मर्निङ वाक गर्न मानिसहरू बिहान झिसमिसैमा उठ्ने गर्छन् । बिहानको स्वच्छ हावाले दिनभरिका लागि शरीरमा चुस्तीफुर्ती ल्याइ काम गर्न ऊर्जा प्रदान गर्छ । मधुमेह, माटोपन, उच्च रक्तचापलगायतका बिरामीहरू बिहानपख मर्निङ वाक गरिरहेका भेटिन्छन् । वृद्धवृद्धाहरू पनि आ–आफ्नो तालमा घुमिरहेका हुन्छन् । बिहानपख स्वच्छ वातावरणमा रमाउनेहरूको उपस्थिति वीरगंज शहरमा बाक्लिदै गइरहेको छ । तर पछिल्ला समयदेखि स्वच्छ हावामा मर्निङ वाक गर्नेहरूको सङ्ख्यामा कमी देखापर्न थालेको छ । यसको प्रमुख कारण खुल्ला ठाउँमा दिसा गर्नु हो । आफ्नो घरमा भएको शौचालयलाई प्रयोग नगरी खुल्ला ठाउँमा दिसा गर्नाले वातावरण नै दुर्गन्धित भएको छ । मर्निङ वाक गर्दा दायाँ बायाँ राम्ररी हेरेर, मुख र नाक छोपेर घुम्नुपर्ने बाध्यता छ । जथाभावी दिसा गर्नाले वातावरण त दूषित भएकै छ, वीरगंज शहरको सरसफाइमा पनि असर पुर्याएको छ ।
खुल्लारूपमा दिसा गर्ने परिपाटि शहरभन्दा पनि ग्रामीण भेगमा बढी हुने गरेको छ । गाउँमा मानिसहरू घर त बनाउँछन्, तर शौचालय बनाउन चाहँदैनन् र नजिकको सडक, खेत, नदी, खोल्सामा गएर मलमूत्र त्याग गर्ने गर्छन् । यसरी जथाभावी दिसापिसाब गर्नाले वातावरण दुर्गन्धित हुनुका साथै यस्तो क्रियाकलापले विभिन्न किसिमका रोगहरूलाई निम्त्याइरहेको हुन्छ । यसबाट हाम्रो परिवार एवं समाजका मानिसहरू प्रभावित भइरहेका हुन्छन् भने अर्कोतिर गतल संस्कारले पनि प्रश्रय पाइरहेको हुन्छ ।
यस्तो गलत क्रियाकलापबाट हाम्रो समाजलाई जोगाउन आवश्यक छ । जथाभावी फोहर गर्नाले स्वास्थ्यमा पर्ने प्रत्यक्ष असरका बारेमा समाजमा चेतना जगाउनुपर्छ । समाज र वातावरण सफा राख्नु छ भने पहिले व्यक्ति स्वयम् सफा हुनुपर्छ अनिमात्र समाजमा जनचेतना जगाउने शक्ति प्रदान हुन्छ । विभिन्न सङ्घसंस्थाहरूले शौचालयको प्रयोगबारे अभियान चलाएका थिए । तर, त्यो अभियानले त्यति सार्थकता पाउन सकेन । किनभने समाजलाई परिवर्तन गर्न समाजका व्यक्तिहरूमा इच्छाशक्ति भएन भने त्यो समाज कहिल्लै पनि परिवर्तन हुन सक्दैन ।
पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र बनाउनका लागि समाजको पहिलो दायित्व हुन्छ भने अर्कोतिर सरकारी निकायको पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । यस्तो क्रियाकलाप रोक्नका लागि दीर्घकालीन रणनीति नै तयार गर्नुपर्छ । पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्लामा भएका सबै राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजका अगुवाहरू बैठक बसेर शौचालय बनाएका घरको अनुगमन गरी “शौचालय प्रयोगकर्ता कार्ड” बनाउनुपर्छ । शौचालय नबनाएकाहरूलाई शौचालय बनाउन उत्प्रेरित गर्नुपर्छ । गाविसले कुनै पनि सिफारिस गर्दा सर्वप्रथम शौचालय प्रयोगकर्ता कार्ड माग्नुपर्छ । यस्तो अभियानले आममानिसमा चेतना आउनुका साथै आफ्नो काम नहुने पो हो कि भन्ने डरले पनि शौचालय बनाउन बाध्य हुन्छन् । यो अभियानलाई सकारात्मक सोचले अगाडि बढाउनुपर्छ । यस्तो गतिविधिलाई कार्यान्वयन गर्ने हो भने सबैमा शौचालय बनाउने र प्रयोग गर्ने बानी बसी पर्सा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिन्छ । शौचालय प्रयोगकर्ता कार्डको अभियान नवलपरासी जिल्लामा सफलताका साथ लागू भइरहेको छ ।
–प्रमोदकुमार पौडेल
दुर्गा टोल, वीरगंज–१४
उचबmयम)ण्ण्ढढ२थबजयय।अयm