–कृष्ण अविरल
कक्षा नौमा पनि उनीहरूको सेक्सन अलग भएन । त्यो वर्षको अन्त्यतिर पुगेका बेला विद्यालयमा गाइँगुइँ सुनिन थाल्यो, हत्तपत्त पत्याउनै नसकिने । अनौठो ।गाइँगुइँको पछाडि साक्षीको रूपमा एउटा विद्यार्थीको पनि नाम जोडिएको थियो । संयोगले त्यो सुवासकै गाउँको दाइ थियो । दश कक्षामा पढ्ने । नाम गोविन्द भण्डारी । रिस उठेका बेलाको उसको नाम लम्बु थियो । कसै कसैले लामकाने पनि भन्थे ।
रहस्य के थियो उनीहरू नै जानून् । तर, गाइँगुइँ शुरू भएको ठीक अघिल्लो दिनदेखि उसले गोविन्दलाई बाटामा भेटेको थिएन । नत्र उनीहरू विद्यालय आउँदा–जाँदा प्राय: सँगै हुन्थे ।
सुनेको कुराप्रति शुरूमा त उसले विश्वास गर्नै सकेन । तर दश कक्षाका दाइ–दिदीहरूले समेत उसलाई एकान्तमा बोलाएर सोध्न थाले,“खास कुरा के हो ?”
न देख्नु, न जान्नु १ सुवास विचराले के जवाफ दिन सक्थ्यो ?
सोध्ने क्रमले हद नाघ्न थालेपछि उसलाई पनि चर्को खटपटी भयो । खटपटी मेट्ने एउटै उपाय थियो, गोविन्द भण्डारीसँग भेटेर सोध्नु । तर ऊ तीन दिनदेखि विद्यालय आएको थिएन ।
हद भएपछि एक साँझ ऊ गोविन्दको घरमैं गयो, हतारहतार गृहकार्य गरिसकेर । त्यसक्रममा गोविन्दले जे कुरा बतायो, त्यो सुनेर उसलाई निन्दाको पुलमाथिबाट खसेभैंm अनुभव भयो ।
गोविन्दले जानुका र विद्यालयका एकजना आदरणीय सरलाई सिनेमा हलभित्र सँगै देखेको रहेछ, आफ्नै आँखाले, अस्वाभाविक अवस्थामा ।
जानुकासँग नाम जोडिएका ती आदरणीय सरको उमेरले पचासको नेटो काटिसकेको थियो । सुकेको बाँसजस्तो ज्यान भएका उनको कपाल आधाभन्दा बढी फुलिसकेको थियो । अनुहार पनि खल्वाटजस्तो । जानुका ती सरकी बुहारी बनाउनसमेत नमिल्ने उमेरकी थिई । सरका छोरीहरूभन्दा कान्छी ।
फरक यति हो, सरले नौ कक्षालाई अङ्ग्रेजी पढाउँथे ।
त्यो घटना भएको निकै दिनसम्म ऊ विद्यालयमा देखा परिन । तर ती आदरणीय गुरु भने विद्यालयमा निरन्तर हाजिर भइरहे ।
पछि उसले सुन्यो, उसले इँटाभट्टा विद्यालयमा नाम लेखाइ रे १ आफ्नै कारण, विद्यालय व्यवस्थापनको दबाब वा अभिभावकको करकाप ? कारण थाहा पाउन सकिएन ।
यद्यपि धुलाबारीमोडमा जानुका र सुवासको आक्कलझुक्कल भेट भइरहन्थ्यो । प्राय: उनीहरू मुस्कान साटासाट गरेर छुट्टिन्थे । फुर्सदका बेला औपचारिकताका दुई/चार गफ पनि गर्थे । तर सुवासले उसलाई कहिल्यै पनि आफूले सुनेको कुरा के हो भनेर सोध्न सकेन ।
एकान्त परेका बेला एकपटक उसले सोधेको थियो,“तिमीले किन विद्यालय परिवर्तन गरेकी ?”
“मलाई धुलाबारी हाइस्कूल पढ्नै मन लागेन,” उसले निस्सड्ढोच भनेकी थिई ।
सेन्टअप टेस्ट परीक्षामा दुवै पास भए । एसएलसी दिनुअघि तेजु सरसँग गणितको ट्युसन पढ्ने बेलामा भने उनीहरू फेरि सँगै भए ।
अब त ऊ प्रत्येक दिन सुवाससँग टाँसिएर बस्न थाली । कहिलेकाहीँ त नबुझेका कुरासमेत सोधेर हैरान पार्थी । कक्षा लिन नभ्याएका दिन त जबरजस्ती बाध्य पार्थी, सिकाइदिनका लागि ।
..................... ...................
एक दिनको कुरा । ट्युसनबाट फर्किरहेका बेला सुवासले जानुकालाई जिस्काउँदै नयाँ नाम राखिदियो– फूलमाया ।
एकछिन त ऊ मज्जाले हाँसी । अनि भनी,“म पनि तिम्रो न्वारन गरिदिन्छु ल ।”
”ल गर त १ मलाई आफ्नो नाम फेरेर अलि मोडर्न राख्न मन लागेको छ,” उसले अलि गम्भीर भएर भन्यो ।
“तोरीलाउरे,” बोली सकेपछि उसले मज्जाले खित्का छाडी, पाइला सार्नसमेत बिर्सेर । बाटो हिंडिरहेका अरू मानिस पनि छक्क परेर हेर्न थाले ।
“ओहो कस्तो गज्जबको नाम १ साँच्चै सुहाउने नाम पो राखिदियौ त,” सुवासले भन्यो, “पूर्वजन्ममा तिमी पण्डितनी थियौ कि क्या हो ?”
“पण्डितनी होइन, पण्डित नै थिएँ नि १” ऊ गमक्क परी ।
“बिहेपछि मेरा छोराछोरीको नाम पनि तिमी नै राखिदेऊ ल १”
“भइहाल्छ नि १” निधारतिर आएको कपाल कानपछाडि पन्छाउँदै उसले भनी, “तर एउटा सर्त छ ।”
“के हो सर्त चै ? सुनौं न १”
“मेरो सर्त मन्जुर हुन्छ भने मात्रै म तिम्रो छोराछोरीको नाम राखिदिन्छु ।”
“ल मन्जुर छ ।”
“दुई छोरा, एक छोरी जन्माउनुपर्छ ।” सुवासतिर पुलुक्क हेरेर मुसुक्क हाँस्दै उसले भनी ।
“अनि नाम कसरी जुराउँछ्यौ नि ?”
“जुराइ हाल्छु नि १” मन्द हाँसो हाँस्दै उसले भनी,“नीति, नियम, उल्लङ्घन १”
सुवास मज्जाले हाँस्यो, घत परेभैंm । आफूलाई उल्याउने जानुकाको शैली उसलाई असाध्यै मन पर्यो ।
ऊ पनि सँगसँगै हाँसी तर अघि जति उन्मुक्त होइन ।
हाँसो रोकिएपछि सुवासले पनि उसलाई उल्याउने उपाय पत्ता लगायो । अनि भन्यो,“मेरा छोराछोरीको न्वारन तिमीले गरेपछि तिम्रा छोराछोरीको न्वारन गर्न मैले पाउनुपर्यो नि १”
“त्यो त भइहाल्छ नि १” आफूहरूलाई उछिनेर गइरहेका रिक्सामा बसेका यात्रुहरूतिर हेर्दै उसले भनी,“बरु भन न, के नाम राख्छौ ?”
“त्यसमा मेरो पनि सर्त छ,” ऊ अलि गम्भीरजस्तो देखियो ।
“तिम्रो सर्त पनि सुनौं न त १” ऊ थप जिज्ञासु भई ।
“तिमीले तिनटी छोरी, दुइटा छोरा जन्माउनुपर्छ ।”
“पाँचवटा ?” उसले सुवासको ढाडमा प्याट्ट हिर्काउँदै आश्चर्य ओकली ।
“ऐय्या....१ के सारो हिर्कायौ ?”
उसले जानुकालाई पनि हिर्काउन खोज्यो तर ऊ दौडेर भागी ।
एकछिनपछि उनीहरू फेरि सँगै हिंड्न थाले ।
“ल छिटो भन, मेरा छोराछोरीको नाम के के जुराइदिन्छौ ?”
“सर्त मन्जुर छ हैन त ?”
“आ ।”
“सजिलो छ,” सुवासले पटक्कै नहाँसीकन भन्यो,“अनु, मति, बिना, प्रवेश, निषेध ।”
(अविरलको हालै सार्वजनिक उपन्यास विषपुरुषको अंश)