उमाशङकर द्विवेदी
भोजपुरी भाषामा घाघभड्डरीको एउटा उखान प्रसिद्ध छ, ‘रात निबदर दिन के छाया कहे घाघ अब बरखा गया’। अर्थात् राति आकाशमा मेघ नदेखिए तथा दिनमा मेघ लागेर घाम–छाया भइरह्यो भने वर्षात्को मौसम बितेको किसानहरूले लख काट्छन्।
वर्षभरिका लागि चाहिने खाद्यपदार्थ दिने अन्नबालीका बिरुवा खेतमा लहलहाइरहेको हुन्छ। कृषि कामको क्रममा रोपाइ, खरपात झिक्ने, मलजल हाल्ने जस्ता बालीका लागि अत्यावश्यक कार्यहरू सकिसकेका हुन्छन्। किसानहरूले ठूलो आशा तथा रहरका साथ खेतमा लागेको आफ्नो बाली बिहान–बेलुका निरीक्षण गर्ने गर्छन्। यसै समयमा वर्षा हुने नक्षत्रको रूपमा प्रसिद्ध रहेका उत्तरा तथा हस्त आउँछन। यसवर्ष मध्यम वर्षात् भएको भएपनि पूर्वा नक्षत्रमा परेको पानीले भने धानबालीका लागि सञ्जीवनीको काम गरेको थियो। उत्तरा नक्षत्र लाग्ने बित्तिकै परेको हल्का पानीले खेतमा लागेको धानबाली राम्ररी सप्रेर उब्जनी राम्रो हुनेछ भन्ने किसानहरूले महसुस गरेका थिए तर सो नक्षत्र बितेर प्रसिद्ध हस्त (हथिया) नक्षत्र लागिसक्दासम्म पनि पानी नपर्नुले किसानहरूको हात मुटुमाथि गइसकेको अवस्था छ। हुनत उत्तरा नक्षत्रमा किसानहरूले धेरै मात्रामा पानी पर्ने अपेक्षा पनि गरेका हुँदैनन्। यसबारेमा पनि भोजपुरी भाषामा एउटा उखान प्रसिद्ध छ, ‘उत्तरा जान त रोहा बान्हु।’ अर्थात् उत्तरा नक्षत्र लाग्यो भने खेतमा पानी जोगाइ राख्नका लागि रोहा (खेतमा पानी लगाउने र निकास गर्ने सानो कुलो) थुन्नुपर्दछ किनकि अब धेरै पानी पर्दैन। तर, हस्त नक्षत्रमा भने किसानहरूले पानी पर्ने अपेक्षा गरिराखेका हुन्छन्। हस्त नक्षत्रको शुरूमैं परेको पानी फलामको रूपमा, मध्यमा पर्ने पानी तामाको रूपमा तथा अन्त्यमा पर्ने पानीलाई सुनको रूपमा मूल्याङकन गर्दछन् किसानहरू। हस्त नक्षत्रमा परेको पानीले धानबालीलाई मात्र होइन, रबीबालीका लागि खेतमा आवश्यक पर्ने चिस्यानको जगेर्ना गरिरहेको हुन्छ। तराईको हरियो फाँट लहलहाउनुपर्ने यसबेला वर्षाको अभावमा विभिन्न खाले रोगब्याधि लागेको देखेर यसवर्ष अन्नबालीको उब्जनी अन्य वर्षको तुलनामा नराम्रो हुनेछ भन्ने आशङका गर्न थालिएको छ। धानको झारमा रेंडा त लागेको छ तर पानीको अभावमा धानको बाला पो निस्किन सक्छ कि सक्दैन भन्न गार्हो छ। पहिलेका स्थानीय जातका धानहरू उत्तरा र हस्तको पानीबिना पनि पर्याप्त उब्जनी दिन सक्दथे तर अचेल खेतमा लगाइने विकासे जातका धानहरूलाई उचित फल्नका लागि अन्य रासायनिक मल, कीटनाशक औषधिहरूका साथै पर्याप्त पानीको पनि नितान्त आवश्यकता पर्दछ।
भदौ महिना बित्दासम्म मध्यम तथा निम्नवर्गीय किसानहरूको घरमा खाद्यान्न प्राय: न्यून भइसकेको हुन्छ। अत: घरका गृहिणीहरूद्वारा साँचेर राखिएको अन्नबाट त्यसको पूर्ति हुन्छ। यस समयमा गृहस्थहरूद्वारा पालिएका पाल्तु पशुका लागि आवश्यक पर्ने सञ्चित चारा पनि निख्रिइसकेको हुन्छ, जसको पूर्ति वर्षात्को मौसमको कारण खेतको आली तथा पर्तीहरूमा उम्रेका घाँसहरूबाट हुने गर्दछ । गृहस्थहरूको घरको बारी वा झमडा (चार कुनामा चारवटा काठको खम्भा ठड्याएर बनाइएको लहरा लत्रने ठाउँविशेष)मा रोपिएका लहरावाल तरकारी लौका, घिरौला, झिंगुनी जस्ता हरिया तरकारीहरू फाटफुटरूपमा मात्रै उपलब्ध हुन्छन्। हरियो तरकारीहरूको न्यूनता भएको कारणले घरमा पूर्व समयमा घाममा सुकाएर सञ्चित गरी राखिएको सुकेको भन्टा, काउली, मूला तथा अदौरी (मस्यौरा), कोंहडौरी
(कुभिन्डोलाई बेसनमा हालेर तयार पारिएको मस्यौरा) तथा आलसलाई भुटेर अमिलो खुर्सानी हालेर तयार पारिएको धूलो, जसलाई भोजपुरी भाषामा ‘तिसौरी’ भनिन्छ, जस्ता खाद्यपदार्थले नै तिहुनको गर्जो टारेको हुन्छ। पहिलेका दिनहरूमा तरकारीको विकल्पको रूपमा यसै महिनामा धानको खेतमा बहुतायतरूपमा पाइने डेडिया, पोठिया, नकटा, गरइ, पटेया जस्ता स्थानीय माछाले धानेको हुन्थे। मघा अश्लेषा जस्ता नक्षत्रहरूमा प्रचुर पानी परेको तथा उत्तरा र हस्त नक्षत्रमा फाटफुट पानी परेको वर्ष भने यस्ता माछाहरू धानको खेतमा प्रशस्त पाइन्थे, जसलाई खौखी (सानो जाल)को सहायताले सजिलै मारेर तरकारी बनाइ रुचिपूर्वक खाने गरेको पाइन्थ्यो। यस्ता माछाहरू खेतमा तीनचोटि मार्ने गरिन्थ्यो। उत्तराको पानी परेर पानीको लर (बहाव) चलेपछि सानो जाल लगाएर पहिलोपटक, हस्त नक्षत्रमा पानी खेतमा सुक्न थालेपछि धानको जरामा लुकेर बसेका माछाहरूलाई हातले समातेर दोस्रोपटक तथा पानी सुकेर खेतमा हिलो मात्र रहेपछि सास लिनका लागि टाउको हिलो बाहिर निकालेका पटेया, सिङही तथा मङुरी माछालाई हातले सजिलैसित समातेर तेस्रोपटक यस्ता माछाहरू मार्ने गरेको पाइन्थ्यो। खेतको आलीको दुलाहरूमा पाइने केकरा
(गङगटो)को तरकारी, चोखा तथा घोंघीको तरकारी पनि रुचिपूर्वक खाने गरिन्थ्यो । यसवर्ष अल्पवृष्टिको कारणले धानखेतमा यस्ता माछाहरूको उपस्थिति नरहेकाले किसानहरूले यस प्रकारको सुरुचिपूर्वक खाइने माछाहरूबाट वञ्चित हुनुपरेको छ।
मानवद्वारा आफ्नो स्वार्थका निम्ति गरिने पर्यावरणीय खेलबाडका कारण वर्षैपिच्छे आकाशबाट पर्ने पानीको मात्रा न्यून हुँदै गएको, विगतका वर्षहरूमा विश्व बैंकको ऋण सहयोगमा निर्माण भएका सिंचाइ योजना तथा सरकारी सिंचाइ योजनाहरूको निकम्मापनको कारण सिंचाइ सुविधाको अभाव भएकोले किसानहरूलाई कृषि काममा भने अचेल ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान चरितार्थ हुँदै गएको अवस्था छ। किसानहरूको हिततर्फ ध्यान पुर्याउन सक्ने न त कुनै किसिमको सरकारी नीति छ, न कुनै योजना प्रयत्न नै छ। यस्तो स्थितिमा निमुखा किसानले भगवान्को भरोसा गर्नुबाहेक अर्को उपाय नै के छ र ?