो। तर जब बाबाधाम जान थाल्यौं तबदेखि नक्कली माग्ने भन्ने कुरा अलिकति बुझियो।
माग्ने नक्कली हुँदैन तर पेट पाल्नलाई माग्ने कर्म गर्छ भने मात्र । माग्ने उमेर पनि हुनुपर्यो, उमेरले लक्का जवान र हामीजस्ता साधारण मानिसलाई सजिलै पछार्न सक्ने पनि जब लाइनमा बसेको देखिन्छ, तब उसलाई माग्ने भन्न सकिन्न। यस्ता माग्नेलाई नक्कली माग्ने भन्न कुनै अप्ठ्यारो देखिन्छ । नक्कली माग्नेको उदाहरण हाम्रै गाउँघरमा पनि देखिन्छ। मैले राम्ररी चिनेको एकजनाले मागेर दुईतले पक्की घर बनाए। अर्को उदाहरण के देखिएको छ भने गाउँमा सबैभन्दा राम्रो र ठूलो घर भएको एक परिवारका लगभग सबैजना यही माग्ने कर्म गर्छन्। गाउँमा कसैले जग्गा–जमीन बेच्ने कुरो गर्यो भने सबैभन्दा बढी दाम उसैले तिर्छ तर काठमाडौं र पोखराजस्ता नेपालका शहरहरूमा उसका घरपरिवारका सबै सदस्यहरू हात फैलाएर मागिरहेका देखिन्छन्।
जो अशक्त छ, जो अत्यन्त गरिब छ उनीहरूलाई भिक्षा दिनु भनेको सहयोग गर्नु हो। यसकारण कहिलेकाहीँ म पनि दुई/चार पैसा माग्नेलाई दिन्छु। मलाई के लाग्छ भने कुनै देउतालाई दुई पैसा चढाउनुभन्दा कुनै वास्तविक माग्नेलाई दुई पैसा दिंदा राम्रो हुन्छ। यदि पुण्यको कुरा सत्य हो भने यस्तालाई सहयोग गर्दा यो प्राप्ति हुने होला।
माग्नेहरूको लस्कर मन्दिरदेखि करिब डेढ किलोमिटर टाढाबाटै देखिन्छ । हाम्रो हातमा जलपात्र छन्। जलपात्र लिएर टोली हाम्रो घरदेखि लगभग पौने चार सय किलोमिटर टाढा भारतको झारखण्ड राज्यको दुमका जिल्लामा पर्ने प्रसिद्ध धार्मिकस्थल वासुकीनाथको दर्शन गर्न गइरहेको छ। आठजनाको टोलीमा छजना स्नातकोत्तर छन्। माग्नेहरूको उतिसारो वास्ता छैन हाम्रो समूहमा। हामी जुन गल्लीको बाटो भएर गइरहेका छौं, त्यहाँ सबै बाटोमा माग्नेहरू पर्याप्त छन्। माग्नेप्रति कुनै सहानुभूति पनि छैन। माग्नेहरू हात उठाएर के के बोलिरहेका छन् भन्ने कुरोतिर समेत ध्यान जान सकेको छैन तर एकजना माग्नेको अवस्थाले ध्यान तानिन्छ। अत्यन्त वृद्धा महिला माग्नेको बोली राम्ररी बुझिरहेको छैन र खाली बटुको हामीतिर उचाल्दा उनको हात पनि कामिरहेको देखिन्छ। हात कामेको वृद्धा महिलाको बोलीले एक रुपैयाँ दया मागेको देखिन्छ र आशीर्वादका शब्दपुष्पहरू मुखबाट त्यत्तिकै उद्भाषित भइरहेको छ। मानौं हामी सबै सन्तान हौं र सन्तानको सुन्दर कामना एउटी ममतामयी माताले आफ्नो करुण अन्तर्हृदयबाट गरिरहेकी छिन्। मेरो हात अचानक बगलीतिर जान्छ र म गौरका एक दम्पतीले एक सय पचास रुपैयाँ कुनै साँच्चिकै गरिब माग्नेलाई दिनू भनेर पठाएको वाक्य मेरो कानमा गुञ्जिन थाल्छ।
कपाल सेतै फुलेकी ती माग्ने आमालाई सहयोग गर्न सँगै हिंडिरहेका प्रेमलाल साहलाई भन्छु। उदासीन अवस्थामा पाइलाहरू यन्त्रवत् अगाडि बढिरहेको देखेर मेरो खल्तीले हतारमा एउटा सयको नोट निकालेर असी वर्षभन्दा बढी नाघेकी बूढी आमैको बटुकोमा हाल्दै निमेषमात्र पनि नउभी अगाडि बढ्छु प्रेम सरसँगै। सयको नोट आफ्नो बटुकोमा परेको देखेर बूढी आमैको हात झन् काप्न थाल्यो, मुखले अस्पष्ट आशीर्वादहरू झन्झन् दिन थाल्यो । अरू के के कुरो उनको मुखबाट निस्किरह्यो भन्ने कुरो हामीले राम्ररी सुन्न वा बुझ्न पाएनौं । एउटाको बटुकोमा सयको नोट परेको देखेर अरू सबै माग्नेहरू आफ्ना बटुकाहरू उचालेर झन् के के हो के के बोल्दै म भएतिर बटुकाहरू तेस्र्याइन थालिए तर त्यस्तो सहयोग गर्नैपर्ने अरूलाई देखिएन । यस कारण गौरका ती दम्पती जो भगवान्लाई प्रसाद चढाउनुभन्दा कुनै माग्नेलाई दिनू भनेर दिएको पैसामध्येको बाँकी भगवान्को दर्शन गर्न जाने बेला कुनै माग्नेलाई दिइएन। दिनु र नदिनु मेरो स्वविवेकमा थियो, एउटा माग्नेलाई सय रुपैयाँ दिएपछि उनको अनुहारमा आएको आश्चर्य र विस्मयको परिवर्तन मलाई बारम्बार सम्झना आइरह्यो। दर्शन गरेर फर्केपछि त्यस्तै एक अशक्तलाई फेरि पचास रुपैयाँको नोट बटुकोमा हालेर आशीर्वाद लियौं तर म त्यो आशीर्वाद चाहिँ जसको रकम थियो, उसैलाई नै हस्तान्तरण गरिरहेको थिएँ। मैले आफ्नो खल्तीबाट आफ्नो पसिनाको कमाइबाट बढीमा दश रुपैयाँको नोट एकजनालाई दिएँ, जो मेरो नजरमा साँच्चिकै कमजोर थियो। एक/दुई रुपैयाँ त कतिलाई दिइयो कतिलाई। गत साउनको अन्तिम साताको यो घटनाका दुवै प्रमुख माग्ने पात्रको त्यो पैसा पाएपछिको अनुहारको विस्मयकारी परिवर्तनको सम्झना मेरो मनमा अहिले पनि ताजा छ र शायद लामो समयसम्म रहिरहनेछ।